Author: achyutbc@gmail.com

  • एस निकट पेन्सरहरुको माग : भ्रष्टचारीलाई कारवाही गर

    एस निकट पेन्सरहरुको माग : भ्रष्टचारीलाई कारवाही गर

    दमौली । नेकपा एकिकृत समाजवादी निकट भूतपूर्व सैनिक तथा पुलिस संगठनले दमौलीमा सोमबार भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

    संघठनले अनसन चोकमा आयोजना गरेको विरोध कार्यक्रममा नेपाली जनतालाई शरणार्थी बनाई तस्करी गर्नु निन्दनीय कार्य भएको भन्दै चर्काे विरोध गरेको थियो । कार्यक्रममा पार्टीका केन्द्रिय पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ, जिल्ला अध्यक्ष श्रीराम कार्की लगायतका नेताहरुको समेत सहभागिता रहेको थियो ।

    उनीहरुले नेपालमा आर्थिक मन्दी सिर्जना हुनुमा अनावश्यक मन्त्रालय र संरचना भएको भन्दै खारेजीको समेत माग राखेका छन् । संगठनले केन्द्रमा बढि १५ वटा र प्रदेशमा बढीमा पाँच मन्त्रालय कायम गर्नुका साथै जिल्ला समन्वय समितिलाई हटाउनुपर्ने माग राखेको सदस्य रामबहादुर केसीले जानकारी दिए ।

  • खुशी साट्न युवा संघ वृद्धाश्रममा

    खुशी साट्न युवा संघ वृद्धाश्रममा

    दुलेगौंडा । नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघ नेपालले सोमबार विभिन्न कार्यक्रम सहित ३४ औँ स्थापना दिवस मनाएको छ ।

    युवा संघ भिमाद नगर कमिटीले पोखरा महानगरपालिका ३२ मा रहेको राधाकृष्ण बृद्धाश्रममा पुगेर खाद्यान्न सहयोग गरि स्थापना दिवस मनाएको थियो । भिमाद नगर कमिटीमा आवद्ध सदस्य तथा केन्द्रिय सदस्यहरु उज्वल खनाल, ईश्वर श्रेष्ठ लगायतको उपस्थितीमा बृद्धाश्रममा सहयोग गरिएको युवा नेता शिव आले मगरले जानकारी दिए ।

    झण्डै ३० हजार बराबरको खाद्यान्न ग्रहण गर्दै आश्रमको अध्यक्ष प्रेम लिगलले युवा संघको सकरात्मक कार्यको खुलेर प्रशंसा गरे ।

  • पोखरा आउदै गरेको बस दुर्घटना : २७ जना घाईते

    पोखरा आउदै गरेको बस दुर्घटना : २७ जना घाईते

    दुलेगौडा । काठमाण्डौबाट पोखरा आउदै गरेको यात्रुबहाक बस तनहुँको सिर्दीमा दुर्घटना हुदाँ २७ जना घाईते भएको छन् । पृथ्वीराज मार्ग अन्तर्गत व्यास ५ सिर्दीमा ग१ख ९६३५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा बसमा सवारी २७ यात्रु घाइते भएका हुन् ।
    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टको नेतृत्वमा २५ जनाको प्रहरी टोलीले घाइतेको उद्धार गरेको छ । घाइतेमध्ये नौ जनालाई थप उपचारका लागि पोखरा ‘रिफर’ गरिएको छ भने अन्य घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

    घाइते हुनेमा बस चालक पोखरा महानगरपालिका–३१ बस्ने २७ वर्षीय सुनिल विक, सहचालक पोखरा महानगरपालिका १५ बस्ने ३७ वर्षीय सुविन कुँवर, गैँडाकोट नगरपालिका बस्ने १९ वर्षीय सुशील श्रेष्ठ, सोही ठाउँ बस्ने शिवहरि श्रेष्ठ, पर्वत फलेवास नगरपालिका–१० बस्ने २१ वर्षीय विष्णुप्रसाद चापागाई, पैयु गाउँपालिका–१ बस्ने २७ वर्षीय टीकाराम न्यौपाने, पोखरा महानगरपालिका बिरौटा बस्ने २५ वर्षीय राजकुमारा माझी, सोही ठाउँका १७ वर्षीय विकास बर्तौला रहेको प्रहरीले जनाएको छ ।

