Author: achyutbc@gmail.com

  • प्रदेशस्तरिय खुल्ला कायाकिङ प्रतियोगिता डम्बरले जिते स्वर्ण

    प्रदेशस्तरिय खुल्ला कायाकिङ प्रतियोगिता डम्बरले जिते स्वर्ण

    पोखरा ।  प्रदेशस्तरिय खुल्ला कायाकिङ प्रतियोगिता उदयपुरका डम्बर बहादुर पूर्वाछानेले जितेका छन् ।

    प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न भएको प्रतिस्पर्धामा सहभागि १८ जनालाई उछिन्दै उनले स्वर्ण पदक जितेका हुन् । उनले स्वर्ण पदक संगै नगद रु ३५ हजार हात पारे ।

    पोखरा १९ र २५ स्थित मर्दी र सेती नदीको संगमबाट सुरु भएको प्रतियोगितामा गोर्खाका सुरेन्द्र चेपाङले दोस्रो हुँदै रजत पदक प्राप्त गरे । उनले नगद रु २५ हजार हात पार्दा गोरखाका रबिन चेपाङले तेश्रो हुँदै कास्य पदक प्राप्त गर्दै नगद रु १५ हजार समेत् पाए ।

    प्रतियोगितामा गोरखाका समिन चेपाङ चौथो हुँदै पदकका साथमा नगद १० हजार र खोटाङका प्रशान्त राई सान्त्वना हुँदै नगद रु ५ हजार प्राप्त गर्न सफल भए ।

    प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ र तारामायाँ थापा मगर, परिषदका सदस्य गिरमान गुरुङ, परिषदका कार्यालय प्रमुख टोपलाल भुसाल, लेखा प्रमुख निलकण्ठ ढकालले बिजेता खेलाडी तथा सहभागिहरुलाई मेडल, नगद तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    प्रतियोगिताका संयोजक तथा परिषदका सदस्य बसन्तराज दवाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रम भएको थियो । प्रतियोगिता नेपाल ¥याफटिङ तथा क्यानोइङ संघको समन्वयमा भएको हो ।

  • स्याङ्जाका टहल सिंहलाई अन्तराष्ट्रिय रेफ्रिको मान्यता

    स्याङ्जाका टहल सिंहलाई अन्तराष्ट्रिय रेफ्रिको मान्यता

    पोखरा । भलिबलका टहल सिंह थापा मगर नेपालकै पहिलो एभिसी अन्तर्राष्ट्रिय रेफ्रि बन्न सफल भएका छन् । काठमाण्डौमा जारी एनससी काभा ओमेन्स भलिबल च्यालेन्ज कप २०२३ अन्तर्गत सम्पन्न तिन खेलमा रेफ्रिको भूमिकामा उनको उत्कृष्ट प्रदर्शन संगै पहिलो एभिसी अन्तर्राष्ट्रिय रेफ्रि बन्न सफल भएका हुन् ।

    विगतमा बंगलादेश, हङकङ, नेपाल लगायतका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा रेफ्रिको भूमिका निर्वाह गरे पनि काठमाण्डौमा जारी काभा महिला भलिबल च्यालेन्ज कप एभिसीद्वारा मान्यता प्राप्त अफिसियल खेल भएको कारण, उनले एभिसी अन्तर्राष्ट्रिय हुने अवसर प्राप्त गरेका हुन् । यस अघि नेपालबाट अन्तर्राष्ट्रिय रेफ्रिको रुपमा गौतम प्रसाद लासिवा, कुल बहादुर राना र चन्द्रबदना राई पछि पहिलो एभिसी अन्तर्राष्ट्रिय रेफ्रि हुन् । टहल सिंहसंगै नेपालबाट पूर्णप्रसाद चौलागाई, विजय केसी र विकास गुरुङ समेत एभिसी अन्तर्राष्ट्रिय रेफ्रि बन्न सफल भएका छन् ।
    काठमाण्डौमा जारी प्रतियोगितामा टहल सिंहले उज्वेकिस्तान विरुद्ध श्रीलंका र काजाकास्तान विरुद्ध उज्वेकिस्तानको खेलमा पहिलो रेफ्रिको भूमिका निर्वाह गरेका थिए भने उज्वेकिस्तान र मालदिभ्सको खेलमा सेकेण्ड रेफ्रिको भूमिकामा थिए । यद्यपी प्रतियोगिता काठमाण्डौमा जारी नै रहेको छ ।

