Author: achyutbc@gmail.com

  • आजबाट काठमाडौंमा ‘सम्पदा बस’ सेवा सुरु हुँदै

    आजबाट काठमाडौंमा ‘सम्पदा बस’ सेवा सुरु हुँदै

    काठमाडौं । आज देखी काठमाडौं उपत्यकामा ‘सम्पदा बस’ सञ्चालनमा आउने भएको छ । काठमाडौं उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यसहित आजबाट ‘सम्पदा बस’ सेवा सञ्चालनमा आउन लागेको हो ।
    नेपाल पर्यटन बोर्डको व्यवस्थापनमा दुई वटा विद्युतीय बसहरूमार्फत काठमाडौं उपत्यकाका सम्पदा देखाइने प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए । उनका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूसम्म सम्पदा घुम्ती बस सेवाका रूपमा मङ्गलवारबाट ‘हफ अन हफ अफ बस’ सञ्चालन हुनेछन् ।
    आज ललितपुर महानगरपालिकाबाट औपचारिक रूपमा सुरु गरिने ‘हफ अन हफ अफ बस’ सेवामार्फत पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ । तत्कालका लागि यो सम्पदा बस सेवा निःशुल्क प्रयोगमा ल्याइने छ ।

  • कृत्रिम खुट्टाको भरमा सगरमाथा चढेका हरिको भव्य स्वागत, मन्त्री किराँती पनि विमानस्थल पुगे

    कृत्रिम खुट्टाको भरमा सगरमाथा चढेका हरिको भव्य स्वागत, मन्त्री किराँती पनि विमानस्थल पुगे

    काठमाडौं । सगरमाथा चुचुरो टेकेर आएका पूर्वगोर्खा सैनिक हरि बुढामगरलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा (घुँडाभन्दा माथि) गुमाएका मगरको सम्मानमा विमानस्थलमा सयौं भेला भएका थिए । वसन्त ऋतुको जारी आरोहणमा बुढामगर यही जेठ ५ गते दिउँसो ३ सगरमाथा शिखरमा पुगेका हुन् । उनको स्वागत तथा सम्मानका लागि पर्यटनमन्त्री सुदन किराँती पनि विमानस्थल पुगेका थिए । मन्त्री किराँतीले दुवै खुट्टा नभएर पनि अदम्य साहस, अथक मिहेनतले विश्व शिखरमा सफल आरोहण गर्न सफल भएको भन्दै बुढामगरलाई उच्च सम्मान गर्ने बताए ।
    हरिले यो आरोहणसँगै सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडामाथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहायताले बुढामगर सगरमाथा चुचुरोमा पुगेका हुन् । रोल्पा थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले झण्डै पाँच वर्षको प्रयासपछि सगरमाथाको सफल आरोहण गरेका हुन् । उनले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए ।
    सगरमाथाको आरोहणपूर्व पूर्वगोर्खा सैनिक बुढामगरले यसअघि मोन्ट ब्लांक (चार हजार आठ सय १० मिटर), चुलु सुदूरपूर्व (छ हजार ५९ मिटर), किलिमन्जारो (पाँच हजार आठ ९५ मिटर) र मेरापिक (छ हजार चार सय ७६ मिटर) लगायतका आरोहण गरेका थिए । साथै सगरमाथा आधार शिविर पुग्ने र सगरमाथामाथि स्काइ ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोब एभोब नी’ को रेकर्ड पनि उनको नाममा छ ।

