Author: achyutbc@gmail.com

  • महिनावरीमा पेट दुखेर असैह्य हुन्छ ? यी हुन दुःखाई कम गर्ने उपाय

    महिनावरीमा पेट दुखेर असैह्य हुन्छ ? यी हुन दुःखाई कम गर्ने उपाय

    काठमाडौँ । महिनावारी हुनुअगाडि, भएको बेला र रगत आउँदासम्म कसैलाई धेरै नै पेट दुख्ने गर्छ । महिनावारीबारे आवश्यक ज्ञान नहुँदा स्कुले किशोरीले निकै असजिलो महसुस गर्छन् । कसैले पढाई छाडेर घरमा नै बस्छन् । प्रायःकिशोरीहरुमा १३–१४ वर्षदेखि १७–१८ वर्षसम्मको समयमा महिनावारी नियमित हुने गरेको पाइदैन । महिनावारीको समयमा कहिले– कसैलाई धेरै रक्तश्राव भइरहेको हुन्छ भने कसैलाई कम हुने गर्छ। तर, यो सामान्य प्रक्रिया हो ।

    झण्डै चालिस प्रतिशत किशोरीमा यस्तो समस्या देखापर्छ। तर अत्याधिक रगत देखिनुका साथै पेट दुखेको खण्डमा अनि धेरै दिनसम्म रगत गइरहेमा वा महिनामा दुईपटक वा २८ दिनबाट ७ दिन छाडेर ढिला भएमा तपाईले चिकित्सकसँग परामर्श लिनुपर्छ ।

    दुखाई कम गर्ने घरेलु तरिकाः

    दुधः  दुध क्याल्सियमको निकै राम्रो स्रोत हो, महिनावारीको पीडालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस् यसले क्याल्सियमको कमीलाई पुरा गरीदिनेछ र पीडाबाट आराम मिल्नेछ ।

    मेवाः  महिनावारी भएको बेला खानाले फाइदा पुर्‍याउँछ । धेरैपटक महिनावारीको दौरान रक्त प्रवाह सही तरिकाले हुने गर्दैन जसका कारण अझ पीडा हुने गर्दछ । यस्तो अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ ।

    गाजरः गाजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्ने गर्दछ । स्त्रीरोग विशेषज्ञका अनुसार एक ग्लास गाजरको रस पिउनाले महिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ ।

    घिउकुमारीः  महिनावारीको दौरान एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको पीडालाई कम गन गर्दछ ।

    तुलसीः पीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् । तुलसीमा भएको क्याफिड एसिडले महिनावारीको पीडालाई कम गर्न गर्दछ । धेरै पीडा भइरहेको छ भने ७–८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमाल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी पिउनुहोस् ।

    तातो पानीले नुहाउनुहोस्ः तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ ।

    अदुवाः एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस् । यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् र खाना खाइसकेपछि दिनको तीन चार पटक खाने गर्नुभयो भने पीडाबाट मुक्ति पाइन्छ ।

    व्यायामः हुन त हामीले दिन दिनै व्यायाम गर्नु जरुरी छ । तर महिनावारीको पीडा भएको बेलामा व्यायाम अत्यावश्यक छ । उक्त प्रवाहलाई राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्ने गर्दछ ।

    खजुरः बिहान हरेक दिन खाली पेटमा ५० ग्राम भिजाएको खजुर खाने पानी पनि लाभदायक हुन्छ ।

    चुकन्दरको ताजा रसः  सानो गिलासको १ गिलास रस दैनिक बिहान १ महिनासम्म पिउनाले आइरन क्याल्सियम र अन्य मिनिरलसको मात्रा बढी पाइने हुँदा दुखाईलाई मद्दत पुग्दछ । एजेन्सीको सहयोगमा ।

  • बलात्कारपछि हत्या गरी फरार २ जना १६ वर्षपछि पक्राउ

    बलात्कारपछि हत्या गरी फरार २ जना १६ वर्षपछि पक्राउ

    सुनसरी । १६ वर्ष अघि बलात्कार पछि हत्या गरेर फरार भएका दुई जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-१२ की २५ वर्षीया ललिता राईलाई बलात्कारपछि हत्या गरेर १६ वर्ष देखी फरार रहेका दुई जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा धनकुटा शहिदभूमी गाउँपालिका-१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राईलाई पक्राउ गरिएको हो ।
    इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार शहिदभूमी गाउँपालिकाबाट पक्राउ गरी उनीहरूलाई जिल्ला अदालत सुनसरीमा म्याद थपका लागि लगिएको थियो । जसअनुसार १० दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान अगाडी बढाइएको मल्लले जानकारी दिए ।
    उनका अनुसार पक्राउ पर्ने बित्तिकै दुवै जनाले आफूले गरेको सो अपराध स्वीकार गरेका छन् । गत २०६४ मंसिर २३ गते धरानको बलभद्रेश्वर अरुणोदय धर्मशालामा लगि ललितालाई पालैपालो बलात्कार गरेको तर ललिता चिच्याउन थाले पछि पोल खुल्ने डरले हत्या गरेर फरार भएको दुवै जनाले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