    टहलसिंहको बारेमा जानौँ

    २०३९ फागुन फागुन २० गते स्याङजामा जन्मिएका टहल सिंह सानो उमेरबाटै भलिबलमा प्रवेश गरेका थिए । २०६० सालमा उनले पश्चिमाञ्चालको टिमबाट राष्ट्रिय प्रतियोगिता लिब्रोको भूमिकामा डेब्यू गरेका थिए । उनी त्यस पछि खेल जिवनबाट पछि फर्किएर हेर्नु परेको छैन । उनको खेल जिवन संगकै अर्को महत्वपूर्ण पक्ष भनेको अध्ययन हो । उनी अग्रेंजी विषयमा स्नाकोत्तर (एमए) गरेका छन् । खेल जिवन र अध्ययन कसरी अगाडी बढाउने भन्ने विषय उनको खेल जिवनले दर्शाउँछ ।

    २०६५ सालमा काठमाण्डौमा सम्पन्न पाँचौ राष्ट्रिय वृहत खेलकुद प्रतियोगितामा पश्चिमाञ्चाललाई रजत पदक दिलाउन उनको भूमिका रह्यो । उनले उत्कृष्ट लिब्रोको उपाधि हात पारेका थिए । २०६८ मा धनगढीमा सम्पन्न छैटौं वृहत् राष्ट्रिय प्रतियोगितामा समेत टिमलाई कास्य पदक दिलाउने संगै उत्कृष्ट लिब्रोको उपाधि उनकै नाम रह्यो । सन २०१० मा ढाकामा सम्पन्न ११ औं दक्षिण एसियाली खेलकुदमा उनी नेपाली टिममा समावेश थिए ।

    पोखराको तत्कालिन दृष्टि क्लवमा महत्वपूर्ण टिम कप्तानको भूमिकामा रहेर दर्जनौं प्रतियोगितामा सफलता प्राप्त गरेका थिए । उनी सहभागि क्लवबाट उनी प्रायः उत्कृष्ट खेलाडीको उपाधि पाउनेमा संधै अग्रपंक्तिमा रहे । सन २०११ अर्थात १२ वर्ष अघि उनले भूमिकामा परिवर्तन गरे जव काठमाण्डौमा भलिबल रेफ्रिहरुको ‘फिव भिसिपी (ँक्ष्ख्द्य ख्ऋए)’ कोर्षमा उनी उत्कृष्ट हुँदै ‘ग्रेड ए’ मा उर्तिण हुन सफल भए । त्यस पछि उनले रेफ्रिको भूमिकाबाट पछाडी फर्किनु परेको छैन । सोही वर्ष सन २०११ मा नै नोभेम्वर ६ देखि १७ सम्म बाठमाण्डौमा सम्पन्न ‘फिब (ँFIक्ष्ख्द्य) लेभल–१ भलिबल कोचेज कोर्ष’ मा सर्वोत्कृष्ट बने ।

    यसै गरी सन २०१४ अर्थात ९ वर्ष अघि पोखरामा सम्पन्न राष्ट्रिय भलिबल रेफ्रि कोर्षमा नेपालभरबाट सहभागि मध्ये सर्वोत्कृष्ट बने भने सन २०१७ बैंकको थाइल्याण्डमा सम्पन्न एभिसी इन्टरनेशनल रेफ्रि क्यान्डिडियट कोर्षमा उत्कृष्ट अंक प्राप्त गर्दै सफलता प्राप्त गरे । रेफ्रिको भूमिकामा टहल सिंह संग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु कुशलताका साथ खेलाएको अनुभव संगालेका छन् । दक्षिण एसियाली खेलकुद (साग), सेन्ट्रल एसियन गेम्स, सेन्ट्रल जोन एसियन गेम्स खेलाएको अनुभव संगै पोखरा र पोखरा बाहिर विभिन्न राष्ट्रिय तथा आमन्त्रित अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा रेफ्रि डेलिगेट, टेक्निकल डेलिगेट एवं रेफ्रि कोर्डिनेटरको भूमिकामा रहि प्रतियोगिताहरु सञ्चालन गरेको अनुभव उनले बटुलेका छन् । त्यसैले पनि उनी नेपालमा अनुभवी भलिबल रेफ्रिको रुपमा आफूलाई स्थापित गर्न सफल छन् । पोखरामा सम्पन्न नवौ राष्ट्रिय खेलमा देश भरीबाट रेफ्री तथा जजहरुको तर्फबाट उनलेनै समेत् शपथ ग्रहण गरेका थिए ।

