Author: achyutbc@gmail.com

  • राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै

    राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै

    काठमाडौं । राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज काठमाडौंमा बस्ने भएको छ ।  जेष्ठ ९ र १० गते काठमाडौंमा बस्ने केन्द्रीय समितिको बैठकको तयारी सन्दर्भमा आज बैठक बस्न लागेको हो ।

    केन्द्रीय समितिमा पार्टी अध्यक्ष कमल थापाबाट प्रस्तुत हुने राजनीतिक कार्यपत्र , महामन्त्रीहरू भास्कर भद्रा,सुशील श्रेष्ठ ,राजाराम बर्तौला र केशवराज श्रेष्ठबाट प्रस्तुत हुने सचिवालय ,प्रशिक्षण ,संगठन र स्मार्ट पार्टी निर्माण सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीबाट प्रस्तुत हुने आर्थिक प्रतिवेदनमाथि आजको कार्य सम्पादन समितिमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

    कार्यसम्पादन समितिको बैठक पुतलीसडक स्थित बज्र कम्प्लेक्समा आज दिउँसो १:३० बजे बस्नेछ ।

  • विश्वकर्मा समाज शुक्लागण्डकी गठन हुने

    विश्वकर्मा समाज शुक्लागण्डकी गठन हुने

    दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकामा रहेका विश्वकर्मा समुदाय संगठित हुने भएका छन् । नगर क्षेत्र भित्र रहेका यो समुदाय आफुहरुको आर्थिक, सामाजिक, राजनितीक लगायतका क्षेत्रमा पहुँच स्थापना गर्न संगठित हुन लागेका हुन् ।

    नगर क्षेत्र भित्र रहेको विश्वकर्माहरुको प्रारम्भिक भेलाले भरत लामगातेको नेतृत्वमा १३ सदस्यीय तदर्थ समिती गठन गरेको छ भने निवर्तमान उपमेयर सविता सराईलीको नेतृत्वमा पाँच सदस्य विधान तथा मस्यौदा लेखन समित गठन गरिएको छ । समितीको सदस्यहरुमा दुर्गा बराईली, पोषबहादुर विश्वकर्मा, मिनबहादुर सुनार, ज्योति वि .क, मिनबहादुर सुर्वाणकार, खिम बहादुर बि.क, गणेश लामगादे, डिलबहादुर रामदाम, नरबहादुर बि.क, रविलाल विश्वकर्मा, मनोज सुनार र पुर्णबहादुर सुनार रहेका छन् ।

    यस्तै विधान तथा मस्यौदा लेखन समितिको सदस्यमा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर बि.क(राजु), प्रकाश बि.क, पहल सिंह बि.क र पत्रकार अशोक विश्वकर्मा रहेका छन् । तदर्थ समितिका संयोजक लामगादेले नगर स्तरीय कार्यक्रम, छलफल र निर्णय गर्न सहज हुने तथा सामुदायिक एकता भए मात्र विभिन्न कारण हेपिननपर्ने हुदाँ संगठन निर्माण गर्न लागेको जानकारी दिए । उक्त कार्यक्रममा पुर्व उपप्रमुख रसाईलीले सामुहिक आवाज बुलन्द पार्नु आजका आवश्यकता रहेकोमा जोड दिईन् ।

