Author: achyutbc@gmail.com

  • गर्मी बढेसँगै बिरामी बढे, रगतको अभाव

    गर्मी बढेसँगै बिरामी बढे, रगतको अभाव

    चितवन । जिल्लामा गर्मी बढेसँगै बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव भएको छ । रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले अपिल प्रकाशित गरी रक्तदान गर्न आह्वान गरेको छ । शाखा सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताललगायत निजी र सामुदायिक अस्पतालमा उपचारार्थ आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको उल्लेख छ ।

    अपिलमा भनिएको छ, “हाल गर्मी मौसमको कारणले रक्तदान कार्यक्रमको आयोजना कम हुने गरेको र रगतको मागमा अत्याधिक वृद्धि भई मागअनुसार रगत आपूर्ति गर्न कठिन भएको छ ।” रक्तदान गरेर जीवनदान दिन सम्पूणर् रक्तदाता, रक्तदान गर्ने सङ्घसंस्था, रेडक्रसकर्मीहरूमा रक्तदान कार्यक्रमको आयोजना गरिदिन रेडक्रसले अपिल गरेको छ ।
    कार्यक्रमबाहेक पनि व्यक्तिगतरूपमा रक्तदान गर्न इच्छुक रक्तदाताले प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरलगायत क्यान्सर अस्पताल युनिट, चितवन मेडिकल कलेज युनिट, बघौडा अस्पताल आकस्मिक रक्त सञ्चार एकाइमा गई रक्तदान गर्न सकिने रेडक्रसले जनाइएको छ ।

    प्रादेशिक रक्त सञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले दैनिक एक सय ५० पोका हाराहारी रगतको माग हुने गरेको जानकारी दिए । उनका अनुसार दैनिक ४० पोका रगत रक्तदान कार्यक्रमहरूबाट सङ्कलन हुने र बिरामीका आफन्तबाट २० पोका हाराहारी सङ्कलन हुने गरेको भन्दै उनले ठूलो मात्रामा रगतको अभाव भएको बताए ।

    हरेक वर्ष गर्मी मौसममा चितवनमा रगतको अभाव हुने गर्दछ । यहाँका अस्पतालमा देशैभरि र भारतीय सीमावर्ती क्षेत्रबाट उपचारका लागि बिरामी आउने गर्दछन् । पूर्व-पश्चिम राजमार्ग, नारायणगढ-मुग्लिन सडक, पृथ्वी राजमार्गलगायत भित्री सडकमा हुने दुर्घटनाका बिरामी अधिकांश यहीँको अस्पतालमा उपचार गराउँछन् । क्यान्सर, प्रसूति, दुर्घटना र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई धेरै रगतको माग हुने गरेको छ ।

  • उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

    उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

    १४ जेठ, काठमाडौं । काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ ।

    डिफेन्डिङ च्याम्पियन नेपाल यस पटक भने कास्यमा सीमित बनेको हो । नेपालले उज्वेकिस्तानलाई २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको हो ।समूह ए को सेमिफाइनलमा काजकसेतानसँग पराजित भएको उज्वेकिस्तान र समूह ए बाट भारतसँग पराजित भएको नेपाल बिच तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जित हात पारेको हो ।

    पहिलो सेटमा २५-२० को हारमा नेपाली टिमको एकदमै सिल्ली मिस्टेकका कारण पछि पर्यो । नेपालले दोस्रो, तेस्रो र चौथो सेटमा उज्वेकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान बनाएको हो ।

  • नारायणगढ-बुटवल सडक विस्तारले मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय

    नारायणगढ-बुटवल सडक विस्तारले मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय

    नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन् । पूर्वपश्चिम राजमार्ग निर्माणको बेला बाटोको दुवैतर्फ किनारमा रहेका चार सयभन्दा बढी वरपिपलका रुख, चौतारा तथा यात्रु प्रतिक्षालय अहिले चार लेन सडक विस्तार सुरु भएसँगै मासिएका हुन् । नारायणगढ-बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जीनियर धीरज ढकालले पूर्वी खण्डको ६५ किलोमिटर क्षेत्रमा चार सय दुईवटा वरपिपलका रुख काटिएको जानकारी दिए ।