    पोखरामा रहि भलिबल बिकासमा उनले खेलेको भूमिका समेत उत्तिकै महत्वपूर्ण छ । नेपाल भलिबल संघ गण्डकी प्रदेशको महासचिव पदमा आशिन टहल सिंह पोखरामा विभिन्न कलेजहरुमा स्पोर्टस कोर्डीनेटर समेत रहेर अनुभव संगालेका छन् । स्रोत : पोखरा स्पोर्ट

  • सांसदहरुको नाराबाजीपछि संसद् बैठक स्थगित

    सांसदहरुको नाराबाजीपछि संसद् बैठक स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। एमाले सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगित गरेका हुन् ।

    प्रतिनिधिसभा बैठकमा सत्ता पक्षका सांसदहरूले प्रतिपक्षी दलका नेताले भ्रष्टाचार गरेको भनेर निराधार आरोप लगाएको भन्दै एमाले सांसदहरूले प्रतिनिधिसभाको बैठकमा अवरोध सिर्जना गरेका हुन् । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गत बुधबार संसद बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई पशुपतिनाथको गजुरमा सुन भनेर पित्तलको जलप हालेको आरोप लगाएका थिए ।

    एमाले प्रमुख सचेतक पदम गिरीले माओवादीका तर्फबाट माफी नमाग्दासम्म बैठक चल्न नदिने बताए । त्यसपछि एमालेले नाराबाजी शुरू गरेको थियो।

  • कैलालीमा लागुऔषधसहित चार जना पक्राउ

    कैलालीमा लागुऔषधसहित चार जना पक्राउ

    १२ जेठ, धनगढी । कैलालीमा लागुऔषधसहित चार जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका क्षेत्रबाट तीन र टीकापुर नगरपालिका क्षेत्रबाट एक गरेर गरेर चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले धनगढीबाट दुई ग्राम लागुऔषध ब्राउनसुगरसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ बस्ने २० वर्षीय रोशन भट्ट, १९ वर्षीय १९ गणेश बोहरा र २५ वर्षीय बिनय राजबंशीलाई पक्राउ गरेको जानकारी दिए ।
    वडा प्रहरी कार्यालय धनगढी र प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई शंकाका आधारमा जाँच गर्दा पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

    यस्तै टीकापुर नगरपालिका वडा नम्बर ९ खर्गौलाबाट २१ वर्षीय दीपेश चन्दलाई खैरो हिरोइनसहित पक्राउ गरिएको छ । जानकी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका दीपेशको साथबाट ५ ग्राम लागुऔषध खैरोहिरोइन बरामद भएको प्रहरीको भनाइ छ ।

  • नागढुङ्गा सुरुङमार्ग: अनुगमनमा उच्च सरकारी अधिकारी

    नागढुङ्गा सुरुङमार्ग: अनुगमनमा उच्च सरकारी अधिकारी

    काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले आज नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेको छ । उक्त टोलीले आजै नागढुङ्गा-मुग्लिन सडक विस्तार आयोजनाको कामका बारेमा समेत स्थलगत अनुगमन गरिरहेको छ । टोलीले मुग्लिनसम्म पुगेर सडकको अवस्थाबारे जानकारी लिने बताइएको छ । अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको समेत सहभागिता रहेको छ ।

    सो क्रममा मन्त्री ज्यावाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका थिए । सुरुङमार्गको मुख्य टनेल छ सय मिटर र रेस्क्यु टनेल दुई सय मिटर खन्न बाँकी छ । आउँदो दशैँसम्म मुख्य टनेल जोडिसक्ने र रेस्क्यु टनेल छिट्टै जोड्ने तयारी छ । आउँदो डेढ वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको सुरुङमार्गको कन्सल्ट्यान्टतर्फका इञ्जीनियर रमेश कोइरालाले जानकारी दिए ।

    सुरुङमार्गको २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । यसको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ । यहाँ नौ मिटर र चार मिटरका दुई सुरुङ निर्माण भइरहेका छन् । कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि एक वर्ष थपिएको हो ।

