Category: स्वास्थ्य

  • अत्यधिक गर्मी बढे सगैँ जनजीवन प्रभावित

    अत्यधिक गर्मी बढे सगैँ जनजीवन प्रभावित

    दोधारा चाँदनी- केही दिनदेखि बढेको गर्मीले कैलाली,कञ्चनपुर लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाले मङ्गलबारदेखि कैलाली, कञ्चनपुर लगायत जिल्लाको तापक्रम वृद्धि भएको जनाएको छ । कार्यालय प्रमुख सिङ्गल चौधरीले शनिबार ४० दशमलव छ डिग्री तापक्रम मापन गरिएको बताए । “मङ्गलबारसम्म यहाँको तापक्रम ३७ डिग्री थियो अहिले बढेर ४० दशमलव छ पुगेको छ”, उनले भने “बिहीबार र शुक्रबार ४० दशमलव पाँच डिग्री तापक्रम मापन गरिएको थियो ।”

    महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले गर्मीमा अत्यावश्यक कामबाहेक बाहिर नआउन आग्रह गरे । “गर्मीका कारण ज्वरो आउने, आलश्य हुने चक्कर आउनेलगायतका रोग हुन सक्छन् सबैले सतर्कता अपनाउनुपर्छ”उनले भने, “बाहिर निस्कनुपरे छाता आढ्ने, चश्मा लगाउने प्रशस्त मात्रामा पानी खाने गर्नुपर्छ ।”

    अत्यधिक गर्मी बढेपछि यहाँको जनजीवन प्रभावित बनेको हो । गर्मी बढेपछि कैलालीमा चार दिनका लागि विद्यालय बन्द गरिएको छ भने कञ्चनपुरमा जिल्ला समन्वय समितिले सूचना जारी गर्दै बिहान १० बजेभित्र मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । “अहिले जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ, खोप केन्द्र पनि विद्यालयमै छन्”, उनले भने “खोप अभियानका कारण बिहान १० बजेभित्र मात्रै विद्यालय सञ्चालन गर्न सबै पालिकालाई पत्राचार गरेका छौँ ।” गर्मीका कारण विद्यालय जाने बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका हुन् ।

  • ‘सन्तुलित भोजन र व्यायाम नै बाथरोगको औषधि’

    ‘सन्तुलित भोजन र व्यायाम नै बाथरोगको औषधि’

    कास्की- बाथरोग विशेषज्ञ डा सुधीर कर्माचार्यले बाथरोगको औषधि सन्तुलित भोजन र शारीरिक परिश्रम भएको बताए । नारी शक्ति जागरण आमा समूह पोखरा-१७ आँखा अस्पताल चोकको व्यवस्थापन तथा नेसनल बाथरोग मुस्ताङचोकको प्राविधिक सहयोगमा आयोजित निःशुल्क रक्त परीक्षण एवम् रिपोर्ट वितरण कार्यक्रममा बाथरोग अधिकांश बिरामीहरुले दुखाइ कम गर्ने औषधि प्रयोग गर्ने गरेको बताए । नेपालमा बाथरोगका बिरामी बढ्दो क्रममा रहेको बताउँदै अहिले छ प्रतिशत जनसङ्ख्यामा पुगेको उनको भनाइ छ ।

    बाथरोगको सङ्केत देखिएका बिरामीहरुले रातो मासु, गेडागुडी, गोलभेँडा, अम्लीय पदार्थ, गुलियो पदार्थ, मद्यपान र धुम्रपान गर्न नहुने र उचाइ अनुसारको मोटोपन कायम राख्न सकेमा आत्तिनु नपर्ने उनकोे भनाइ छ । अहिलेसम्म दुई सयभन्दाबढी प्रकारका बाथरोग पहिचान भएको उनको भनाइ छ । नेपालमा पुरुषको तुलनामा महिलामा बढी बाथरोग देखिएको भन्दै उनले बोसोको मात्रा र भिटामिन डीको कमी एवम् रगतको उतारचढावका कारण यो रोगको प्रकोप महिला वर्गमा बढी देखिने गरेको बताए ।