  • छात्रालाई ‘प्रतिरक्षा’ तालिम, आठ किशोरीको उद्धार

    छात्रालाई ‘प्रतिरक्षा’ तालिम, आठ किशोरीको उद्धार

    काभ्रे। जिल्ला युवा समिति काभ्रेपलाञ्चोकले विद्यालयका छात्रालाई महिला आत्मरक्षा तालिम दिएको छ । बागमती प्रदेश युवा परिषद्को सायोगमा रोशी गाउँपालिका-२ स्थित लक्ष्मी नारायण कृषि प्राविधिक माध्यमिक विद्यालयमा आयोजित दुई दिने तालिममा तीन विद्यालयका ४० विद्यार्थीले सहभागीता जनाएका थिए ।
    तालिममा माध्यमिक विद्यालयस्तरका छात्रालाई सामूहिक झैझगडा तथा पुरुषद्वारा आक्रमण भए शारीरिकरुपमै प्रतिकार गर्ने रक्षात्मक तरिकाबारे प्रशिक्षण दिइएको जनाइएको छ । महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न तथा महिलामा आत्मबलको विकास गर्ने उद्देश्यले यस्तो तालिमको आयोजना गरिएको समितिका अध्यक्ष प्रकाश थापाले बताउनुभयो । उहाँले गाउँपालिकाको अन्य विद्यालयका छात्रालाई यस्तो प्रकृतिको तालिम क्रमशः प्रदान गर्दै जाने बताउनुभयो ।
    वडा नं २ का वडाध्यक्ष हस्तमान लामाले पहिलेको तुलनामा वर्तमान समयमा महिला निकै असुरक्षित हुँदै गरेकाले प्रतिरक्षा तालिमले महिलामा आत्मविश्वास बढ्दै जाने बताउनुभयो । गाउँपालिकाको वडा नं १, २ र ३ का सामुदायिक विद्यालयका छात्राले तालिममा भाग लिएका थिए । छात्रालाई रुपा थापा र निर्मला राउतले प्रतिरक्षा प्रशिक्षण दिनुभएको हो ।
    यसैबीच प्रहरीले तीन दिनमा अवैध धन्दामा प्रयोग भएका आठ नाबालिकको बनेपास्थित होटल तथा क्याफेबाट उद्धार गरेको छ । ललाइफकाइ, आर्थिक प्रलोभनमा पारी, विश्वास दिलाइ होटलमा आउने ग्राहकसँग जबर्जस्ती शारीरिक सम्पर्क गर्न बाध्य बनाउने गरेको आरोपमा बनेपा-१० मा रहेको तेमाल गेष्ट हाउस एण्ड खाजा घर सञ्चालक ४२ वर्षको लालमान तितुङ र कामदार २० वर्षीय श्याम लामालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार उक्त गेष्ट हाउसबाट पाँच नावालिक तथा किशोरीलाई उद्धार गरिएको हो ।

  • अन्तर्राष्ट्रिय जैविक विविधता दिवस आज, विभिन्न कार्यक्रम गरी मनाईँंदै

    अन्तर्राष्ट्रिय जैविक विविधता दिवस आज, विभिन्न कार्यक्रम गरी मनाईँंदै

    काठमाडौं । ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ ।संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको महत्व झल्काउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको छ ।
    जमिन तथा पानीको सतहमा रहने प्राणी तथा वनस्पति एवं सूक्ष्म जीवको जीवनचक्रसहित वातावरणीय पक्षलाई समेत केन्द्रमा राखेर विश्वभर चेतनामूलक कार्यक्रम हुने गरेको छ । जैविक विविधता दिवसका उपलक्ष्यमा नेपालमा वन विभाग र वनस्पति विभागसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ/सङ्गठनका तर्फबाट हाइकिङ, र्‍याली, गोष्ठी, अन्तक्र्रियालगायतका चेनतामूलक कार्यक्रम आयोजना गर्ने कार्यक्रम छ । जैविक विविधताको दृष्टिले नेपाल विश्वमा धनी देशका रुपमा चिनिन्छ ।

  • झापामा पोथी हात्ती मृत फेला

    झापामा पोथी हात्ती मृत फेला

    झापा । झापामा पोथी हात्ती मृत फेला परेको छ। बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र आज बिहान पोथी हात्ती मृत फेला परेको हो ।
    स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्याल, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेको छ । हात्तीको मृत्युको कारणबारे खोजी भइरहेको जनाएको छ ।

  • बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित

    बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित

    काठमाडौँ । जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ । उक्त जहाज काठमाडौँ उड्नै लाग्दा यात्रुले मुसा देखेपछि उडान रोकेर इन्जिनियरहरूले प्राविधिक मर्मत गरेका हुन् ।
    बिहान ९ः१५ बजे जनकपुरबाट काठमाडौँ उडान तालिका रहेको जहाजमा यात्रुले मुसा देखेपछि उडान रोकेर जहाजको प्राविधिक चेकजाँच भइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उक्त जहाज काठमाडौँबाट उडान भरेर बिहान साढे ८ बजे जनकपुर पुगेको थियो । जहाजमा ४९ यात्रु रहेका थिए ।
    प्रवक्ता निरौलाले जहाजमा मुसा देखिएको खबर पाएपछि काठमाडौँबाट इन्जिनियरको टोलीले जनकपुर गएर जहाजको परीक्षण गरेपछि मात्रै उडान गर्ने बताए । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कणर्का अनुसार उक्त जहाज इन्जिनियरले चेकजाँच गरेका छन् । प्राविधिक परीक्षणपछि जहाज सञ्चालनमा आउनेछ । सो जहाजका यात्रुलाई अर्को जहाजमार्फत काठमाडौँ ल्याइसकिएको छ ।

  • भुँडी  घटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यी उपाय

    भुँडी घटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यी उपाय

    भुँडी लाग्नु वा धेरै मोटाउनु अस्वस्थ शरीरको सूचक हो । मोटोपन आफैंमा कुनै रोग होइन तर मोटाउन थालेपछि शरीरमा अनेकौं रोगले घर बनाउन थाल्छन् । अस्वाभाविक रुपमा भुँडी लाग्नु वा शरीरमा अत्याधिक बोसो जम्नुलाई चिकित्सा विज्ञानले मुटुरोग, मधुमेह, दम, उच्च रक्तचाप, पेटका समस्या, हर्मोनहरुको समस्या जस्ता रोगको प्रमुख कारकको रुपमा मानेको छ ।

    हाम्रो शरीरमा सबैभन्दा पहिले र सबैभन्दा धेरै बोसो लाग्ने ठाउँ पनि भुँडी क्षेत्र नै हो । भुँडीमा बोसो लागिसकेपछि त्यसलाई घटाउन धेरै गार्‍हो पर्छ । बढेको भुँडीबाट अनेकौं हानिकारक तत्वहरु निस्किन्छन् । यस्ता हानिकारक तत्वहरु टाइप–२ मधुमेह, कोरोनरी मुटुरोग र अन्य धेरै रोगको कारक हुन् । एक पटक भुँडी लागिसकेपछि घटाउन मुस्किल त पर्छ तर निम्नलिखित प्राकृतिक उपायको अबलम्वनले भुँडी घटाउन मद्दत गर्छ ।

    उपाय १: फाइबरयुक्त खाना

    हामीले खाने खानामा पाइने फाइबर ९रूक्षांश० ले कुनै पौष्टिकता त दिँदैन तर फाइबर धेरै भएको खानेकुराको प्रयोग गर्दा अनेकौं फाइदा पुर्‍याउँछ । घुलनशील फाइबर पानीमा घुलेर खानालाई फुलाइदिन्छ । खानेकुरा फुलेपछि यसले भोकलाई चाँडै तृत गरिदिन्छ भने खानाको पाचन क्रियालाई पनि सुस्त गरिदिन्छ । साथै क्यालोरी अवशोषणलाई पनि कम गर्छ । अध्ययन अनुसन्धानको निचोड भन्छ– १० ग्राम घुलनशील फाइबरको अतिरिक्त प्रयोगले भुँडी लाग्ने क्रियालाई ३।७ प्रतिशत कम गर्छ ।
    घुलनशील फाइबरको मुख्य स्रोत भनेको सामा, कगुनी चामल, चिनो चामल, कोदो, जवार, बाजरा, आलस, एबोकाडो, ब्ल्याक बेरी, दाल–गेडागुडी र हरिया सागपात आदी हुन् ।

    उपाय २: ट्रान्स फ्याटयुक्त खानेकुरा नखाने

    अनसेचुरेटेड फ्याटमा हाइड्रोजन परमाणु पम्प गरेर बनाइएको हाइड्रोजेनेटेड फ्याटलाई ट्रान्स फ्याट भनिन्छ । प्राकृतिक तेलहरुलाई धेरै तताउँदा पनि तेल ट्रान्स फ्याटमा परिवर्तित हुन्छ । बोतल बद्ध, बट्टाबद्ध, जंक फुडहरुमा ट्रान्स फ्याट हालिएको हुन्छ । ट्रान्स फ्याट मुटुरोग, मधुमेह, नशा नाडीको क्षय, वात, मोटोपन, मेटाबोलिक सिन्ड्रोम, ग्यासट्राइटिस, डिसलिपिडिमिया, डिमेन्सिया जस्ता रोगसँग सम्बद्ध यौगिक हो । यसर्थ भुँडी घटाउन चाहनेहरुले ट्रान्स फ्याटको पहरेज गर्नुपर्छ।

