Author: achyutbc@gmail.com

  • भत्कियो दमौलीको सहिदगेट

    भत्कियो दमौलीको सहिदगेट

    तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-४ भोर्लेटारचोकमा रहेको सहिदगेट भत्काइएको छ । पृथ्वीराजमार्ग विस्तार गर्न लागि आज बिहान उक्त सहिदगेट भत्काइएको हो । मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त सहिदगेट भत्काएको इञ्जीनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । नेकपा (माओवादी) केन्द्रले उक्त सहिदगेटको निर्माण गरेको थियो । सहिदगेटमा तनहुँ जिल्लामा विभिन्न समयमा सहादत प्राप्त गरेका सहिदको विवरण समेटिएको थियो ।

    मुग्लिन-पोखरा सडकखण्डलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ । मुग्लिनबाट पोखरासम्मको खण्डलाई दुई भागमा ठेक्का सम्झौता गरी काम भइरहेको छ । मुग्लिन पोखरा सडक विस्तारः रु पाँच अर्ब ४२ करोड विनियोजन सरकारले मुग्लिन-पोखरा सडक विस्तारका लागि आगामी आर्थिक वर्षमा रु पाँच अर्ब ४२ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सडक विस्तारका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिए ।

    मुग्लिनबाट पोखरासम्म सडक चार लेनमा विस्तार गर्नका लागि काम भइरहेकामा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री महतले बताए । मुग्लिन-पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा २५ र जामुनेबाट कोत्रेसम्मको पश्चिम खण्डमा छ दशमलव शून्य पाँच प्रतिशत प्रगति हासिल भएको छ ।

    पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रका लागि परीक्षण सुरु भइसकेको छ । चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई अगाडि बढाइएको आयोजना प्रमुख नरेन्द्र सुवेदीले बताए । आँबुखैरेनी गाउँपालिका-१ स्थित बरादीस्थित सडकमा दुई सय मिटर दूरीमा परीक्षण गरिएको सुवेदीले बताए । उनले भने, “यसको जाँच गर्ने काम सुरु भएको छ, यसको मोटाइलगायतका पक्षको जाँचको प्रतिवेदन आएपछि कालोपत्र नै सुरु गर्ने तयारीमा छौँ ।” वैशाखमै कालोपत्र गर्ने तयारी गरिए पनि प्राविधिक कारणवश ढिलाइ भएको उनको भनाइ छ ।

    पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।

    विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५-२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

    यस्तै तनहुँको डुम्रेबाट मनाङको चामेसम्म सडक विस्तारका लागि बजेट विनियोजन गरिएको छ । डुम्रेबाट लमजुङको बेँसीसहर हुँदै मनाङको चामेसम्मको सडक विस्तारका लागि रु ३४ करोड विनियोजन गरिएको अर्थमन्त्री महतले बताए । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको डुम्रेबाट बेँसीसहर हुँदै मनाङ पुग्ने उक्त सडकलाई २५ वर्षपछि दुई लेनमा विस्तार गर्ने काम भइरहेको छ । यो सडकको दूरी तनहुँको डुम्रेबाट पाउँदीसम्म २४ किलोमिटर, पाउँदी-बेँसीसहर १८ किलोमिटर र बेँसीसहरबाट मनाङ सदरमुकामसम्म ६५ किलोमिटर छ । तनहुँको डुम्रेबाट विसं २०२९ मा खन्न सुरु गरिएको सडक बेँसीसहरको ४२ किमीसम्म पुर्याउन साढे एक दशक लागेको थियो । विसं २०४६ मा ट्रयाक खुलेकामा विसं २०५२ देखि सिङ्गल लेनको कालोपत्र गरिएको थियो ।

  • वीपी प्रतिष्ठानमा विद्यार्थीबीच झगडा, शिशा प्रहार गरेपछि तीन तलाबाट खसेर एक गम्भीर

    वीपी प्रतिष्ठानमा विद्यार्थीबीच झगडा, शिशा प्रहार गरेपछि तीन तलाबाट खसेर एक गम्भीर

    धरानः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यार्थीबीच झगडा हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