    बाथरोग लागि सकेपछि चिल्लो पदार्थ कम खाने, दैनिक कम्तीमा एक घन्टा पैदलयात्रा गर्ने र चिकित्सक एवम् फिजियोथेरापिष्टको सल्लाहअनुसार व्यायाम गर्नाले फाइदा पुग्ने बताउँदै डा कर्माचार्य भने, “बालबालिका, वयस्क र ज्येष्ठ नागरिकहरुमा फरक-फरक प्रकारका बाथरोग देखिने गरेको छ ।” शरीरमा रोगसँग भिड्ने शक्ति कमजोर हुँदै गएपछि बाथरोग सक्रिय बन्ने उनकोे भनाइ छ । वंशाणुगत, वातावरण र हर्मोनहरुको कारण यो रोगले आक्रमण गर्ने गरेको उनले बताए । विश्वमा थुप्रै अनुसन्धान भइरहे पनि बाथरोग लाग्नाका कारण अहिलेसम्म पत्ता नलागेको उनले जानकारी दिए ।

    डा कर्माचार्य भन्नुहुन्छ, “जोर्नी सुनिने, आँखा रातो हुने र ढाड दुख्ने तथा छालामा पोल्ने, सञ्चो नहुने, घाउ देखापर्नु उक्त रोगका लक्षण हुन्, कुन किसिमको बाथरोग हो पत्ता लगाउन रगत परीक्षण र एक्स-रेको सहयोग लिन अपरिहार्य छ ।” उचित उपचार नभएमा आँैलाको जोर्नी बाङ्गिने, मिर्गौैलालाई असर गर्ने, श्वासप्रश्वास बढ्ने फोक्सोको बाहिरी भागमा पानी जम्ने जस्ता समस्या देखिने उनको भनाइ छ । आमा समूहका अध्यक्ष प्यारी गुरुङका अनुसार शिविरमा एक सय जनाको रगत सङ्कलन गरिएको थियो । जसमा ५० जनामा कुनै न कुनै किसिमको बाथरोगको लक्षण देखिएको थियो ।

    समूहले स्थापना दिवसमा वातावरणीय, स्वास्थ्य क्षेत्रका साथै सदस्यलाई सीपमूलक तालिम र मानव सेवा आश्रम छोरेपाटनमा रु १८ हजार पाँच सय सहयोग गरेको छ ।

  • कस्ता मानिस लाई लामखुट्टेले बढि टोक्छ ?

    कस्ता मानिस लाई लामखुट्टेले बढि टोक्छ ?

    लामखुट्टेमा मानिस र जनावर भएको ठाउँ थाहा पाउने एक विशेष प्रकारको सेन्सर हुन्छ । यसैको मद्दतले यसले शिकारलाई खोज्दछ । यस अलावा अन्यको तुलनामा कसैलाई बढि लामखुट्टेले टोक्छ भने लामखुट्टेलाई के कुराले आकर्षित गर्छ त ?

    यी हुन् कारण ः

    १. धेरै पसिना आउने मानिस प्रति लामखुट्टेलाई आकर्षित गर्दछ । लामखुट्टेलाई आवश्यक पर्ने सबैकुरा पसिनामा पाइन्छ । त्यसैले यो आर्कषित बन्दछ ।
    २. महिलाको तुलनामा पुरुष र बच्चालाई र यी दुइको तुलनामा पनि वयस्कलाई लामखुट्टेले धेरै टोक्ने गर्दछ ।
    ३. लामखुट्टे शरीरको तापक्रममार्फत आफ्नो शिकारको खोजी गर्दछ । मानिसको शरीरको तापक्रम लामखुट्टेका लागि आइडियल हुने गर्दछ ।
    ४. कालो, निलो, रातो जस्तो गाढा रङको कपडामा लामखुट्टे आकर्षित हुने गर्दछन् ।
    ५. बास्नाले पनि लामखुट्टेलाई आकर्षित गर्दछ । कसैले परफ्युम र डियो लगाएको छ भने लामखुट्टेले टोक्ने सम्भावना धेरै हुन्छ ।
    ६. अधिकांश छालाको स्याहारमा प्रयोग गरीने क्रिम तथा कष्मेटीक प्रोडक्ट लगाउनेमा ल्याक्टिक एसिड उत्पन्न हुन्छ जसले लामखुट्टेलाई आकर्षित गर्दछ ।
    ७. यदि कसैमा कोलेस्ट्रोलको स्तर धेरै छ उनीहरुलाई लामखुट्टेले धेरै टोक्छ ।
    ८. मोटो मानिसले धेरै तापक्रम र कार्बनडाइअक्साइड पैदा गर्दछन् । त्यसैले उनीहरुको बडी मास धेरै हुन्छ यसकारण उनीहरुलाई लामखुट्टेले धेरै टोक्छ ।
    ९. लामखुट्टेले शरीरको गन्धमार्फत पनि मानिस भएको ठाउँ थाहा पाउँछ । जति कडा गन्ध हुन्छ लामखुट्टेले टोक्ने सम्भावना त्यति धेरै हुन्छ ।
    १०. सामान्य महिलाको तुलनामा गर्भवती महिलालाई लामखुट्टेले बढि टोक्दछ ।धेरैलाई थाहा नहोला तर हामीलाई टोक्ने लामखुट्टे पोथी मात्र हुन्छ । भाले लामखुट्टे शाकाहारी हुन्छन् र बोट बिरुवाको रस चुसेर बाच्छन् । पोथी लामखुट्टेलाई लार्भा उत्पादन गर्न मानव रगत पोषणको रुपमा प्रयोग हुन्छ ।

