Category: राजनीति

  • नेता रसाईलीलाई एमालेको महत्वपूर्ण जिम्मेवारी

    नेता रसाईलीलाई एमालेको महत्वपूर्ण जिम्मेवारी

    दुलेगौँडा । नेकपा एमालेकी केन्द्रिय सदस्य तथा शुक्लागण्डकी नगरपालिकाकी निवर्तमान उपमेयर सविता रसाईलीले पार्टीको महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेकी छन् ।

    उनलाई नेकपा एमालेले तनहुँ निर्वाचन क्षेत्र २ मा ईन्चार्जको जिम्मेवारी तोकेको छ । यस्तै तनहुँ जिल्लामा नेकपा एमालेको ईन्चार्जको जिम्मा नवलपुरका तिलक महत क्षेत्रीलाई प्रदान गरिएको छ । पूर्व सांसद तथा पार्टीका केन्द्रिय सदस्य समेत रहेको महतले तनहुँमा ईन्चार्जको जिम्मेवारी पाएसँगै तनहुँ जिल्ला ईन्चार्ज तथा पार्टीका पोलिटब्यूरो सदस्य टुकराज सिग्देललाई स्याङ्जा जिल्लाको ईन्चार्ज तोकिएको छ । सिग्देल संविधान सभा सदस्यका साथै पूर्व सांसद समेत हुन् ।

    यस्तै नेकपा एमालेले तनहुँ निर्वाचन क्षेत्र १ को ईन्चार्ज भने नेकपा एमालेकी केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई बनाएको छ ।

  • गण्डकीका सांसदलाई ७२ करोड बजेट बाँड्दै प्रदेश सरकार

    गण्डकीका सांसदलाई ७२ करोड बजेट बाँड्दै प्रदेश सरकार

    पोखरा । गण्डकी प्रदेश सरकारले अनुत्पादक भनेर आलोचित संसद् विकास कोषलाई कटौती नगर्ने संकेत देखिएको छ । आम बुझाइमा संसद् विकास कोष भनिए पनि पूर्वाधार विकास कार्यक्रम भनेर सांसदका योजनामा खर्च गर्न सरकारले बजेट दिने गरेको छ । उक्त कार्यक्रमअनुसार गण्डकीमा ३६ निर्वाचन क्षेत्रका दरले ७२ करोड बाँड्ने कार्यक्रम बजेटमा समावेश हुने देखिन्छ । ‘केन्द्रमा सांसदलाई बजेट छुट्याइएपछि यहाँ पनि दबाब आएको छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘यो सांसदलाई बजेट दिने कुरा पहिला झै हेर्नु हुँदैन । विधिसम्मत तरिकाले जनताको योजनामा खर्च गर्ने हो, सांसदले गरेका प्रतिबद्धतामा हाल्ने हो, सांसदको निजी योजनामा होइन ।’

    यता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि संसद् विकास कोषलाई निरन्तरता दिन सरकारलाई आह्वान गरेको थियो । प्रमुख प्रतिपक्ष दलबाट पनि संसद् विकास कोषलाई निरन्तरता दिन मुख्यमन्त्रीलाई नै भेटेरै अनुरोध गरेका थिए । प्रमुख प्रतिपक्ष दलबाट पनि निरन्तरता दिनै पर्छ भनिरहेका छन्, केन्द्रबाट पनि सांसदलाई बजेट बाँड्ने कार्यक्रम समावेश भएर मुख्यमन्त्री उक्त कार्यक्रम समावेश गर्न दबाबमा छन् ,’ सत्तापक्षका एक सांसदले भने । अर्थमन्त्री जीतप्रकाश आले मगरले भने सकेसम्म निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम समावेश नगर्ने प्रतिक्रिया दिए । उनले नेपाल प्रेससँग भने, ‘सकेसम्म हामी निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम समावेश नगर्ने नीतिमा छौँ, अन्तिमसम्म हेरौँ के हुन्छ ।’

    गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सुरुआती बजेटमा सांसदहरूका लागि बजेट छुट्याएका थिएनन् । तर, सत्ता र विपक्षी सांसदहरूको चर्को दबाबपछि अर्को वर्ष अर्थात् २०७६/७७ मा ७२ करोड रुपैयाँ विनियोजन गरेका थिए । त्यसपछि सांसदलाई बजेटले निरन्तरता पाइरह्यो । कोभिडको संकटमा समेत रोकिएन । सार्वजनिक रूपमा आलोचित यस्तो कार्यक्रम नराख्न तत्कालीन अर्थमन्त्री रामजीप्रसाद बरालले गरेको प्रयास विफल भएको थियो । २०७९/८० को बजेट ल्याउँदा बरालले तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समेत थाहै नदिई सांसदलाई बजेट कार्यक्रम काटिदिएका थिए । सोही कारण उनका बजेटका विरुद्ध सत्ता पक्षीय कांग्रेस र माओवादीकै सांसद उभिए । बजेटमाथि छलफल नै हुन सकेन । बरालले सम्झौता गरेपछि मात्रै असार अन्तिममा हतारमा छलफल गरी बजेट पारित गरिएको थियो ।

    यो कार्यक्रम संघीयताको उपहास होः पूर्व अर्थमन्त्री बराल गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ ले सांसदलाई बजेट दिने कार्यक्रम (निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम) ले संघीयताको उपहास भएको बताउँछन् । यो कार्यक्रम वैज्ञानिक नहुने बरालले सुनाउँछन् । ‘जसको भूमिका जे छ त्यही गर्ने हो भनेर मैले सुरुदेखि यो कार्यक्रमको विरोध गर्दै आएको हो । अभ्यास पनि गरेँ । तोडे पनि म मात्र निणर्ायक थिइनँ,’ उनी भन्छन्, ‘यसरी दिँदा वैज्ञानिक हुँदैन । निरपेक्ष समानता पनि हुँदैन । पूर्वाधार विकास कार्यक्रम जहाँ बढी आवश्यक हो त्यही जानुपर्छ । आवश्यकताका आधारमा हुनुपर्छ । तर, यसलाई पहुँचका आधारमा हालिएको छ ।

    कमिसन खान नजान्ने सांसदहरूले पनि यो कार्यक्रमले गर्दा खान जान्ने बनाउने पूर्व अर्थमन्त्री बराल जिकिर गर्छन् । ‘कमिसन खान नजान्ने सांसदहरूले पनि यो कार्यक्रमले गर्दा खान जान्ने भए । संघ सरकारले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम ल्याएपछि मैले विरोध गरेको छु,’ उनी भन्छन्, ‘संघले बजेट ल्याएको दिन फेसबुकमा मैले स्टाटस हालेको छु—यो कार्यक्रमलाई निरन्तरता दिनु एकात्मक मनोविज्ञान र मानसिकताको पराकाष्ठा हो ।’

    गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम आइतबार ल्याउने तयारी गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।सरकारले बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने संसदीय परम्परा छ । नीति तथा कार्यक्रम प्रदेश सभामा छलफलपछि मात्रै बजेट ल्याउने गरिन्छ । प्रदेशले असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ । आइतबार प्रस्तुत हुने नीति तथा कार्यक्रमलाई आत्मसात् गरेर बजेट ल्याइन्छ ।

    बजेट ल्याउनु १५ दिनअघि नै पूर्व बजेट छलफल प्रदेश सभामा गरिन्छ । यसअघि आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले जेठ १२ गते बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा प्रस्तुत गरिएको थियो । बजेटको सिद्धान्त र प्राथमिकतामाथि जेठ १४ र १६ गते छलफलपछि पास भएको थियो ।आगामी वर्षका लागि ल्याइने बजेटको आकार घटाउने तयारी प्रदेश सरकारले गरेको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३५ अर्ब ९० करोड रुपैयाँको बजेट ल्याएको थियो । यसपालि भने त्यो भन्दा कम बजेट आउने संकेत देखिन्छ । संघीय सरकारले नै अनुदानहरू घटाएर पठाइसकेको हुँदा प्रदेश सरकारको आउँदो बजेट चालुभन्दा कम हुने भएको हो ।

    बजेटको आकार घट्ने भएको हुँदा आफूहरू खर्च कटौती गर्न पनि लाग्ने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रवार पोखराका सञ्चारकर्मीहरूलाई सुनाएका थिए । ‘४ पाङ्ग्रे गाडीहरू किन्ने छैनौँ, अनावश्यक भवनहरू बजेट छुट्याउने छैनौँ,’ उनले भने ।

  • चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किदै

    चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किदै

    काठमाडौं- चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कदै छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

    दिल्लीको भ्रमण सकेपछि विशेष विमानमार्फत इन्दौर प्रस्थान गरेका प्रधानमन्त्री नयाँ दिल्ली भएरै आज स्वदेश फर्कन लागेका हुन । भ्रमणका क्रममा द्विपक्षीय मैत्रीपूणर् सम्बन्धलाई थप सबल बनाउने प्रतिबद्धता दुवै देशले व्यक्त गरेका छन् । सो अवसरमा दुई प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका व्यापक क्षेत्रबारे समीक्षा भएको छ ।