    उपाय ३: मदिरापान नगर्ने

    मदिरापान र भुँडी लाग्ने क्रिया आपसमा अन्तरसम्बन्ध छ भन्ने तथ्य केही स्वास्थ्य अनुसन्धानहरुले प्रमाणित गरी सकेका छन् । मदिराको मात्रा जति धेरै भयो त्यति धेरै भुँडी लाग्ने क्रिया बढेर जाने तथ्य विभिन्न रिसर्चहरुले प्रमाणित गरिसकेका छन् । यसर्थ भुँडी घटाउन चाहने जो कोहीले पनि मदिरापन गर्दै नगरौं।

    उपाय ४: उपबास गर्ने

    उपबास धेरै किसिमका हुन्छन् तर भुँडी घटाउनका लागि हप्ताको १ दिन उपबास सबैभन्दा उत्तम हो । वर्षको दुई चोटी ५ देखि ७ दिनको उपबास कुनै प्राकृतिक चिकित्सा केन्द्रमा गएर चिकित्सकको निगरानीमा गर्दा पनि भुँडी घट्नुका साथै सम्पूर्ण शरीरको तौल पनि घट्छ ।

    उपाय ५: जडीबुटीको काडा पिउने गरौं

    गुर्जोको काडा, तुलसी काडा, विजयसालको काडा, अर्जुनको काडा, हरियो चिया जस्ता जडिबुटीको काडाको नियमित सेवनले भुँडी घटाउन मद्दत गर्छ । यी काडा इपिग्यालोक्याटेच्ली ग्यालेट नामक एन्टिअक्सिडेन्ट पाइन्छ । यो यौगिकले मेटाबोलिजम बढाएर तौल घटाउन मद्दत गर्छ ।

    उपाय ६: प्रोबायोटिक्सयुक्त खानेकुरा खाने

    शरीरको आन्द्राहरूमा प्रशस्त ब्याक्टेरियाहरु पाइन्छन् । यी ब्याक्टेरियाहरूको वृद्धि हुँदा शरीरलाई फाइदै हुन्छ । प्रोबायोटिक्सयुक्त खानेकुरा भनेको शरीरमा भएका ब्याक्टेरियाहरु जस्तै ब्याक्टेरियाहरु भएको खानेकुराहरु हो । प्रोबायोटिक्सयुक्त खानेकुरा खाँदा पाचनमा सुधार हुने र तौल घट्ने तथ्य अनुसन्धानहरुले देखाएका छन् ।

    उपाय ७: संरक्षित खानेकुराहरु नखाऔं

    लामो समयसम्म खानालाई संरक्षण गरी राख्न योग्य भएका खाने कुरालाई संरक्षित खानेकुरा भनिन्छ । खानेकुरा संरक्षण गर्न अनेकौं किसिमका केमिकल लगायत चिनी, नुन, तेल जस्ता तत्वहरु हालिएको हुँदा यस्ता खानेकुराले तौल बढाउँछ ।

    उपाय ८: एप्पल साइडर भिनेगरको प्रयोग

    १२ हप्तासम्म १५ मिलि एप्पल साइडर भिनेगर खाने मोटा व्यक्तिहरुको तौल घटाएर भुँडी पनि १ इन्चसम्म घटाउने तथ्य केही मानव एवं जनावरमाथिको अध्ययनले पुष्टि गरिसकेको छ । एप्पल साइडर भिनेगरको प्रयोगले सुगर घटाउने, भुँडीको बोसो घटाउन सहयोग पुर्‍याउँछ । स्वस्थ व्यक्तिले १५ देखि ३० मिलिसम्म एप्पल साइडर भिनेगर प्रयोग गर्न सक्छन् तर प्रयोग गर्दा यसलाई पर्याप्त पानी हालेर प्रयोग गर्नुपर्छ नत्र यसले दाँतको इनामेललाई खुइल्याउन सक्छ ।

    उपाय ९: उच्च प्रोटिनयुक्त खानेकुरा खाने गरौं

    उच्च प्रोटिन युक्त खानेकुरा खाँदा तृप्तीकारक हार्मोनको उत्सर्जन हुने, थोरै खानामा पनि तृप्ती हुने र भोक नलागिरहने हुँदा खाना कम खान सहयोग गर्छ। फेरि उच्च प्रोटिनयुक्त खानेकुराले मेटाबोलिजमलाई समेत प्रभाव पार्ने हुँदा भुँडी कम गर्न सहयोग गर्छ तर जनावरहरुबाट प्राप्त प्रोटिन स्वास्थ्यकर नहुने हुँदा वनस्पतिबाट प्राप्त प्रोटिन प्रयोग गर्ने गरौं।