    त्यसैगरी सोलुखुम्बुका ४७ वर्षीय कुलबहादुर राई, २५ वर्षीया नोवाङ शेर्पा, मुगु घर भई काठमाडाँ बस्ने २५ वर्षीय राजकुमार बूढा, पर्वतको फलेबास बस्ने ३२ वर्षीय टेकबहादुर थापा, बागलुङका २० वर्षीया अस्मिता छन्तेल, पोखरा महानगरपालिकाका ३० वर्षीया सोनी पुलामी, भारत विहारका १८ वर्षीय रोहित कुमार, एक वर्षीय आदित्य साहा, सुनिता देवी र ३६ वर्षीय राहुल साह घाइते भएका छन् ।
    त्यस्तै २० वर्षीय सौरभ श्रेष्ठ, बागलुङको ताराखोला बस्ने २५ वर्षीय उपेन्द्र घर्ती, पोखरा महानगरपालिका १९ बस्ने २५ वर्षीय अमृत थापा, सोही ठाउँ बस्ने २३ वर्षीया सविना तामाङ, ३९ वर्षीय चेतबहादुर रानाभाट, भारत पटनाका ३३ वर्षीय प्रभातकुमार सिंह, २९ वर्षीय अनामिका सिंह, खोटाङका ५० वर्षीया कोपिला राई घाइते भएका छन् ।

     

  • लागुपदार्थ कारोबार गर्ने तीन जना पक्राउ

    लागुपदार्थ कारोबार गर्ने तीन जना पक्राउ

    दुलेगौंडा । पृथ्वीराज मार्ग हुदै लागुपदार्थ ओसार पसार गर्ने कारोबारीहरु तनहुँ प्रहरीको निशानामा पर्ने गरेका छन् । देशका विभिन्न स्थानबाट यो मार्ग हुदै लागुपदार्थ भित्र्याउने गिरोहलाई जिल्ला प्रवेशद्दार आँबुखैरेनीमा धमाधम पक्राउ गर्ने गरिएको छ ।
    सोमबार विहान अस्थायी प्रहरी पोष्टमा खएिका प्रहरीले २४ किलो अवैध गाँजा सहित दुई महिला र ५९८ एम्पुल लागुपदार्थ सहित एक पुरुषलाई पक्राउ गरेको छ ।
    रौतहटका २० बर्षीय अरुण पटेलले लुकाई छिपाई ल्याउदै गरेको १९८ एम्पुल डाईजेपाम, १९८ एम्पुल फेनारागम र १९८ एम्पुल नोरफिन तथा चितवन ईच्छामनकामना ५ की ५० बर्षीय पुनम गुरुङ र आँबुखैरेनी ४ आमबेसी डाडाँकी ४२ बर्षीय माया गुरुङको लगेज ब्याग र जेव्रा झोलाबाट गाँजा बरामद भएको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

  • वृद्धको सम्पती लुट्ने दुई युवा पक्राउ

    वृद्धको सम्पती लुट्ने दुई युवा पक्राउ

    दुलेगौँडा । बसोबास नभएको बन्द घरको ताला फोडेर तामा र चरेसका भाडा वर्तन चोर्ने तथा बृद्धलाई धम्काएर नगद लुटपाट गर्ने दुई युवालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।

    तनहुँको म्याग्दे गाउँपालिका २ रुमादीका ७५ बर्षीय शिवकुमार श्रेष्ठको घरको ताला फोडेर भाँडा चार्ने ब्यास ५ का समिर थापा र म्याग्दे १ का दुर्गाबहादुर विकले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    उनीहरुले म्याग्दे १ का ६९ बर्षीय बृद्धलाई समेत कुटपिट गरेर नगद ४६ हजार ६० रुपैया लुटेका थिए । चोर युवाहरुको कुटपिटमा समेत परेका वृद्ध लक्ष्मण तामाङलाई उनीहले धारिलो हतियार देखाएर मार्ने धम्की दिएका थिए । प्रहरी निरिक्षक राजकुमार विकका अनुसार चोर दुर्गाबहादुरको साथबाट लुटिएको भाडा वर्तन समेत बरामद गरिएको छ ।

