Category: स्वास्थ्य

  • कोरोना भाइरसको सङ्क्रमण शून्यमा झर्दै

    कोरोना भाइरसको सङ्क्रमण शून्यमा झर्दै

    काठमाडौं- कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा सोमबार सात सय ६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ । अहिलेसम्म सक्रिय सङ्क्रमित १७ रहेका छन् ।

    कोही पनि सङ्क्रमितलाई सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरमा राख्नुपरेको छैन । यही जेठ महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोपको प्रभावले र छिमेकी मुलुक भारतमा पनि सङ्क्रमण कम भएपछि नेपालमा सङ्क्रमण कम हुँदै गएको हो ।

    गत चैतमा नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखिएपछि नेपालमा सङ्क्रमण बढिरहेको थियो । नेपालमा कोरोना भाइरसको सङ्क्रमण न्यून हुँदै गएपछि मास्कको प्रयोगलाई पनि स्वेच्छिक बनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि कोरोना भाइरस न्यून हुँदै गएपछि गत वैशाख २२ गते कोभिड-१९ जनस्वास्थ्यको आपत्काल नरहेको घोषणा गरेको थियो ।

  • कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक

    कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक

    काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड-१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताए । यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो ।

    मन्त्रालयले सङक्रमण दर न्यून भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड-१९ को परीक्षण गरेको र कोभिड-१९ को विरुद्धको खोप लगाएको प्रमाण आवश्यक नभएको समेत बताए । उनले अब कोभिड-१९ को कडाइको रुपमा मापदण्ड पालना गर्नुपर्नेलाई सहज गर्दै अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड आवश्यक नपर्ने जानकारी दिए । मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर र अस्पतालमा भर्ना दरमा उल्लेखनीय कमी आएको र अधिकांश मानिसले कोभिड-१९ को पूणर्मात्रा खोप लगाइसकेको अवस्था र छिमेकी मुलुक भारतमा पनि कोभिड-१९ को सङ्क्रमण दर न्यून रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड-१९ परीक्षण र कोभिड-१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र चाहिने व्यवस्था हटाएको हो ।

    मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तत्कालिन निर्देशक डा चुमनलाल दास संयोजकत्वमा गठित विज्ञ टोलीले अर्को सूचना नभएसम्मका लागि कोरोना परीक्षण र खोप लगाएको प्रमाणपत्र नचाहिने सिफारिस गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका विरामीलाई नियमित निगरानी र जोखिममा रहेका शंकास्पद यात्रुको स्क्रिनिङ भने गरिने उल्लेख गरेको छ । मन्त्रालयले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट भएको सहयोगप्रति कृतज्ञता व्यक्त गरेको छ ।

  • तराईमा बढ्यो अत्याधिक गर्मी

    तराईमा बढ्यो अत्याधिक गर्मी

    धनुषा- धनुषासहित तराई-मधेसमा दैनिक गर्मी बढ्दै गएको छ। जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछिे जनजीवन प्रभावित भएको हो। जनकपुरधामसहित तराई-मधेस क्षेत्रमा १ सातादेखि मध्याह्नपख अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ।

    घर बाहिर निस्कनै मुस्किल
    सूर्योदय भएसँगै साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो। बेला-बेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी घट्न सकेको छैन। पानी परेर मौसम उघ्रिनासाथ गर्मी बढ्न थालेको छ। चर्को घामका कारण मध्याह्नमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन्। गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन्। सरकारी कार्यालयमा सेवाग्राहीको संख्या घटेको छ। गर्मीका कारण विद्यालय, उद्योग, व्यवसाय सबै प्रभावित छ।

    बिरामी बढे
    गर्मीका कारण घाउ, खटिरा, आउँ, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सक बताउँछन्। गर्मीले विद्यालय जानुपर्ने स-साना बालबालिकासँगै वृद्धवृद्धा, अशक्त, किसान र मजदुर बढी प्रभावित भइरहेका छन्। प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा. केडी दासका अनुसार अहिले दैनिक भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेका छन्। पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेका डा. दासको भनाइ छ।