    उपाय १०: तनाव व्यवस्थापन गरौं

    तनावपूर्ण स्थितिमा एड्रिनल ग्रन्थी ज्यादा सक्रिय भएर धेरै मात्रामा कर्टिसोल हार्मोन उत्पादन गर्ने र कर्टिसोलको रक्तस्तर बढेपछि यसले धेरै भोक लगाउने, प्रारम्भिक दिनमा फ्याट घटाउन सहयोग गरे पनि पछि भुँडी लाग्न र तौल बढाउने गर्छ । यसर्थ भुँडी घटाउन चाहनेहरुले तनाव व्यवस्थापन गर्नुपर्ने हुन्छ । तनाव व्यवस्थापनको महत्वपूर्ण अस्त्र भनेको योग तथा ध्यान हो ।

    उपाय ११: चिनी हालेका कुनै पनि पेय पदार्थ नलिऔं

    प्रशोधित चिनी हालिएका खानेकुरा जस्तैः चिया, कफी, बजारका बोतलबद्ध जुसहरु कोकाकोला, पेप्सीकोला जस्ता पेय एवं मिठाइहरुको प्रयोगले अतिरिक्त क्यालोरी थप्ने हुँदा भुँडी लाग्ने क्रियालाई बढाउँछ।

    उपाय १२: घरेलु चिल्लोको प्रयोग

    तौल घटाउन चाहनेहरुले बाहिरी बजारिया तेलको प्रयोग हटाएर घरेलु आफैंले पेलेको तेलको प्रयोग गर्नुपर्छ। तोरी, सूर्यमुखी र बदामको तेल अन्य तेलहरु भन्दा राम्रा छन् । यी तेलमा विद्यमान मेडियम चेन फ्याट्टी एसिडले फ्याट भण्डारण क्रियालाई कम गर्छ । उद्योगमा प्रशोधित केमिकल हालिएको तेलमा ट्रान्स अनस्याचुरेटेड फ्याट्टी एसिड हुने हुँदा यसले भुँडी लगाउन एवं तौल बढाउने गर्छ ।

    उपाय १३ :कार्डियो एक्सरसाइज गर्ने गरौं

    श्वासको गति बढाउने खालको कार्डियो एक्सरसाइजले भुँडी घटाउन ठूलो सहयोग गर्छ । कार्डियो एक्सरसाइज गर्दा अतिरिक्त क्यालोरी बन्द हुने हुँदा चाँडै तौल एवं भुँडी घट्छ ।

    उपाय १४: निद्रा पुग्ने गरी सुत्ने गरौं

    गहिरो निन्द्रा स्वस्थ शरीर एवं मनका लागि अपरिहार्य आवश्यकता हो । दैनिक ५ घन्टा भन्दा कम निदाउनेहरुको भुँडी अन्यको भन्दा चाँडो लागेको पाइएको छ र घुर्ने समस्याले पीडितहरुको पनि अन्यको भन्दा ठूलो भुँडी भएको पाइएको छ । भुँडी घटाउन चाहनेहरुले गहिरो निन्द्रा लिन आवश्यक हुन्छ । यसर्थ आफूलाई कुनै निन्द्रासम्बन्धी समस्या भए तुरुन्त यसको निदानतिर लागौं र भुँडी घटाऔं।

    उपाय १५: सागपात एवं फलफूल खाने गरौं

    बोसो लाग्ने क्रियालाई तोड्नका लागि हामीले हाम्रो शरीरलाई एक पल्ट पूर्ण शुद्धीकरण गर्नुपर्ने हुन्छ । शरीर शोधनको लागि सागपात एवं फलफूल खुब खानुपर्ने हुन्छ । सागपात एवं फलफूल मात्र खाने गर्दा महिनामा १० किलोसम्म पेट घटाउन सकिन्छ । सागपात एवं फलफूल खाने गर्दा शरीरको कार्यप्रणालीले बोसो घटाउने दिशातिर काम गर्छ ।

    उपाय १६ :पेटको व्यायाम गरौं

    भुँडी लाग्नुको प्रमुख कारणमध्ये भुँडीलाई असर गर्ने खालको व्यायाम नगरेर पनि हो । भुँडी घटाउन चाहनेहरुले क्रन्च, ट्वीस्ट क्रन्च, साइड क्रन्च, रिभर्स क्रन्च, भर्टिकल लेग क्रन्च, साइक्लिङ, लेग ट्वीट, रोलिङ्क प्लाङ्ग एक्सरसाइज, उड्यान बन्ध, अग्निसार क्रिया जस्ता पेटका व्यायामहरु गर्नुपर्ने हुन्छ ।