  • अन्नपूणर् पदमार्गमा मनोरम झरनाको आकर्षण

    अन्नपूणर् पदमार्गमा मनोरम झरनाको आकर्षण

    बेनी। अग्ला पहाडबाट खस्ने झरना । झरनाको फेदीमा बनेका सफा तलाउ । वरिपरि वनजङ्गल । पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृश्यले यात्राका थकान मेटाइदिने गर्छ । म्याग्दीको अन्नपूणर् गाउँपालिका-४ नारच्याङमा अवस्थित नर्थ अन्नपूणर् हिमालको आधार शिविर पुग्ने पदमार्गमा रहेका आधा दर्जन बढी यस्तै मनमोहक झरनाको दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै पदमार्गलाई समेटेर तयार भएको ‘मौरिज हर्जोग पदमार्ग’ मा पर्ने फुतफुते झरना, पञ्च झरना र रातो झरनालगायतका आधा दर्जन बढी मनमोहक झरना छन् ।

    पदमार्गमा सबैभन्दा आकर्षणका रूपमा पहाडबाट निस्कने फुतफुते झरनाले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । कडा चट्टानलाई बीचमा पानीको बहावले काटेर झर्ने झरनाको पानीको दृश्यले यात्रालाई रोमाञ्चक बनाएको पहिलोपटक झरनाको अवलोकनका लागि पुग्नुभएका आन्तरिक पर्यटक प्रदीप पुनले बताए । “सबै झरना पहाडबाटै बग्ने हुन्, तर यो झरनाले पहाडलाई छेडेर निस्किएजस्तो देखिन्छ, झरनाबाट बग्ने निलो रङको पानीले झरनालाई नियालेर धित नै नमर्ने रहेछ”, पुनले भने ।
    नीलगिरि र अन्नपूणर् हिमालबाट बग्ने मिस्त्रीखोलाको पानी यसै झरना भएर बग्ने गर्छ । झरना र फेदीमा रहेको पानीको तलाउमा यस क्षेत्रमा जाने अधिकांश पर्यटकले तस्बिर र भिडियो खिचेर रमाउने गर्छन् । घना जङ्गल र पहाडको उकालो बाटो हुँदै गरिने पदयात्राका दुःख र थकानलाई झरनाको मनमोहक दृश्यले भुलाइदिने गरेको अर्का पर्यटक बालकृष्ण पौडेलले बताए ।

    यस झरनाकै अगाडि अन्नपूणर् हिमशृखलाबाट बग्ने अर्को आकर्षक झरना रहेको छ । अन्नपूणर् पदमार्गअन्तर्गत गुफा फाँटमा अन्नपूणर् हिमशृङ्खलाबाटै बग्ने पञ्च झरना पर्यटकका लागि अर्को आकर्षणका रूपमा रहेको छ । अग्लो पहाडबाट एकपछि अर्को गर्दै लहरै रहेका पाँचवटा झरनाको अवलोकन गर्न पाउँदा पर्यटक खुसी भएर आवतजावत गर्ने गरेको स्थानीय पर्यटन व्यवसायी तेज गुरुङले बताए ।

    पदमार्गअन्तर्गत भुसकेटमेला नजिकै रहेको रातो झरना पनि पर्यटकको अर्को आकर्षणका रूपमा रहेको छ । अन्नपूणर् पदयात्रामा जाने पर्यटकका लागि अन्नपूणर् हिमशृखलाको अवलोकनसँगै मनमोहक झरनाको दृश्यावलोकन गर्न पाउनु प्रमुख आकर्षण रहेको छ । झरनाको परिसरमा पर्यटन पूर्वाधार निर्माण गरी प्रवर्द्धनमा आवश्यक तयारी गरिएको अन्नपूणर् गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । उनका अनुसार, फुतफुते झरना वारपारका लागि अहिले रहेको झोलुङ्गे पुललाई मर्मत गर्न आवश्यक बजेट व्यवस्थापन भएको र रातो झरना वारपारका लागि पुल निर्माण गर्न योजना तर्जुमा गरिने उहाँले जानकारी दिए ।