  • हेलिकप्टरबाट एक सुत्केरीको उद्धार

    हेलिकप्टरबाट एक सुत्केरीको उद्धार

    दार्चुला- दार्चुलामा एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार गरिएको छ । लेकम गाउँपालिका-२ भटाइजरकी ३३ वर्षीया पार्वती सार्कीको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो ।

    बिहिवार दिउँसो सर्मोली स्वास्थ्य चौकीमा बच्चा जन्माएकी सार्कीलाई उच्च रक्तस्रावको समस्या देखिपछि थप उपचारका लागि आज बिहान हेलिकप्टरमार्फत उद्धार गरि कणर्ाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।

  • सबै जिल्लाको तापक्रम उच्च तराईको जनजीवन कष्टकर

    सबै जिल्लाको तापक्रम उच्च तराईको जनजीवन कष्टकर

    काठमाडौं- मनसुन भित्रिन ढिला हुँदा तराईमा तातो हावा अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ । नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले पश्चिमका दुई र पूर्वका तीन जिल्लाबाहेक सबै जिल्लाको तापक्रमले उच्च सतर्कताको तह पार गरेको जनाएको छ । ती जिल्लामा ४१ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ । पाँच जिल्लामा तापक्रमको सतर्कता तहको अवस्थामा रहेको छ । सबैभन्दा बढी जनकपुर, विराटनगर, भैरहवा, सिमरा र नेपालगन्जमा तापक्रम वृद्धि भएको देखिएको छ ।

    यसैबीच बङ्गालको खाडीबाट मनसुनी न्यूनचापीय रेखा हिजो भारतको केरलामा आइपुगेको छ । त्यहाँबाट मनसुनी जलवाष्प नेपाल आउन करिब एक साता लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा यो वर्ष मनसुन भित्रिने अनुमानित दिन भनेर जुन १३ लाई तोकिएको छ । अहिलेकै अवस्थालाई गणना गर्ने हो भने मनसुन सुरु हु्न करिब एक साता वा त्यसभन्दा बढी समय लाग्ने सम्भावना देखिएको छ । दुई दिन पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशका पहाडी भेगमा हल्का खण्डवृष्टि हुने सम्भावना भने रहेको छ । पूर्वतर्फ केही बादल बनेको छ भने पश्चिम पहाडी इलाकामा पनि बादल बन्ने क्रम जारी छ । धेरै ठूलो वर्षा नहुने भएकाले तापक्रम तत्काल घट्ने सम्भावना भने कम रहेको मौसमविद्हरुले बताएका छन् ।

