Author: achyutbc@gmail.com

  • घाईते हुने गरि विद्यार्थी पिट्ने शिक्षक निलम्बित

    घाईते हुने गरि विद्यार्थी पिट्ने शिक्षक निलम्बित

    दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका स्थित बेलचौताराको जनकल्याण माध्यामिक विद्यालयमा घाईते हुने गरि विद्यार्थी पिट्ने शिक्षक निलम्वनमा परेका छन् । टिच फर नेपाल संस्था मार्फत स्वयंसेवक शिक्षकको रुपमा कार्यरत भेषबहादुर ठाडा मगरले कक्षा ९ का चार जना विद्यार्थीलाई घाईते हुने पिटेका थिए ।

    होमवर्क नगरेको बहानामा १४ देखि ३८ पटकसम्म विद्यार्थीलाई पाईपले हिर्काएको खुल्न आएको छ । शिक्षकको पिटाईबाट दुई छात्राहरु अञ्जली थापा र ललिता आले बढि प्रभावित छन् । ललिताको दुवै हातमा चोट देखिएकाले प्लास्टर र ब्याडल गरिएको छ भने अञ्जलीको एक हात पलास्टर गरिएको छ ।

    नगरपालिकामा नमुना विद्यालयको परिचय बनाएको जनकल्याण माविले पिडक शिक्षकलाई निलम्वन गर्नुका साथै प्रहरी हिरासतमा समेत राखेको वडाध्यक्ष दिर्घबहादुर थापाले जानकारी दिए । घटना पश्चात जनप्रतिनिधि, विद्यालय र अभिभावकको संयुक्त बैठकले शिक्षकलाई माफी मगाउने निर्णय भएता पनि टिच फर नेपाल संस्थाले शिक्षक मगरलाई निलम्वन गरेको हो ।

    घटना गोप्य राखेर मिलापत्र गरेता पनि स्थानीय भद्रबहादुर खत्रीले सामाजिक सञ्जाल मार्फत चर्काे विरोध गरेपछि वास्तविकता बाहिरिएको थियो । स्रोतले दिएको जानकारी अनुसार पिडित शिक्षकलाई विद्यार्थीको खुट्टा समेत ढोग्न लगाएर माफी दिइएको थियो ।

  • अन्तर्राष्ट्रिय फिल्म छायांकनको गन्तव्यस्थल बन्दै नेपाल

    अन्तर्राष्ट्रिय फिल्म छायांकनको गन्तव्यस्थल बन्दै नेपाल

    काठमाडौं । चलचित्र विकास बोर्डको एक तथ्यांकअनुसार पछिल्लो ६ वर्षभित्र मुलुकमा २४३ विदेशी फिल्मको छायांकन भएको छ । डकुमेन्ट्री, वेब सिरिज र कथानकसहित फिल्म नेपालमा छायांकन गरिएको हो । चालु आर्थिक वर्षको चैतसम्म ४५ विदेशी फिल्म नेपालमा खिचिएका छन् ।

    सरकारले पटक–पटकको बजेटमा नेपाललाई अन्तर्राष्ट्रिय फिल्म छायांकन गन्तव्यस्थलको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । सरकारले सुटिङ हबको रुपमा विकास गर्ने बताएपनि सोहीअनुसार विदेशी फिल्मलाई आकर्षित गर्न प्रोत्साहन र सुविधाका कार्य हुन सकेका छैनन् । यद्यपि, छायांकन भइसकेका फिल्मको उक्त तथ्यांक आफैंमा खुसीको कुरा हो ।

    नेपालमा छायांकन गर्नेमा भारत, अमेरिका र बेलायतका फिल्म बढी छन् । त्यसबाहेक आइसल्याण्ड, फ्रान्स, पोल्याण्ड, जर्मनी, जापान, नेदरल्याण्ड्स, डेनमार्क, स्वीडेन, दक्षिण अफ्रिकी फिल्म समेत नेपालमा खिचिएका छन् । पछिल्लो वर्षमा नेपालमा छायांकन गरिएका ठूला फिल्महरुमा हलिउडको डक्टर स्ट्रेन्ज, एभरेस्ट थ्रीडी, बलिउडको उचाइ हुन् । लियान नीसन स्टारर चर्चित हलिउड फिल्म ‘आइसरोड’को दोस्रो श्रृंखला नेपालमा छायांकन गर्ने तयारी छ ।

