Author: achyutbc@gmail.com

  • गर्मीबढे सगैँ बिरामी बालबालिकाको सख्या बढ्यो

    गर्मीबढे सगैँ बिरामी बालबालिकाको सख्या बढ्यो

    जानकी । नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् । उनले अस्पतालको ‘ओपिडी’मा दैनिक ५० भन्दा माथिको सङ्ख्यामा बिरामी बालबालिका उपचारका लागि आउने गरेको बताए । ती मध्ये चारदेखि पाँच बिरामी बालबालिका भर्ना हुने गरेका छन् । विशेष गरेर बालबालिकामा ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने समस्या देखिएको बालरोग विशेषज्ञ डा प्रतिमाको भनाइ छ ।

    उहाँले यस मौसमी रुघाखोकी र भाइरल फ्लुबाट जोगिन बालबालिकालाई अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने, खाना खानुभन्दा अघि राम्री साबुनपानीले हात धोएर मात्र खाना खान सुझाव दिए । मौसमी फ्लुबाट प्रभावित भएका बालबालिकालाई निको हुन सामान्यता चारदेखि पाँच दिन लाग्ने उनकोे भनाइ छ । अत्यधिक गर्मीका कारण बढेको मौसमी फ्लुबाट जोगिन घरकै खाना खाने, पानी धेरै पिउने, सफा खाने कुरा मात्र खाने, घाममा नबस्ने र धेरै हिँडडुुल नगर्ने सुझाब दिए ।

    त्यस्तै केयर सिटी अस्पताल नेपालगञ्जका बाल रोग विशेषज्ञ डा विष्णुकुमार थापाका अनुसार उपचारका लागि प्रत्येक दिन सातदेखि आठ जना मौसमी रुघाखोकी र भाइरल फ्लु भएका बालबालिका आउने गरेका छन् । उनले मौसमी रुघाखोकी र भाइरल फ्लुबाट जोगिन बालबालिकालाई माक्सको प्रयोग अनिवार्य गर्नुपर्ने, खाना खानुभन्दा राम्री साबुनपानीले हात धुने, सुईको प्रयोग गर्ने बताए । बालबालिकालाई बिरामीबाट जोगाउन विद्यालय बन्दले पनि सहयोग पुग्ने उनको भनाइ छ ।

    नेपलागञ्ज कान्ति ओरोग्य अस्पतालका बाल रोग विशेषज्ञ डा रोमा बोराले दैनिक १५ देखि २० जना बिरामी बालबालिका उपचारका लागि आउने गरेको बताए । उनका अनुसार धेरैजसो बच्चामा ज्वरो, रुघाखोकीको समस्या देखिएको छ । खासगरी तीनदेखि आठ वर्षसम्मका बालबालिका बिरामी भएको उनको भनाइ छ । सङ्क्रमणबाट बच्नका लागि बालबालिकालाई सकेसम्म माक्स लगाइदिने, हाँच्छु गर्दा कुहिनाले छापेर गर्न लगाउने, झोलिलो कुरा खुवाउने, घरभित्रै बच्चालाई राख्ने बालरोग विशेषज्ञ डा बेराले सुझाव दिए ।

    अत्यधिक गर्मी बढेपछि बाँकेका अधिकांश विद्यालय बन्द छन् । अत्यधिक मात्रामा गर्मी बढ्दै गएपछि नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाका विद्यालय यही जेठ २१ गते आइतबारदेखि २३ गते मङ्गलबारसम्मका लागि बन्द गरिएको ती पालिकाले जनाएका छन् । आफ्नो क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिएको नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले बताए ।

    उनका अनुसार सामुदायिक, मदरसा र संस्थागत विद्यालयलाई आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुने गरी उक्त तीन दिन विद्यालय बन्द गरिनेछ । “नेपालगञ्जमा बढेको अत्यधिक गर्मीले पठनपाठनमा कठिनाइ भएको र विद्यार्थी बिरामी पर्न थालेको कुरालाई मध्यनजर गरी यस उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सम्पूणर् सामुदायिक (मदरसा समेत) तथा संस्थागत विद्यालयमा आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुने गरी बिदा गर्न भनेका छौँ”, उनले भने ।

    जिल्लाका अन्य स्थानीय तह पनि गर्मी बिदा गर्ने तयारीमा रहेका जनाइएको छ । मौसम विज्ञान विभाग नेपालगञ्ज बाँकेका अनुसार नेपालगञ्जको तापक्रम ४० डिग्रीसम्म पुग्ने गरेको छ ।

  • गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

    गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

    २४ जेठ, बनेपा। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका-९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो ।