  • आँखाको नानीमा नेपाल आत्मनिर्भर छ ः नेपाल आँखा बैङ्क

    आँखाको नानीमा नेपाल आत्मनिर्भर छ ः नेपाल आँखा बैङ्क

    काठमाडौँ । आँखा दान गर्नेको सङ्ख्या बढेसँगै आँखाको नानीमा नेपाल आत्मनिर्भर बनेको नेपाल आँखा बैंकले बताएको छ । आँखा दानप्रतिको बद्लिँदो सकारात्मक सोचका कारण दाताको सङ्ख्या बढ्दै गएको बैंकका व्यवस्थापक शङ्करनारायण न्वयनाले बताए । काठमाडौँमा आयोजित ‘आँखा दान तथा सामूहिक श्रद्धाञ्जली सभासम्बन्धी पत्रकार सम्मेलन’ मा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले बैङ्कमा आँखाको नानी सुरुको अवस्थामा विदेशबाट झिकाइने गरेकोमा अहिले देश भित्रबाटै सङ्कलन हुने गरेको जानकारी दिए ।उनका अनुसार अहिले बैंकले देशभित्र अन्य अस्पतालमा समेत प्रत्यारोपणका लागि आँखाको नानी उपलब्ध गराउँदै आएको छ । नेपाल आँखा बैङ्कमा हालसम्म एक लाखभन्दा बढी दाताले मृत्युपर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेको र १२ हजार भन्दा बढीले आँखाको नानी दान प्राप्त गरी पुनः दृष्टि प्राप्त गरेको उहाँले जानकारी दिए ।

    बैंकले सन् १९९४ मा दुई दाताबाट आँखाको नानी सङ्कलन सुरु गरेको थियो । बैंकले हाल वार्षिक एक हजार तीन सय दाताबाट आँखाको नानी सङ्कलन गर्दै आएको छ । सन् २०१८ मा एक हजार एक सय ७८ दाता र सन् २०२२ मा एक हजार ४३ दाताबाट आँखाको नानी सङ्लग्न गरेर प्रत्यारोपण गरिएको छ । नेपाल आँखा बैंकले सन् १९९४ देखि नै मृत्युपश्चात् आँखाको नानी दान गर्ने दाताहरूबाट नानी सङ्कलन, परीक्षण र सञ्चयलगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने कार्य गर्दै आएको छ । बैंकले स्थानीय आँखा अस्पतालको समन्वयमा मेची, विराटनगर, लहान, हेटौँडा, भरतपुर, लुम्बिनी, पोखरा र कैलालीमा पनि क्षेत्रीय आँखा नानी सङ्कलन केन्द्रबाट आँखाको नानी सङ्कलन गरिरहेको छ ।

    चिकित्सकका अनुसार आँखाको नानीमा सङ्क्रमण भएर, चोट लागेर, जन्मजात फुलो परेर समयमै उपचार नपाउँदा, अशिक्षा, अज्ञानता र गरिबीको कारणले गर्दा र विभिन्न घरेलु तथा अन्य हानिकारक परम्परागत उपचारका कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुन्छ । आँखाको नानी रोग विशेषज्ञ चिकित्सक डा बन्दना खनालले नेपालमा दृष्टिविहीनको दोस्रो मुख्य कारण आँखाको नानी बिग्रिनु भएको बताउनुभयो । उहाँले आँखाको नानीको प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउन सकिने भन्दै आँखा दानसम्बन्धी सचेतना बढाउनुपर्नेमा जोड दिए । पत्रकार सम्मेलनमा मृत्युपछि आँखाको नानी दान गर्ने दाताको सम्झना र सम्मानमा उनीहरूको परिवारको उपस्थितिमा शनिबार सामूहिक श्रद्धाञ्जली सभाको आयोजना गरिने बैंकका व्यवस्थापक त्वयनाले जानकारी दिए ।

  • गर्मी बढेसँगैे वाग्मतीको दुर्गन्ध बढेको बारे स्थानियको गुनासो

    गर्मी बढेसँगैे वाग्मतीको दुर्गन्ध बढेको बारे स्थानियको गुनासो

    काठमाडौँ । बाघद्वारबाट उद्गम भएर काठमाडौँको किनारमा बग्ने वाग्मती नदीले काठमाडौँ र ललितपुरको सीमा छुट्याएको छ । धार्मिक विशेषता रहेको वाग्मती नदीलाई हिन्दू तथा बौद्धधर्ममा पवित्र मानिन्छ । नदीको किनारमा बनेका मन्दिरले धार्मिक विशेषता झन बढाएको छ । गर्मी सुरुभएसँगै वाग्मतीको दुर्गन्ध धेरैले महसुस गरे पनि दुर्गन्ध न्यूनीकरण गर्नतर्फ कसैको चासो र चिन्ता नभएको स्थानीयको गुनासो छ । दुर्गन्धका कारण वाग्मती किनारमा बस्न समस्या हुने गरेको छ । टेकु र कुलेश्वरको बीचमा विष्णुमती नदी र वाग्मती नदीको दोभान छ । दुवै नदी मिसिएर बग्दा सानेपा र बल्खु आसपासका बस्ती बढी प्रभावित छन् ।