    ‘गर्मी बढेसँगै धनुषामा हिट स्ट्रोक अर्थात् लु लाग्ने जोखिमसमेत बढ्दै गएको छ,’ डा. दासले भने। दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने गरम हावाले दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम बढेको डा. दासको भनाइ छ। बढ्दो गर्मीबाट जोगिन फलफूलको जुस, पानीलगायतका तरल पर्दाथको सेवनलाई बढाउनुका साथै काम नभए दिउँसोको समयमा घरबाहिर नस्किन उनले सर्वसाधारणलाई सुझाव दिए।

    बन्द हुँदै विद्यालय बन्द
    समयमा पानी नपर्दा र अत्यधिक गर्मीले गर्दा कक्षाकोठामा विद्यार्थीलाई पठनपाठनमा समस्या हुने गरेको छ। क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालय महेन्द्रनगरका प्रधानाध्यापक बाबुसाहेव यादवले अत्यधिक गर्मीले विद्यार्थीको छालामा समस्या देखिएको बताए।

    ‘अत्यधिक गर्मीले विद्यार्थीको शरीरमा घमौरा, बिमिरा देखिन थालेका छन्,’ उनले भने, ‘घमौराले गर्दा शरीर चिलाउने गर्दा उनीहरूलाई पढाइमा ध्यान केन्द्रित गर्न समस्या पर्ने गरेको छ।’ समय समयमा विद्युत् सेवा अवरुद्ध हुँदा पनि विद्यार्थीमा झनै समस्या देखिएको उनले जानकारी दिए। गर्मीका कारण नानीबाबुलाई विद्यालय पुर्‍याउन र ल्याउनै समस्या पर्ने गरेको अभिभावक दिनेश गुप्ताको भनाइ छ।

    ‘विद्यालयमा पंखा भए पनि गर्मीले साना नानीबाबुलाई घरबाट विद्यालय लैजान र घर ल्याउनै समस्या पर्ने गरेको छ,’ उनले भने, ‘बिहान विद्यालय लैजान त सजिलै हुन्छ तर दिउँसो बिदा भएपछि घर ल्याउँदा बच्चा गर्मीले रातोपिरो भइसक्छन्।’ अभिभाव ज्योति झाले गर्मीका कारण नानीबाबु सुत्न नसक्ने र घरीघरी पानी पिउन खोज्ने गरेको बताइन्। ‘समय समयमा विद्युत् लाइन काटिँदा घरभित्रै बस्न सकिँदैन,’ उनले भनिन्।

    पेय पदार्थको बिक्री बढ्यो
    गर्मी बढेसँगै बजारमा हरेक वर्ष चिसो पेयपदार्थको माग ह्वात्तै बढ्छ र यो वर्ष झनै त्यसको मात्रा बढेको छ। अहिले गर्मी बढेसँगै पेय पदार्थको बिक्री बढेको छ। अहिले जनकपुरधाम बजारका होटल तथा चोक चोकमा लस्सीका साथै पेय पदार्थको व्यापार गर्नेको संख्या पनि बाक्लै देखिन थालेको छ। अहिले बजारमा उखुको जुस, सर्वत, बरफ, कुल्फी, आइसक्रिमको व्यापार पनि एकाएक बढेको जनकपुर जानकी चोकका चन्दे लस्सी पसलका सञ्चालक चन्दे साहले जनाए। बिहानदेखि साँझसम्म चिसो पिउनेको भीड लाग्ने गरेको दैनिक उखुको रस पेल्दै आएका जनकपुरधामका शम्भु गुप्ताको भनाइ छ। कुल्फी, आइसक्रिमको बिक्री वितरण बढेको महेन्द्रनगरका विशाल डेरीका सञ्चालक विजय यादवले बताए।

  • पानीपुरी खान कत्तिको स्वस्थकर छ त ?

    पानीपुरी खान कत्तिको स्वस्थकर छ त ?

    पहिले पहिले सामान्यतया तराईमा र उपत्यकाको निश्चित स्थानमा मात्र पाइने पानीपुरी आजभोलि हरेक गल्ली र चोकमा पाइन्छ । अझ स्कुल, कलेज पढ्ने विद्यार्थीले त दिनहुँजसो खान्छन् पानीपुरी। यसरी खुला रूपमा, बिना कुनै सरसफाइ जतासुकै बिक्री-वितरण हुने र अत्यन्त लोकप्रिय खाजा पानीपुरी खान कत्तिको स्वस्थकर छ त ?