    प्रहरीका अनुसार छात्रावास विद्यार्थीबीच झगडा भएको थियो । त्यसक्रममा एकजना तीन तलाबाट खसेर गम्भीर घाइते भएका छन् । डिएसपी नवराज मल्लका अनुसार सिन्धुलीका २२ बर्षीय विद्यार्थीले अर्का एक विद्यार्थीलाई शिशाले प्रहार गरेका थिए । त्यसपछि शिशा प्रहार गर्ने ती विद्यार्थी तीन तला माथिबाट आफै खसेर गम्भीर घाइते भएको पनि डिएसपी मल्लले बताए । ‘शिशाले प्रहार गरेर अर्को विद्यार्थीलाई घाइते बनाएको र तीन तलामा गएर आफै खसेर गम्भीर छन् । उनको आइसियुमा उपचार भइरहेको छ,’डिएसपी मल्लले भने ।

    प्रहरीका अनुसार शिशाको टुक्राले प्रहार गर्दा गोरखा घर भएका विद्यार्थी घाइते भएका छन् । उनको ढाड र अनुहारमा चोट भएपनि खतरामुक्त छन् । घटनास्थलबाट रगत लागेको शिशाको टुक्रा पनि भेटिएको प्रहरीले जनाएको छ । दुवै एमबिबिएस दोस्रो बर्षमा अध्ययनरत विद्यार्थी हुन्, र दुवै साथी भएको पनि खुलेको छ । घटना र कारणबारे अनुसन्धान भइरहेको पनि ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

  • संसदीय सुनुवाई बिषेश समितिको बैठक सुरु

    संसदीय सुनुवाई बिषेश समितिको बैठक सुरु

    काठमाडौँ। संसदीय सुनुवाई बिषेश समितिको पहिलो बैठक सिंहदरबारमा शुरु भएको छ ।समितिका जेष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बैठक सुरु भएको हो ।

    बैठकलाई सभामुख देबराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन गर्नुभएको छ ।सभामुख घिमिरेले समितिमा अनुभव प्राप्त सदस्यहरु रहेका कारण यसले आफ्नो जिम्बेवारी कुशलतापूर्वक निर्वाह गर्ने बिश्वास ब्यक्त गर्नुभयो । प्रधानन्यायधीश नियुक्ती लगायतका कामहरुको सुनुवाई छिटो गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई थियो ।

    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बैधानिक परिषदबाट आउने कतिपय सिफारिसलाई पनि गहन छलफल गरेर समितिले सच्याउन सक्ने गरि समितिले काम गर्ने बिश्वास ब्यक्त गरे । उनले सिफारिस भएर आएका ब्यक्तिका बारेमा समितिमा नागरिकबाट आएका गुनासोलाई गम्भीरतापूर्वक लिन र दलको निर्देशन भन्दा पनि आफुँले स्वतन्त्रपुर्वक निणर्य गर्न समितिलाई आग्रह पनि गरे ।

  • बाँकेका वन हेरालु भन्छन्- ‘वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ’

    बाँकेका वन हेरालु भन्छन्- ‘वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ’

    जानकी । “हाम्रो वनमा वन्यजन्तु बढेका छन् । घरपालुवा जनावर र मान्छे नै वन्यजन्तुले मारेका छन् । तर पनि हामीलाई डर लाग्दैन खुसी लाग्छ”, यो भनाइ हो बाँकेको राप्तीपीडित तथा गुलरी सामुदायिक वनका वन हेरालु धनीराम थारूको । उमेरले ५६ वर्ष लागेका उनले भने, “पहिला-पहिला वन उजाड हुन्थ्यो, हामीलाई निकै नै न्याश्रो लाग्थ्यो । तर अहिले हाम्रो पनि वन हराभरा छ । वन्यजन्तु देख्न पाइन्छ । यो हाम्रा लागि निकै खुसीको कुरा हो, यो खुसीमा वन्यजन्तुको डर लाग्दैन ।”

    थारुको भनाइअनुसार आजभन्दा पाँच वर्ष पहिले उक्त सामुदायिक वन उजाड थियो । पाँच-छ वर्षयता वनलाई जोगाउन थालेपछि वन हरियाली हुन थालेको र वन्यजन्तु पनि बढेको उनको भनाइ छ । बिहानै झिसमिसेमा उठेर वनभित्र छिरिसक्नुपर्ने उनले बताए । “एकाबिहानै उठेर वनमा छिरिसक्नुपर्छ । अलि ढिला गर्यो भने त घाँसदाउरा काट्ने र तस्करले जे पनि गर्न सक्छन्”, उनले भने, “घामपानी जे परे पनि समयमै वनभित्र छिरिसकेका हुन्छौँ हामी वन हेरालुहरू ।”