  • यात्रु लक्षित ‘सोल्टी भिलेज एण्ड रिभरभ्यु  रेष्टुरेण्ट’ सञ्चालनमा

    यात्रु लक्षित ‘सोल्टी भिलेज एण्ड रिभरभ्यु रेष्टुरेण्ट’ सञ्चालनमा

    मुग्लिन । तनहुँका पत्रकार चित्र सोल्टी गुरुङले यात्रुहरुलाई लक्षित गरेर ‘सोल्टी भिलेज एण्ड रिभरभ्यु रेष्टुरेष्ट’ सञ्चालनमा ल्याएका छन् । मुग्लिन– नारायणगढ सडक खण्ड हुदै यात्रा गर्नुहरुलाई लक्षित गरेर सञ्चालन मा आएको यो रेष्टुरेण्टले टिपीकल खानाका प्रकारहरुलाई प्राथमिकता दिनेछ ।  गत बिहिबारदेखि उक्त सडकको खण्डको इच्छाकामना गाउँपालिका वडा नं. ६ मा पर्ने पाँचकिलो भन्ने स्थानमा  सोल्टी भिलेज एण्ड रिभरभ्यु रेष्टुरेष्ट संचालनमा आएको छ ।

    भर्खरै संचालनमा आएको होटल सोल्टी भिलेजमा विशेष गरेर नेपाली टिपिकल खाना पाईने संचालक गुरुङले बताए । होटल संचालक गुरुङका अनुसार होटलमा नेपाली खाना सेट दालभात तरकारी अचारका साथै कोदो र मकैको ढिंडो खान पाईन्छ । साथमा गाउँघरको अग्र्यानिक सिस्नो पनि हप्तामा एक दिन खान पाईनेछ ।

    ‘यतिमात्र नभै हामी कहाँ गाउँघरमै पालेको लोकल कुखुराको मासु, त्रिशुलीको लोकल माछा, बफ सुकुटी, सेकुवा पाईन्छ’ –उनले भने ‘जनजाती समुदायमा प्रचलित शुद्ध कोदोको तिनपाने जुस, छ्याङ, पूर्वको चर्चित तुम्बा र सुकुटी समेत हामी उपलब्ध गराउछौ’ । साथै होटलमा बसेर त्रिशुली नदीको सुन्दर दृश्यहरु हेर्दै आनन्दले खाना खान सकिने बताए ।

    यस्तै होटलमा विस्तारै इच्छाकामना र आसपासमा उत्पादन हुने लोकल कृषि उत्पादनहरु मह, बोडी, मासको दाल, बेसार लगायत वस्तुहरु समेत कोसेलीको रुपमा खरिद गरि लैजाने व्यवस्था हुने बताए । सोल्टी भिलेजमा पुग्न मुग्लिन बजारबाट नारायणगढतर्फ जादाँ ५ किलो मिटर अगाडी पुग्नुपर्दछ भने नारायणगढबाट काठमाण्डौतर्फ जादा ३१ किलोमिटर अगाडी पुग्नुपर्नेछ । यस्तै चितवन जिल्लाकै चर्चित पर्यटकीयस्थल जलविरे लामो झरना अवलोकन गर्न जादा त्यहाँबाट करिब १ किलोमिटर अगाडी मुग्लिनतर्फ जादा सोल्टी भिलेजमा सजिलै पुग्न सकिन्छ ।

  • “आदिवासी भोक” लोकार्पण

    “आदिवासी भोक” लोकार्पण

    काठमाडौँ । कवि देवकी अभिलाषीको कविता सङ्ग्रह “आदिवासी भोक” लोकार्पण भएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईसहित कवि उषा शेरचन, समालोचक कुमारी लामा, पत्रकार राजकुमार बानियाँले लोकार्पण गरेका हुन् ।

    लोकार्पण गर्दै कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कविता शास्त्र र दर्शन नभएको तर विचार भएको विधा बताएका थिए । त्यही विचारको प्रतिनिधित्व गर्दै आदिवासी भोकको सिर्जना भएको बताउँदै कुलपति राईले भने “त्यसो त आदिवासी आमाको कोखबाट जन्मिएकीले पनि त्यो भोकलाई नजिकबाट बुझेकी हुनुपर्छ ।”