    सडकमा बेचिने विभिन्न खाजा, खानेकुराहरूमध्ये पानीपुरी एउटा यस्तो परिकार हो जसबाट संक्रमण हुने सम्भावना अत्यधिक हुन्छ। पानीपुरी विशेषतः बाटोछेउमा ढल नजिकै रहेको पसलमा वा ठेलागाडामा बेच्ने गरिन्छ जहाँबाट धुवाँधुलोबाहेक हानिकारक कीटाणु/ब्याक्टेरिया समेत संक्रमण हुने सम्भावना अत्यन्त उच्च हुन्छ। वर्षायाम र गर्मीमा पानीपुरी खानु अझ धेरै खतरनाक हुन्छ किनभने यसयाममा खाद्यवस्तुमा ब्याक्टेरियाको वृद्धिका लागि अनुकूल हुन्छन्।

    पानीपुरी बेच्नेको सरसफाइको अवस्था त्यत्तिकै ख्याल गर्नुपर्छ। अधिकांश पानीपुरी बिक्रेताले डिस्पोजेबल प्लास्टिक ग्लब्स लगाउँदैनन्। आफ्नो नाङ्गो औंलाले उनीहरू पुरी तोड्छन्, भित्र मसला भर्छन् र त्यसपछि यसलाई अमिलो झोल भएको कचौरामा डुबाउँछन्। यस क्रममा औंलामा जमेको फोहोर झोलमा अनि पानीपुरीमा सर्छ।

    त्यसैगरी यदि हातमा कुनै कीटाणु वा ब्याक्टेरिया छ भने यसले संक्रमण, बान्ता र पखालाजस्ता रोग निम्त्याउन सक्छ। साथै भाइरसबाट सर्ने हेपाटाइटिस ‘ए’ लाग्ने सम्भावना पनि रहन्छ। पानीपुरीको अमिलो झोल बनाउन साइट्रिक एसिडको प्रयोग बढ्दो छ जसलाई धेरै खानाले विभिन्न साइड इफेक्टहरू देखिन सक्छ। अमिलो झोल धेरै मात्रामा वा बारम्बार सेवन गर्दा दाँतको इनामेललाई क्षति पुर्‍याउन सक्छ। त्यसैगरी पाचन असुविधाका साथै पेट फुल्ने, दुख्ने, पखाला लाग्ने, छातीमा जलन हुने, श्वास फेर्न गाह्रो हुने, कतिपयमा एलर्जी हुनेजस्ता समस्या देखिन सक्छन्।

    त्यस्तै पानीपुरी तार्न प्रयोग गरिने तेलको गुणस्तर। सामान्यतया एकपटक तार्नको लागि प्रयोग गरिएको तेल पुनः प्रयोग गर्नु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिंदैन तर पानीपुरी बिक्रेताले एउटै तेल बारम्बार प्रयोग गर्ने गरेको पाइन्छ। यसले क्यान्सर समेत निम्त्याउन सक्ने सम्भावना राख्छ। यसरी बारम्बार प्रयोग गरिने न्यून गुणस्तरको तेल ट्रान्स फ्याटको स्रोत पनि हो जसबाट हृदय रोगको जोखिम बढ्न जान्छ। झोल बनाउन प्रयोग गरिने पानी शुद्ध भएन भने त्यसले तुरुन्तै झाडापखाला, हैजा, फुड पोइजनिङ, पाचन प्रक्रियामा गडबडीजस्ता समस्या निम्त्याउन सक्छ।

    तसर्थ, पानीपुरीको सेवनसँग सम्बन्धित सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै आजैबाट सावधानी अपनाउन आवश्यक देखिन्छ।

  • अब वालिङमै शल्यक्रिया सेवा

    अब वालिङमै शल्यक्रिया सेवा

    स्याङ्जाको स्मार्ट सिटी वालिङमा शल्यक्रिया सेवा सुरू भएको छ। वालिङ नगरपालिकाको गह्रौ प्राथमिक अस्पताल वालिङमा मंगलबार देखि अत्यावश्यक प्रसुती शल्यक्रिया शुरु भएको हो। अस्पतालमा शल्यक्रिया मार्फत पहिलो पटक ३२ वर्षिय महिलाले दिनको ३ बजे स्वस्थ बच्चालाई जन्म दिएको अस्पतालले जनाएको छ । विशेषज्ञ चिकित्सक डा. नारायण बहादुर गोदार र डा. सुरज ढकालको संयुक्त टीमले वालिङ नगरपालिका वडा नं ६ निवासी एक गर्भवती महिलालाई आकस्मिक शल्यक्रिया सेवा प्रदान गरेको गह्रौ प्राथमिक अस्पतालका प्रमुख डाक्टर सुरज ढकालले जानकारी दिए।