    बिहान ६ बजे वन कुर्न गएका थारु खाना खान ११ बजेमात्र घर फर्कने बताउछन् । “भोकप्यास जे लागे पनि सहेरै वनलाई घाँसदाउरा चोर्न आउनेबाट जोगाउनका लागि साँझ ७ बजेसम्म बस्नैपर्छ”, उनले भने, “सिकारी पसेको सूचना पाउँदा त झनै रातिको ११-१२ बजेसम्म वनमै बस्नुपर्छ ।” वन्यजन्तुको आक्रमण हुने सम्भावना उच्च रहे पनि वन र सिकारीबाट वन्यजन्तुलाई जोगाउनकै लागि ज्यानको बाजी लगाएर वन हेर्नैपर्ने उनको भनाइ छ ।

    बाह्र वर्षदेखि वनको हेरचाह गर्दै आएका थारुले वन्यजन्तुको आक्रमणबाट कसरी जोगिने भन्ने विषयमा बेला-बेला तालिममा सहभागी हुने गरेको बताए । घरबाट २० मिनेटको बाटोमा साइकल चलाएर वनको हेरचाह गरेवापत उनले मासिक रु १० हजार पाउछन् । उनका अनुसार महिनाभरि वनको रेखदेख गरेर पाएको रु १० हजारले घर चलाउन गाह्रो छ । “दश हजारले के नै हुन्छ र ? त्यैपनि मैले त आफ्नो जङ्गल हो भनेर काम गरिरहेको छु”, उनले भने, “पैसाभन्दा पनि जङ्गल र वन्यजन्तुले गर्दा हाम्रो चिनारी नै फरक भएको छ, म त वन हेरालु हुन पाएकामा खुसी छु ।”

    धनीरामजस्तै सोही सामुदायिक वनमा हेरालुका रूपमा कार्यरत छन् फटाहु थारू पनि । उनी ४० वर्षका भए । उनले पनि आफ्नो वनमा वन्यजन्तु आएकामा निकै खुसी लागेको बताए । “वनमा वन्यजन्तुको सङ्ख्या बढ्दै गएपछि हाम्रो गाउँ र वनमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको छ”, उनले भने, “यो कुराले हामी सबै गाउँले निकै खुसी छौँ ।”

    आफ्नै वनसँग रमाउन मन लागेर अनि यहाँका पशुपक्षी र वन्यजन्तुको हेरचाह गर्न मन लागेर आफू ‘वन हेरालु’ भएको फटाहुले बताए । घरपरिवारले विदेश गएर पैसा कमाउने सल्लाह दिए पनि उनलाई भने वन हेरालु नै हुन मन परेको छ । “महिनाको जम्मा रु १० हजारले केही हुँदैन, उमेर छँदै विदेश गएर अरु साथीले झैँ टन्नै पैसा कमा भन्छन् बाआमा । तर मलाई आफ्नै वनको सुरक्षा गर्नुछ”, उनले भने, “पैसा थोरै छ तर आफ्नो वनलाई जोगाउने काम गरेको छु । वन जोगिएसँगै वन्यजन्तु पनि जोगिएका छन् । उनीहरूको सङ्ख्यामा वृद्धि भएको छ, म यसैमा खुसी छु ।”

    राप्ती पीडित तथा गुलरी सामुदायिक वनका संयोजक अजोद्धया थारूले वन संरक्षण भएदेखि उक्त सामुदायिक वनमा केही भारतबाट र केही बाँके राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु आउने गरेको बताए । चार सय ९८ हेक्टर क्षेत्रफलमा रहेको उक्त सामुदायिक वनमा पाटेबाघ, चितुवा, नीलगाई, चित्तल, बँदेल, खरायो, स्याल, रतुवालगायत रहेका छन् । उनकोे भनाइअनुसार अहिले उक्त सामुदायिक वनको ‘वन हेरालु’का रूपमा छ जना रहेका छन् ।

    विसं २०६४ देखि आफैँ पनि ‘वन हेरालु’का रूपमा काम गरेर अहिले हेरालुको संयोजक बनेका अजोद्धयाका अनुसार बाँकेको कम्दि करिडोरमा ३८ वटा सामुदायिक वन छन् भने २८ जना ‘वन हेरालु’ छन् । मासिक रु तीन हजारबाट वनको हेरचाह गर्न सुरु गरेका अजोद्धयाको मासिक तलब रु १५ हजार छ । वनको रेखदेख गरेवापत उनले पाउने उक्त रकम थारै भए पनि धनीराम र फटाहुलाई जस्तै वनको मायाले संयोजकको जिम्मेवारी सम्हाल्दै काम गरिरहेको उनले बताए । विसं २०७०/७१ देखि सो सामुदायिक वनमा जङ्गली जनावर देखिएका हुन् ।

