Author: achyutbc@gmail.com

  • बुहारी बनेर तनहुँ आईन् चर्चित गायिका अस्मिता डल्लाकोटी

    बुहारी बनेर तनहुँ आईन् चर्चित गायिका अस्मिता डल्लाकोटी

    काठमाडौं । ‘मिल्छ भने विहेमा आइदिनु, जबरजस्ति दुई गाँस भोज खाइदिनु’, ‘मन परेको फुल खसेको तिम्लाई मैले नपाउनु रैछ र यति धेरै माया बसेको’ रियालिटी शो दोहोरी च्याम्पियनमा गाएको यो टुक्काबाट चर्चा कमाएकी गायिका अस्मिता डल्लाकोटी  विवाह वन्धनमा बाँधिएकी छन् ।

    तर, गीतको भावसँग उनको विवाहको कथा मिल्दैन । उनले माया गरेकै पुरुषलाई जीवनसाथीका रुपमा पाएकी छन् । अस्मिताले सात वर्षदेखिका प्रेमी दोहोरी गायक शक्तिकुमार गोदारसँग लगनगाँठो कसेकी हुन् ।  विवाहमा लोकदोहोरी क्षेत्रका थुप्रै कलाकारहरु उपस्थित छन् ।

    अस्मिता र गोदार चितवनको एउटा दोहोरी साँझमा सँगै काम गर्थे । त्यहीँबाट उनीहरुबीच प्रेम अंकुराएको थियो । अस्मिता एकाएक लाइभ दोहोरीमा हिट भएपछि काठमाडौंमै बसेर आफूलाई अगाडि बढाइन् । दोहोरी च्याम्पियनबाट हिट भएपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन । उनी अहिले मेला महोत्सवमा सर्वाधिक खोजिने दोहोरी गायिकामा पर्छिन् ।

    गोदार भने अहिले पनि चितवनकै दोहारी साँझमा काम गरिरहेका छन् । उनी फोकस नेपाल नामको युट्यूव च्यानल पनि चलाउँछन् । उनले विगतमा भाग्य न्यौपानेसँग केही समय सहकार्य गरेका थिए । अस्मिता र गोदारले चाँडै पञ्चेवाजा नामक गीत ल्याउने तयारी गरेका छन् । अस्मिता धादिङकी र गोदार तनहुँका हुन् ।

  • शाहरुख खानको ‘जवान’ भदौ ८ मा रिलिज हुने

    शाहरुख खानको ‘जवान’ भदौ ८ मा रिलिज हुने

    काठमाडौं । एट्ली निर्देशित शाहरुख खान अभिनित फिल्म ‘जवान’ घोषणा गरेदेखि नै चर्चामा छ । शाहरुखबाहेक नयनतारा र विजय सेतुपति समेत जोडिएपछि यो फिल्मलाई लिएर दर्शकमा चासो उत्तिकै बढेको छ ।

    रिलिज नजिकिंदै गर्दा ‘जवान’ अब पूर्वनिर्धारित जुन २९ को मितिमा प्रदर्शनमा नआउने भएको छ । बलिउड हंगामाका अनुसार फिल्म रिलिजमा ढिलाइ हुने भएको छ । अब यो फिल्म अगस्ट २५ अर्थात् भदौ ८ गते प्रदर्शनमा आउनेछ । भीएफएक्सका कारण फिल्ममा ढिलाइ भएको जनाइएको छ ।

    शाहरुख स्टारर ‘पठान’ विश्वव्यापी हिट भएपछि उनको आगामी फिल्म जवानलाई लिएर व्यापक पर्खाइ छ । पठानले नेपालमा १३ करोड रुपैयाँ ग्रस कमाइ गरेको विवरण चलचित्र विकास बोर्डले सार्वजनिक गरेको छ ।

  • अष्ट्रेलियाका ४० शहरमा प्रदर्शन हुँदै ‘प्रसाद २’

    अष्ट्रेलियाका ४० शहरमा प्रदर्शन हुँदै ‘प्रसाद २’

    नेपालमा सफल प्रदर्शन भैरहेको फिल्म ‘प्रसाद २’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ। यो फिल्म अष्ट्रेलियामा यही वैशाख २८ गतेबाट प्रदर्शन हुने भएको छ। नमस्ते इन्टरटेनमेन्ट र गोर्खे इन्टरटेनमेन्टले ‘प्रसाद २’को अष्ट्रेलिया प्रदर्शन गर्न लागेका हुन्।