    विदेशी फिल्मको नेपाल व्यवस्थापन हेर्ने लाइन-प्रोड्युसरहरुका अनुसार आगामी दिनमा नेपालमा छायांकन हुने फिल्मको संख्या अझै बढ्न सक्छ । त्यसमध्ये एक थ्री हिव्लर्स नेपालका सुरज आचार्यका अनुसार केही विदेशी फिल्महरु नेपालमा छायांकन गर्न आउने तयारीमा छन् । आर्थिक २०७८/७९ मा नेपालमा २६ विदेशी फिल्मको सुटिङ भएको थियो भने २०७६/७७ मा यो संख्या ५५ थियो ।

    यतिबेला नेटफ्लिक्स फिल्म ‘फिफ’को छायांकन नेपालमा भइरहेको छ । यो फिल्मका लागि भारतबाट १३७ जनाको टोली नेपालमा छ । यी फिल्मको छायांकनबाट नेपालीले रोजगारी पनि पाउने गरेका छन् । फिफ फिल्मबाट दैनिक २०० जना नेपालीले रोजगारी पाएको तथ्यांक छ भने अमिताभ बच्चन र अनुपम खेर स्टारर बलिउड फिल्म उचाइले नेपालमा १८ करोड खर्च गरेको अनुमान छ । पछिल्लो ६ वर्षमा ४२ अमेरिकी, ३५ बेलायती, ३० जापानी, २५ भारतीयका धेरै फिल्मको छायांकन भएका छन् । – अनलाईन खबरबाट

  • तनहुँका सांसद गण्डकी सरकारको अर्थमन्त्री

    तनहुँका सांसद गण्डकी सरकारको अर्थमन्त्री

    दुलेगौँडा । नेपाली काँग्रेस तनहुँका सभापति तथा गण्डकी प्रदेश सभा सदस्य जितप्रकाश आले मन्त्री नियुक्त भएका छन् । काँग्रेस तनहुँले दिएको जानकारी अनुसार शुक्रबार सांसद आलेले अर्थ मन्त्रालय सम्हाल्ने गरि जिम्मेवारी पाएका छन् । तनहुँ २ (ख)बाट सांसद चयन भएका उनी सादगी नेताको रुपमा जनता माझ परिचित छन् । काँग्रेस नेतृत्वका सरकारमा नेकपा माओवादीको समर्थन रहेको छ ।

    तनहुँ कांगेसका जिल्ला सभापतिसमेत रहेका आले राष्ट्रपति रामचन्द्र पौडेल निकट हुन् । रामचन्द्रकै जोडबलमा आले मन्त्री बन्ने पक्का भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ । मन्त्रिपरिषद बिस्तार गर्ने क्रममा आजै कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्र थापा र माओवादीका रेशम जुग्जाली मन्त्री नियुक्त गरेर पाण्डेले ४ बजे सपथ लिने व्यवस्था मिलाउन प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई पत्र पठाइसकेका छन् ।

  • गण्डकी प्रदेशमा मन्त्रि परिषद् विस्तार, मनाङ्गे पनि मन्त्री बन्दै

    पोखरा । गण्डकी प्रदेश मन्त्रिपरिषदको बिस्तार भएको छ । नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनाइएको छ ।

    मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापालाई मन्त्री नियुक्त गरेका छन् भने एकीकृत समाजवादीबाट राजीव गुरुङ ९दीपक मनाङे० र माओवादीबाट रेशमबहादुर जुग्जाली नियुक्त भएका छन् ।

    मन्त्रालयको नाम भने सपथसँगै सार्वजनिक गर्ने मुख्यमन्त्री पाण्डेले बताएका छन् । ४ बजे मन्त्रीको सपथ कार्यक्रम राखिएको छ । वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् ।

    १५ गते सपथसँगै कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । ग्रेसभित्रै धेरै मन्त्रीका आकांक्षी हुँदा मुख्यमन्त्री पाण्डेलाई सकस परेको थियो भने मनाङबाट स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरका मनाङेलाई मन्त्री बनाउने कि नबनाउने भन्ने द्विविधा पनि उनमा थियो ।