    उपाय १७ : हाई फ्रुक्टोज कर्न सिरपको सेवन नगरौं

    मकैलाई प्रशोधन गरेर तयार गरिएको गुलियोलाई हाई फ्रुक्टोज कर्न सिरप भनिन्छ । यो गुलियो अति स्वादिष्ट हुने भएकाले अधिकांश जंकफुडमा हालिएको हुन्छ । लिबरमा बोसो लगाउनेदेखि भुँडी लाग्ने र तौल बढ्ने जस्ता समस्याहरूसँग सम्बद्ध यो यौगिक अनेकौं मेटाबोलिक रोगहरूको कारण पनि हो ।

    उपाय १८( कार्बोहाइड्रेटको प्रयोग कम गरौं

    धेरै कार्बोहाइड्रेट सेवन गर्दा अतिरिक्त कार्बोहाइडेट फ्याटमा परिवर्तित भई बोसो लाग्छ । यसर्थ भुँडी घटाउन चाहनेहरूले अतिरिक्त कार्बोहाइड्रेटको प्रयोग कम गर्नुपर्ने हुन्छ ।

  • प्युठानमा वनको डढेलो बस्तीमा पस्दा ११ घर जलेर नष्ट

    प्युठानमा वनको डढेलो बस्तीमा पस्दा ११ घर जलेर नष्ट

    प्युठान । बनमा लागेको डढेलको बस्तीमा पस्दा ११ घर जलेर नष्ट भएका छन् । प्यूठानको स्वर्गद्वारी नगरपालिका-२ धनवाङस्थित जंंगलमा लागेको डढेलो बस्तीमा पसे पछि सो आगलागीमा परेर ११ घर जलेर नष्ट भएका हुन् ।
    जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार साँझ नजिकको धाइरेनी सामुदायिक वनमा सल्किएको आगो नजिकको मानवीय बस्तीमा पस्दा ११ घर तथा ८ गोठ जलेर नष्ट हुन पुगेको हो । सामुदायिक बनमा लागेको डढेलो बस्तीमा पस्दा घर र गोठ जले पनि मानवीय क्षतिको भने कुनै जानकारी प्राप्त भइसकेको छैन ।
    यद्दपि, स्थानीयसहित नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ । सो आगलागीबाट कति क्षति भयो रु त्यसको मूल्याङ्कन गर्ने कार्य भइरहेको जनाइएको छ।

  • बसाइँसराइले रित्तिदै गाउँघरः झाडी भए आङ्गन र पिँढी

    बसाइँसराइले रित्तिदै गाउँघरः झाडी भए आङ्गन र पिँढी

    म्याग्दी । ढुङ्गाले छाएका घर । सल्लाका काठले बारेर चिटिक्कै पारिएका बार्दली ९कौसी० । फराकिला आङ्गन र कठवार लगाइएका पिँढी । घर नजिकै पानीको धारा, वरिपरी खेतबारी । उत्तरतर्फ आँखा लगाउँदा आखैँमा ठोक्किन आउँछन् की जस्ता देखिने हिमशृङ्खला ।

    चारैतिर हरियाली । अजिङ्गरको भीर छिचोलेर गाउँमै पुगेको सडक र आवतजावत गरिरहने मोटरगाडी । यो शब्दचित्र म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मिजा गाउँको हो । आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको मगरजातीको बाहुल्यता रहेको यो गाउँ पछिल्लो समय बसाइँसराइका कारण उजाडिँदै जान थालेको छ ।

    गुजुम्म परेको बस्तीमा रहेका एकसय बढी घरमध्ये दर्जन बढी घरका ढोकामा ताल्चा मारिएको छ । घरको धुरी भत्किएका छन् । आङ्गन र पिँढीमा झाडी मौलाएको छ । खेतबारीमा वनमारा फस्टाएको छ । दर्मिजा मात्रै होइन, म्याग्दीका अधिकांश ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधाका लागि ठूला सहर र जिल्ला बाहिर बसाइँसराइ गर्नेको सङ्ख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका छन् ।

    सङ्घीयताको मर्मअनुसार विकेन्द्रिकरणको नीति गाउँमा पुगेको छ । विकासका कारण विकट गाउँ सुगम बनेका छन् । पहरा फोरेर बनाइएका सडकहुँदै गाउँमा गाडी गुडेका छन् । सहरबजारका भन्दा पूर्वाधार सम्पन्न विद्यालय गाउँमा ठडिएका छन् । स्वास्थ्यचौकी गाउँमै छ । सञ्चारको सुविधा पुगेको छ । तर पनि गाउँमा बस्ने मानिस घट्दै गएका छन् ।