    अन्नपूणर् गाउँपालिका-४ नारच्याङ हुँदै अन्नपूणर् आधार शिविर जाने पदमार्गमा सडक सञ्जालको पहुँच विस्तार र पदमार्गलगायतका पूर्वाधार निर्माण भएपछि पर्यटकको आगमन बढेको छ । नारच्याङबाट हुमखोलासम्मको २० किलोमिटर दूरीमा सवारीसाधन र त्यहाँबाट २२ किलोमिटर पैदलयात्रा गरेर आधार शिविर पुग्न सकिने भएपछि अन्नपूणर् आधार शिविर एक दिनको यात्रामा छोटिएको छ ।

  • काठमाडौंमा जारी काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइन आज

    काठमाडौंमा जारी काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइन आज

    काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनमा आज घरेलु टोली नेपालले काजकिस्तानसँग खेल्दै छ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ ।

    बुधबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग ३-१ को सेटमा पराजित हुँदै नेपाल समूह उपविजेताको रूपमा अन्तिम चारमा पुगेको हो । कजाकस्तान समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

    सहभागी ८ टिममध्येकै बलियो मानिएको कजाकस्तानले अपेक्षा गरे अनुसारको प्रदर्शन गर्न भने सकेको छैन । समूह चरणमा शत प्रतिशत नतिजा निकालेको कजाकस्तानसँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।

    आजै हुने पहिलो सेमिफाइनलमा समूह एको विजेता भारतले भने समूह बीको उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ । खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । समूह बीको खेलमा काजकिस्तानले उज्वेकिस्तानलाई ३-१ को सेटमा हराई समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

  • बच्चामा अन्धोपनको जोखिम बढाउने आरओपी समस्या के हो ?

    बच्चामा अन्धोपनको जोखिम बढाउने आरओपी समस्या के हो ?

    सामान्य बच्चाको तुलनामा समयअगावै जन्मिएका बच्चामा विभिन्न किसिमका स्वास्थ्य समस्या धेरै देखिन्छन् । अन्य शारीरिक समस्यासँगै समय नपुगी जन्मिएका र कम तौल भएका बच्चामा आँखाको समस्या पनि देखिन्छ । समयअगावै जन्मिएका बच्चामा देखिने आँखाको समस्यामध्ये ‘रेटिनोप्याथी अफ प्रिमच्योरिटी (आरओपी)’ पनि एक प्रमुख समस्या हो । उमेर नपुगी जन्मिएका, कम तौल भएका र सुत्केरी हुने समयमा राम्रो ख्याल नपाएका बच्चामा यस्तो समस्या देखिन्छ । आरओपी रोग विश्वभरका बच्चामा हुने अन्धोपनको मुख्य कारण हो । यो रोगमा आँखाको पछिल्लो भागमा हुने पर्दामा असर पर्छ ।

    के हो आरओपी ?

    प्रिम्याच्युअर्ड अर्थात् ३४ हप्ताभन्दाअघि जन्मिने र दुई केजीभन्दा कम तौल भएका शिशुको आँखामा देखिने समस्या आरओपी हो । समयअगावै जन्मेका कारण उनीहरूको शरीरको तौल कम हुन्छ र आँखाको रेटिना पूणर् रूपमा विकसित हुँदैन । यसको जोखिम बालबालिकामा करिब ३० देखि ४० प्रतिशत हुने अध्ययनले देखाएको छ  । १६ देखि १८ प्रतिशतमा भने यो समस्या गम्भीर रूपमा देखिएको छ ।

    कारण

    आरओपीको मुख्य कारण नै समय नपुगी बच्चाको जन्म हुनु हो । ३४ हप्ताभन्दाअघि जन्मिएका बच्चालाई समयअगावै जन्मिएको मानिन्छ । उनीमा धेरै आरओपीको समस्या देखिन्छ । आरओपीको अर्को कारण जन्मिने बेलामा सामान्यभन्दा निकै कम तौल हुनु हो । सामान्यतया बच्चा जन्मिंदा दुई केजीको तौल हुन्छ । तर दुई केजीभन्दा कम तौलको बच्चा जन्मियो भने उनीहरूमा यस्तो समस्या हुन सक्छ । यसबाहेक जन्मिनेबित्तिकै धेरै सिकिस्त भएर लामो समय आईसीयूमा राखेका र धेरै समय अक्सिजन दिएका नवजात शिशुमा आरओपीको जोखिम हुन्छ ।