  • हावाहुरीले कागती खेती नष्ट

    हावाहुरीले कागती खेती नष्ट

    तनहुँ- केही दिनदेखि आएको हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका-१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा नोक्सान पुर्‍याएको छ । स्थानीयवासी राजु रेग्मीले व्यावसायिकरूपमा सुरु गर्नुभएको कागती खेतीमा हावाहुरीले नोक्सानी गरेको हो । छब्बीस रोपनी क्षेत्रफलमा एक हजार बोट लगाएकामा हावाहुरीले तीन सय बोट नष्ट गरेको उनले जानकारी दिए । उनका अनुसार २६ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा कागती खेती गरिएको छ । किसान रेग्मीले भने “हावाहुरीले धेरै ठूलो क्षति पुगेको छ, तीन सयभन्दा बढी बोट भाँचिएको छ, बगैँचा ध्वस्त बनाएको छ ।” कृषिमा केही गर्छु भन्ने सोच राखेर अगाडि बढ्दा प्रकृतिबाट ठगिएको उनको गुनासो छ ।
    चार वर्ष कोरिया बसेर फर्केका उनले कागतीलाई नै मुख्य पेसा बनाउने सोचसहित अगाडि बढेका छन् । हालसम्म रु ३५ लाख लगानी भएको उनले बताए । अघिल्लो वर्ष रु पाँच लाखको कागती बिक्री गरेकामा यस वर्ष रु २५ लाखको बिक्री गर्ने लक्ष्य थियो । उनले बताए , “कागती राम्रो फलिरहेको थियो, यो वर्ष विस्तार पनि गरेको थिएँ, तर हावाहुरीले बोटहरू जरैदेखि भाँचिएको छ ।” कृषिप्रधान देश भनिए पनि कृषिमा सम्बन्धित निकायको कम चासो रहने गरेको उनले गुनासो गरे । कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा तरकारी बालीमा क्षति पुगेको जानकारी दिए । उनका अनुसार जिल्लाभर क्षतिको विवरण सङ्कलन भइरहेको छ । कृषिमा पुगेको क्षतिको मूल्याङ्कन गरेर कृषकलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
    “हामी सम्बन्धित निकायमा यसबारेमा जानकारी गराउँछौँ, कृषकलाई क्षतिपूर्तिको व्यवस्था नगर्ने हो भने उनीहरु कृषि पेसाबाटै विमुख हुनुपर्ने अवस्था आउन सक्छ”, उनले भने । आशापानीका कागती खेती कृषकको बगैँचामा पुगेर अवलोकन गर्दा धेरै ठूलो क्षति भएको जानकारी पाएको बताए । उनले भने “कृषकले राम्रो व्यवस्थापनका साथ कागती खेती गरेका थियो, बगैँचा व्यवस्थापन आकर्षण छ, तर हावाहुरीले एकतिहाइ बोट जरैदेखि नष्ट गरिदियो ।” पछिल्लो समय कृषिमा युवाहरूको आकर्षण बढिरहेकाले युवालाई कृषि क्षेत्रमा टिकाइराख्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । जिल्लाभरको हावाहुरीको क्षतिको विवरण आइनसकेको भन्दै उनले भने, “हामीले स्थलगतरूपमा क्षतिको विवरण सङ्कलनको काम गरिरहेका छौँ ।”
    व्यास नगरपालिकाले हावाहुरी, असिनापानीका कारण भएको क्षतिको विवरण सङ्कलन गर्न लागेको छ । केही दिन अगाडि आएको हावाहुरी, असिनापानीका कारणले नगरपालिका क्षेत्रका विभिन्न वडामा पारेको असरको विवरण सङ्कलन गरी सात दिनभित्र वडा विपद् समितिबाट निणर्य गराई नगर विपद् समितिमा सिफारिस गर्न सबै वडा समितिलाई निर्देशन दिइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

  • हेलिकप्टरबाट सुत्केरीको उद्दार

    हेलिकप्टरबाट सुत्केरीको उद्दार

    दार्चुला- दार्चुलाको मालिकार्जुन गाउँपालिका-६ उकुकी सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उकुकी २७ वर्षीया पुष्पा महराको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो ।
    आइतबार गाउँकै स्वाथ्य चौकीमा महराले बच्चा जन्माएकी थिइन् । सात महिनामै जन्मेको बच्चाको श्वासप्रश्वासमा समस्या देखिएकाले सोमबार आमा र बच्चालाई जिल्ला अस्पताल दार्चुला ल्याइएको थियो ।
    बच्चाको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि हेलिकप्टरबाट उद्दार गरेर कणर्ाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।

  • पोखरा मोटरसाइकल दुर्घटनाः काठमाडौंका एक युवाको मृत्यु, एक घाइते

    पोखरा मोटरसाइकल दुर्घटनाः काठमाडौंका एक युवाको मृत्यु, एक घाइते

    कास्की- पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको भने एक घाइते भएका छन् । आज विहान भएको दुर्घटनामा घाइते मोटरसाइकलमा सवार काठमाडौँ कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
    चालक तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पु बस्ने १७ वर्षीय सङ्गम बानियाँको टाउको र घाँटीमा चोट लागेको छ । पोखरा महानगरपालिका-६ खहरेचोकस्थित हल्लनचोकबाट गैह्राकोचौतारातर्फ जाँदै गरेको ग२४प ३१० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो ।
    वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि मेट्रोसिटी अस्पताल पठाएको थियो । प्रहरीले दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ । दुर्घटनामा परेको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।