    उनले अस्पतालमा प्रसुती सेवा सञ्चालनमा आएसँगै धेरै महिलालाइ सहज हुने र प्रसुतीको लागि पाल्पा पोखराका अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य भएको बताए। यो सेवालाइ अझ सुविधायुक्त बनाउँदै लाने योजना रहेको उनको भनाई छ।

    वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले पदभार ग्रहण गर्दाकै दिन वालिङ नगरपालिकामा महिलाहरुलाई परेको समस्या सामाधान गर्न गह्रौ प्राथमिक अस्पतालमा शल्यक्रिया सेवा सुरू गर्ने निणर्य गरेका थिए। शल्यक्रियाको लागि पनि पाल्पा र पोखरा धाउनुपर्ने बाध्यता रहेको कुरालाई मध्येनजर गर्दै गह्रौ प्राथमिक अस्पतालबाट सेवा दिने उद्घोष गरेका थिए। नगरप्रमुख कृष्ण खाँणले सेवा सञ्चालनमा आएपछि आफुले सुरुमा गरेको प्रतिबद्धता, योजना र आफ्नो एउटा सपना पुरा भएकोमा खुसी व्यक्त गरे। सबैको साथ, सहयोगले सेवा सुरू गर्न सम्भव भएको बताउँदै मेयर खाँणले सेवालाई थप प्रभावकारी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरे। जनताले अनुभुती गर्ने गरी पालिकाले काम गरिरहेको खाँणले बताए।

    गह्रौ प्राथमिक अस्पतालका प्रमुख डा. सुरज ढकालले मंगलबारदेखि प्रसुती शल्यक्रिया सँगै हाइड्रोसिल, हर्निया र एपेन्डिक्सको शल्यक्रिया सेवा पनि प्रवाह भएको जानकारी दिए।

  • दमौली अस्पतालमा मिर्गौला डायलायसिस सेवा पुनः सुरु

    दमौली अस्पतालमा मिर्गौला डायलायसिस सेवा पुनः सुरु

    तनहुँ- तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलायसिस सेवा पुनः सञ्चालन गरिएको छ । उपकरण बिग्रिएपछि यहाँ बिगत डेढ महिनादेखि सो सेवा ठप्प थियो। यसअघि डायलायसिस उपकरण बिग्रिंदा मिर्गौलापीडितलाई उपचारका लागि समस्या भएको थियो। गत वैशाखदेखि बिग्रिएका ७ मध्ये ५ उपकरण मंगलबार मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए। उपचार केन्द्रमा कुल ११ उपकरण रहेकामा ७ वटा बिग्रिएका थिए।

    राष्ट्रिय मिर्गौला उपचार केन्द्रको प्राविधिक टोलीले बिग्रिएको उपकरण मर्मत गरी पुनः सञ्चालनमा ल्याएको हो। उनले भने, ‘अब ९ वटा उपकरणबाट सेवा दिन सकिने भएको छ।’ ४ वटा मात्रै उपकरण सञ्चालनमा हुँदा मिर्गौलापीडितलाई समस्या हुँदै आएको थियो। ४ वटा उपकरण सञ्चालनमा हुँदा दैनिक १६ जनाले मात्रै सेवा पाउने गरेका थिए। एघारवटै उपकरण सञ्चालन भए दैनिक २७ बिरामीले सेवा पाउन सक्छन्। केन्द्रले दैनिक बिहान ७ देखि राति ११ बजेसम्म डायलायसिस सेवा सञ्चालन गर्दैआएको छ।

    दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा. ऋषि काफ्लेसँगको समन्वयमा उपकरण पुनः सञ्चालनमा ल्याइएको बताए। केन्द्रमा हाल डायलायसिस सेवा लिने बिरामीको संख्या ५० रहेको छ। अझै ३० मिर्गौलापीडित डायलायसिसका लागि पालो पर्खंदै छन्। उनीहरू मिर्गौला उपचार केन्द्रमा डायलायसिसका लागि नाम टिपाएर पालो पर्खिरहेका छन्।