    प्रमुख अतिथिलाई राई जातिको फेटासमेत गुथाईदिएपछि भावकु हुँदै कुलपति भूपाल राईले भने “अन्य समयमा आफ्नो संस्कारबमोजिम आफ्नो समुदायले गुथाइदिने फेटाभन्दा आजको फेटा विशेष थप गरुँगो लागेर मनलाई बढी भावुक बनायो ।

    कवि एवम् निबन्धकार कुमारी लामाले कविता कृति र कवि देवकी अभिलाषीका बारेमा अत्यन्तै सुन्दर एवम् सटीक समालोचकिय मन्तव्य राखेकी थिइन् । समालोचक कुमारी लामाले आदिवासी इतरकी देवकीले आदिवासी भोक ल्याउनुलाई हिम्मतसँग दाँजेकी थिइन् । “एउटा कविले आफ्नै देश र परिवेश निर्माण गर्ने भएकोले हिम्मतसाथ देवकी त्यस बाटोमा हिडेकी छिन् ।” लामाले मन्तव्यको क्रममा बताइन ।

    कवि उमेश अकिञ्चनले कवि देवकी अभिलाषी कविमात्रै नभएर गीतकार र गायिका पनि रहेको र तामाङ सेलो ‘याम्बुको सहरमा’ देवकीले आफ्नै रचनामा रहेको शब्दलाई स्वरमा उतारेको खुलासा गरेका थिए । पत्रकार, समालोचक राजकुमार बानियाँले देवकी अभिलाषी कविताहरू समग्रमा अत्यन्तै राम्रो रहेको कुरा बताए । आफूलाई नेपाली भाषा पढाउने शिक्षकको अगाडि पुस्तक लोकार्पण भइरहेको सन्दर्भलाई जोड्दै कवि देवकी अत्यन्तै भावुक भएकी थिइन् ।

    एनआरएनए नन् रेसिडेन्ट नेपाली एसोसिएसन, क्यालिफोर्निया अमेरिकाद्वारा प्रकाशित कविता सङ्ग्रह आदिवासी भोकमा ४२ कविता छन् । उर्वरा फाउण्डेशनको आयोजनामा भएको कार्यक्रमको सभापतित्व उषा शेरचन र सञ्चालन बाबु त्रिपाठीले गरेका थिए । देवकी अभिलाषी बहिनी नेपाली राइटर एसोसिएसनकी सचिव, उर्वरा फाउण्डेशन नेपालको अध्यक्ष तथा उर्वरा पत्रिका प्रकाशक र प्रधान सम्पादक पनि हुन् ।

  • शोकमा सारथी बन्न भुजेल निवास पुगे भण्डारी

    शोकमा सारथी बन्न भुजेल निवास पुगे भण्डारी

    डुम्रे । दुर्घटना परी शोकमा डुबेका भुजेल समुदायको पीडामा सांसद भण्डारीले मलम लगाएका छन् । तनहुँ–२ बाट निर्वाचित भएको भएपनि सांसद भण्डारीले तनहुँ–१ मा पुगेर मलम लगाएपछि सबैले प्रशंसा गरेका छन् । सांसद भण्डारी उनिहरुको पिडमा मलम लगाउन उनी बिहीबार भुजेल गाउँमा पुगेका थिए ।

    गत वैशाख २० गते बिहान ९।३० बजेको समयमा बन्दिपुर ५ को याम्पा आँधिखोलामा विद्यालय जानका लागि स्कूल बसको प्रतिक्षामा रहेका बालबालिका र आफ्नै घर छेउमा बसी रहेका ८ जनालाई ट्रकले ठक्कर दिँदा वर्ष ६९ का सनबहादुर भुजेल, सुनमायाँ भभुजेलका श्रीमान् ४७ वर्षिय चेतबहादुर घर्ती र झलक भुजेलका छोरा वर्ष १२ का आयुष भुजेलको अस्पताल लैजाँदै गर्दा मृत्यू भएको थियो ।