  • लक्ष्मी बैंक र सनराइज बैंक मर्जर हुँदै

    लक्ष्मी बैंक र सनराइज बैंक मर्जर हुँदै

    काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ ।सोमबार लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकको तर्फबाट सञ्चालक इ. बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
    ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ अनुपाल १ को स्वाप रेसियोमा मर्ज हुने जनाइएको छ । भने, मर्जरपछि संस्थाको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड हुने र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह मर्जरपछि पनि बैंकको प्रमुख कार्यकारी अधिकृत रहने समेत जनाइएको छ ।
    त्यसैगरी गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ । भने सम्झौतापत्र दुवै बैंकको साधारण सभामा पारित गरेपछि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृति प्राप्त गरेपछि दुवै बैंकले एकीकृत कारोबार सुरु गर्नेछन् ।

  • बजेट अभावमा पूरा हुन सकेन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र

    बजेट अभावमा पूरा हुन सकेन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र

    चितवन। चितवन उद्योग सङ्घले निर्माण गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बजेट अभावका कारण पूरा हुनसकेको छैन । विसं २०७३ असार ३१ गते जग्गा भाडामा लिई निर्माण सुरु गरिएको सो प्रदर्शनी केन्द्र बजेट अभावका कारण अहिलेसम्म पूरा हुन नसकेको हो । उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार दुई बिघा सात कठ्ठा क्षेत्रफलमा निर्माण गर्न लागिएको प्रदर्शनीस्थलमा अहिलेसम्म रु २७ करोड ७७ लाख ९१ हजार आठ सय ३९ खर्च भइसकेको छ । स्थल निर्माणका लागि रु ३७ करोड खर्च हुने अनुमान गरिएको उनले जानकारी दिए । उनले भने, “स्थल निर्माणका लागि हामीले विभिन्न मन्त्रालयमा ताकेता गरेको भए पनि बजेट नपाउँदा निर्माणको काम सम्पन्न हुनसकेको छैन ।”
    सङ्घीय सरकारको रु १५ करोड, चितवन उद्योग सङ्घका सदस्यहरूको रु छ करोड ३२ लाख ८८ हजार नौ सय ९२, नेपाल उद्योग परिसङ्घको रु तीन करोड र जिल्ला समन्वय समितिको रु एक लाख ९७ हजार तीन सय ४५ बजेटमा भवन निर्माण गरिएको हो । प्रदर्शनीस्थल निर्माणका लागि आवश्यक बजेट अपुग भएपछि पदाधिकारीहरूले व्यक्तिगत जवानी बसेर बैंकबाट ऋण निकालेर काम अघि बढाएका थिए । विगत एक वर्षअघि माछापुच्छ्रे बैंकबाट रु तीन करोड ऋण लिएर निर्माणको काम गरिएको उनले बताए । उनले भने “प्रदर्शनका लागि सङ्घका पदाधिकारी मिलेर व्यक्तिगत जिम्मेवारीमा ऋण लिएर काम गर्‍यौँ । तर अझै पूरा हुन सकेन ।”
    अहिले भौतिक संरचना तयार भए पनि आन्तरिक काम हुन नसकेको उनले जानकारी दिए । उनका अनुसार भित्री सजावट, अग्निनियन्त्रक उपकरण, बगैँचा, सचिवालय निर्माण, चमेनागृह निर्माणलगायतका काम अझै बाँकी रहेका छन् । अहिले पनि निर्माणका क्रममा रु ४३ लाखभन्दा बढी निर्माण व्यवसायीलाई ऋण तिर्न बाँकी रहेको उनले बताए । उनान्तीस वर्षलाई सरकारबाटै वार्षिक रु सात लाख भाडा तिर्ने गरी सङ्घले जग्गा लिएको हो । निर्माणकै चरणमा रहेको यस प्रदर्शनीस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय गरी १५ प्रदर्शनी भइसकेका छन् ।

  • नीति तथा कार्यक्रममाथिको छलफल जारी: राष्ट्रियसभामा प्रधानमन्त्रीले आज जवाफ दिदै

    नीति तथा कार्यक्रममाथिको छलफल जारी: राष्ट्रियसभामा प्रधानमन्त्रीले आज जवाफ दिदै

    काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ । प्रतिनिधिसभामा आइतबारदेखि सुरु भएको छलफल आज पनि जारी रहने छ । प्रतिनिधिसभामा २० सांसदले नीति तथा कार्यक्रममा संशोधनको प्रस्ताव दर्ता गराएका छन् । साथै राष्ट्रियसभामा पनि नीति तथा कार्यक्रममाथि छलफल जारी नै रहनेछ । आज दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रियसभा सदस्यले उठाएको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ जवाफ दिने कार्यसूची रहेको छ ।
    राष्ट्रियसभामामा तीन सांसदहरु तुलसा कुमारी दाहाल, विमला घिमिरे र डा विमला राई पौड्यालले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गराएका छन् । उनीहरुको प्रस्तावलाई राष्ट्रियसभामाका अध्यक्षले निणर्यार्थका लागि पेस गर्नेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

  • पाल्पामा चैतेधान खेती गर्न छाड्दै किसान

    पाल्पामा चैतेधान खेती गर्न छाड्दै किसान

    रामपुर (पाल्पा) । चैतेधान खेतीले हरियाली हुने अधिकांश खेत अहिले मकैले भरिन थालेका छन् । राम्रै धान फल्ने खेत भए पनि बाउबाजेको पालादेखि लगाउँदै आएको चैतेधान अहिले भने पाल्पाका किसानले क्रमिकरूपमा लगाउन छाड्दै गएका छन् । गाउँमा बसेर खेती गर्ने जनशक्ति नहुनु, वर्षेधान लगाउने र चैतेधान स्याहार्ने समय एकैपटक पर्ने, खानामा त्यति स्वाद नहुने, कतिपय ठाउँमा सिँचाइको समस्यालगायतका विभिन्न कारणले खेती कम गरिन थालेको पाइएको छ । वर्षमा २५-३० मुरी चैतेधान स्याहार्दै आए पनि १० वर्षयता लगाउन छाडेको रामपुर नगरपालिका-२ सिम्ले बस्ने सीता जिसी बताउछीन् । चैतेधानलाई भन्दा वर्षे धानलाई महत्व दिँदा हिजोआज धान लगाउने जग्गामा मकैखेती गरिँदै आएको उनको भनाइ छ ।
    खेती गर्न झन्झट, स्याहार्ने बेला वर्षेधान लगाउने चटारो हुने भएकाले किसानले यसको खेती कम गर्दै गएका हुन् । वर्षेधानले मात्र खान नपुग्ने हँुदा अनिकाल छोप्नका लागि दुःखसुखले अहिलेसम्म चैतेधानलाई निरन्तरता दिँदै आएको बताउछन् , रामपुर-४ स्थित तल्लो वडमान कृषक समूहका सदस्य राधा पोखरेल उनी भन्छिन् , “खस्रो, दरो चामल हुने भएकाले खादा त्यति स्वाद मीठो हुँदैन, खेती झन्झट, स्याहार्ने बेला पानी पर्ने समस्याले भोको नरहनका लागि केहीले मात्र चैतेधान लगाउने गरिएको छ, वर्षेधानले खान पुग्नेले अहिले लगाउन छाड्दै गएका छन् ।”
    रामपुर-४ स्थित तल्लो वडमान क्षेत्रमा करिब तीन सय पाँच रोपनी जग्गामध्ये करिब दुई सय रोपनी क्षेत्रफलमा चैतेधान खेती गरिएको वडमान कृषक समूहका अध्यक्ष ओमबहादुर रानाले बताए । “सिँचाइ सुविधा भएपछि धानखेतीलाई निरन्तरता दिइरहेको छ, पहिला तल्लो वडमान क्षेत्रका सबै खेत धानले भरिन्थे भने अहिले खेती गर्ने झन्झटका कारण केही जग्गामा मकैखेती लगाउन थालिएको छ”, उनले भने ।
    “पछिल्लो समय गाउँमा बसेर काम गर्ने जनशक्ति नै छैन, युवा जनशक्ति विदेश पलायनका कारण खेती नै गर्न छाडिएको छ”, उनले भने “ज्ञान केन्द्रले चैतेधानको प्रवर्द्धनका लागि सिँचाइका कार्यक्रम ल्याएको छ, सिँचाइका कार्यक्रम चलेका स्थानमा खेती गरेको पाइएको छ, अन्यत्र धेरै ठाउँमा मकैबाली लगाउन थालिएको छ ।” पाल्पा जिल्लामा करिब सात सय पाँच हेक्टर क्षेत्रफलमा चैतेधान लगाइन्छ । ज्ञान केन्द्रले परम्परागत कृषि प्रणालीलाई परिवर्तन गरी पकेट क्षेत्रमा नवीनतम् प्रविधि तथा यन्त्रहरूको उपयोगबाट खेती लगाउने तथा धान काट्ने आधुनिक औजार सहयोग गरेको छ । यो धान चिउराका लागि अति नै राम्रो मानिन्छ ।
    जिल्लाका माडी, अर्गेली, कचल, पूर्वखोला, हुँगी, ढुङ्गानाबेँसीलगायतका फाँट चैतेधानले हराभरा हुने फाँट हुन् । अहिले यहाँका अधिकांश फाँटमा फाट्टफुट्ट मात्र धानखेती हुने गरेको छ । सिँचाइ सुविधा पुगेर पनि कतिपय ठाउँमा खेती लगाउन छाडिएको छ भने केही ठाउँमा अझै पनि आकाशे पानीकै भरमा चैतेधान लगाउनुपर्ने समस्याले धान लगाउन छाडेर मकैखेती गरेको पाइएको छ । प्रमुख खाद्यान्न बाली धानमा आत्मनिर्भर बनाउन चैते धानलाई पनि प्रवर्द्धन गर्न सकेमा आयातित खाद्यान्नलाई केही हदसम्म भए पनि रोक्न सकिने छ ।