    वाग्मती नदीअन्तर्गतका अन्य पुल तथा वाग्मती करिडोरमा पैदलयात्रा गर्ने नाकमुख थुनेर हिँड्छन् । कुलेश्वरमा रहेको फलफूल बजार र बल्खु पुलको छेउमा रहेको तरकारी बजारमा दुर्गन्ध अत्यधिक बढेको यहाँका स्थानीय बताउँछन् । थापाथली र कुलेश्वरको सुकुम्बासी बस्तीमा वर्षातको समयमा वाग्मती नदी बस्ती भित्रै पस्ने उनीहरूको भनाइ छ । ललितपुर महानगरपालिका-२ सानेपामा बस्ने सानेपा स्वास्थ्य संस्थाका सचिव सजीव केसीले भने, “हावा चल्यो भने वाग्मती नदीको गन्ध करिब एक किलोमिटर परसम्मको बस्तीमा पुग्छ । नदीबाट आएको गन्धका कारण राति निन्द्रा पर्दैन, खाना मन लाग्दैन ।”

    स्वास्थ्य शिविरको कामका लागि जाँदा वाग्मती गाउँपालिकाको प्यूटारसम्म दुर्गन्ध पुग्ने उनले अनुभव सुनाए । उनले भने, “सानेपामा वाग्मती नदीको छेउमै छ नेपाली काँग्रेसको केन्द्रीय पार्टी कार्यालय छ । यहाँ मन्त्रीदेखि प्रधानमन्त्रीसम्म आउछन् तर उनीहरुलाई वाग्मती नदीको गन्ध कसरी कम गर्न सकिन्छ भन्नेतर्फ चिन्ता नै छैन ।” ललितपुर उपमहानगरपालिका-२ सानेपाका ४५ वर्षीय विशाल शाहीले वाग्मती करिडोर छेउमा पसल व्यवसाय गर्न लागेको वर्षौँ बितेको भन्दै नदीको दुर्गन्ध पनि वर्षौँदेखि उस्तै रहेको बताए । उनले भने, “गत वर्ष डेङ्गु बढेका बेलामा हाम्रो पूरै परिवार डेङ्गु सङ्क्रमित भयो । अहिले पनि बेलाबेलामा हैजालगायत सङ्क्रमित रोग देखा पर्छन् । नदीको दुर्गन्धसँग जोडिएको वर्षौँ बितेकाले बानी परिसकेको छ ।”

    “वाग्मती नदी किनारमा धेरै पार्क छन् । पार्कभित्र मानिस पस्छन् तर दुर्गन्धका कारण धेरै समय टिक्न सक्दैनन् । ललितपुरमा बिपी पार्क, मनमोहन पार्क र शहीद पार्क वाग्मती किनारमा छन्”, बिपी पार्कका इन्चार्ज सञ्जु श्रेष्ठले भने, “धेरै लगानी गरेर पार्क स्थापना गरेका छौँ । पार्कमा मानिस आउँछन् तर दुर्गन्धका कारणले धेरै समय बस्न सक्दैनन् ।” उनले वाग्मती नदीको दुर्गन्धका कारण पार्कमा चहलपहल घटेको बताए ।

    वाग्मती नदीको किनारमा बस्ने सुनकुमारी गुरुङले फागुन सुरु हुने बित्तिकै वाग्मतीको दुर्गन्ध सुरु हुने बताए । “फागुन लागेपछि हावा चल्न थाल्छ । हावा चल्यो भने दुर्गन्ध फैलिन्छ र बस्नै गाह्रो हुन्छ । राति निन्द्रा पर्दैन । यहाँ बसेको वर्षौँ भयो तर समस्या सधैँ उस्तै छ”, उनले भने । नदीबाट निस्कने दुर्गन्धका कारण नदी आसपासका बासिन्दालाई सास्ती भइरहेको छ । “वाग्मतीबाट निस्कने दुर्गन्धको असर कति छ भन्ने कुरा त हामीलाई थाह छ । वाग्मतीमा ढल मिसाउनेलाई थाह छैन”, स्थानीयले गुनासो गरे ।

  • विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

    विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

    वालिङ। स्याङ्जाको वालिङ-१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ । बालबालिकाको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको छ ।