    व्यापार र पारवहन, जलविद्युत्, ऊर्जा व्यापार र प्रसारण लाइन, अन्तरदेशीय रेल्वे, पक्की पुल, पेट्रोलियम पाइपलाइन र एकीकृत जाँच चौकी, सिँचाइ, बाढी नियन्त्रण, कृषि, संस्कृति तथा नागरिक उड्डयनलगायत क्षेत्रबारे समीक्षा भएको हो ।

    समानता, आपसी सम्मान र आपसी विश्वासका आधारमा दुई देशबीचको मैत्रीपूणर् सम्बन्धलाई आगामी दिनमा सवल बनाउने प्रतिबद्धता व्यक्त भएको छ । दुवै पक्षबीच निर्माणाधीन परियोजनाको समीक्षा गर्दै ती परियोजना निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिइएको छ । प्रधानमन्त्री प्रचण्डले पनि चार दिने भारत भ्रमण पूणर् रूपमा सफल भएको बताएका छन् ।

  • नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई प्रचण्डको आग्रह

    नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई प्रचण्डको आग्रह

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले बिहीबार साँझ भारतको नयाँदिल्लीमा आयोजना गरेको ‘नेपाल-भारत बिजनेस समिट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीमैत्री वातावरण भएकाले खुला हृदयका साथ नेपालमा लगानीका गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका हुन्।

    ‘नेपाल सरकारले नीतिगत, कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको छ। लगानीमैत्री वातावरण बनाउन र लगानी भित्र्याउन सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार छ,’ उनले भने। प्रधानमन्त्री प्रचण्डले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट अगाडि बढ्न वर्तमान सरकार तयार रहेको समेत स्पष्ट पारे। भारतका वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र नेपालबीचको सम्बन्ध राजनीतिक वा भूराजनीतिक वा आर्थिक मामिलाहरूमा सीमित नभएको बताए।

    ‘हामीसँग साझा इतिहास छ। गहिरो सांस्कृतिक आत्मीयता र बलियो मित्रता छ,’ उनले भने, ‘यो साझेदारी र मित्रता होइन, यो एक परिवार हो। हामी भारतबाट नेपाल र नेपालबाट भारतमा धेरै व्यापार र लगानी प्रवाह भएको देख्न चाहन्छौं। म विश्वस्त छु, हामी दुवै देशका बालबालिकाको साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर काम गर्न सक्छौँ।’

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीमैत्री नीति, नियम तथा कानुनी सुधारमा भइरहेका प्रयासहरुले अहिले नेपालमा लगानी गर्ने उपयुक्त समय रहेको बताए। उनले नेपालमा रहेका भारतीय कम्पनीहरुले राम्रो नाफा आर्जन गरिरहेको दृष्टान्त पेस गर्दै यो सफलताको उदाहरण नै नेपालमा लगानी गर्न प्रयाप्त आधार रहेको बताए।

    ढकालले नेपालका ऊर्जा, जलस्रोत, कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार विकासमा लगानी गर्न सकिने जानकारी दिए। उनले नेपाल उद्योग वाणिज्य महासंघले भारतीय निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आवश्यकता अनुसार सहजीकरण गर्ने र नेपालको निजी क्षेत्रले साझेदारी समेत गर्न सक्ने बताए।

    भारतीय उद्योग परिसंघका अध्यक्ष आर दिनेशले भारत र नेपालबीचको भौगोलिक निकटताको लाभ उठाउन र पारस्परिक विकासको लागि एक अर्काको बजारहरूका अवसर ट्याप गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण तेस्रो जस्तो ठूलो आयोजनाको सफल कार्यान्वयनले नै नेपाल लगानीका लागि सहज गन्तव्य रहेको स्पष्ट रहेको बताए।

  • नक्कली शरणार्थी प्रकरण ः खाणसहित तीनको बयान

    नक्कली शरणार्थी प्रकरण ः खाणसहित तीनको बयान

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज तीन जनाको बयान आज जिल्ला अदालत काठमाडौँमा सुरु भएको छ । बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल तथा हरिभक्त महर्जनको बयान सुरु भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