    यी दुई कम्पनीले यसअघि फिल्म ‘प्रेमगीत ३’पनि अष्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन गरेका थिए। ‘प्रसाद २’ले अष्ट्रेलियाका स्थानीय हलहरुमा उच्च शो पाएको बताइएको छ। सुदर्शन थापाले निर्देशन गरेको यो फिल्म अष्ट्रेलियाका ४० भन्दा बढी हलमा रिलिज हुने जनाइएको छ। पहिलो साता शो संख्या १०० पुग्ने वितरकद्वय देव कार्की र रञ्जित वन्तले जानकारी दिए।

    अष्ट्रेलियाका ठूला मल्टिप्लेक्सहरु इभेन्ट सिनेमा, युनाइटेड सिनेमा, होयट्स सिनेमा लगायतमा ‘प्रसाद २’ प्रदर्शन हुने जनाइएको छ। फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, विशाल पहारी र महेश त्रिपाठी लगायतका कलाकारले अभिनय गरेका छन्।

  • गण्डकीमा लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क

    गण्डकीमा लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क

    पोखरा। गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा सत प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको छ ।

    नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण गरेसँगै शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिनुभयो । “लिफ्टिङ प्रविधिबाट सञ्चालित खानेपानी र सिँचाइ आयोजनामा खर्च हुने विद्युत्को महसुल पूर्णरुपमा निःशुल्क गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो ।

    यस्तै यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रविधिमैत्री र सवारी चालक अनुमति पत्र वितरण प्रक्रियालाई छिटोछरितो बनाउन प्रदेश सरकारले आवश्यक प्रबन्ध गर्ने भएको छ । उक्त सेवालाई सहज बनाउन गर्नुपर्ने सुधार सम्बन्धमा अध्ययन गरी सुझावसहित प्रतिवदेन पेस गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । उक्त समितिले १५ दिनभित्र प्रतिवदेन पेस गर्नेछ ।

  • तनहुँमा चितुवा आतंक, नियन्त्रणमा लिन १८ ठाउँमा खोर

    तनहुँमा चितुवा आतंक, नियन्त्रणमा लिन १८ ठाउँमा खोर

    दमौली । डिभिजन वन कार्यालय तनहुँले चितुवा आतङ्क बढ्न थालेपछि चितुवा नियन्त्रणको लागि बनाएको ९खोर० पासो प्रभावकारी बन्दै गएको छ।फलाम र परम्परागतरुपमा काठको खोर पासोको रुपमा राख्ने गरिएको हो। चितुवा आक्रमणबाट प्रभावित १८ स्थानमा पासो राखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए।

    चितुवाले जनमानसमा त्रास बढाएकोले यसको नियन्त्रण गरी सुरक्षित किसिमले वन्यजन्तु संरक्षण क्षेत्रमा पठाउन पासो थाप्ने काम गरिएको उनले बताए। एक पटक आक्रमण भएको ठाउँमा चितुवाले पुनः पटक–पटक आक्रमण गर्ने सम्भावना बढी हुने भएकाले यसलाई नियन्त्रणमा लिन सोही ठाउँ आसपासमा पासो राख्ने गरिएको उनले बताए।

    पानीको पोखरी बनाएपछि विगतको तुलनामा वन्यजन्तुबाट मानवीय क्षतिमा कमी आएको बताइएको छ। खोला खोल्सीका पानी बस्तीमा लैजाँदा प्यास मेटाउन वन्यजन्तु बस्तीमा पस्दा मानवीय क्षति हुने गरेकाले पोखरी निर्माणलाई प्राथमिकता दिइएको हो। चितुवाको आक्रमणमा परी ६ वर्षमा तनहुँमा १४ बालबालिकाको मृत्यु र १७ जना घाइते भए।

    जिल्लाको भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायतका पालिकामा चितुवाले सताएको थियो। चितुवाबाट भानु नगरपालिका धेरै प्रभावित बनेकोमा अहिले बन्दीपुर गाउँपालिकामा त्रास बढेको छ। जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी दश बालक र चार बालिकाको मृत्यु भएको वन कार्यालय तनहुँका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए।(रासस)

  • पूर्व गृहमन्त्री खाणको ध्यानाकर्षण

    पूर्व गृहमन्त्री खाणको ध्यानाकर्षण

    काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाणले विभिन्न सञ्चारमाध्यममा आफ्नाबारेमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताउनुभएको छ ।

    आज एक वक्तव्य जारी गर्दै उहाँले आधारहीन, तथ्यहीन संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भनी समाचार सम्प्रेषण नगरी दिन सबैमा आग्रह गर्नुभएको छ ।

    पूर्व गृहमन्त्री खाणले जाँदै नगएको स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरिदिन पनि अनुरोध गर्नुभएको छ ।