    “चार लेनको सडक विस्तारको काम सुरु भएसँगै हामीले सडक किनारका रुखबिरुवा तथा भौतिक संरचना हटाउन सुरु गरेका थियौँ”, उनले भने, “पूर्वी खण्डमा मात्रै दुई सय ५७ वटा पिपल र एक सय ४५ वटा बरका रुख काटिएका छन्, भत्किएका प्रतिक्षालयको तथ्याङ्क राखिएको छैन ।” यस सडकखण्डमा हरेक चोक तथा चौराहामा वरपिपलका रुखमा चौतारा तथा प्रतिक्षालय निर्माण भएका थिए ।

    यस सडक भएर यात्रा गर्ने यात्रुहरूले प्रतिक्षालय तथा चौतारीका कारण कुन ठाउँ पुग्यौँ भनेर सहजै थाहा पाउने गरेको भए पनि अहिले ठाउँ ठम्याउनै मुस्किल पर्ने गरेको कावासोती-१६ डण्डाका ७० वर्षीय सूर्यनाथ बरालले बताए । “हामी पहिले नाराणगढ-बुटवलको बाटो धेरै यात्रा गर्‍यौँ”, उनले भने, “सडक किनारमा रहेका वरपिपलका चौतारा तथा चोकमा निर्माण गरिएका प्रतिक्षालय देखेर कहाँ पुग्यौँ भनेर सहजै थाहा पाउँथ्यौँ ।” सडक विस्तारका क्रममा वरपिपलका चौतारा मासिँदा यस सडक भएर यात्रा गरे पनि कुन ठाउँ पुगियो भनेर अलमलमा पर्ने गरेको बरालको भनाइ छ ।

    “चोक तथा सडक किनारमा रहेका चौतारा र प्रतिक्षालयमा सवारीसाधन कुरेर बस्न पाइन्थ्यो”, उनले भने, “सडक विस्तारसँगै ती संरचना मासिएपछि अहिले चर्को घाममा बसेर सवारीसाधन कुर्नुपर्ने बाध्यता छ ।” पहिले धार्मिक आस्थाका कारण सडक किनारमा रोपेर हुर्काइएका वरपिपलका चौतारी लामो बाटो हिँडेर आएका बटुवालाई थकाइ मार्न सहज हुने गरेको उनको भनाइ छ । “ती चौतारा गाउँ-समाजमा भएका विवाद, झै-झगडा तथा समस्या मिलाउन भेला हुने थलोका रूपमा प्रयोग हुन्थ्यो । तर अहिले बाटो विस्तारसँगै सबै मासिएर गए, यसको संरक्षणमा कसैको पनि ध्यान पुगेन”, उनले भने ।

    सडक किनारमा रहेका वरपिपलका चौतारी तथा प्रतिक्षालय मासिँदा अबका पुस्ताले चौतारी नै देख्ने नपाउने हुन् कि भन्ने चिन्ता गैँडाकोट-८ का शालिकराम सापकोटालाई लागेको छ । सडक विस्तारका कारण चौतारी धमाधम मासिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै व्यवसायी सापकोटाले चौतारी तथा प्रतिक्षालयलाई पायक पर्ने स्थानमा पुनःनिर्माण गर्नुपर्ने बताउनुभयो । विकासको नाममा हुने यस प्रकारको विनासको तत्काल विकल्प खोजिनुपर्ने र धार्मिक आस्थासँग जोडिएको वरपिपलको चौतारीलाई पुनः अन्य सार्वजनिक स्थानमा स्थानान्तरणसँगै संरक्षण गर्नुपर्ने सापकोटाको भनाइ छ ।

    बढ्दो मानव बस्ती र फैलिँदो सडक सञ्जालको चेपुवामा पुराना चौतारा परेका सापकोटाको भनाइ छ । स्थानीय तहका प्राथमिकताका विषयमा ग्रामीण क्षेत्रको मौलिकता र पहिचान बचाउने काम समेटिनुपर्ने भए पनि उनीहरूको चासो कम देखिएको सापकोटाले बताए । धार्मिक आस्थासँगै अक्सिजन र औषधिका लागि महत्वपूणर् मानिने वर-पिपलका रूख सडक विस्तारका क्रममा संरक्षण नहुँदा गाउँघरबाटै लोप हुने अवस्थामा पुगेका उनको भनाइ छ । अन्य ५० रुखबाट प्राप्त हुने अक्सिजनको मात्रा पिपलको एउटै रूखले दिने र जरादेखि पातसम्मको भाग ४२ प्रकारका औषधिमा प्रयोग हुने आयुर्वेद चिकित्सकहरू बताउँछन् ।