    मनाङेलाई मन्त्री बनाउन केन्द्रीय तहबाटै दबाब आएपछि अन्तत मनाङे गण्डकी सरकारको चौथो पटक मन्त्री हुन सफल भएका छन् । नवलपुरका महेन्द्रध्वज संविधान सभा सदस्य भइसकेका हुन् भने कांग्रेस संसदीय दल गण्डकीमा नेताको दाबेदार पनि थिए ।

    शेखर–गगन समूहका महेन्द्रध्वजले अन्तिममा स्याङ्जाका भोजराज अर्यालको प्रस्तावक बनेका थिए । उनी नेपाली कांग्रेस गण्डकीको सभापतिसमेत हुन चाहेका थिए । बागलुङका थापा जिल्ला पूर्व जिल्ला सभापतिसमेत हुन् भने २०७४ मा एमालेका इन्द्रलाल सापकोटासँग प्रदेश सभामा पराजित भएका थिए ।

    रेशम जुग्जाली खगराज अधिकारी सरकारमा पर्यटनमन्त्री थिए । यसअघि १२ मन्त्रालयसम्म रहेको गण्डकीमा खगराज अधिकारीले ७ मा झारेका थिए । पाण्डेले पनि मन्त्रालयको संख्या सोही कायम गर्ने घोषणा त्यही बेला नै गरेका थिए । मुख्यमन्त्री पाण्डेले यसअघि नेपाली कांग्रेसबाट सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला शि‌म्खडालाई मन्त्री नियुक्त गरिसकेका छन् ।

  • भिरबाट खसेर गुरुङको मृत्यु

    भिरबाट खसेर गुरुङको मृत्यु

    दमौली ।  तनहुँको व्यास नगरपालिका–९, गजौडेका बर्ष ५९ को सुरेश कुमार गुरुङको भिरबाट लडेर ज्यान गएको छ । गत बैशाख १७ गते विहान घाँस काट्न भनी हिडेका गुरुङ घर नफर्किएपछि परिवारले हराएको भनी जिल्ला प्रहरी कार्यालय तनहुँमा जानकारी गराएका थिए ।

    गण्डकी प्रदेश प्रहरी कार्यालयबाट कुकुर समेतको प्राबिधिक टोलीले खोजतलास गर्दा समेत गुरुङ फेला परेका थिएनन् । अन्ततः खोज्दै जाँदा गुरुङ गएको विहीबार बिहान ७ः३० बजे गजौडेस्थित सुदेखोला सात बिसे सामुदायिक वनमा १११ फिट तल भिरबाट लडेर मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक राजकुमार वि.कले जानकारी दिए । उनका अनुसार घट्नाबारे अनुसन्धान भइरहेको छ ।

  • विश्वकीर्तिमानी रकममा साउदी क्लब जाँदै मेस्सी !

    विश्वकीर्तिमानी रकममा साउदी क्लब जाँदै मेस्सी !

    काठमाडौं । अर्जेन्टिनी सुपरस्टार फुटबर लियोनल मेस्सी विश्वकीर्तिमानी रकममा साउदी अरबको टिममा आवद्ध हुन लागेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार साउदी क्लव ‘अल हिलाल’ सँग उनको मौखिक सहमति भइसकेको छ । हालै आफ्नो देशलाई विश्वविजेता बनाएका ३५ वर्षीय लिजेन्डले फ्रेन्च क्लव पेरिस सेन्ट-जर्मेन (पीएसजी) छोडेर साउदी क्लब रोज्न लागेका हुन् । उनलाई भित्र्याउन अल हिलालले ५२२ मिलियन पाउन्ड (करिब ६५ करोड ८८ लाख डलर) खर्चिन लागेको एएफपीले जनाएको छ । समाचार अनुसार मेस्सीले सम्झौतामा हस्ताक्षर भने गरिसकेका छैनन् ।

