काठमाडौं । युवा साहित्यकार धीरेन शाहीको नयाँ उपन्यास ‘नुरिन भ्याली’ प्रकाशित भएको छ। प्रेम, वियोग, जीवनसंघर्ष र रहस्यमय घटनाक्रमलाई समेटेर लेखिएको उपन्यास गौरी पब्लिक रिलेशन एण्ड पब्लिकेसनले प्रकाशन गरेको हो।
अरबको मरुभूमिमा बसोवास गर्ने फिरन्ते बेडुइन समुदायको जीवनशैली र त्यही समुदायका एक उँट गोठालोको कथामा आधारित उपन्यासले प्रेम, संघर्ष, साहस र जीवनदर्शनका विविध पक्षलाई समेटेको छ।
उपन्यासमा मरुभूमिको कठिन भूगोल, जोखिमपूर्ण यात्रा, मानवीय संवेदना तथा प्रेम र रहस्यमय वियोगलाई कथाको मुख्य आधार बनाइएको छ। लेखक शाहीले बेडुइन समुदायको जीवनशैलीलाई केन्द्रमा राखेर मानवीय सम्बन्ध, अस्तित्वको खोजी र जीवनका जटिल पक्षलाई साहित्यिक रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन्।
‘नुरिन भ्याली’मा जीवनसंघर्ष, जिजीविषा, ध्येयनिष्ठा, स्वैरकल्पना, चरमपन्थ, विज्ञान र दर्शनजस्ता विषयलाई समेत समावेश गरिएको छ। प्रेमकथाको पृष्ठभूमिमा जीवनका चुनौती, मानवीय आकांक्षा र अस्तित्वका प्रश्नलाई प्रस्तुत गर्नु उपन्यासको प्रमुख विशेषता रहेको लेखकले बताएका छन्।
मरुभूमिमा उँट चराउने एक साधारण गोठालोको जीवनयात्राबाट सुरु हुने कथाले पाठकलाई प्रेम, विछोड, रहस्य र संघर्षका विभिन्न मोडसम्म पुर्याउने अपेक्षा गरिएको छ।
मंसिर १२ गते बालाजुमा लोकार्पण
प्रकाशित उपन्यास ‘नुरिन भ्याली’को औपचारिक लोकार्पण आगामी मंसिर १२ गते शनिबार काठमाडौंको बालाजुस्थित पारिजात स्मृति केन्द्रमा हुने भएको छ।
आधुनिक साहित्य परिषद्को आयोजनामा दिउँसो १२ बजे सुरु हुने लोकार्पण समारोहमा साहित्यकार, लेखक, समालोचक तथा साहित्यप्रेमीहरूको सहभागिता रहने जनाइएको छ।
पुस्तकमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कुमार नगरकोटीको शुभकामना सन्देश समावेश गरिएको लेखकले उपलब्ध गराएको विवरणमा उल्लेख छ।
त्यस्तै उपन्यासमाथि विभिन्न साहित्यकार, समालोचक तथा प्राज्ञिक व्यक्तित्वहरूको टिप्पणी समावेश गरिएको छ।
पुस्तकमा वरिष्ठ साहित्यकार तथा समालोचक डा. शैलेन्दुप्रकाश नेपाल, वरिष्ठ भूगर्भविद् तथा लेखक प्रा.डा.तारानिधि भट्टराई, वरिष्ठ साहित्यकार तथा समालोचक डा. बमबहादुर थापा, सुख शान्ति मिडियाका अध्यक्ष दामोदर ढकाल ‘दीपक’, साहित्यकार तथा धरहरा अभियन्ता डा. ध्रुव गजुरेल, वरिष्ठ साहित्यकार डा. के.बी. पौडेल र वरिष्ठ साहित्यकार डा. सीता बिष्ट कार्कीको टिप्पणी रहेको जनाइएको छ।
यसैगरी राष्ट्रिय सुसेली फाउन्डेसन नेपालका अध्यक्ष दुर्गा अधिकारी ‘भमरकोटे’, आधुनिक साहित्य परिषद्का अध्यक्ष शिखरनाथ ढकाल ‘बेलकोटे कवि’, गोंगबु साहित्य समाजका अध्यक्ष द्वारिका कुइकेल, उपन्यासकार श्याम सिँघक, पद्मकन्या क्याम्पसका पूर्व विभागीय प्रमुख उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली, साहित्यकार तथा सामाजिक अभियन्ता चन्द्रा न्यौपाने, साहित्यकार पुष्कर अथक रेग्मी, साहित्यकार तथा पत्रकार सुशीला ढकाल अधिकारी ‘श्री’, लेखक तथा अध्येता नवीन तिवारी, रसुवाली कवि, अध्येता नवीन खत्री र कवि आर्यशको समेत टिप्पणी समावेश गरिएको छ।
उपन्यासको आवरण संयोजन सुडल राईले गरेका हुन् भने मुद्रण दक्षिणकाली अफसेट प्रेसले गरेको हो। पुस्तकको वितरण सुख शान्ति मिडिया र न्युरोड बुक्स स्टोरमार्फत हुने जनाइएको छ।
अछामका युवा साहित्यकार शाहीको दोस्रो साहित्यिक कृति
उपन्यासकार धीरेन शाही अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ का स्थायी बासिन्दा हुन्। हाल काठमाडौंमा बसोवास गर्दै आएका शाही युवा पुस्ताका सक्रिय साहित्यकारका रूपमा साहित्य सिर्जनामा संलग्न छन्।
यसअघि उनको ‘घण्टाघर’ गजलसंग्रह २०८० सालमा प्रकाशित भएको थियो। गजल विधाबाट साहित्यिक यात्रा अघि बढाएका शाहीले ‘नुरिन भ्याली’मार्फत उपन्यास विधामा आफ्नो लेखनलाई विस्तार गरेका हुन्।
नेपाली समाज र परिवेशभन्दा फरक अरबको मरुभूमि तथा बेडुइन समुदायलाई कथाको केन्द्रमा राखेर लेखिएको यो उपन्यासले नेपाली साहित्यमा नयाँ भूगोल, संस्कृति र मानवीय अनुभवलाई प्रस्तुत गर्ने प्रयास गरेको छ।
प्रेम र रहस्यमय वियोगसँगै जीवनसंघर्ष, साहस, विज्ञान तथा दर्शनलाई समेटिएको ‘नुरिन भ्याली’ले पाठकलाई फरक परिवेशको कथात्मक अनुभूति दिने लेखकको अपेक्षा छ।
आगामी मंसिर १२ गते हुने औपचारिक लोकार्पणसँगै उपन्यासबारे साहित्यिक विमर्शसमेत हुने जनाइएको छ।