    विकास थपिँदै गए पनि शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको सङ्ख्या नरोकिएसँगै ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीर्ण भएका छन् भने जनसङ्ख्या वृद्धिदर ऋणात्मक हुने अवस्थामा पुगेको रघुगङ्गा गाउँपालिका–४ का वडासदस्यसमेत रहनुभएका दर्मिजाका अगुवा धनबहादुर गर्बुजाले बताउनुभयो ।

    विसं २०६८ मा एक घर परिवारभित्र ४।०९ जना रहेकोमा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना– २०७८ को प्रारम्भिक नतिजामा ३।६७ जना मात्र बस्ने गरेको देखिन्छ । ग्रामीण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको सङ्ख्या उकालो लागेको जनगणना कार्यालय म्याग्दीका पूर्वकार्यालय प्रमुख घनश्याम सापकोटाले जानकारी दिनुभयो । “बसाइँसराइको अवस्था चिन्ताजनक छ, गाउँका घर खाली भएको अवस्थामा सहरबजारबाटै विवरण सङ्कलन धेरै भएको छ”, उहाँले भन्नुभयो । उहाँले खाली भएका घरपरिवार वैदेशिक रोजगारी र सहरबजारमा धेरै रहेको बताउनुभयो ।

    पूर्वप्रमुख सापकोटाले भनेजस्तै जिल्लाका ६ वटै स्थानीय तहमा समेत विसं २०७८ को जनगणना अनुसार जनसङ्ख्या कमी रहेको देखिन्छ । जनगणना कार्यालय म्याग्दीले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार भारतसहित तेस्रो मुलुकमा म्याग्दीबाट कूल विदेशिनेको सङ्ख्या १० हजार ७१३ रहेको छ ।

    तीमध्ये ८ हजार ८४३ पुरुष र एक हजार ८७० महिला रहेको छ । ९५।८७ लैङ्गिक अनुपात, औसत परिवारको आकार ३।६७ र जनघनत्व ४७ रहेको छ । जिल्लाको कु्ल जनसङ्ख्याको घरपरिवारमा अनुपस्थित अर्थात विदेशमा अक्सर बसोबास गर्ने ०।४९ प्रतिशत रहेको छ ।

    वैदेशिक रोजगारीमा महिलाको तुलनामा पुरुषको सङ्ख्या अत्यधिक छ । पछिल्ला वर्षमा महिलासमेत तेस्रो राष्ट्रमा रोजगारीका लागि जाने प्रतिस्पर्धा भएकाले महिला र पुरुषको जनसङ्ख्याको अन्तर घट्दो रहेको छ ।

    श्रीमान् वैदेशिक रोजगारीमा गएपछि श्रीमती छोराछोरीलाई लिएर बजार झर्ने गरेकाले ग्रामीण बस्तीमा जनसङ्ख्या पातलिँदै गएको म्याग्दी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख कृष्णबहादुर थापाले बताउनुभयो । “पहिले धेरै चलहपहल हुने गाउँ अहिले सुनसान बन्दै गएका छन्, खेतीयोग्य जमिन बाँझो भएका छन् ।

    प्रत्येक घरमा कम्तीमा ६÷७ जना परिवारका सदस्य हुने घरमा अहिले पूरा खाली खाली देखिन्छन् भने कतै वृद्धबुबा–आमा मात्र भेटिन्छन्”, उहाँले भन्नुभयो, “घर संरक्षणको अभावमा खाली हुँदा खेतबारी बाँझोमा परिणत भएका छन् ।”

    सङ्घीय व्यवस्था लागू भएपछि गाउँघरमै सरकारी सुविधासहित शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताले ग्रामीण बसाइँमा आर्कषित गर्ने नसकेको अवस्थामा नयाँ जनसङ्ख्याको अवस्थालाई डेमोग्राफिक विश्लेषणको आवश्यकता देखिएको पूर्वक्याम्पस प्रमुख थापाको भनाइ छ ।

    बसाइँसराइको कारण ग्रामीण क्षेत्रका विद्यालयमासमेत विद्यार्थीको सङ्ख्या कम छ । गाउँमा उत्पादन भएका वस्तु सहरमा बिक्री हुने गरेको खाद्यान्न र कृषिजन्य वस्तुसमेत बजारबाट आयात गर्नुपर्ने अवस्था छ । “यूवा विदेशमा छन, अशक्त वृद्धवृद्धाको सेवा गर्नेकोसमेत कमी छ”, बेनी नगरपालिका–२ ज्यामरुककोटका वडाअध्यक्ष हीराबहादुर थापाले भन्नुभयो ।

    उहाँले गाउँमै रोजगारीका लागि स्थानीय तहबाट विभिन्न योजना सञ्चालन गरेपनि आम्दानीको हिसाबले सन्तुष्ट हुने अवस्था नभएकाले सहर बजार र विदेश जाने गरेको बताउनुभयो । बसाइँसराइका कारण गाउँबस्ती पातलिँदै जान थालेपछि विरानो बन्दै गएकोसमेत जनप्रतिनिधिको भनाइ छ ।