    उनका अनुसार उक्त प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष शमशेर मियाँको बिहीबार बयान सकिएको छ । आरोपितमध्ये बिहीबारसम्म १५ प्रतिवादीले बयान दिइसकेको सूचना अधिकारी दाहालले बताउनुभयो । उनले भने, “सो प्रकरणमा मुछिएकाहरूको बयान यही जेठ १२ गतेदेखि सुरु गरिएकोमा आज तीन जनाको बयान भइरहेको ।” नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये १८ जना पक्राउ परेका छन् भने १२ जना अझै फरार रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

  • प्रधानमन्त्री दाहाल इन्दोरमा

    प्रधानमन्त्री दाहाल इन्दोरमा

    इन्दोर । भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज विशेष विमानमार्फत इन्दोर पुगेका छन् । इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उहाँलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत गरे ।

    सो अवसरमा विमानस्थल बाहिर प्रधानमन्त्री दाहाललाई स्थानीय सांस्कृति झाँकीले स्वागत गरिएको थियो । सडक उभिएका सयौँ नागरिकले नेपाल र भारतको झण्ड फहराएर सम्मान प्रकट गरेका थिए । विमानस्थल बाहिरका सडकमा ‘तपाईंलाई स्वागत छ’ लेखिएका ब्यानर राखिएका थिए । विमानस्थलबाट उनी उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिर पुग्ने र मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्नेछन् । मन्दिर परिसरको अवलोकनपछि प्रधानमन्त्री दाहाल होटल इन्दोर मेरियटमा रहनेछन् ।

    भ्रमणका क्रममा उनले आजै मध्यप्रदेशका गभर्नर मङ्गुभाइ पटेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यहाँ रहँदा उनले स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर म्युनिसिपल कर्पोरेशनले गरेको फोहर व्यवस्थापनसम्बन्धी सफल अभ्यासबारे जानकारी लिनेछन् । आजै प्रधानमन्त्री दाहालकोे सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । शनिबार प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले टिसिएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ ।

  • नारायणहिटी दरबार हत्याकाण्ड २२ वर्ष पुरा

    नारायणहिटी दरबार हत्याकाण्ड २२ वर्ष पुरा

    काठमाडौं- नारायणहिटी दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको छ। हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका समयमा ०५८ जेठ १९ गते राति दरबारमा हत्याकाण्ड भएको थियो। राजदरबारको ‘अति सुरक्षित’ स्थलमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायत परिवारका अन्य सदस्यको हत्या भएको सो काण्डको चित्तबुझ्दो तथ्य अझै पनि जनतासमक्ष आउन सकेको छैन।

    यद्यपि, त्यतिबेला नयाँ राजा ज्ञानेन्द्रले जेठ २२ गते बेलुका एक शाही घोषणा गर्दै राजदरबारमा घटेको दुःखद घटनाको यथार्थ विवरण जनसमक्ष ल्याउने प्रक्रियास्वरुप तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेका थिए। सो समितिमा तत्कालीन सभामुख तारानाथ रानाभाट र प्रतिनिधिसभाका प्रतिपक्षी दलका नेता माधवकुमार नेपाललाई समेत सदस्य तोकिएको थियो। यद्यपि नेपाल सो समितिमा बसेनन्। उनले राजीनामा दिएका थिए।

    बाँकी २ सदस्यीय समितिले जेठ ३२ गते प्रतिवेदन बुझायो। २६ गतेदेखि काम सुरु गरेको समितिलाई सुरुमा काम सुरु गरेको मितिले ३ दिन समय दिइएको थियो। पछि फेरि ४ दिन थपिएको थियो।

  • प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आज भेटवार्ता हुँदै

    प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आज भेटवार्ता हुँदै

    काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच आज भेटघाट हुँदैछ । बिहान ११ः०५ बजेदेखि हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता तय भएको छ । त्यसअघि साढे १० बजे महात्मा गान्धीको समाधिस्थल राजघाट जाने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेलगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता हुनेछ ।

    त्यसक्रममा सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजनासमेत गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले आजै ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखड र ४ः३५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । साँझ सवा ६ बजे होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्नेछन् ।

  • प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

    प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

    १७ जेठ, काठमाडौं। चार दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली पुगेका छन्। उनलाई भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छिन् ।

    प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न विदेशराज्यमन्त्री लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरु र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका थिए ।

    प्रधानमन्त्री प्रचण्डको स्वागतमा विमानस्थल बाहिर सांस्कृतिक तथा झाँकी प्रदर्शन गरिएको राजदूत शंकर शर्माले ट्वीटरबाट औपचारिक रुपमा जानकारी दिएका छन् ।

  • राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

    राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

    १७ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

    निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो ।