Latest
डोटीमा लगातारको वर्षाले एक पक्की घर भत्कियो
महाकाली नदीमा आएको बाढीका कारण १५ घर डुबानमा
आजको मौसम : देशभर वर्षाको सम्भावना
Next
Prev

यसरी मनाइन्छ बिसूँ पर्व….

नर बहादुर कार्की : २०७८ बैशाख  २ गते

विसूँ: पुरानो साललाई विदाई गर्दै नयाँ साललाई स्वागत गर्ने नयाँ बर्षलाई यस क्षेत्रमा विसूँ भनिन्छ । बिसूँको अर्थ बिष फाल्ने भन्ने हुन्छ । त्यसैले यस पर्वलाई बिष फाल्ने पर्व पनि भनिन्छ । यस क्षेत्रमा विसूँ पर्व बिशेष उल्लासका साथ मनाइन्छ । विसूँ पछि केही समयका लागि चाडपर्वहरु पनि सकिने तथा गर्मीयाममा बिभिन्न रोगब्याध तथा महामारी फैलिने र मर्ने बाच्ने समेत निश्चित नहुने भन्ने तत्कालिन मान्यताका कारण ‘मर्नेले बिसउ खानु’ भन्ने भनाइ प्रचलनमा रहेको पाइन्छ । यस पर्वमा परदेशमा रहेका दाजुभाइहरु स्वदेश फर्किने प्रचलन छ । यसका साथसाथै यस पर्वमा मुख्यतया निम्न परम्पराहरु रही आएका छन् ।

क) घर लिपपोत गर्ने
विसूँ पर्वमा घरलाई लिपपोत गरी चम्काउने गरिन्छ । यहाँका बासिन्दाहरु टाढाटाढाबाट रातो र सेतो माटो ल्याई घरको बाहिर र भित्र सुन्दर ढङ्गले पोत्ने गर्छन् । घरको भित्र स्थानीय क्षेत्रमा पाइने चिप्ट्याइलो माटोले पोत्ने परम्परा रही आएको छ । घरको बाहिर भने २ वटा घेरा बनाइ पोत्ने चलन रहेको छ । माथिल्लो घेरा सेतो माटोले पोतिन्छ भने तल्लो घेरा रातो माटोले पोतेर चम्काउने गरिन्छ । जसले घरको रङ्ग सेतो चोलीमा रातो गाउँन लगाएजस्तो देखिन्छ । सेतो माटो लेकतिर पाइने भएकाले त्यतैबाट ल्याइन्छ भने रातो माटो राजपुरबाट ल्याउने चलन रहको छ । त्यसैले राजपुरको रातो माटोको बारेमा प्रचलित गित छ ।
राजपुरको रातोमाटो, सिन्दुर जतिको,
आउन्छु खोल, लाउन्छु पिरता, मान्ने है कतिको ।

ख) सिस्नु लगाउने
यस क्षेत्रमा बिसूँ सिस्नु लगाउने र बिष फाल्ने पर्व मानिन्छ । खासगरी देवर र भाउजुका बिचमा सिस्नुको आठी हानाहान गरिन्छ । सिस्नु लगाउने र हार जीत गर्ने परम्परा नै रहेको छ । सिस्नु नलाएमा खट्टामा बिष लाग्ने अथवा बादेगानो हुन्छ भन्ने धारणा यस क्षेत्रमा रहेको पाइन्छ । त्यसैले कम्तिमा सिस्नुको पातले शरीरको कुनै अंग छुनै पर्छ भन्ने मान्यता छ । केटाकेटी देखि बूढाबूढीसम्म सबैले अनिबार्य रुपमा सिस्नु लगाइहाल्नुपर्ने परम्परा रही आएको छ । बर्षा ऋतुमा बिभिन्न हरिया सागपात खानुपर्ने र ती सागँपातहरु बिषाइला हुन सक्ने र तीनको बिष नलागोस् भन्नेका मान्यताका साथ सिस्नु लगाइन्छ भन्ने भन्ने बूढापाखाहरुको भनाइ रहेको छ ।

ग) ग्वाले लठ्ठी
यस दिन ग्वालाहरुले ग्वाले लठ्ठी बनाउने परम्परा रही आएको छ । ग्वालाहरुले जंगलबाट घङारु अथवा गोल दाडिमको लठ्ठी काटेर ल्याएका हुन्छन् । ती लठ्ठीहरलाई यस दिन आगाँमा पिरोल्ने चलन छ । लठ्ठी पिरोलेपछि बोक्राहरु अलिअलि जल्छन् । सबै बोक्राहरु निकाल्दा लठ्ठी अलि रातो हुनुका साथै बलियो पनि हुन्छ । त्यसपछि त्यस बलियो लठ्ठीमा रङ्ग लगाउने गर्छन् । बर्षभरि ग्वालो वा गोठालो जादाँ त्यही लठ्ठीको प्रयोग गर्ने प्रचलन छ । ग्वाले देवता पुजा गर्दा समेत त्यस लठ्ठीको पुजा गर्ने प्रचलन छ । यो लठ्ठी साथमा रहेमा बाग ब्वासो पिडाउदैन भन्ने मान्यता छ । दशैं तिहारमा समेत यस क्षेत्रका देवीका शक्ति पिठहरुमा राङ्गाको बली चढाइने कारण त्यतिबेला पनि विसूँको दिन बनाएको लठ्ठी प्रयोग गर्ने प्रचलन छ । लठ्ठीलाई मान्छेले दुस्मनबाट बच्ने सहाराको रुपमा प्रयोग गर्दै आएको भन्ने भनाइ बूढापाखाको छ ।

घ)बाग बिरालो खेल्ने
यस पर्वमा ग्वालाहरु बाघ बिरालो खेल खेल्दै रमाइलो गर्ने गर्छन् । बाग बिरालो खेल खेल्दा बाघ नपिडाउने तथा बाघ दुःख नदिने मान्यता रही आएको छ । तत्कालिन समयमा घना जंगलका कारण हरेक बर्ष बाघले पशुहरु खाएर ठूलो क्षति पुर्उथ्यो । त्यसैले त्यस्तो नहोस् भन्नका लागि समेत बाघ बिरालो खेल लेखिन्छ भन्ने भनाइ बूढापाकाहरुको छ । हाल यो परम्परा लोप भइसकोको अबस्था छ ।

ङ) देउडा खेल्ने
यस क्षेत्रमा विसूँका दिनभरि देउडा खेल्ने प्रचलन पनि रहेको छ । महिला र पुरुषहरुका छट्टुाछट्टै देउडा लाग्ने र सवालजवाफ हुने गर्दछ । के.आई.सिंह गाउँपालिकाको वडा नं.४, खड्कावडामा बैशाख २ गते भब्यताका साथ विसूँ पर्व मनाउने गरिन्छ । १ गतेको राती रतेउडी हुने र २ गते दिउँसो दिउसेडी मनाउने गरिन्छ । टाढाटाढाका देउडेहरुको सहभागितामा देउडा खेली विसूँ पर्व मनाइन्छ ।
यसका साथै यस पर्वमा डुब्काभात, माणा, भक्के राेटी, लाउन, बाबर लगायत मिठा परिकारहरु पकाएर खाने चलन छ । दही चामल भिजार खाने चलन छ । हाल संरक्षण्को अभावमा विसूँका केही परम्पराहरु हराउदै गएका छन् । हाम्रो परम्परा संरक्षण गर्ने हो भने यी परम्पराहरु मनाउन थाल्नुपर्ने तथा संरक्षण गर्नुपर्ने आबश्यकता रहेको छ ।
अस्तु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Ideal Coaching institute

Add New Playlist