    विश्व स्वास्थ्य सङ्गठन, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कार्यालय स्याङ्जा र गह्रौँ प्राथमिक अस्पताल वालिङबाट चिकित्सकको टोली पुगेर औषधि उपचार गरेको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । पहिलो पटक परीक्षण गर्दा २३ जनामा देखिएको सङ्क्रमण दर बढ्दै गएपछि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि कोखे पुगेर नमूना सङ्कलन गरेका हुन् ।

    “ठेउला देखिएको ठाउँमा पुगेर स्वास्थ्यकर्मीको टोलीले घाँटीको स्वाब, छालाको नमूना तथा रगतको नमूना सङ्कलन गरी परीक्षण गर्न काठमाडौँ पठाएको छ”, उनले भने, “लक्षणअनुसार ठेउला भएको प्रारम्भिक परीक्षण हेर्दा सङ्ख्या धेरै भएकाले नमूना परीक्षण गर्न काठमाडौं पठाएका छौँ ।” ठेउला रोगको रोकथाम तथा नियन्त्रण गर्न हावाबाट बच्न र सामाजिक दूरी कायम राख्नसमेत अनुरोध गरिएको शाखा प्रमुख पाण्डेले बताए । दोस्रो पटक जाँच गर्दा थप दश जना बालबालिका तथा समुदायस्तरसम्म सङ्क्रमण फैलिएकाले रोकथाम तथा न्यूनीकरणका लागि स्थानीयलाई सचेत गराइएको उनले भने ।

    ठेउला भाइरसबाट सर्ने सङ्क्रामक रोग हो । विशेष गरी १५ वर्ष उमेर समूहमुनिका बालबालिकामा यो रोग बढी देखिने गर्छ । यसले दीर्घरोगी तथा गर्भवती महिलालाई बढी असर गर्नसक्ने भएकाले समुदायस्तरमा फैलिन नदिन विशेष सावधानी अपनाइएको स्वास्थ्य कार्यालय स्याङ्जाकी प्रमुख वसुन्धरा शर्माले बताए । “सङ्क्रमण फैलिन नदिन सङ्क्रमित बिरामीको सम्पर्कमा नआउने, एउटै लुगा प्रयोग नगर्ने, सरसफाइमा ध्यान दिनुपर्छ”, उनले भने, “एकदेखि दुई हप्तासम्म यसको लक्षण देखिन्छ, एकपटक भएपछि दोस्रो पटक हुँदैन ।” जेठ १४ गतेदेखि सुरु भएको ठेउलाको सङ्क्रमण अहिले सिर्सेकोट जनहित विद्यालय तथा समुदायस्तरमा फैलिएको छ ।

  • महिला स्वास्थ्य स्वंयमसेविकाहरुलाई साइकल वितरण

    महिला स्वास्थ्य स्वंयमसेविकाहरुलाई साइकल वितरण

    विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ६ ले सामुदायिक महिला स्वास्थ्य स्वंयमसेविकाहरुलाई साइकल वितरण गरेको छ । गर्भवती महिलासहित अन्य समस्या भएकाहरूको घरमै पुगेर सेवा प्रदान गर्न सहज होस् भन्ने उद्देश्यले ९ जना स्वास्थ्य स्वंयमसेविकाहरुलाई साइकल वितरण गरिएको वडाध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिए । महानगरका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हुमादेवी भट्टराई, मञ्जु बस्नेत, केशकशा कौशर, जेवा खानम, राधादेवी गुप्ता, मदिना खातुन, सञ्जु कामत चौधरी, आशाकुमारी मण्डल र सीमादेवी कामतलाई साइकल प्रदान गरिएको थियो ।

    कार्यक्रममा मेयर कोइराला, वडाध्यक्ष सहनी, वडा सदस्य पन्नालाल राजवंशी, निर्मला कार्की र आशा पासमानले स्वंयमसेविकाहरुलाई हरूलाई साइकल वितरण गरे । मेयर कोइरालाले महिला स्वास्थ्य स्वंयमसेविकाहरुलाई हरुले समुदायमा गएर निस्वार्थ रुपमा काम गरेको बताए । महिला स्वंयमसेविकाहरुलाई हरूको कामको जति नै प्रशंसा गरे पनि कमी हुने मेयर कोइरालाको भनाइ थियो । सो अवसरमा वडाध्यक्ष सहनीले आफूले चुनावको समयमा गरेको प्रतिबद्धताअनुसार साइकल वितरण गरेको जानकारी दिए ।