    मेस्सीले पाउन लागेको रकम अहिलेसम्म कुनै पनि खेलाडीका लागि सबैभन्दा ठूलो हो । यसअघि पोर्चुगलका सुपरस्टार रोनाल्डोलाई साउदी क्लव अल-नासरले वार्षिक २१ करोड ५० लाख डलरमा किनेको थियो । मेस्सीले पाउन लागेको रकम रोनाल्डोको भन्दा निकै बढी हो । अल नासर र अल हिलाल साउदीका प्रतिस्पर्धी क्लवका रुपमा चिनिन्छन् । मेस्सीको साउदी आगमनले फुटबल मैदानमा दुई हस्तिहरुको टकराव प्रतिस्पर्धा फेरि पुनर्जिवित हुने भएको छ । बढ्दो उमेरका बाबजुद दुवै खेलाडी उच्च फर्ममा छन् ।

    पीएसजीसँग मेस्सीको सम्झौता यही समरको ३० जुनसम्म छ । मेस्सीको सम्भावित ट्रान्सफरलाई लिएर पीएसजीले कुनै प्रतिक्रिया दिएको छैन ।समाचारहरुमा आए अनुसार मेस्सीकी पत्नी एन्टोनेला रोकुजो भने क्लव परिवर्तनको पक्षमा थिइनन् । मंगलबारमात्र उनले ‘आफ्नो परिवार साउदी जाने कुरा कल्पनै गर्न नसक्ने’ बताएकी थिइन् । श्रीमान् र ३ छोरासहित यूरोपमै बस्ने उनको चाहना थियो ।

    तर, करिअरको उत्तरार्द्धमा रहेका मेस्सीले अब रेकर्ड राख्न बाँकी खासै केही बाँकी नभएकाले पैसालाई प्राथमिकता दिएका छन् । एएफपीले स्रोतलाई उद्धृत गर्दै मेस्सीले साउदीमा अर्को सिजनबाट फुटबल खेल्ने उल्लेख गरेको छ ।

  • गाउँका नागरिकको स्वास्थ्यप्रति प्रवासीहरुको चासो

    गाउँका नागरिकको स्वास्थ्यप्रति प्रवासीहरुको चासो

    विन्दु वाग्ले । ग्रामिण बस्तीमा रहेको नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर तनहुँमा प्रवासी नेपालीहरुको एक संस्थाले स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । अध्ययन तथा रोजगारीको शिलशिलामा जापान पुगेका नेपालीहरुको संस्था फुकुओका नेपाल सोसाइटी (फुनेसो) को आयोजनामा भिमाद नगरपालिकाको किहुँमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।

    गाउँका बहुसंख्यक मानिसहरु स्वास्थ्य समस्या हुदाँ समेत सहजरुपमा अस्पतालको पहुँचमा नपुग्ने, समस्या लुकाएर राख्ने गर्दा ग्रामिण बस्तीका नागरिकको स्वास्थ्य जोखिममा परिरहेकाले गाउँमा शिविर सञ्चालन गर्न लागेको सोसाईटीका पुर्व अध्यक्ष एवं कार्यक्रम संयोजक पुरुषोत्तम सिग्देलले जानकारी दिनुभयो । ‘नियमित स्वास्थ्य जाँच गरौँ स्वस्थ्य बनौ’ भन्ने मुल नाराका साथ आगामी जेठ १३ गते भिमाद नगरपालिका– १ स्थित किहुँमा सञ्चालन हुने शिविरले नागरिकको समस्याहरुको केही मात्रामा भएपनि समाधान गर्ने संयोजक सिग्देलले विस्वास व्यक्त गर्नुभयो ।

    उहाँका अनुसार शिविरमा डा. कृष्ण राज अधिकारी, डा. नविन कुमार श्रेष्ठ, डा. मेघराज लामिछाने, डा. सन्तोष बराल, डा. राज गुरुङ , डा. रुपचन्द्र विश्वकर्मा, डा. राम खड्का लगायतका चिकित्सकहरुको सहभागीतामा स्वास्थ्य परीक्षण हुनेछ । शिविरमा पेट, मुटु, सुगर, थाइराइड, हाडजोर्नी, नसारोग,, स्त्री तथा प्रसुती रोग, सम्बन्धी सम्पुर्ण परिक्षण सँगै निशुल्क औषधि वितरण गरीने छ । साथै उक्त शिवीरमा उपचार सम्भव नभएका विरामीको त्यस समय पछिको उपचारको लागी पनि समन्वय गरीने कार्यक्रम संयोजक सिग्देलले जानकारी दिनुभयो ।