  • प्रचण्डको भारत भ्रमण जेठ १७ मा

    प्रचण्डको भारत भ्रमण जेठ १७ मा

    काठमाडौं । लामो प्रतीक्षापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण तय भएको छ । उनी आउँदो १५ गते हुने बजेट भाषण लगत्तै आफ्नो पहिलो विदेश यात्राका रूपमा भारत जाने भएका छन् । स्रोतका अनुसार जेठ १७ गते प्रचण्डलाई नयाँ दिल्लीमा स्वागत गर्ने विषयमा दुवै पक्षबीच लगभग सहमति भइसकेको छ । भ्रमणका क्रममा हुने वार्ता र सम्झौताका मस्यौदाहरू आदानप्रदान भइरहेको स्रोतले बतायो ।
    ‘दुवै पक्षबाट भ्रमणको तयारी तीव्र रूपमा भइरहेको छ,’ स्रोतले भन्यो । प्रचण्डले हिजो एक कार्यक्रममा बोल्दै आफू चाँडै भारत जाने बताएका थिए । यो भ्रमणमा केही रेकर्ड राख्ने तयारी भएको पनि उनले दाबी गरेका छन् । कस्तो रेकर्ड भन्ने चाहिँ खुलाएका छैनन् ।
    तेस्रो पटक प्रधानमन्त्री बनेदेखि प्रचण्डले भारत भ्रमणको व्यग्रता देखाउँदै आएका थिए । उनले पहिलो विदेश भ्रमण भारतबाटै सुरु गर्ने ध्येयका साथ अन्य देशका आमन्त्रणहरू अहिलेसम्म पन्छाउँदै आएका छन् । तर, भारतले औपचारिक रूपमा आमन्त्रण नगर्दा प्रचण्ड समस्यामा परेका थिए । प्रचण्ड सरकारको भविष्यलाई लिएर आश्वस्त हुन नसकेको भारतले उनलाई भ्रमणमा निम्त्याउन आलटाल गरिरहेको थियो ।

  • पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपालीको निधन

    पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपालीको निधन

    बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रवार सुतेकै अवस्थामा निधन भएको हो ।साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए।

    बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रवार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको अध्यक्ष अधिकारीले बताए ।साराङकोटी पोर्तीमाउस्थित एक होटलमा कार्यरत थिए । विगत आठ वर्षदेखि घर नगएका उनी रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल आएका थिए । उनको शव पोर्तीमाउस्थित अस्पतालको शवगृहमा राखिएको छ ।

    परिवारको आग्रहमा उनको शव नेपाल पठाउनका लागि आवश्यक तयारी भइरहेको अध्यक्ष अधिकारीले बताए ।उनले शव पठाउनका लागि आर्थिक सङ्कलन सुरु गरिएको बताउँदै सो कार्यमा सहयोग गर्न पोर्चुगलमा रहेका नेपाली समुदायसँग विशेष आग्रहसमेत गरे ।

     

     

  • सगरमाथाको चुचुरोमा पुगे दुवै खुट्टा नभएको हरि

    सगरमाथाको चुचुरोमा पुगे दुवै खुट्टा नभएको हरि

    काठमाडौँ । पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका हुन् । यससँगै पूर्वगोर्खा सैनिक बुढामगरले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।

    कृत्रिम खुट्टा(प्रोस्थेटिक)को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए ।

    बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए । बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने उनको सपना थियो । सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुसीका साथ जोडले चिच्चाउँदै भनेका थिए, “हामी सफल भयौँ ।” हरिको आरोहणका लागि एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरका रूपमा रहेका छन् । थापाले ब्रिटिसको स्पेशल एअर सर्भिस (एसएएस)को माउन्टेन ट्रुप लिडरका रूपमा २४ वर्ष सेवा गरेका थिए ।

  • भिमाद एफएमको अध्यक्ष बने मिलन

    भिमाद एफएमको अध्यक्ष बने मिलन

    भिमाद । भिमाद र आसपासको क्षेत्रमा सञ्चारको पहुँच पु¥याउन स्थापना गरिएको भिमाद एफएमको नयाँ कार्य समिति चयन गरिएको छ । शनिबार सम्पन्न भएको भिमाद एफएम प्रा.लिको दोस्रो अधिवेशन मार्फत युवा नेता तथा अधिवक्ता मिलन आलेको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।

    समितिको उपाध्यक्षमा ध्रुवराज सुवेदी, सचिवमा सुनिल श्रेष्ठ, सहसचिवमा शालिकराम सुनार, कोषाध्यक्षमा सुजन राना सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा गोपाल पराजुली, राजेश खनाल, अरविन श्रेष्ठ, गणेशप्रसाद गैरे , सरोज गौतम, बेलमाया आले , शारदा गैरे, शुकुमाया राना चयन भएका छन् ।