  • सबस्टेसन निर्माणमा ढिलाइ भएपछि ठेकेदारलाई कुलमानको फोन, भने- सक्दैनौ भने छोडेर जाऊ

    सबस्टेसन निर्माणमा ढिलाइ भएपछि ठेकेदारलाई कुलमानको फोन, भने- सक्दैनौ भने छोडेर जाऊ

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिवार मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित थानाभर्याङमा निर्माणाधीन सब स्टेसनको अनुगमन भ्रमण गरेका छन् ।कार्यकारी निर्देशक घिसिङले निर्माणाधीन ४०० केभी, २२० र १३२ केभी सब स्टेसनको निर्माण प्रगतिका विषयमा जानकारी लिएका थिए ।

    गत फागुनको अन्तिम साता पनि अनुगमन भ्रमणमा गएका घिसिङ २२० केभी सब स्टेसन निर्माणमा त्यसपछि कुनै प्रगति नदेखिएपछि आक्रोशित बनेका थिए । त्यतिबेला ठेकेदार कम्पनीहरूले आगामी असारभित्र सब स्टेसनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । कम्पनीलाई काममा सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिए ।

    उनले सब स्टेसन निर्माणस्थलबाटै निर्माणको ठेक्का लिएका भारतीय कम्पनीहरू सिमेन्स लिमिटेड र टेल्मोस इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमका पदाधिकारीहरूलाई फोन गरी तोकिएको समयमा सम्पन्न नगरे जरिवाना तिराउने चेतावनी दिए । भारतको दिल्लीमा रहेका सिमेन्सका निहित गुप्ता र टेलमोसका रवि गुप्तालाई छुट्टाछुट्टै फोन गरी आइतबार काठमाडौं आएर संयुक्त बैठक गर्न निर्देशन दिए ।

    ‘सब स्टेसन निर्माणको अनुगमनमा नियमित रूपमा आइरहेको छु, विगत दुई महिनामा केही काम गरेनौ, सब स्टेसनको निर्माण तत्काल सम्पन्न गरी पूर्व-पश्चिममा थप विद्युत् प्रवाहका लागि हामीलाई चाप छ, सब स्टेसन तत्काल सञ्चालन गर्न सकेनौँ भने दैनिक रूपमा ४००-५०० मेगावाट विद्युत् खेर जान्छ, यसको सबै क्षतिपूर्ति तिराउँछौँ,’ उनले चेतावनी दिँदै भने, ‘तुरुन्त काठमाडौँ आएर संयुक्त बैठक गर, यदि काम गर्न सक्दैनौ भने छोडेर जाऊ ।’

    चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेशनल इकोनमिक एण्ड ट्रेडको काम सन्तोषजनक नभएपछि प्राधिकरणले ठेक्का तोडी बाँकी रहेको काम गर्न टेण्डरमार्फत सिमेन्स लिमिटेड र टेल्मोस इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँग ५ पुस २०७५मा ठेक्का सम्झौता भएको थियो । यही प्याकेजमा सुनसरीको इनरुवामा पनि २२० केभीको सबस्टेसन निर्माण पनि राखिएको छ ।

    कोभिड-१९को महामारीलगायतका कारणले प्रभावित भएपछि सब स्टेसनको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

  • असिनाबाट २ करोडको काँक्रोको बीउ नष्ट

    असिनाबाट २ करोडको काँक्रोको बीउ नष्ट

    पर्वत । हरेक वर्ष करोडौँको काँक्रोको बीउ बेच्दै आएका पर्वतको फलेवास नगरपालिका ११ पाङराङका किसान यस वर्ष निराश छन् । असिनाले लगाएको सबै काँक्रो चुटेपछि किसान निराश भएका हुन् । स्थानीय नारायण स्थान बीउ उत्पादन सहकारीमा आबद्ध भएका किसानको मुख्य आम्दानीको स्रोत काँक्रोको बीउ हो । यस वर्ष असिनाले १२० परिवारको बीउ नासिएको सहकारीका अध्यक्ष मायाकुमारी पाठकले जानकारी दिए ।

    यस वर्ष असिनाले १ करोड ७५ लाख बराबरको बीउ र बीउमा गरिएको ५० लाख बराबरको लगानी नष्ट भएको पाठकले जानकारी दिए । बीऊ उत्पादनबाट वर्षेनी रु २ देखि रु. २ करोड १० लाख रुपैयाँसम्म भित्र्याउँदै आएको यो गाउँमा यस वर्ष भने कत्ति पनि उत्पादन नहुने नभएको पाठकले जानकारी दिए । यहाँका कृषकले दुई वर्ष अघि ७ टन बीऊ उत्पादन गरेका थिए । जसबाट रु. २ करोड १० लाख आम्दानी भएको थियो भने अघिल्लो वर्ष १ करोड २३ लाख रुपैयाँ ।