    फुकुओका नेपाल सोसाइटीको आयोजना, तनहुँ सामाज जापानको सहआयोजना, भिमाद नगरपालिका वडा नम्बर १ को सहकार्य र तनहुँ सेवा हस्पिटलको प्राविधिक सहयोगमा भिमाद नगरपालिका १ किहुँ स्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयको प्राङ्गणमा शिविर सञ्चालन हुनेछ । सन १९९५ सालमा स्थापना भएको यस सोसाइटीले नेपालमा यस प्रकारका कार्यक्रमहरु गर्दै आएको छ । यस सोसाइटीले यस अगाडी पर्वतमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

    नेपालका अन्य जिल्लामा पनि क्रमशः कार्यक्रम गर्दै जाने सोसाइटीका अध्यक्ष माधव सिग्देलले जानकारी दिनुभयो । अध्यक्ष सिग्देलका अनुसार २०७२ सालको भुकम्पको बेला पनि यस सोसाइटीले नेपालमा धेरै सहयोग गरेको थियो ।

  • ‘सिंचाईको अभावमा हजारौँ रोपनी जमिन बाँझियो’

    ‘सिंचाईको अभावमा हजारौँ रोपनी जमिन बाँझियो’

    सावित्रा कोईराला/दमौली । तनहुँवासीले सिंचाइको अभावले खेती योग्य जमिन बाँझै रहने समस्या र नदी तथा खोलाको तटबन्धनमा वर्षेनी हुदै आएको क्षति न्यूनिकरणमा ध्यान दिन सरोकार वाला निकाय समक्ष माग राखेका छन् ।

    मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय गण्डकी प्रदेशको आयोजना सफलता मिडिया प्रा.लिको सहजिकरणमा जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालयको सेवा प्रवाह र सञ्चालित योजनाका सम्बन्धमा भएको सार्वजनिक सुनुवाईमा कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन ।

    कार्यक्रममा सहभागीले जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालयबाट प्राप्त हुने सेवाहरु चुस्तदुरुस्त देखिएता पनि योजना छनौटमा अनुगमन गरेर आवश्यकता अनुसार प्राथमिकताका आधारमा छनौट हुनु पर्ने बताए । तनहुँमा यस्ता सार्वजनिक सुनुवाई कार्यक्रम कमै मात्र हुने गरेको गुनासो राख्दै कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरे ।

    कार्यक्रममा सहभागी व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका , भानु नगरपालिका , शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिकाका विभिन्न वडाका स्थानियको एउटै गुनासो सिचाइको अभावमा हजारौं रोपनी जग्गा बाझै रहेकोले किसानको जिविकोपार्जनमा असर परेको बताए । पुराना भएका सिँचाइ नहर पनि वाढी पहिरोले गरेको गुनासो पोखे ।

    व्यास नगरपालिकाका स्थानियले व्यासमा बन्ने भनिएको नारेश्वर ताल जलाशय योजना नेताहरुको आश्वासन मात्र हो वा कर्मचारीको ढिला सुस्ती भनेर प्रश्न गरे । यस्तै काममा निमार्ण व्यवसायीले ढिलासुस्ती गरेर उपभोक्ताले हैरानी खेप्नु परेकोमा ढिला सुस्ती गर्ने ठेकेदारलाई कार्वाही वा कामको नियमन गर्नु पर्ने सुझाव दिए ।

    कार्यक्रममा जवाफ दिदै जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालय तनहुँका प्रमुख रमेशराज शर्माले नदि तटिय क्षेत्रको समस्यालाई मध्यनजर गरेर मादि नदि नियन्त्रण कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको र करिब ९० प्रतिशत कार्य सकिएको बताए । नारेश्वर जलाशय लिफ्ट योजनाको १ करोड ९४ लाखमा सम्झौता भएर करिब २५ हेक्टर जमिन सिंचित हुने गरि बहुउदेश्यीय जलाशय निमार्ण हुनेमा विविध प्रविधिक कठिनाइ र भौगोलिक अध्ययनको रिपोट बुझ्न बाकी रहेको बताए । उनले विषय विज्ञताको अभावमा बाहिरबाट विज्ञ बोलाएर थप जाचँबुझ भइरहेकोले उपभोक्ताले र नगरपालिकाले केहि गर्ने हो भने पनि सयुक्त रुपमा गर्न पर्ने बताए । उक्त जलाशय निमार्ण स्थलमा जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालयको ड्याम निमार्ण र संरक्षणको रहेको खुलस्त पारे ।

    जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्लेले सार्वजनिक सुनुवाई कार्यक्रममा चहाना र योजनाको माग धेरै सुनेको बताउदै कार्यक्रममा योजना भएका ठाउँका सबै पालिकाको प्रतिनिधीत्व हुनु पर्नेमा जोड दिए । कार्यक्रममा जनताबाट माग भएका योजना प्रदेश सरकार सम्म पुर्याउन आग्रह गरे । उनले ठेकेदार र निर्माण व्यवसायीले काममा ढिला सुस्ती गरे नियमन सहित कार्वाही हुनु पर्ने बताए ।
    तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशी राम गै्रहेले टेन्डर आवाहनमा ढिलाइ र कामको गुणस्तरको विषय कर्मचारी संग जोडिएको बताउदै यस्मा ध्यान दिन आग्रह गरे ।

    कृषि,उर्जा तथा जलस्रोत मन्त्रालय गण्डकी प्रदेशका सिचाइ शाखाका इन्जिनियर जीबन अधिकारीले नदि तटिय क्षेत्रमा व्यक्तिका नाममा लालपुर्जा छ भन्दैमा नदिको बाहवलाईनै राक्ने गरि हिउदमा पर्खाल लगाउने गरेको पाएको र वर्षायाममा क्षति हुने गरेको बताए । उनले तनहँुमा १५० वटा योजना अगाडि वढि रहदा कर्मचारीको अभावमा ४÷५ जना मात्र कर्मचारीले काम गर्न पर्दा कार्यन्वयनमा ढिला हुन पुग्ने बताए । स साना सिचाइको योजना लगायत कृषि बजेट स्थानिय सरकारले आफै समाबेश गरेर काम गर्ने हो भने खेति योग्य जमिनमा उब्जाउ गर्न सकिने बताए ।

    जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालय तनहुँमा भएको उक्त कार्यक्रमको सहजिकरण प्रमुख सहजकर्ता दुर्गा अधिकारी, उदेश्य तथा स्वगत रेडियो सफलताका स्टेशन म्यानेजर मधु अधिकारी र सन्चालन सावित्री कोइरालाले गरेकी थिईन् ।

  • क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

    क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले एसीसी क्रिकेट विजेता खेलाडीहरूलाई जनही ६ लाख दिने निर्णय गरेको छ ।

    बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

    खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने थिए । मन्त्रिपरिषदले कार्यविधिमा भएको भन्दा १ लाख बढाएर पुरस्कार घोषणा गरेको हो ।

    साथै मन्त्रिपरिषद बैठकले त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गर्ने निर्णय पनि गरेको छ ।

  • ‘बैमानी’मा पुष्प र कविताको रोमान्स (भिडियो)

    ‘बैमानी’मा पुष्प र कविताको रोमान्स (भिडियो)

    गायक पेम्बा लामाको स्वरमा ‘बैमानी’ बोलको गीत सार्वजनिक भएको छ।

    बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो। उदय सागरको शब्द रहेको गीतमा दिपक विश्वकर्माले संगीत भरेका हुन्। केशवराज भट्टले निर्देशन गरेको गीतको भिडिओमा अभिनेता पुष्प खड्का र कविता नेपालीलाई देख्न सकिन्छ।

    कोरियामा बसिरहेका पेम्बाको यो पहिलो गीत हो। ‘यो मेरो पहिलो गीत हो म निरन्तर नेपाली गीत संगीतमा लागि पर्छु। एउटा गीत गरेर गायकको परिचय बनाएर म भाग्ने मान्छे हैन,’ उनले भने।

    बुद्ध थापाले छायांकन गरेको म्युजिक भिडिओलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्।

    भिडियो :

    https://www.youtube.com/watch?v=3TZHyPi7DH4&t=1s