  • संसदबाट आगामी बर्षको बजेट पारित

    संसदबाट आगामी बर्षको बजेट पारित

     काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो ।

    सरकारले पारित गरेको बजेट आज बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दै छन् ।यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।

    जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ । आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको बजेटभन्दा नबढेर आउने छ । यसअघि सरकारले यही जेठ ५ गते नीति तथा कार्यक्रम ल्याएको थियो । उक्त नीति तथा कार्यक्रम गत शनिबार पारित भएको थियो । बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको सहभागिता रहने प्रचलन छ ।

  • घटेन नवजात शिशुको मृत्युदर

    घटेन नवजात शिशुको मृत्युदर

    १४ जेठ, काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकताभित्र राखेर वर्षौंदेखि विभिन्न कार्यक्रम चलाइरहे पनि नवजात शिशुको मृत्युदरमा कमी ल्याउन भने नसकेको पाइएको छ । ५ वर्षमुनिका बालबालिका तथा १ वर्षसम्मका शिशुको मृत्युदर बिस्तारै घट्दै गए पनि नवजात शिशुको मृत्युदर अझै पनि उच्च छ । दिगो विकास लक्ष्य अनुरुप सन् २०३० सम्ममा नवजात मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ वा सोभन्दा कम र २०३५ मा १० भन्दा कममा ल्याउने सरकारले प्रतिबद्धता जनाएको छ ।

    आइतबार सार्वजनिक आर्थिक सर्वेक्षण २०७९/०८० को तथ्यांक अनुसार नवजात मृत्युदर प्रतिहजार जीवित जन्ममा २१ र एक बर्षसम्मका शिशुको मृत्युदर २८ रहेको छ । विज्ञहरूका अनुसार जुन रूपमा ५ वर्षमुनिका बालबालिकाको र १ वर्षमुनिका शिशुको मृत्युदर घटिरहेको छ, त्यसअनुरूप नवजात शिशुको मृत्युदरमा कमी आउन नसक्नु चुनौतीको विषय बनेको छ । जबकी, नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को तथ्यांकले पनि नवजात शिशुको मृत्युदर २१ नै देखाएको थियो । सन् २०११ मा २८ दिनभित्र जन्मिएका नवजात शिुको मृत्यु ३३ थियो ।

    अहिलेकै क्रम जारी हुने हो भने नवजात शिशुको मृत्युदर घटाउने दिगो विकासको लक्ष्य हासिल गर्न निकै कठिन देखिन्छ । परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लाल सम्रगमा बालबालिकाको मृत्युदरमा कमी ल्याउन सकेपनि अझै नवजात शिशु मृत्यु कार्यक्रम प्रभावकारी बनाउन नसकिएको बताउँछन् । ‘सबैभन्दा बढी बालबालिकाको मृत्यु एक महिनाभित्र नै भइसक्छ । त्यसभित्र पनि ४८ घन्टाभित्र झण्डै ८५ प्रतिशतको हाराहारीमा मृत्यु हुने देखिन्छ’, लालले अनलाइखबरसँग भने, ‘सेवाको पहुँच बढ्यो । तर, गर्भावस्था र सुत्केरी हुने उच्च गुणस्तरको सेवा दिनमा चुकिरहेका छौं ।’

    विज्ञका अनुसार नवजात शिशुको मृत्युदर धनी वर्गको परिवारको तुलनामा न्यून आर्थिक अवस्था भएका मानिस र कम उमेरका आमामा बढी समस्या देखिन्छ । ‘गर्भवस्था र सुत्केरी हुने बेलामा देखिने जटिलता साथै चुनौती र नवजात शिशुमा देखिने समस्यालाई नै समाधान हुने गरी प्राथमिकता निर्धारण गरेका छौं’, लालले थपे, ‘नवजात शिशुको मृत्युदर घट्न सकेको छैन । यसतर्फको सेवा विस्तार गर्नुपर्ने अबको बाटो हो ।’

    उनका अनुसार जनचेतनाको कमी, सुत्केरी गराइने स्थान सुविधायुक्त नहुनु, औसतभन्दा सानो बच्चा जन्मिनु र रक्तअल्पताजस्ता कारणले नवजात शिशुको मृत्यु हुने गरेको छ । पूर्व स्वास्थ सचिव डा. किरण रेग्मी पछिल्ला बर्ष स्वास्थ्य क्षेत्रको भौतिक पक्षमा उल्लेख्य वृद्धि भएपनि अझै पनि सेवा प्रवाह गुणस्तरीय नहुँदा नवजात शिशुको मृत्युदर घट्न नसकेको बताउँछिन् ।