    लक्षण
    बाहिरबाट आँखाले हेरेर यसको लक्षण देख्न सकिंदैन । त्यसैले यो समस्या पत्ता लगाउन आँखाको जाँच नै गर्नुपर्छ । धेरै अभिभावकमा बच्चामा केही लक्षण नै देखिएको छैन किन जाँच गराउने भन्ने पनि हुन्छ । तर बच्चा समयअगावै जन्मिएको छ र कम तौलको जन्मेको छ भने जाँच गराइयो भने समयमा उपचार गर्न सकिन्छ ।

    उपचार

    तीनदेखि चार हप्ताभित्र यो समस्या पत्ता लगाउन सकियो भने यसको पूणर् उपचार गर्न सकिन्छ । समस्या समयमै पत्ता लाग्यो भने लेजरको माध्यमबाट नै यसको उपचार हुन्छ । त्यसपछि सुई लगाएर पनि उपचार गर्नुपर्ने हुन्छ । तर अन्तिम स्टेजमा आरओपीको उपचार शल्यक्रिया नै गर्नुपर्छ । ढिलो पत्ता लाग्यो भने उपचार हुने सम्भावना न्यून हुन्छ । सुरुवातमै उपचार सुरु गर्न सकेमा समस्या सहजै न्यूनीकरण गर्न सकिन्छ ।

    बच्ने उपाय
    बच्चालाई यस्तो समस्याबाट बचाउन आमाले गर्भावस्थामा समय-समयमा स्वास्थ्य जाँच गराउनुपर्छ । बच्चा समयअगावै जन्मिएको छ वा कम तौलको जन्मिएको छ भने २८ दिनभित्र बच्चाको आँखा जाँच गराउनुपर्छ ।

  • काँक्राका फाइदै-फाइदा, कुन समयमा खानु राम्रो ?

    काँक्राका फाइदै-फाइदा, कुन समयमा खानु राम्रो ?

    चर्को गर्मीमा काँक्रा खानुको मज्जा नै बेग्लै हुन्छ । धेरैजसो सलादकै रुपमा खाइने काँक्राले शरीरलाई हाइड्रेटेड राख्नुका साथै छालाको सौन्दर्य पनि बढाउँछ । काँक्राका बेफाइदा नै छैनन् भन्दा पनि हुन्छ, यसका फाइदै फाइदा छन् । यसमा भिटामिन सी, पोटासियम, फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ । त्यस्तै कार्बोहाइड्रेट, क्याल्सियम, फस्फोरस, फलाम, सल्फरजस्ता बहुपयोगी तत्व समेत काँक्रामा पाइन्छ । पोषक तत्वले भरिपूणर् यस फलमा ९६ प्रतिशतसम्म पानीको मात्रा पाइने गर्छ । एक अध्ययनअनुसार कम फ्याट र क्यालोरीले भरिपूणर् काँक्राले धेरै रोग लाग्नबाट बचाउँछ ।

    काँक्रा खाने सही समय
    बिहान खाली पेटमा काँक्रा खानु पाचनक्रियाका लागि फाइदाजनक हुन्छ । त्यसपछि बिहानको खानापछि, दिउँसो, बेलुका जतिबेला पनि खान सकिन्छ । तर पनि रातमा भन्दा दिनमा उपभोग गर्दा पनि अझ लाभदायक मानिन्छ ।कसरी खानु राम्रो ? विशेषगरी काँक्रा सलादको रुपमा खाने गरिन्छ । यसबाहेक जुस बनाएर पनि खान सकिन्छ । काँक्राको जुस बनाएर खाँदा मधुमेहका लागि निकै फाइदाजनक हुन्छ । सलादमा स्वादका लागि नुन, खुर्सानी राखेर खान सकिन्छ तर यसरी खाँदा यसमा पाइने पोषक तत्व नष्ट हुन सक्छ । काँक्राका अचार बनाएर पनि खान सकिन्छ । तर अहिले बजारमा विभिन्न विषादी हालिएको काँक्रा आउने हुनाले खरिद गर्ने बेलामा सचेत हुनुपर्छ । किनेर ल्याउने बित्तिकै खाने भन्दा पनि केही समय मनतातो पानीमा राख्ने र त्यसपछि धोएर खान सकिन्छ ।