    कृषि ज्ञान केन्द्र कार्यालय पर्वतकी कार्यालय प्रमुख मनिता थापाका अनुसार गत वर्ष पर्वतमा १ करोड २३ लाखको काँक्राको बीउ तयार भएकोमा यस असिनाबाट पुरै नष्ट भएको बताए । यहाँका कृषकहरूले काँक्रोको बीउबाट एकदेखि २० लाख रुपैयाँसम्म लिने गरेका थिए ।

  • भारतीय ठेकेदारद्वारा सुस्तामा नदीजन्य पदार्थको चरम दोहन

    भारतीय ठेकेदारद्वारा सुस्तामा नदीजन्य पदार्थको चरम दोहन

    नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा भारतीय ठेकेदारले नदीजन्य पदार्थको चरम दोहन गरेका छन् । सुस्ता गाउँपालिकामा पर्ने गण्डक क्षेत्रको ए ग्याब र बि ग्याबमा रहेका स्पर ठोकर र बाँधको अहिले मर्मत भइरहेको छ । संरचनाहरू जीणर् भएपछि नदी छेउमा निर्माण गरिएका बाँधलाई चौँडा गर्ने काम र स्परहरुको मर्मत र नयाँ निर्माणसमेत गरिदैं छ । यही कामलाई देखाएर भारतीय ठेकेदारले सुस्तामा चरम दोहन गरेका हुन् ।

    सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले नदीमा दिनहुँ भइरहेको दोहन रोक्न नसकिएको गुनासो गरे । नियमन गर्ने निकाय समेतले तदारुकता नदेखाउँदा मापदण्ड विपरीत चरम दोहन भइरहेको उहाँले बताउनु भयो । प्रहरी प्रशासनबाट समेत सहयोग नपाएका कारण भारतीय ठेकेदारको दोहन रोक्न नसकिएको उनको भनाई छ।

    रोयल्टी लिएर ३० हजार घन फिट गिट्टी, बालुवा र ग्राभेल निकाल्न दिए पनि पछिल्लो पटक रोयल्टी नै नतिरी नदीजन्य पदार्थ निकालेको उनले बताए । निर्माणका लागि आवश्यक पर्ने भन्दा बढि नदीजन्य पदार्थ (बालुवा,गिट्टी) अवैध रुपमा निकालिरहेको र त्यसलाई रोक्न गाउँपालिकाले जिल्ला प्रशासन, जिल्ला प्रहरी र जिल्ला समन्वयमा पत्र पठाए पनि बेवास्ता गरेको उनको आरोप छ । गाउँपालिकाले नदीजन्य पदार्थ निकाल्नका लागि वडा नम्बर ५ मा पर्ने नदी किनारलाई तोकेको छ । तर, भारतीय पक्षले भने अन्यत्रबाट समेत नदीजन्य पदार्थ निकाल्दै आएको छ ।

    निकालिएका नदीजन्य पदार्थ गण्डकको निर्माण कार्यबाहेक अन्यत्रसमेत लैजाने गरेको स्थानीयले बताएका छन् । जथाभाबी रुपमा नदीजन्य पदार्थ दोहन भएको जानकारी पाएपछि जिल्ला अनुगमन समितिलेसमेत त्यस क्षेत्रको अनुगमन गरेको थियो । अनुगमनका क्रममा भारतीय पक्षले रोयल्टी नतिरी तोकिएको स्थानभन्दा बाहिर गएर जबरजस्ती नदीजन्य पदार्थ निकालेको पाइएको समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख रुद्ध यादवले बताए ।

    अहिले दोहन गरेर नदीजन्य पदार्थ निकालेको क्षेत्रमा जोखिम समेत बढ्दै गएको छ । त्यहाँका स्थानीयले पटक पटक यसको बिरोध गरे पनि दोहन रोकिएको छैन। ‘काम भन्दा धेरै गिटी बालुवा झिकिएको छ,सबैलाई जानकारी पनि छ तर भारतीय ठेकेदार भएकोले हो या अरू कारण हो प्रशासनको पनि भूमिका देखिएन’ सुस्ताका सज्जित शर्माले भने । पटक पटक जानकारी गराउँदासमेत ठेकेदार पक्षले दादागिरी शैलीमा अटेर गर्दै आएको स्थानीयको भनाई छ ।