  • प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । मुलुकको पछिल्लो समसामयिक विषयमा उहाँहरूबीच छलफल भएको उहाँले बताउनुभयो ।

    नक्कली शरणार्थी प्रकरणमा पार्टीका उच्च नेता जोडिएपछि यसअघिको भेटमा एमाले अध्यक्ष ओलीले निर्दोष फस्न नहुने र दोषी उम्कन नहुने विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको बताउनुभएको थियो ।

  • न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान शीर्ष स्थानमा

    न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान शीर्ष स्थानमा

    काठमाडौं । पाहुना टोली न्युजिल्यान्डलाई चौथो एकदिवसीय अन्तराष्ट्रिय९ओडिआई० खेलमा घरेलु टोलीले सानदार रुपमा हराएको छ । कराँचीमा रहेको नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली १ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

    यो जितसँगै घरेलु टोली आईसीसीको ओडिआई वरीयतामा शीर्ष स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको अष्ट्रेलियालाई पछि पार्दै पाकिस्तान शीर्ष स्थानमा उक्लिएको छ ।

    नयाँ वरीयतामा अष्ट्रेलिया दोस्रो स्थानमा झरेको छ । भारत तेस्रो,इंग्ल्यान्ड चौथो तथा न्युजिल्यान्ड पाँचौ स्थानमा रहेका छन्। नेपाल भने १४ औं स्थानमा यथावत रहेको छ ।

  • पोखरा स्पोर्ट्स अवार्डको सबै तयारी पूरा

    पोखरा स्पोर्ट्स अवार्डको सबै तयारी पूरा

     पोखरा । शनिबार हुने पोखरा स्पोर्ट्स अवार्डको सबै तयारी पूरा भएको छ । शनिबार दिउँसो दुई बजेपछि पोखरा सभागृह हलमा कार्यक्रममा वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड सहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब विधामा अवार्ड प्रदान गरिनेछ ।

    यी मध्येमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर चारवटा विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक भैसकेको छ । जस अनुसार वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् ।

    वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजीना थापा मगर, फुटवलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन् ।वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन् । उदीयमान खेलाडीतर्फ भलिवलका रवि केसी, फुटवलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी रहेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङ, लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार छन् ।

    वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन् । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा भैसकेको छ । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ ।

    वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबलसंघलाई प्रदान गरिनेछ । वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन् । यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गर्ने मञ्च गण्डकीका महासचिव पौडेलले बताए ।

    सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई प्रदान गरिने छ । यसअगाडि सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक र दीपक परियारले यो विधाको अवार्ड हात पारेका थिए ।

    अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङजाका मेक्सम गौडेलको स्ट्यान्ड अप कमेडी प्रस्तुति रहनेछ । यसैगरी भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुती, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसन लगायत अवार्ड कार्यक्रमका थप आर्कषण हुन् ।

    लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार सुपर मादी हाइड्रोपावर, उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाइगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व।सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको छ । अवार्ड कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारको विषेश सहयोग रहेको छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चलाई अन्य विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको मञ्चले जनाएको छ ।

  • माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्छौं : मिटरब्याज पीडित

    माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्छौं : मिटरब्याज पीडित

    काठमाडौं । तराईका विभिन्न जिल्लाबाट आइ आन्दोलनमा उत्रिएका मिटरब्याजीपीडितहरुले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् ।

    काठमाडौंको शान्तिबाटिकामा उनीहरुले धर्ना जारी राखेका हुन् । तराईका नवलपरासी, महोत्तरी, सर्लाही लगायत विभिन्न जिल्लाबाट दोस्रो चरणमा समूहमा आएका उनीहरुले धर्नालाई निरन्तरता दिएका छन् ।

    उनीहरुले आफ्ना माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै एक मिटरब्याजीपीडितले राजनीतिक रुपमा दृष्टिबन्धक, तमसुक, छिनुवा र चेक बाउन्स अवैध घोषणा हुनुपर्ने बताउनुभयो ।

    उहाँले यी सबैकुराको क्षतिपूर्ति व्यहोर्नुपर्ने बताउनुभयो । अहिले सबैभन्दा ठूलो समस्या मुद्दा परिरहेकाले मुद्दा स्थगित हुनुपर्ने र मुद्दा छिनोफानो भइसकेको भए पुनरावेदन हुनुपर्ने, पक्राउ पूर्जि रोक्नुपर्ने माग आफूहरुको रहेको बताउनुभयो ।

    उनीहरुले जेलमा भएका पीडितहरुलाई ससम्मान रिहा गर्नुपर्ने बताउनुभयो ।