  • गर्मीबढे सगैँ बिरामी बालबालिकाको सख्या बढ्यो

    गर्मीबढे सगैँ बिरामी बालबालिकाको सख्या बढ्यो

    जानकी । नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् । उनले अस्पतालको ‘ओपिडी’मा दैनिक ५० भन्दा माथिको सङ्ख्यामा बिरामी बालबालिका उपचारका लागि आउने गरेको बताए । ती मध्ये चारदेखि पाँच बिरामी बालबालिका भर्ना हुने गरेका छन् । विशेष गरेर बालबालिकामा ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने समस्या देखिएको बालरोग विशेषज्ञ डा प्रतिमाको भनाइ छ ।

    उहाँले यस मौसमी रुघाखोकी र भाइरल फ्लुबाट जोगिन बालबालिकालाई अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने, खाना खानुभन्दा अघि राम्री साबुनपानीले हात धोएर मात्र खाना खान सुझाव दिए । मौसमी फ्लुबाट प्रभावित भएका बालबालिकालाई निको हुन सामान्यता चारदेखि पाँच दिन लाग्ने उनकोे भनाइ छ । अत्यधिक गर्मीका कारण बढेको मौसमी फ्लुबाट जोगिन घरकै खाना खाने, पानी धेरै पिउने, सफा खाने कुरा मात्र खाने, घाममा नबस्ने र धेरै हिँडडुुल नगर्ने सुझाब दिए ।

    त्यस्तै केयर सिटी अस्पताल नेपालगञ्जका बाल रोग विशेषज्ञ डा विष्णुकुमार थापाका अनुसार उपचारका लागि प्रत्येक दिन सातदेखि आठ जना मौसमी रुघाखोकी र भाइरल फ्लु भएका बालबालिका आउने गरेका छन् । उनले मौसमी रुघाखोकी र भाइरल फ्लुबाट जोगिन बालबालिकालाई माक्सको प्रयोग अनिवार्य गर्नुपर्ने, खाना खानुभन्दा राम्री साबुनपानीले हात धुने, सुईको प्रयोग गर्ने बताए । बालबालिकालाई बिरामीबाट जोगाउन विद्यालय बन्दले पनि सहयोग पुग्ने उनको भनाइ छ ।

    नेपलागञ्ज कान्ति ओरोग्य अस्पतालका बाल रोग विशेषज्ञ डा रोमा बोराले दैनिक १५ देखि २० जना बिरामी बालबालिका उपचारका लागि आउने गरेको बताए । उनका अनुसार धेरैजसो बच्चामा ज्वरो, रुघाखोकीको समस्या देखिएको छ । खासगरी तीनदेखि आठ वर्षसम्मका बालबालिका बिरामी भएको उनको भनाइ छ । सङ्क्रमणबाट बच्नका लागि बालबालिकालाई सकेसम्म माक्स लगाइदिने, हाँच्छु गर्दा कुहिनाले छापेर गर्न लगाउने, झोलिलो कुरा खुवाउने, घरभित्रै बच्चालाई राख्ने बालरोग विशेषज्ञ डा बेराले सुझाव दिए ।

    अत्यधिक गर्मी बढेपछि बाँकेका अधिकांश विद्यालय बन्द छन् । अत्यधिक मात्रामा गर्मी बढ्दै गएपछि नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाका विद्यालय यही जेठ २१ गते आइतबारदेखि २३ गते मङ्गलबारसम्मका लागि बन्द गरिएको ती पालिकाले जनाएका छन् । आफ्नो क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिएको नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले बताए ।

    उनका अनुसार सामुदायिक, मदरसा र संस्थागत विद्यालयलाई आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुने गरी उक्त तीन दिन विद्यालय बन्द गरिनेछ । “नेपालगञ्जमा बढेको अत्यधिक गर्मीले पठनपाठनमा कठिनाइ भएको र विद्यार्थी बिरामी पर्न थालेको कुरालाई मध्यनजर गरी यस उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सम्पूणर् सामुदायिक (मदरसा समेत) तथा संस्थागत विद्यालयमा आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुने गरी बिदा गर्न भनेका छौँ”, उनले भने ।

    जिल्लाका अन्य स्थानीय तह पनि गर्मी बिदा गर्ने तयारीमा रहेका जनाइएको छ । मौसम विज्ञान विभाग नेपालगञ्ज बाँकेका अनुसार नेपालगञ्जको तापक्रम ४० डिग्रीसम्म पुग्ने गरेको छ ।