  • फेवातालमा डुबेर एकजनाको मृत्यु

    फेवातालमा डुबेर एकजनाको मृत्यु

    कास्की- माछा मार्ने क्रममा पोखराको फेवातालमा डुवेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही जिल्लाको अन्नपूणर् गाउँपालिका १० घान्द्रुक घर भई हाल पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ६३ वर्षे मिन गुरुङ रहेका छन् ।

    शनिबार दिउँसो करिव ४ बजे तालको पामे खपौदी क्षेत्रबाट वेपत्ता भएका गुरुङको शव वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षकको कमाण्डमा रेस्क्यु टोली तथा शसस्त्र प्रहरी बलको टोलीले खोजतलास गर्दा साँझ ७ बजेतिर तालबाट फेला परेको हो ।

    उक्त शव अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।

  • केन्द्रीय बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

    केन्द्रीय बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

    काठमाडौँ- नेपाल राष्ट्र बैंकले रु २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको टे्रजरी बिल बिक्री गर्न लागेको हो ।

    यही जेठ १४ गते आइतबार बोलकबोल गरिने जनाइएको छ । यसअघि यही जेठ ८ गते पनि केन्द्रीय बैंकले रु ३४ अर्ब २० करोड बराबरको टे्रजरी बिलको बोलकबोल प्रक्रियामार्फत बिक्री गरेको थियो ।

    पछिल्लो पटक बिक्री गर्न लागिएको टे्रजरी बिल २८ दिने अवधिदेखि तीन सय ६४ दिने अवधिसम्मको छन् । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले उक्त टे्रजरी बिल बिक्री गर्न लागेको हो ।

    केन्द्रीय बैंकका अनुसार हाल टे्रजरी बिलको अल्पकालीन ब्याज सात दशमलव ९१ प्रतिशत बराबर रहेको छ । यस्तै तीन सय ६४ दिनको ब्याज भने आठ दशमलव ८० प्रतिशत बराबर छ । अन्तरबैंक ब्याजदर भने सात प्रतिशत बराबर छ ॥

  • सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु

    सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु

    सप्तरी । सप्तरीको राजविराजस्थित शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा आज करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ । कक्षा १० मा अध्ययनरत राजगढ गाउँपालिका वडा नम्बर १ झुटकीका लक्ष्मणप्रसाद यादवको १५ वर्षीय छोरा पेसलानन्द यादवले विद्यालयको आज्ञा बमोजिम बिजुलीको पोलमा तार हुकिङ् लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

    विद्यालयमा प्रत्येक शुक्रवारका दिन नियमित हुने अतिरिक्त क्रियाकलापका लागि आयोजना गरिएको कार्यक्रममा स्पिकर बजाउने प्रयोजनका लागि बिजुलीको पोलमा तार हुकिङ लगाउन पेसलानन्दलाई लगाइएको थियो । करेन्ट लागेर घाइते भएका बालकलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा पुराए लगत्तै उनको मृत्यु भएको थियो ।

    शवलाई पोस्टमार्टमका लागी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता मृतकका आफन्त तथा विद्यार्थीहरूले विद्यालयको लापरबाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

  • लामो समय बाडुली लाग्दा के गर्ने ?

    लामो समय बाडुली लाग्दा के गर्ने ?

    ‘कस्तो बाडुली लाग्यो, कसैले सम्झियो कि क्या हो ।’ यसको भनाइ हरकोहीको सुनिन्छ । बाडुली लागेपछि रोक्नका लागि धेरै जुक्ति लगाइन्छ । कोही पानी पिएर ठीक पार्न खोज्छन् त कोही अन्य उपाय अपनाउन थाल्छन् कसैलाई बाडुली लागेपछि केही छिनमा रोकिन्छ भने कसैलाई अलि लामै समय लागिरहन्छ । बाडुली नरोकिंदा कतिपय ठाउँमा असहज महसुस पनि हुन्छ ।