  • सगरमाथा आरोही शेर्पालाई आइएफआरसीका महासचिव चपागाईँद्वारा बधाई

    सगरमाथा आरोही शेर्पालाई आइएफआरसीका महासचिव चपागाईँद्वारा बधाई

    काठमाडौँ । सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका-१ टैकुब निवासी मिङमार शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । यही जेठ २ गते उनले सगरमाथाको आरोहण गरेका नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । आरोही शेर्पाले आरोहणका क्रममा सगरमाथाको चुचुरोमा रेडक्रसको झण्डा फहराएका थिए । सगरमाथा आरोहण गर्न जाने क्रममा शेर्पालाई नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु शाखाले रेडक्रसको झण्डा हस्तारण गरेको थियो । सोहीअनुरुप उनले आरोहणपश्चात् रेडक्रसको झण्डा फहराएका जनाइएको छ ।
    यसैबीच रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईँले सगरमाथा आरोही मिङमार शेर्पालाई विशेष बधाई एवं धन्यवाद दिएका छन् । गत वैशाख २८ गते दोस्रो कार्यकालमा लागि चयन ुभएका महासचिव चापागाईँले सामाजिक सञ्जालमा भनेका छन् , “म अरोही शेर्पाले सगरमाथा चुम्न गरेको अथक प्रयास, मेहनत र उच्च साहसको ह्ृदयदेखि नै सरहना गर्दछु । यसक्रममा आरोही शेर्पाले रेडक्रसको झण्डा सगरमाथामा फहराएकामा विशेष बधाई एवं धन्यवाद दिन चाहन्छु । यसले मानवीय सेवामा अहोरात्र तल्लीन रेडक्रसका स्वयंसेवकलाई अझ ऊर्जा, उत्प्रेरण र आत्मविश्वास बढ्ने छ ।” मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र विश्वव्यापकताजस्ता रेडक्रसका आधारभूत सिद्धान्तलाई थप बलियो बनाउने उनले प्रतिबद्धतासमेत जनाएका छन् ।
    आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डलका प्रमुख अजमत उल्लालले सगरमाथा आरोही शेर्पालाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन् , “रेडक्रसकर्मी स्वयंसेवकले प्रदर्शन गर्ने सेवारुपी भावना, समर्पण, दया, सहयोग र समुदायप्रतिको उत्तरदायित्वलाई अझ सुदृढ बनाउनुपर्छ ।”