    ‘अहिले पनि गाँउघरमा महिलाले पुरुषले खाएको खानेकुरा खाने प्रचलन कायम नै छ । जसले गर्दा गर्भावस्थामा यथेष्ट मात्रामा पोषण पुगेको हुँदैन । त्यसैले बच्चा कमजोर जन्मिने हुन्छ’, डा. रेग्मी भन्छिन्, ‘यस्ता नवजात शिशुको केही घन्टाभित्र नै मृत्यु हुन्छ ।’ डा. रेग्मीका अनुसार अस्पताल वा घरमै नवजात शिशुमा संक्रमण फैलिएको कारण नै बढी मृत्यु हुँदै आएको छ । ‘सरकारले आमा र नवजात शिशुमा लगानी गरिरहेको छ । तर, त्यसअनुसारको प्रतिफल पाउन सकिएको छैन । सरकारले हरेक बर्ष हेलिकप्टरबाट उद्दार गर्ने भनेर खर्च छुट्याइरहेको हुन्छ’, डा. रेग्मी भन्छिन्, ‘दूरदराजमा सुविधासम्पन्न डेलिभरी सेवा र जनशक्ति उपलब्ध गराउने हो भने आमा र बच्चाको स्वास्थ्य सेवा नपाएर मृत्यु हुने थिएन ।’

    विज्ञहरु पालिकास्तरमै प्रभावकारी संरचना र जनशक्ति पुर्‍याउनुपर्नेमा जोड दिन्छन् । कम्तीमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी प्राविधिक रूपमा दक्ष नहुँदा नवजात शिशुको जीवनरक्षा प्रभावकारी बन्न सक्दैन । स्वास्थ्य संस्थामा कम्तीमा पनि एमडीजीपी गरेका डाक्टर र पब्लिक हेल्थमा स्नातक जनशक्ति भए गुणस्तरीय सेवा दिन सक्ने उनी बताउँछिन् । स्वास्थ्य क्षेत्र ढिलो प्रतिफल देखिने क्षेत्र हो भन्ने राजनीतिक नेतृत्वको बुझाइ रहेको डा. रेग्मीको भनाइ छ । ‘अहिले बालबालिकामा गरेको खर्च लगानी हो, जबसम्म राजनीतिक नेतृत्वको मुद्दामा यो पर्दैन तबसम्म हाम्रा सूचकहरूमा धेरै फरक आउँदैन’, उनी भन्छिन् ।

    उनी अगाडि भन्छिन्, ‘जसरी कति बाटो बनायो भन्ने राजनीतिक मुद्दा बन्छ, त्यसरी नै कुन स्थानीय सरकारले स्वास्थ्यमा कति काम गर्‍यौं भन्ने पनि मुद्दा बन्नुपर्छ । हामीले हाम्रो स्वास्थ्यमा निकै कम लगानी गर्दा पनि त्यसको फाइदा धेरै छ । त्यसकारण पनि बालबालिकाको स्वास्थ्यका लागि स्थानीय सरकारको प्रतिबद्धताको खाँचो छ ।’
    विज्ञका अनुसार नवजात शिशुको कुल मृत्युको ३१ प्रतिशत मृत्यु श्वासप्रश्वास र मुटुसम्बन्धीको रोगबाट हुन्छ । त्यसैगरी, गर्भ तथा प्रसुतिको जोखिमका कारण ३५ प्रतिशत र बाँकी संक्रमण, जन्मजात समस्या, अकस्मात मृत्यु, शीतांग हुनुलगायत कारणले मृत्यु हुने गरेको पाइएको छ । नवजात शिशुको मृत्युको कारण बन्दै आएका प्रमुख रोगहरूमा निमोनिया, झाडापखाला, दादुरा, कुपोषणलगायत रोग हुन् । त्यसो त शिशु अवस्थाको बच्चाको शरीर अति संवेदनशील हुने भएकाले उनीहरुको स्वास्थ्य-स्थितिबारे निकै हेक्का राख्नुपर्ने विज्ञहरु सुझाव दिन्छन् । नवजात शिशु अत्यधिक संक्रमणको जोखिममा हुन्छन् ।