    बाडुली किन आउँछ ?
    हाम्रो पाचन वा श्वासप्रश्वास प्रणालीमा गडबडी र अत्यधिक हलचल भएमा बाडुली लाग्न थाल्छ । पेट र फोक्सोको बीचमा रहेको डायाफ्राम अर्थात् करङको मांसपेशी खुम्चिएर फोक्सोले छिटो हावा तान्न थाल्छ, जसकारण व्यक्तिलाई बाडुली लाग्न थाल्छ । त्यस्तै, घाँटीमा खसखस जस्ता कारणले पनि डायाफ्रामको नसा प्रभावित हुँदा बाडुली आउँछ । डायाफ्रामले श्वासप्रश्वास गराउन सहज गराउने भूमिका खेल्छ ।

    सामान्य अवस्था
    वास्तवमा बाडुली लाग्नुका पछाडि धेरै कारण छन् । खाना घाँटीमा अड्किएर, मसालेदार खानेकुरा खाँदा वा पिरो खाँदा बाडुली आउँछ । यति मात्र होइन कुनै काम उत्सुक भएर गर्दा र नर्भस हुँदा पनि बाडुली लाग्न सक्छ । छिटाछिटो पानी पिउँदा, मदिरा पिउँदा, स्टेरोइड र ट्रयाक्विलाइजरजस्ता औषधिको कारण पनि बाडुली लाग्छ । यस्तो कारणले आउने बाडुली एकछिन लागेपछि आफैं ठीक हुन्छ ।

    असामान्य अवस्था
    बाडुली विभिन्न रोगको लक्षण पनि हुन सक्छ । डायाफ्रामको पारालाइसिस हुँदा बाडुली लाग्छ । त्यस्तै ग्यास्ट्रिक, मेटाबोलिक डिसअर्डर, दिमागको कुनै भागको नसा सुक्दा, मिर्गौला खराब भएका व्यक्ति, मस्तिष्कमा ट्युमर, निमोनिया, फोक्सो नजिक हुने ट्युमरलगायत समस्या हुँदा बारम्बार बाडुली लाग्न सक्छ । कहिलेकाहीं मानसिक समस्याले पनि बाडुली आइरहने हुन सक्छ । यस्तो अवस्थामा तत्काल उपचार गराउनु जरुरी हुन्छ ।

    बच्चामा बाडुली लाग्ने कारण
    बच्चाहरुलाई पनि धेरै बाडुली लाग्ने गरेको हामी पाउँछौ । शिशुमा पेट भरिएमा बाडुली लाग्न सक्छ । त्यस्तै अत्यधिक खानेकुरा खाँदा, छिटो निल्दा, खानासँगै हावा पनि निल्दा बाडुली आउन सक्छ । यस्तोमा केही मिनेट वा घण्टाभित्र आफैं हट्छन् र कुनै उपचारको आवश्यकता पर्दैन । तर ४८ घण्टाभन्दा बढी समय बाडुली आएमा भने स्वास्थ्य परीक्षण गराउनु उचित हुन्छ ।

    कसरी रोक्ने ?
    एकैछिन आएको बाडुलीलाई पानी, दही, कागतीको रस, केही थोपा भेनेगर, मोटो दाना भएको चिनी खाएर निको पार्न सकिन्छ । सासलाई एकैछिन रोकेर राखेमा पनि आउन बन्द हुन सक्छ । त्यस्तै पेपर ब्याग मुखमा केही समय च्यापेर तान्ने र छाड्ने गर्दा पनि जान सक्छ । आँखीभौंलाई मसाज गर्नेजस्ता उपायले कम गर्न सकिन्छ । यसरी पनि नरोकिएमा भने अस्पताल जानु उपयक्त हुन्छ ।

    यसरी एक दिनभन्दा बढी पटकपटक बाडुली आएमा स्वास्थ्य परीक्षण गराउनुपर्ने अवस्था हुन्छ । बाडुलीसँग अन्य देखिएको लक्षणको आधारमा स्वास्थ्य परीक्षण गरिन्छ । किनकि बारम्बार बाडुली आउनु धेरै रोगका लक्षण हुन सक्छन् । त्यसको कारण पत्ता लगाई रोगको उपचार गरिन्छ । जस्तै, मिर्गौला खराब, एन्जाइटी, ग्यास्ट्रिक, दिमागमा ट्युमरजस्ता रोग भएमा रोगअनुसारको उपचार हुँदा बाडुली आउन छाड्छ । कतिपय केसमा बिरामीको अवस्था हेरेर बाडुकी रोक्ने औषधि पनि दिइन्छ । औषधि भने जथाभावी खान मिल्दैन । चिकित्सकको सुझावमा विभिन्न परीक्षणपछि पनि बाडुली नियन्त्रण नहुँदा दिइने गरिन्छ ।