    विसं २०६८ को जनगणना अनुसार एक लाख १३ हजार ६४१ जना जनसङ्ख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतिजा अनुसार एक लाख सात हजार ३७२ जना रहेको छ ।

    हराउँदै गयो गाउँलेपन

    एक दशक अघिसम्म म्याग्दीका गाउँघरमा वरपर, तल–माथि बस्ती बाक्लो थियो । सबै घर–घरमा मानिस टन्न हुन्थे, निकै रमाइलो थियो । चाडपर्वमा छुट्टै रौनक र उल्लासमय वातावरण हुने गर्दथ्यो । साथीभाइको ठूलो जमघट हुने गथ्र्यो ।

    दसैँको सराय नाच हेर्न होस् वा तीजको मेला हेर्न, तिहारमा देउसी भइली खेल्न वा भजनकीर्तन कुनै पनि मेला महोत्सवमा धेरै मानिसको उपस्थिति हुने गर्दथ्यो । कुनै पनि चाडपर्व आउँदा भने मनमा छुट्टै किसिमको आनन्दको अनुभूति हुन्थ्यो ।

    कुनै यस्तो चाडपर्व थिएन, जहाँ हर्ष उमङ्ग नहोस् । गाउँमा मेलापात गर्दा होस् या गाईबाख्रा चराउन वन जङ्गलमा जाँदा तिजु, काफल टिपेर खाँदाका पल कति रमाइला थिए । वर्षायाममा होस् या हिउँदमा जुनसुकै समयमा पनि गाउँघरमा छुट्टै उल्लास हुने गर्दथ्यो । तर,आजभोलि ती सबै कुरा इतिहास बनेका छन् ।–रासस

  • कसरी भाइरल भइरहेछ अन्धविश्वास ?

    कसरी भाइरल भइरहेछ अन्धविश्वास ?

    देश जहाँ उपचारका लागि सरकारी अस्पतालको पर्याप्त पूर्वाधार छैन । भएका सरकारी अस्पतालमा पनि डाक्टर, नर्स र औषधि छैन । बाध्य भएर निजी अस्पताल जाँदा जायजेथा गुमाउनुपर्छ तर गुणस्तरीय उपचारको प्रत्याभूति हुँदैन । एकातिर शिक्षा र सामाजिक चेतनाको अभाव, अर्कोतिर निजी अस्पतालका आँगनमा पाइला राख्दै लुगलुग काम्नुपर्ने अवस्था । त्यस्तो देशमा धामीझाँक्री, झारफुक र कथित अलौकिक शक्ति’ को भ्रमको व्यापार हुनु धेरै अनौठो होइन । तर, डरलाग्दो के भने यस्तो भ्रममा परेर नागरिकले ज्यान गुमाइरहेका छन्, कति थप स्वास्थ्य जटिलताले पीडित छन् ।
    कारण शिक्षा र चेतना हो, कारण कमजोर आर्थिक अवस्था र महँगो स्वास्थ्य सेवा पनि हो । अन्धविश्वास कतिसम्म गहिरो छ भने अस्पतालको आकस्मिक कक्षबाट बिरामी खोसेर धामीको शरणमा पुर्‍याइएका उदाहरण पनि छन् । आजको युगमा पनि यस्तो अन्धविश्वास कायम रहनु जनस्वास्थ्य र सामाजिक चेतना दुवै क्षेत्रका लागि एउटा चर्को चुनौती हो ।
    तसर्थ, दिनानुदिन नागरिकहरू अन्धविश्वासको सिकार भइरहँदा राज्य संयन्त्रहरू मूकदर्शक भएर बस्नु हुँदैन । अन्धविश्वासको व्यापार गर्ने व्यक्ति वा समूहलाई अनुसन्धानको दायरामा ल्याई कानुनी प्रक्रियामा लैजानुपर्छ । यस्तै धामीझाँक्री, विभिन्न धार्मिक गुरु तथा अगुवाहरूलाई पनि यसबारे व्यवस्थित रूपमा प्रशिक्षित गर्नु आवश्यक छ । त्यतिमात्र होइन, शिक्षा र स्वास्थ्यका पूर्वाधार विकास र सेवा विस्तारमा राज्य संवेदनशील हुनुपर्छ । यसका निम्ति संघीय र प्रदेश सरकारको सहयोगमा पालिकाहरूले अन्धविश्वासविरुद्ध अभियान नै चलाउनुपर्छ । र, राजनीतिक दल, विद्यालय तथा सामाजिक संघसंस्थालगायत समाजको सचेत वर्ग यसविरुद्ध दृढतापूर्वक उभिनुपर्छ ।