    नियमितरूपमा गराउनुपर्ने उनीहरूले हाल पोखरामा डायलायसिस गरिरहेका छन्। उपचार केन्द्रमा डायलायसिस गराइरहेका मिर्गौलापीडितले मिर्गौला प्रत्यारोपण वा अन्यत्रै स्थानान्तरण भएर गएमात्रै नयाँले मौका पाउने अवस्था रहेको पण्डितले बताए। ‘ठाउँ खाली भएमात्रै नयाँलाई मौका दिने हो, कि उनहरूले मिर्गौला प्रत्यारोपण गर्नुपर्‍यो कि अन्यत्रै जिल्लामा स्थानान्तरण भएर जानुपर्‍यो,’ उनले भने, ‘ठाउँ खाली भएपछि नाम दर्ता गरेकालाई यहाँ डायलायसिसको व्यवस्था मिलाउँछौं।’ ०७२ साल मंसिर ३ गते अस्पतालमा डायलायसिस युनिट सञ्चालनमा आएको थियो।

    उक्त युनिट गत कात्तिक २४ गते दमौली अस्पताललाई हस्तान्तरण गरिएको छ।  युनिटमा हालसम्म २ सय २८ जनाले डायलायसिस सेवा लिएका छन्। केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौलापीडितले पनि डायलायसिस सेवा लिइरहेका छन्। हेल्थ केयर फाउन्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलायसिस केन्द्र स्थापना गरेको थियो। केन्द्रका लागि मन्जु उपाध्यायले आफ्ना स्वर्गीय पति शत्रुधन उपाध्यायको स्मृतिमा १ करोड रुपैयाँ सहयोग गरेकी थिइन् भने पछि उपकरण थप गर्नका लागि २५ लाख रुपैयाँ सहयोग गरेकी थिइन्।

  • कति समयको फरकमा खाना खानु राम्रो ?

    कति समयको फरकमा खाना खानु राम्रो ?

    व्यस्त जीवनशैली र खानपानमा उचित ध्यान पुर्‍याउन नसक्दा हिजोआज मानिसको प्रतिरक्षा प्रणाली कमजोर बन्दै गइरहेको छ । बिहान उठ्नेदेखि राति सुत्ने समय निश्चित छैन । खानाको हकमा पनि त्यस्तै नै छ । बिहान खानुपर्ने खाना दिउँसो र बेलुका खानुपर्ने खानेकुरा राति खाँदा स्वास्थ्यमा विभिन्न खालका समस्या आइरहेका छन् ।

    सामान्यतया हाम्रो आमाशयको आकार दुईवटा मुठ्ठी बराबरको हुन्छ । तर त्यो आमाशय पाँच गुनासम्म तन्किन सक्छ । जसले हामीले शरीरलाई आवश्यकभन्दा बढी खाना खायौं र समयमा खाएनौं भने पनि अट्छ तर पच्न भने धेरै समय लाग्छ ।

    हामी प्रायः भोक नलागे पनि खाना खाइरहेका हुन्छौं । बिहान अफिस जान हतार हुन्छ । ९ बजे हतारहतार गरेर खाना खायो । दिउँसो १ देखि २ बजेसम्म अफिसमा खाजा खाने समय हुन्छ, भोक नलागे पनि खाइदिन्छौं । तर खानाको साथै खाना खाने समयको ख्याल राखे पाचन प्रक्रियासम्बन्धी समस्याबाट बच्न सकिन्छ ।

    कुन समयमा खाने ?
    खाना खाने सबैभन्दा उचित समय भनेको भोक लागेपछि हो । किनकि भोक लागेको बेला खाना पचाउने पाचन रसहरू उत्पादन हुन्छन् । जसले खानालाई राम्ररी पचाउन मद्दत गर्छ । हामीले खाएको खाना पच्न चारदेखि ६ घण्टा लाग्ने भएकाले त्यही समयको अन्तरालमा खाना खानु उचित हुन्छ । यदि बिहान ५ बजे उठियो भने उठेर फ्रेस भएको ४५ मिनेटभित्र बिहानको खाजा खानु राम्रो हुन्छ ।

    बिहानको खाजा कस्तो खाएको हो त्यही अनुसार समय अन्तरालमा खाना खानु उचित हुन्छ । यदि कार्बोहाइड्रेटवाला खाजा खाइएको हो भने चार घण्टापछि १० बजेपछि खाना खानु राम्रो हुन्छ । तर यदि बिहानको खाजा प्रोटिनवाला खाएको छ भने ६ घण्टापछि अर्थात् मध्यान्ह १२ बजेपछि खाना खानु राम्रो हुन्छ ।