    सोही घटनाका परिवारजनलाई सांसद भण्डारीले भेट्नु भएको हो । सांसद भण्डारीले घर पिडित परिवारलाई व्यक्तिगत रुपमा काजक्रिया खर्च वापत १०/१० हजारका दरले प्रदान गर्नुभएको छ । साथै घाईतेको उचित उपचार, क्षतिपूर्ति र ट्रक चालकलाई कानुनी रुपमा कडाभन्दा कडा सजाएँ दिलाउन पहल गर्ने र पिडित परिवारका बालबालिकाको पढाई र बसाईमा सहयोग गर्न सम्बन्धित सरोकारवालासँग भेटी माग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    सांसद भण्डारीसँगै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं गण्डकी प्रदेश समितिका सदस्य लक्ष्मी आचार्य, आँबुखैरेनी गाउँपालिकाका सभापति विजय गुरुङ, क्षेत्रीय सदस्य किसन थापा, बन्दिपुर गापाका कार्यपालिकाका सदस्य जीवन भुजेल, काँग्रेस क्षेत्रीय प्रतिनिधि तारामाया भुजेल, सुरज श्रेष्ठ मदन, तरुण दल आँबुखैरेनीका सभापति दिपेन्द्र अधिकारीले भेट गरेका थिए ।

    डुम्रेबाट मुग्लिन जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडक छेउमा रहेको सुनमाया र सनबहादुर भुजेलको घरमा ठोक्किँदा ३ जनाको मृत्यू भएको थियो भने पाँच जना घाईते भएका थिए । घाईते मध्ये तीन जना बालबालिकाको चितवन स्थित पुरानोे मेडिकल कलेजमा उपचार भैरहेको छ । उपचार भैरहेकाहरुमा झलक भुजेलकी ८ वर्षिय छोरी आयुषा , सुनमायाँकी छोरी वर्ष १० की जस्मी भुजेल र शिव भुजेलका छोरा वर्ष १२ का इश्वर रहेका छन् । घाईते सबैको स्वास्थ्यमा सुधार हुँदै परिवारजनले जानकारी दिएका थिए ।

  • गण्डकीकाे अर्थमन्त्रीमा यसरी मारे जीतप्रकाशले बाजी

    गण्डकीकाे अर्थमन्त्रीमा यसरी मारे जीतप्रकाशले बाजी

    पोखरा । गण्डकी प्रदेशमा कांग्रेसबाट मन्त्री बन्न धेरै आकांक्षी थिए । सत्ता साझेदार माओवादीसँग भागबण्डा टुंगिदा पनि मन्त्रिपरिषद् ढिला हुनुको कारणै कांग्रेसभित्रका आकांक्षीको लर्को थियो । कास्कीका बिन्दुकुमार थापादेखि लमजुङका डा। टकराज गुरुङसम्म मन्त्री बन्ने दौडमा अन्तिमसम्म थिए ।

    ७ सदस्यीय मन्त्रिपरिषद्‌‌मा मुख्यमन्त्री र एकजना मन्त्री कांग्रेसबाट सुरुमै भए । थप दुई मन्त्रालय पाउँदा धेरैले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी र बागलुङका दीपेन्द्रबहादुर थापा मन्त्री बन्ने निक्र्योल निकालेका थिए ।

    मन्त्री बन्ने चर्चामा कतै सुनिएको नाम थिएन सांसद जितप्रकाश आलेमगर । जितप्रकाशको नाम न, सञ्चार माध्यमले नै उल्लेख गरे न कांग्रेस सांसदले नै । जसै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार ४ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिए, त्यहाँ जितप्रकाश आले पनि समेटिए । त्यो पनि शक्तिशाली अर्थ मन्त्रालयको बागडोर उनको जिम्मामा पर्‍यो ।

    आले नियुक्त भएर सपथ लिन प्रदेश प्रमुख निवास पुग्दासम्म उनी मन्त्री बन्ने सुइँको अधिकतम सांसदले पाएनन् । तर, मुख्यमन्त्रीनिकट स्रोत भने उनी पहिलेदेखि नै मन्त्रीको लाइनमा भएको बताउँछ । ‘अरु मन्त्रीजस्तो उहाँ पनि मन्त्रीको दौडमै हुनुहुन्थ्यो, अन्तिममा उहाँले अलि बल लगाउनुभयो अनि उहाँले जित्नुभो र मन्त्री हुनुभो,’ उनले भने ।