    उक्त अधिवेशनलाई सम्वोधन गर्दै एफएमका संस्थापक अध्यक्ष तथा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले सञ्चार माध्यम समाज रुपान्तरणको महत्वपूर्ण अंग रहेको दावि गरे । लोकतन्त्र स्थापनमा सञ्चार माध्यमको भूमिका पनि प्रमुख रहेको भन्दै समाजमा हुने जनचासोका विषयलाई सन्तुलित रुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।

    प्रालिका निवर्तमान अध्यक्ष चुडामणी खनालले एफएफलाई सामाजिक, राजनैतिक र सांस्कृतिक रुपान्तरणको सहयोगी बनाउने उदेश्य सहित ६ बर्ष अघि सञ्चालनमा ल्याइएको जानकारी दिए ।

  • भ्रष्टचारको विरोधमा जुर्मुराउदै नागरिक

    भ्रष्टचारको विरोधमा जुर्मुराउदै नागरिक

    दुलेगौंडा । देशमा भुटानी शरणार्थी प्रकरणले चर्चा पाई रहदाँ नागरिक स्तरमा भने चासो बढेको देखिन्छ । भ्रष्टचारको विरोध गर्न अहिले तनहुँमा नागरिक समाजदेखि राजनितिक दल र भातृ संस्थाहरु सक्रिय बनेका छन् । विभिन्न संघ संस्थाले जिल्लाका विभिन्न स्थानमा भ्रष्टचार विरुद्धको आन्दोलन तथा विरोध कार्यक्रमहरु सम्पन्न गरिसकेका छन् ।

    शनिबार शुक्लागण्डकी नागरिक समाजले अगुवाई गरि विरोध तथा खबरदारी कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष खेमराज खनालले भ्रष्टचारको अन्य फाईलहरु समेत खोलिनुपर्ने र मिलेमतो गरि लुकाईएको प्रकरणहरुलाई अनुसन्धान गर्नुपर्ने बताए । उनले केन्द्रदेखि स्थानीय तहसम्ममा बेतिथीको विरोध हुनुपर्नेमा जोड दिएका थिए ।

    कार्यक्रममा यहाँका विभिन्न राजनितीज्ञ, ब्यवसायी, पत्रकार, शिक्षक लगायत सहभागि भएका थिए । खबरदारी ¥यालीमा सहभागि भएकाहरु दुलेगौडाको विपीचोक देखि नगरपालिकाको मुलगेट अघिसम्म विभिन्न प्ले कार्ड र नारा सहित पुगेका थिए । उनीहरुले फजुल खर्च बन्द गर, नागरिक ऐक्यवद्धता अमर रहोस, भ्रष्टचारीको सर्वस्व हरण गरियोस, भ्रष्टचारी देशमा धमिरा हुन्, जनताको करमाथिको दोहन बन्द गर लगायतका नारा लगाएका थिए ।

  • लागुऔषध सहित कास्की रुपाका गुरुङ पक्राउ

    लागुऔषध सहित कास्की रुपाका गुरुङ पक्राउ

    दमौली । तनहुँ प्रहरीले कास्की जिल्लाको रुपा गाउँपालिका ६ का अन्तिम गुरुङलाई लागुऔषधसहित पक्राउ गरेको छ ।

    पोखरा तर्फ आउदै गरेको बस चेकजाँच गर्ने क्रममा गुरुङले लुकाएर ल्याउदै गरेको अवस्थामा फेरेनागम ४० एम्पुल, नुफिन ४० एम्पुल र डाईजेपाम ४० एम्पुल बरामद गरिएको हो ।

    काठमाण्डौँबाट ग २ ख ३९६१ को माईक्रो बसमाबाट पक्राउ परेका चिसापानीका गुरुङलाई सात दिनको म्याद थप गरि अनुसन्धान गरिहेको प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।