    खासगरी जन्मनेबित्तिकै नवजात शिशुले दुई काम-रुन र दुध चुस्न सक्छ । यदि नवजात शिशुले दुध चुस्न सकेन भने त्यो पनि अर्को खतराको संकेत हो । नसा सम्बन्धी समस्याको कारण शिशुले आमाको दुध चुस्न सक्दैनन् । त्यसैगरी, कहिलेकाहीँ स्वासप्रश्वासमा बाधा उत्पन्न हुँदा पनि शिशुले दूध चुस्न सक्दैन । यस्तो समस्याले बच्चालाई कमजोर त बनाउँछ नै विभिन्न संक्रमणले पनि सजिलै आक्रमण गर्छन् । जन्मिएको केही दिनमा नवजात शिशुको मृत्यु हुन्छ । विज्ञका अनुसार नवजात शिशुमा अस्वस्थ हुँदा बढी मात्रामा देखिने खतराका चिह्न छिटो-छिटो श्वास फेर्नु, कोखा हान्नु, सुस्त, बेहोस वा कम चलाइ हुनु, आमाको दूध राम्रोसँग चुस्न नसक्नु, शीतांग हुनु, ज्वरो आउनु, नाइटो पाक्नु वा छालामा फोका आउनु आदि हुन् ।

    घट्दै क्रममा बालमृत्युदर
    नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा बाल मृत्युदर भने ६ प्रतिशतले घटेको छ । आर्थिक सर्वेक्षण २०७९-०८० अनुसार प्रति हजार पाँच बर्षको मुनिका बालबालिकाको मृत्युदर ३३ रहेको छ । जबकी, यसभन्दा अगाडि सन् २०१६ मा बालमृत्युदर ३९ थियो । स्वास्थ्य क्षेत्रमा बढ्दै गएको सार्वजनिक तथा निजी लगानी र स्वास्थ्य सम्बन्धी नागरिक चेतनामा वृद्धि हुँदै गएसँगै स्वास्थ्य सूचकमा सुधार हुँदै गएको सर्वेक्षणमा उल्लेख छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्यांक अनुसार प्रति हजार सन् १९९६ मा ११८, २००१ मा ९१, २००६ मा ६१ र २०११ मा प्रति हजारमा ५४ बाल मृत्युदर रहेको थियो ।

    सरकाले दिगो विकासको लक्ष्य अनुरुप सन् २०३० सम्ममा पाँच वर्षमुनिका बालबालिका मृत्यु प्रति एक हजारमा २० मा पुर्‍याउने लक्ष्य लिएको छ । पछिल्लो जनगणना अनुसार प्रतिलाख जीवित जन्ममा मातृमृत्यु १५१ मा झरेको छ । जबकी २०६८ सालको जनगणनाअनुसार नेपालमा ०६८ सालको जनगणनाअनुसार प्रतिलाख जीवित जन्ममा मातृ मृत्युदर २८१ जना थियो । दिगो विकास लक्ष्यअनुसार नेपालले सन् २०३० सम्ममा मातृ मृत्युदरलाई ७० मा झार्न पर्नेछ । दिगो विकास लक्ष्य हासिल गर्न अब हामीसँग ८ बर्षमात्रै बाँकी छ । यसबीचमा हामीले धेरै काम गर्नुपर्ने छ ।

    पछिल्लो सर्वेक्षणका अनुसार गर्भावस्थामा ४ पटक जाँच गर्ने महिला ८० प्रतिशत, दक्ष प्रसुतिकर्मीबाट सुत्केरी गराउने महिला ८० प्रतिशत र संस्थागत प्रसुति गराउने महिला ७९.३ प्रतिशत छन् । यी सबै सूचांकलाई ९० प्रतिशतभन्दा माथि पुर्‍याउन सक्यौं भनेमात्रै दिगो विकास लक्ष्य हासिल हुन्छ । नत्र हामी लक्ष्य पूरा गर्न असफल नै हुनेछौं ।

  • टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस

    टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस

    १५ जेठ, काठमाडौं । आज जेठ १५ अर्थात् नेपालमा गणतन्त्र स्थापना भएको दिन । सैनिक मञ्च (टुँडिखेल)मा आज बिहानै विशेष समारोहका साथ १६औं गणतन्त्र दिवस मनाइएको छ । पुष्पवृष्टि र सुरक्षाकर्मीको कवाजका साथै विभिन्न झाँकीसहित दिवस भव्यरुपमा मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिको प्रतीक परेवा पनि उडाइएको छ ।

    समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति रहेको थियो । समारोहलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दै गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र नै भएको बताउँदै यसलाई अझै मजबुत बनाउनुपर्ने बताए ।

    नेपालमा बिक्रम संवत २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।

  • आज गणतन्त्र दिवस मनाइँदै

    आज गणतन्त्र दिवस मनाइँदै

    १५ जेठ, काठमाडौं । गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादी बीच पूणर् लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो ।

    विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि सुरु भएको निणर्ायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । अन्ततः तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्न बाध्य हुँदै बैठकसमेत आह्वान गरे ।

    विसं २०६३ जेठ ४ गते बसेको पुनर्स्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो ।

    पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो । विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।

    संविधान सभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गरेको थियो । विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एवं देशमा नयाँ संविधान जारी भएपछिको पहिलो राष्ट्राध्यक्ष बनिन् । हाल तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल छन् । त्यसभन्दा अगाडि देशमा राजतन्त्र थियो र राजा नै राष्ट्र प्रमुख हुन्थे ।

  • ‘मेरो गाउँ मेरो ठाउँ’ २०२३ को उपाधि टिम डुलुवालाई

    ‘मेरो गाउँ मेरो ठाउँ’ २०२३ को उपाधि टिम डुलुवालाई

    काठमाडौं । ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि उपाधि टिम डुलुवाको ‘दि नर्थेन वालले’ जितेको छ । यसका साथै टिमले नगद पाँच लाखसहित भिडियो च्यालेन्ज २०२३ अवार्ड पनि प्राप्त ग¥यो । त्यस्तै प्रतियोगिताको दोस्रो महत्वपूर्ण ‘जजेज च्वोइस अवार्ड’ विजेता आर्यन कँुवरको ‘मयूरी चाल’ बनेको छ । यसले नगद दुई लाखसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड हात पा¥यो । प्रतियोगिताको ‘मोष्ट एर्नजेटिक भिडियो मेकर’ अवार्ड टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’ ले जितेको छ । यसले एक लाख नगदसहित अवार्ड जित्यो । एकभन्दा बढी भिडियो पठाउने प्रतियोगीहरूलाई यसमा प्रतिस्पर्धा गराइएको थियो ।
    प्रतियोगितामा कुल दस वटा विधामा अवार्ड प्रदान गरिएको थियो । ‘फ्युचर स्टार अफ दि इयर’– आदर्श पाण्डे, ‘मोष्ट पोटेन्सियल डेस्टिनेसन’–सन्दकपुर गाउँपालिका, ‘वेस्ट एडिटर’–आकाश धिमाल, ‘वेस्ट स्क्रिप्ट–भ्वाईस ओभर’–रुमण थापा, ‘वेस्ट स्टोरी कन्सेप्ट डिरेक्सन’–सुरेश कुमार मुखिया, ‘वुनम भिडियो मेकर अफ दि इयर’–गरिमा भण्डारी र ‘वेस्ट सिनेमाटोग्राफर’–सन्तोष मालेकरले जिते । योसँगै विजेता एक–एक लाख रुपैयाँ नगदसहित भिडियो च्यालेन्ज अवार्ड हात पारे । सन् २०२० र २०२३ मा प्राप्त २ सय ५८ भिडियो मध्येबाट विभिन्न दश विधामा ७० वटा भिडियो मनोनयन गरिएको थियो । प्रतियोगिता फाउन्डेसन र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा भएको हो 
    राष्ट्रिय सभा गृहमा शनिबार आयोजित कार्यक्रममा फाउन्डेसनका संस्थापक तथा अध्यक्ष तुलसी कुमार गुरुङले  ‘मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेन्जको पहिलो संस्करणले ओझेलमा रहेका थलोहरु उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
    ‘दुर्भाग्यवश कोरोना महामारीका कारण हामीले वितेका तीन वर्ष हामीले प्रतियोगिता आयोजना गर्न सकेनौँ । आफ्नो गाउँठाउँ चिनाउने यस अभियानलाई निरन्तरता दिइरहने अध्यक्ष गुरुङले प्रतिबद्धता व्यक्त गरे । फाउन्डेसनका निर्देशक तथा कार्यक्रम संयोजक निर्मल श्रेष्ठले अर्को वर्षदेखि विदेशमा बस्ने नेपालीका लागि समेत लक्षित गरी अर्को विधा ‘मेरो गाउँ, मेरो ठाउँ इन्टरनेसनल’ थपिने बताए । यस विधामा विदेशमा हुने नेपाल प्रर्वद्धनात्मक गतिविधिका वृत्तचित्र प्रतियोगितामा समेटिने छन् ।  ‘हामीलाई भिडियो पठाएर आफ्नो गाउँठाउँ चिनाउँन गर्नुभएको प्रयास निकै सह्रानीय छ । ‘प्रतियोगीहरुमा मेरो देश र मेरो गाउँठाउँ मैले नै चिनाउनु पर्छ भन्ने जुन हुटहुटी देखियो त्यसले हामीमा यस प्रतियोगितालाई निरन्तरता दिनुपर्छ भन्ने जोस जाँगर अझ बढेको छ ।’ उनले सुनाए ‘यस वर्षदेखि विजेता दस भिडियोलाई विभिन्न देशहरूमा प्रदर्शन गरिने पनि उनले सुनाए ।’
    ‘आयोजक पक्षले यो कार्यक्रम सँगै अगाडि बढाउँ भन्ने प्रस्ताव लिएर आउँदा धेरै हुने कार्यक्रमको भिडमा अर्को एउटा थपिने मात्रै हो कि भन्ने लागेको थियो, त्यसलै हामीले अलिकति समय लियौं  नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले भने, ‘बुझ्दै जाँदा यो कार्यक्रमबाट हामीले देशको विकासमा राष्ट्रिय योगदान गर्न सकिन्छ भन्नेमा विश्वस्त बन्यो ।’ विभिन्न अध्ययनले नेपालको विकास ऊर्जा र पर्यटनबाट मात्र सम्भव देखाएको उल्लेख गर्दै उनले पर्यटन क्षेत्रमा अगाडि बढ्न यस भिडियो च्यालेन्जले धेरै महत्वपूर्ण भूमिका खेल्ने बताए।