    काँक्राका फाइदा
    काँक्रामा भएको पोषक तत्वले रगत जम्न नदिने, हड्डीका मासी र रगतमा क्याल्सियमको स्तरलाई सन्तुलन राख्ने काम गर्छ । काँक्राले पाचन शक्ति बढाउने भएकाले कब्जियतको समस्याबाट मुक्त गराउँछ । यसमा क्यालोरीको मात्रा एकदमै कम हुन्छ । त्यसैले यसलाई तौल र पेटको बोसो घटाउन सेवन गर्ने गरिन्छ । यसले डिहाइड्रेसन हुनबाट रोक्छ । जसले गर्दा शरीरलाई हाइड्रेटेड राख्नुका साथै काममा जाँगर पनि दिन्छ ।

    काँक्राले मेटाबोलिक दर बढाउन पनि मद्दत गर्छ, जसकारण पेटसँग सम्बन्धित समस्या पनि कम हुन्छ । त्यस्तै शरीरमा भएको कोलेस्टेरोलको मात्रालाई कम गर्न, अनुहारमा चमक ल्याउने गर्दछ । साथै काँक्रामा भएको पानीले विषाक्त तत्वलाई मानव शरीरबाट बाहिर फाली मिर्गौलाको पत्थरीलाई हटाउन, मुखको दुगन्ध हटाउन मद्दत गर्छ । त्यस्तो काँक्रामा भएको पोटासियमको मात्राले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

  • पाल्पामा एक महिनाको अवधिमा पाँच सय वढी स्थानमा आगलागीका घटना

    पाल्पामा एक महिनाको अवधिमा पाँच सय वढी स्थानमा आगलागीका घटना

    पाल्पा- एक महिनाको अवधिमा पाल्पाको ५१९ स्थानमा आगलागीका घटना भएका छन् । वैशाख लागेपछि जिल्लाका अधिकांश स्थानमा आगलागीका घटना भएका हुन् । सबैभन्दा धेरै चुरे क्षेत्रमा पर्ने तिनाउ गाउँपालिका क्षेत्रमा १०१ स्थानमा आगलागी भएको डिभिजन वन कार्यालय पााल्पाले जनाएको छ । यस्तै माथागढीमा ९३, पूर्वखोलामा ७६, रैनादेवी छहरामा ७५ स्थानमा आगलागी भएको छ ।

    रिब्दीकोटमा ५८, निस्दी गाउँपालिकामा ५३, रम्भामा आठ र बगनासकालीमा तीन, रामपुर नगरपालिकामा ३७ र तानसेन नगरपालिकामा १५ स्थानमा आगो लागेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । स्थानीय बासिन्दाका सामान्य लापरबाहीले नै जिल्लाभर नै आगलागीका घटना बढेको हो । गत वर्ष यो अवधिमा पाँच स्थानमा मात्र आगलागी भएको थियो तर यो वर्ष आगलागीका घटना अत्यधिक बढेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत उपेन्द्र अर्यालले बताए ।

    हरियो घाँस पलाउँछ भन्ने लोभमा खरबारीमा आगो लगाउँदा, वनजङ्गलका वन्यजन्तु, दुम्सी, बाँदर, लोखर्के आदिलाई भगाउने नाममा वनमा आगो लगाउने गरेका छन्। यति मात्र होइन, पछिल्लो समय ग्रामीण क्षेत्रमा चितुवा, भालुलगायतका वन्यजन्तुबाट आक्रमण बढेका कारण पनि स्थानीयले वनमा आगो लगाउने गरेको पाइएको छ । वनमा नजानेरभन्दा पनि जानाजान आगो लगाउने क्रम बढेको हुँदा क्षति पनि बढेको छ। डिभिजन वन कार्यालय पाल्पाका अनुसार यो वर्ष जिल्लाभरका ८७ वटा वनका ५१९ स्थानमा आगलागी भएको तथ्याङ्क छ ।

    सबैभन्दा बढी ८३ वटा सामुदायिक वनमा आगो लागेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए । यो एक महिनाको अवधिमा तीन वटा निजी वन र एउटा धार्मिक वनमा समेत आगो लागेको उनले बताए । भट्टराईका अनुसार पाल्पामा हालसम्म आगलागीबाट एक हजार ६८५ हेक्टर वन क्षेत्र सखाप बनेको छ। गत वर्ष यही अवधिमा एक सय हेक्टरभन्दा कम वनमा आगो लागेको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाले यो वर्ष हालसम्म १८ स्थानमा आगलागी भएको जनाएको छ। आगलागीबाट १३ घर र १० गोठमा क्षति भएको छ भने हालसम्म मानिसको मृत्यु नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।