  • चार दिने क्षमता विकास तालिम सम्पन्न

    चार दिने क्षमता विकास तालिम सम्पन्न

    पोखरा । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा विन्दुवासिनी संस्कृत विद्यापीठको अनुसन्धान व्यवस्थापन एकाइद्वारा आयोजित चार दिने तालिम सम्पन्न भएको छ । जेठ २ गतेदेखि ५ गतेसम्म सञ्चालित तालिममा नेपाल संस्कृत विश्वविद्यलाय, त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयका प्राध्यापकहरूद्वारा विभिन्न विषय र शीर्षकमा १२ वटा कार्यपत्रहरू प्रस्तुत गरिएका थिए ।

    तालिमका क्रममा सहायक प्राध्यापक अम्बरराज ढकाल, उपप्राध्यापक विष्णुप्रसाद शर्मा, उपप्राध्यापक डा. भोलानारायण रेग्मी, उपप्राध्यापक डा.सविन्द्रराज भण्डारी, उपप्राध्यापक प्रकाश पौडेल, उपप्राध्यापक डा.पिताम्बर पौडेल, उपप्राध्यापक गणेश शर्मा सुवेदी, सहप्राध्यापक डा. चूडामणि कँडेल, उपप्राध्यापक डा.जगन्नाथ रेग्मी, सहप्राध्यापक डा. काशिनाथ कण्डेल, सहप्राध्यापक योेगराज पौडेल, सहप्राध्यापक आनन्दमणि रिजालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

    तालिमको समापन समारोहमा विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य डा. जगन्नाथ रेग्मीले तालिम उपलव्धिपूर्ण रहेको बताउँदै यसलाई विद्यापीठले आगामी दिनमा पनि निरन्तरता दिने बताए । सहप्राध्यापक राधाकृष्ण गैरेले प्राज्ञिक क्षमता विकासका लागि तालिमले उत्प्रेरणा दिएको बताउँदै प्राज्ञिक अनुसन्धानको प्रबद्र्धनमा सहयोगी बनेको बताए । कार्यक्रममा उपप्राध्यापक प्रकाश पौडेलले समग्र तालिम कार्यक्रमको समीक्षा गरेका थिए । उक्त अवसरमा कार्यपत्र प्रस्तोताहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

     

  • मुस्लिम जर्नलिस्ट क्लबद्धारा बाँकेका सात जनालाई अन्तर्राष्ट्रिय सम्मान 

    मुस्लिम जर्नलिस्ट क्लबद्धारा बाँकेका सात जनालाई अन्तर्राष्ट्रिय सम्मान 

    नेपालगञ्ज । मुस्लिम जर्नलिस्ट क्लब नेपालले बिहिबार नेपालगञ्जमा आयोजना गरेको एक बृहत्त कार्यक्रमका बिच बाँकेका सातजना वरिष्ठ व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरिएको छ । ‘मुस्लिम समुदायको सवाल विषयक अन्तरक्रिया र सम्मान कार्यक्रम’ मा सो सम्मान प्रदान गर्नुका साथै बाँकेमा विजयी भएका १३० जना मुस्लिम जनप्रतिनिधिहरुका साथै दलहरुमा जिम्मेवारी पाएका मुस्लिमहरुलाईलाई मायाको चिनो प्रदान गरेर सम्मानित गरिएको मुस्लिम जर्नलिस्ट क्लब नेपालका अध्यक्ष आलम खानले बताउनुभयो ।