    वि विल राइज फाउन्डेसनले उदार भावना र महान उद्देश्यसहित यो कार्यक्रम आयोजना गरेकोमा प्रमुख अतिथि समेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले धन्यवाद व्यक्त गरे । ‘आगामी दिनमा वि विल राइजजस्ता संस्थाहरूको विकास र सुदृढीकरणले नेपालको पहिचान र प्रगतिलाई अझ उन्नत उचाइमा पुर्याउन सफल बनोस् ।’ उनले भने, ‘हामी अहिले त्यस्ता संस्थाहरूको खोजीमा पनि छौँ, जसले विभिन्न ठाउँबाट र विभिन्न कोणबाट नेपालको पहिचान र प्रगतिका निम्ति योगदान गरीरहेका छन् तर बाहिर त्यति धेरै चर्चामा आएका छैनन्, त्यस्तै एउटा संस्था यस फाउन्डेसन पनि हो भन्ने लाग्यो । अहिले हामी नीति तथा कार्यक्रमको बजेट बनाउने सन्दर्भमा यस्तै थुप्रै संस्थासँग प्रधानमन्त्री र हामीले छलफल पनि गरेका छौँ ।
    यस कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म डेस्टिनेसनका लागि नेपालका सुन्दर ठाउँहरूको उजागर गरेको अभिनेता तथा चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसीले बताए । पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएरपनि ओझेलमा परेका कुनै पनि महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही फाउन्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ । फाउन्डेसनले गतवर्ष फाल्गुण १२ देखि यसवर्षको वैशाख २१ गतेसम्म वृत्तचित्र पठाउन आह्वान गरेको थियो । 

     

  • आम माफी पाएर कारागार मुक्त भए रेशम चौधरी

    आम माफी पाएर कारागार मुक्त भए रेशम चौधरी

     काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार विहान बसेको बैठकले रेशमको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

    यस्तै ७ जना जेष्ठ नागरिकसहित ४८२ जनाको बाँकी कैद सजाय माफी भएको छ । संविधानको धारा २७६ र फौजदारी कसुुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा जेष्ठ नागरिक ऐनको दफा १२ बमोजिम उनीहरुको बाँकी कैद सजाय माफी भएको हो ।

    दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका कैदीको सजाय माफी दिन सक्ने व्यवस्था छ ।रेशम चौधरी २०७२ साल भदौमा कैलालीको टिकापुरमा थरुहट आन्दोलनका क्रममा ७ जना सुरक्षाकर्मी र एक नाबालकसहित ८ जनाको मृत्यु भएको घटनामा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । उनलाई तीनै तहको अदालतले जन्मकैदको सजाय हुने फैसला सुनाएको थियो ।