    नेकपा एकीकृत समाजवादीका एकमात्र सांसद राजीव गुरुङ ९दीपक मनाङे० मन्त्री बन्ने चर्चा चल्दा आलेको नाम कसैले लिएनन् । कांग्रेसबाट दुई मन्त्री बन्दा भूगोलको हिसाबले नवलपुरका महेन्द्रध्वज जिसी र धौलागिरी क्षेत्रको बागलुङका दीपेन्द्रबहादुर थापाको नाम आउँथ्यो । बीचमा कांग्रेसले थप २ मन्त्रालय लिने करिब ‘कन्फर्म’ भइसकेको थियो ।

    सोही समयमा आलेमगर मन्त्रीको लाइनबाट बाहिरिएको जस्तो थियो । उनी गृहजिल्ला तनहुँ फर्किसकेका थिए । तर, कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको जोडबलपछि उनी पुनः मन्त्री बन्ने दौडमा फर्किए । त्यसो त राष्ट्रपति रामचन्द्र पौडेलका विश्वासपात्र पनि हुन् आले ।

    गठबन्धनकै कारण एकीकृत समाजवादीबाट मन्त्री बनाउनुपरे बरु गैरसांसदलाई ६ महिना मन्त्री बनाउनुपर्ने तर मनाङेलाई कुनै पनि हालतमा मन्त्री बनाउन नहुने मत कांग्रेसभित्र बलियो भयो । मुख्यमन्त्री पाण्डे पनि मनाङेलाई मन्त्री बनाउनै नपरे हुन्थ्यो भन्नेमै थिए । उनी सोही विषय लिएर काठमाडौं पनि पुगे ।

    र, केन्द्रीय नेतृत्वलाई ‘कन्भिन्स’ गराए, त्यसपछि गण्डकीमा कांग्रेसले थप ३ मन्त्रालय लिने अवस्था आयो, त्यसमा सबैलाई पन्छाउँदै जितप्रकाशले जित हात पारे । ‘जब मुख्यमन्त्री काठमाडौं जानुभो, कांग्रेसले थप ३ मन्त्रालय लिने सहमति भयो, त्यसपछि अस्ति बेलुका ९बिहीबार० मात्रै जितप्रकाश मन्त्री बन्ने निश्चित भएको हो,’ मुख्यमन्त्री स्रोतले भन्यो ।

    कांग्रेसका भागमा ५ मन्त्रालय पाउँदा भाग्य खुलेका जितप्रकाश मन्त्री मात्रै बनेनन्, शक्तिशाली अर्थ मन्त्रालयको तालाचाबी नै पाए । शंकर भण्डारीको जोडबल र संसदीय दलको नेता बन्न पाण्डेलाई समर्थन गरेका कारण जितप्रकाशलाई गण्डकीको अर्थ मन्त्रालयको बागडोर सम्हाल्ने स्वर्णिम अवसर जुट्यो । ‘जितप्रकाशको सोझोपना देखेर आफैको प्रभाव बढी जमाउन सकिन्छ अर्थमन्त्री नियुक्त गरेको हुन पनि सक्छ,’ स्रोतले भन्यो ।

    जितप्रकाश राष्ट्रपति रामचन्द्र पौडेल कित्ताका थिए । तर, नेपाली कांग्रेसको चौथौं महाधिवेशनमा रामचन्द्र बैकुन्ठ न्यौपानेलाई जिल्ला सभापतिमा उठाएपछि जितप्रकाश पार्टी सभापति शेरबहादुर देउवा कित्तामा गएर सभापति लडे र जिते । कित्ता परिवर्तन गरेर जित्नु उनको सरप्राइज थियो । पछि रामचन्द्र पौडेल कित्तामै फर्किएका थिए ।

    ‘आर्थिक अवस्थालाई सुढृढ गर्न मेरो ध्यान जानेछ’