    १० बजेपछि बिहानको खाना खाएको छ भने २ बजेपछि खाजा खानुपर्छ । खाजा कस्तो खाएको छ त्यही अनुसार चारदेखि ६ घण्टाको अन्तरालमा बेलुकाको खाना खानु उपयुक्त हुन्छ । यसरी हामीले दिनभरिमा खाने चार पटकको खानालाई उचित समयमा खायौं भने हाम्रो तौल पनि नियन्त्रणमा रहन्छ ।

  • काठमाडौंका ६८ अस्पताल प्रशासन बन्द गराउने मेयर साहको चेतावनी, मन्त्रालयलाई ७ दिनको अल्टिमेटम

    काठमाडौंका ६८ अस्पताल प्रशासन बन्द गराउने मेयर साहको चेतावनी, मन्त्रालयलाई ७ दिनको अल्टिमेटम

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले विपन्न एवं लक्षित वर्गहरूलाईदिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्टाई निःशुल्क उपचार उपलब्ध गराउने सम्बन्धमा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

    मङ्गलवार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई भेटेर मेयर शाहले सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरू उपलब्ध गराउन ध्यानाकर्षण गराएका हुन् ।

    छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न मन्त्री बस्नेतलाई अनुरोध गरिएको उनले बताए । मन्त्रालयले ती स्वास्थ्य संस्थाहरूलाई ७ दिनभित्र कानूनी दायरामा नल्याए अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने चेतावनी पनि उनले दिएका छन् ।

  • ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

    ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

    काठमाडौं । सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने जनाएको छ ।

    औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

    कार्यक्रम अन्तर्गत स्वदेशमा नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइने समेत बताएको छ । बहुसंख्यक जनताले सेवा प्राप्त गर्ने गरी पायक पर्ने स्थानमा आधारभूत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइने समेत बताएको छ ।

  • अभियानद्धारा प्लास्टिकको झोला कम प्रयोग गर्न आग्रह

    अभियानद्धारा प्लास्टिकको झोला कम प्रयोग गर्न आग्रह

    दुलेगौंडा । सुसाशन र समृद्ध शुकलागण्डकीका लागि युवा अभियानले प्लास्टिकको झोला प्रयोग कम गर्न सर्वसाधारण र विद्यार्थीलाई सजक बनाएको छ । प्लास्टिकको झोलाले व्यक्तिगत, सामाजिक र वातावरणीय हिसाबले दीर्घकालिन रुपमा नकारात्मक प्रभाव पार्ने हुदाँ यो कार्यक्रम गरेको हो । अभियानले दुलेगौंडा स्थित वन्केवा चोकमा आम सर्वसाधारण नागरिकलाई सजक गराउदै कपडाको वितरण गरेको थियो । साथै शहिद कृष्ण माध्यमिक विद्यालयमा पनि विद्यार्थीहरुलाई सजक बनाउदै कपडाको झोला वितरण गरिएको छ ।

    तनहुँ सेवा हस्पिटलका डाक्टर राज गुरुङले विद्यार्थीहरुका प्लास्टिकका झोला प्रयोग, यसले पार्ने प्रभावका बारेमा जानकारी गराएका थिए । उनका अनुासर प्लास्टिकको झोला प्रयोग ठप्प गर्न नसके पनि कम प्रयोग गर्दै कपडाको झोला प्रयोग गर्ने बानि बसाल्न अनुरोध गरे । अभियानले ‘प्लास्टिकका झोलाको प्रयोग कम गरौं, प्लास्टिकका झोला प्रयोगले स्वाथ्यमा प्रतिकुल असर गर्छ, प्लास्टिकका झोला जथाभावि नजलाऔं, प्लास्टिकका झोला जथाभावि नफालौं’ भन्ने सन्देशको पमप्लेट देखाउदैं जनचेतना फैलाएको थियो ।

    कार्यक्रममा अभियानका संयोजक शंकर पन्त, सदस्य कोमलबहादुर बानिया, विवेक वाग्ले, विपिन भण्डारी, कृष्ण कार्की लगायतको उपस्थिती रहेको थियो ।