    मुस्लिम जर्नलिस्ट क्लबको संयोजनमा एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसियसन क्यालिफोर्निया अमेरिकाद्वारा बरिष्ठ पत्रकार सिराज खान र डा। डक्ट प्रसाद धिताललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’, वरिष्ठ समाजसेवी तथा राजनितिज्ञ मोहम्मद हारुनलाई ‘अन्तर्राष्ट्रिय समाज सेवा सम्मान २०२३’, वरिष्ठ वालरोग विशेषज्ञ डा। सकिल अहमदलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा सम्मान २०२३’, नरैनापुर गापा अध्यक्ष ईश्तियाक अहमद शाह र पुर्व जनप्रतिनिधि शफिक बेहनालाई ‘अन्तर्राष्ट्रिय जन सेवा सम्मान २०२३’, र महेन्द्र मावि मटेहियाका प्रधानाध्यापक तुलसा शाहलाई ‘अन्तर्राष्ट्रिय शिक्षा सेवा सम्मान २०२३’ बाट सम्मानित गरिएको हो ।

    कार्यक्रममा पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले सम्मानित हुनेहरुलाई सम्मानपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सो अवसरमा उहाँले बाँकेमा निर्वाचित भएका मुस्लिम जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरेर सम्मान गर्नुभयो । सम्मानित हुने जनप्रतिनिधिहरुमा लुम्बिनी प्रदेशसभाका सदस्यहरु सायरा बाने, मिना सिद्दिकी, नेपालगञ्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राई, नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह लगायतका विजयी जनप्रतिनिधिहरु हुनुहन्थ्यो ।

    सो अवसरमा बोल्दै पुर्वमन्त्री राईले मुस्लिम समुदायको उत्थानका लागि समुदायमा एकतासंगै चेतना बृद्धि गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले राजनितिक विचारधारा अलग अलग भएपनि समुदायको उत्थान र भलाईका लागि सबैले एकजुट हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले मुस्लिमहरुको अधिकार स्थापित गराउनका लागि दलीय राजनिति भन्दा माथि उठेर मुस्लिम जर्नालिष्ट क्लब नेपालको नेतृत्वमा अगाडि बढन सबैलाई सुझाव दिनु भएको थियो ।

    कार्यक्रममा क्लबका अध्यक्ष आलम खानले मुस्लिमहरुलाई अधिकारबाट बन्चित गर्ने गरी वर्तमान राजनितिक दलहरु लागी परेकोले उक्त दलहरुसंग सचेत भएर अधिकारको लडाईमा लाग्न अपिल गर्नृु भये । उहाँले मुस्लिम पत्रकारहरुलाई समेत नेपाल पत्रकार महासंघ जस्तो साझा संस्थाले बेवास्ता गर्दै आएको कार्यको बिरोध गर्दैै मुस्लिमहरुको छुट्टै कोटा निर्धारण गर्न आग्रह गर्नु भएको थियो । अध्यक्ष खानले मुस्लिमहरुको मुद्दा आफूहरु गम्भीर रहेको र भविष्य नेतृत्वदायी भूमिका लिएर अगाडि बढने बताउनु भएको थियो ।

    कार्यक्रममा संविधानसभाका सदस्य अब्दुल हमिद सिद्दिकी, नेकपा एमालेका केन्द्रिय सदस्य मोहम्मद हारुन, लुम्बिनी प्रदेश सभाका सदस्य मिना सिद्दिकी, वरिष्ठ मुस्लिम अगुवाहरु अतहर हुसैन फारुकी, शकिल अहमद जरगर, शकिल अहमद कादरी, शकिल खान, रहमान मिया, नरैनापुर गापा अध्यक्ष ईश्तियाक अहमद शाह, देउराली फाउण्डेशनका अध्यक्ष भिम घिमिरे, कार्यकारी निर्देशक बुद्धि विश्वकर्मा, जियाउल हक, याकुब अन्सारी र मुस्लिम संघ बाँकेका अध्यक्ष सुफियान खान लगायतले समुदायका सवाल र त्यसको समाधान बारे आआफ्ना धारणा राख्नु भएको थियो ।

    मुस्लिम जर्नालिष्ट क्लबको आयोजना, एनआरएनए क्यालोफोर्निया, देउराली फाउण्डेशन र मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्रको सहकार्यमा भएको कार्यक्रमको संचालन असलम भाटले गर्नु भएको थियो ।