    गण्डकीमा नवनियुक्त अर्थमन्त्री जितप्रकाश आलेमगरले प्रदेशको आर्थिक अवस्थालाई सुढृढ गर्न आफ्नो विशेष ध्यान दिने बताएका छन् । उनले अहिले आर्थिक अवस्था कमजोर रहेको भन्दै यसलाई उकास्न विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    ‘अब करिबकरिब सिलिङहरु तयार भइसकेको छ । त्यसैमा रहेर अहिलेको जुन आर्थिक अवस्था छ त्यसलाई ध्यानमा राखेर, आर्थिक अनुशासनमा बसेर, उत्पादनमूलक काममा विशेष जोड दिएर, चालु खर्चलाई कटौटी गर्ने, राजस्वका लागि दायरा फराकिलो पार्ने र गण्डकी प्रदेशको आर्थिक अवस्थालाई सुढृढ गर्ने काम मेरो विशेष ध्यान जानेछ,’ उनले भने ।

    पुँजीगत खर्च बढाउने र चुहावट न्यूनीकरण गर्ने खालका योजना लिएर अगाडी बढ्ने अर्थमन्त्री आलेमगरले उल्लेख गरे । उनले भने, ‘मितव्ययी कार्यक्रम गर्ने, पुँजीगत खर्चलाई सकेसम्म नघटाउने, चालु खर्च सकेसम्म कम गर्न, आउने चुहावटहरु सकेसम्म न्यूनीकरण गर्ने यही कुरा राखेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ ।’  – नेपाल प्रेस

  • नवनियुक्त अर्थमन्त्रीलाई सम्मानै सम्मान

    नवनियुक्त अर्थमन्त्रीलाई सम्मानै सम्मान

    दुलेगौँडा । गत शुक्रबार गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालय सम्हाल्ने गरि सपथ खाए लगत्तै गृह जिल्ला आएको मन्त्री जितप्रकाश आले अहिले सम्मान थाप्नमै व्यस्त छन् । मन्त्री बनेर अधिकाँशलाई सरप्राईज दिएका काँग्रेस सभापति आलेलाई जिल्लाका विभिन्न संस्था र ब्यक्तिले सम्मान गरेका छन् ।

    शुक्रबार सपथ खाएर कार्यभार सम्हालेसँगै दमौली पुगेका मन्त्री आलेलाई प्रेस यूनियन तनहुँ र अन्य सस्थाहरुले सम्मान गरेको थियो । शनिबार आफ्नै निवास भिमादमा उनका शुभेच्छुकहरुले भेटर सम्मान गरेका थिए भने आइतबार काँग्रेस ढोरफिर्दी र जनज्योति क्याप्पस भिमादको सम्मान लिएर उनी पोखरा पुगेका छन् ।

    उनी निकट स्रोतका अनुसार आलेले बजेटको तयारी गर्नुपर्ने भएकाले सम्मानका कार्यक्रम पछि सार्न अनुरोध गरेका छन् । निती तथा कार्यक्रम बनाएर मात्र फुर्सद हुने भएकाले सम्मान र जिल्लाबासीहरुसँगको भेटघाट कार्यक्रममा सहभागि हुने जनाइएको छ ।
    नवनियुक्तम मन्त्री आलेले आफ्नो कार्यकालमा प्रदेशको आर्थिक स्थितीमा सुधार ल्याउने बताउदै आएका छन् । उनले अहिले आर्थिक अवस्था कमजोर रहेको भन्दै यसलाई उकास्न विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    ‘अब करिबकरिब सिलिङहरु तयार भइसकेको छ । त्यसैमा रहेर अहिलेको जुन आर्थिक अवस्था छ त्यसलाई ध्यानमा राखेर, आर्थिक अनुशासनमा बसेर, उत्पादनमूलक काममा विशेष जोड दिएर, चालु खर्चलाई कटौटी गर्ने, राजस्वका लागि दायरा फराकिलो पार्ने र गण्डकी प्रदेशको आर्थिक अवस्थालाई सुढृढ गर्ने काम मेरो विशेष ध्यान जानेछ,’ उनले भने ।

    पुँजीगत खर्च बढाउने र चुहावट न्यूनीकरण गर्ने खालका योजना लिएर अगाडी बढ्ने अर्थमन्त्री आलेमगरले उल्लेख गरे । उनले भने, ‘मितव्ययी कार्यक्रम गर्ने, पुँजीगत खर्चलाई सकेसम्म नघटाउने, चालु खर्च सकेसम्म कम गर्न, आउने चुहावटहरु सकेसम्म न्यूनीकरण गर्ने यही कुरा राखेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ ।’