    सख्त घाइते उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

  • गण्डकी प्रदेशमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम

    गण्डकी प्रदेशमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम

    गण्डकी । गण्डकी प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालित सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’ सञ्चालन गर्न सहयोग गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ । प्रदेशभित्रका शैक्षिक संस्थाबाट सञ्चालन हुने प्राविधिक शिक्षाको विषय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट कार्यान्वयन भएका विषय र निजी शैक्षिक संस्थाबाट सञ्चालन गरिने विषयमा एकद्वार प्रणालीमार्फत प्राविधिक शिक्षालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न छाता ऐन बनाइने भएको छ । अतिविपन्न, दलित, अपाङ्गता भएका व्यक्ति, जेहेन्दार, द्वन्द्वपीडित र सहिद परिवारका सन्तति लक्षित समूहका विद्यार्थीको उच्च शिक्षामा पहुँच विस्तार र तह पूरा गर्ने दर वृद्धि गर्नका लागि छात्रवृत्ति कार्यविधि तयार गरी कार्यान्वयन गर्ने योजना छ ।

    गुरुकुल, गुम्बा, मदरसा, आश्रमलगायतका धार्मिक प्रकृतिका विद्यालय र वैकल्पिक विद्यालयलाई मूल प्रवाहमा ल्याउन आवश्यक व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ । विद्यालयको पाठ्यक्रममा नैतिक शिक्षा, कला, भाषा, संस्कृति, संस्कार, वेशभूषा, जातजाति, इतिहास, प्राकृतिक, धार्मिक, पौराणिक, साहित्यिक, ऐतिहासिक, लैङ्गिक मूल प्रवाहीकरण र विपद् जोखिम व्यवस्थापनका विषयवस्तुलाई समावेश गर्न स्थानीय तहसँग समन्वय गर्ने सरकारको योजना छ । ‘सामुदायिक क्याम्पससँग प्रदेश सरकार’ कार्यक्रमअन्तर्गत प्रदेशमा रहेका सबै सामुदायिक क्याम्पसलाई क्षमता तथा कार्यसम्पादनका आधारमा अनुदान दिने व्यवस्था मिलाइने भएको छ । बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षासम्बन्धी अधिकार सुनिश्चितताका लागि सङ्घीय सरकार र स्थानीय तहसँगको साझेदारीमा सुविधा सम्पन्न आवासीय विद्यालय निर्माण एवं सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

  • तनहुँमा कृषकलाई मौरी पालनमा आकर्षित गर्दै घार वितरण

    तनहुँमा कृषकलाई मौरी पालनमा आकर्षित गर्दै घार वितरण

    तनहुँ । कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका कृषकलाई एक सय ५३ मौरीसहितको घार वितरण गरेको छ । आँबुखैरेनी, म्याग्दे, बन्दीपुर गाउँपालिकामा ४६ वटाका दरले र ऋषिङमा १५ वटा गरी कृषकलाई मौरीसहितको घार वितरण गरेको हो । आँबुखैरेनी-४ खस्राङ गाउँका कृषक समूहमा आबद्ध २६ कृषकलाई ९० प्रतिशत अनुदानमा ४६ वटा मौरीसहितको घार प्रदान गरेको हो । कृषकलाई मौरीसहित घार, स्ट्याण्ड, पन्जा, धुवादानी, टोपी, महदानीलगायतका आवश्यक पर्ने सामग्री प्रदान गरेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए ।

    त्यसैगरी म्याग्दे गाउँपालिका-४ स्थित छिम्लीस्वाँरा कृषक समूहमा आबद्ध भएका कृषकलाई ४६ वटा मौरीसहितको घार वितरण गरिसकेको सो कार्यालयले जनाएको छ । ग्रामीण पोषण सुरक्षा कार्यक्रमअन्तर्गत उक्त क्षेत्रका कृषकलाई ९० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरिएको उनले बताए । त्यसैगरी बन्दीपुर गाउँपालिका-२ हलथुम्काका विपन्न, गरिब र न्यून आए भएका ४६ परिवारलाई मौरीसहितको घार वितरण गरेको छ । विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रमअन्तर्गत ऋषिङ गाउँपालिका-४ भीरकोटमा १५ वटा मौरीसहितको घार वितरण गरेको केन्द्रले जनाएको छ ।

    कृषकलाई मौरीपालनतर्फ आकर्षित गर्दै उनीहरुलाई आयआर्जनमुखी बनाउने उद्देश्यले सरकारले कृषकलाई अनुदानमा मौरीसहितको घार वितरण कार्य गर्दै आएको आएको उनले बताए । मह उत्पादन गरी कृषकको आयआर्जनमा सहयोग पुर्‍याउन मौरीसहितको घार वितरण कार्यलाई प्राथमिकता दिएको केन्द्रले जनाएको छ ।

  • भेटिएनन् अझैपनि सुनकोशीमा बेपत्ता ३ कर्मचारीहरु

    भेटिएनन् अझैपनि सुनकोशीमा बेपत्ता ३ कर्मचारीहरु

    सिन्धुली- सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अधिकारीहरुको अझै खोजी भइरहेको छ । घटना भएको पाँचौँ दिन बित्नै लागिसक्दासमेत अझैसम्म ती अधिकारीहरूलाई भेटृाउन सकिएको छैन । सिटिइभिटी का दुई निर्देशक र अधिकृत चढेको बा१झ ७४६७ नंको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका-७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।

    भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु-९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति-७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार थिए । उनीहरु सबै बेपत्ता छन् । चालक कृष्ण चौधरी घाइते अवस्थामा आफँै पौडिएर निस्किएका थिए । खोजी जारी भए पनि हालसम्म बेपत्ता व्यक्ति र गाडी भेटिएको छैन । सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थानसमेत चारवटा टोलीले शुक्रबारदेखि खोजी निरन्तर गरिरहेको छ ।

    एकातर्फ पानीको बहावलाई फर्काउने काम भइरहेको छ भने अर्कोतर्फ गोताखोरहरुले चुम्बक समेत प्रयोग गरी गहिराइमा पुगेर खोजी गरिरहेका छन् । बेपत्ताहरूको खोजी गर्ने काममा जुटेको टोलीले पाँचौँ दिन मङ्गलबार पनि प्रयास जारी राखेको छ । चर्को घामको प्रवाहसमेत नगरी गोताखोरहरू खोजीमा लागिपरिहेका छन् । दुवै तर्फबाट सुनकोशीलाई छेकेर अब एउटा भँगालो थुनेपछि पूरै पानी रामेछापबाट बहने र बेपत्ताहरूको खोजी गर्न सहज हुने खोजी गोताखोर केशव महतले जानकारी दिए । घटनास्थल वरपर नदीको पानी ठाडो बगेकाले करेन्ट बढी हुँदा गहिराइमा पुगेर खोज्न नसकिएको उनको भनाइ थियो । र्‍याफ्टिङ लिएर माथिमाथि, कुनाकन्दरामा खोजी गरे पनि गहिराइमा पुगेर टोलीले खोजी गर्न सकेको छैन ।

    “पानीको वेग बलियो छ । अलिकति तल जानासाथ हुत्याइदिन्छ । घुमाउनेमा फसिने डर भएकाले पानी ‘डाइभर्ट’ नभएसम्म खोजीकार्य प्रभावकारी हुन सकेको छैन”, गोताखोर महतले भने । सुनकोशी नदीको पानीमा अत्यधिक करेन्ट भएकाले नदीको तल्लो भागसम्म पुग्ने गरी ५० केजी वजन जीउमा बाँधेर खोजी सुरु भए पनि धमिलो पानी भएकाले भित्र नदेखिँदा समस्या भएको छ ।उनका अनुसार नदीको पानी कञ्चन भइदिएको भए यति ठूलो समस्या हुने थिएन ।

    घटना भएको दोस्रो दिनदेखि नै सुनकोशीको पानीलाई रामेछापतर्फको किनारबाट पठाएर घटनास्थलमा पानी कम गराउने प्रयास भइरहेको छ । चारवटा स्काभेटर, तीनवटा जेसिबी, डोजर, पाँचवटा टिपर र ट्र्याक्टर लगाएर पानीका बहाव अर्कोतर्फबाट फर्काउन प्रयास भइरहे पनि हालसम्म सफल भएको छैन । चारवटा एक्साभेटर, दुइटा डोजर र केही ड्रम ट्रक लगाएर सोमबार रातको ९ बजेसम्म पानीको बहाव फर्काउन लगातार मेशिनमार्फत काम गरिएको थियो । रातमा बत्ती बालेर लगातार गरेको मेहनत मङ्गलबार बिहान हेर्दा उस्तै भयो । अहिले सोही कार्य दोहोर्‍याइएको छ ।

  • गर्मीबढे सगैँ खानेपानीको अभाव

    गर्मीबढे सगैँ खानेपानीको अभाव

    पाल्पा । गर्मी मौसममा बढी मात्रामा खपत हुने पानी तानसेनमा हाहाकार भएको छ । खानेपानी उपभोक्ता समितिको कार्यकाल सकिएर अवैध हुँदा खानेपानीको समस्या झन बढ्दै गएको हो । तीन वर्षदेखि अवैध रुपमा सञ्चालित समितिको साधारणसभा तथा समिति चयन हुन सकेको छैन । समितिले चार वर्षदेखि साधारणसभा तथा अधिवेशन गर्न सकेको छैन । नयाँ समिति बनाउन लागेको चार वर्ष बितिसकेको भएपनि नयाँ समिति बनाउने काम अलपत्र परेको हो । समितिभित्रका पदाधिकारीबिच भएको विवादका कारण चार वर्षदेखि खानेपानी उपभोक्ता समिति बन्न नसकेको हो ।

    समितिको निर्वाचनको लागी हालै नेपाल वार एशोसिएसन पाल्पालाई जिम्मा दिइएको समितिका सचिव केशव पौडेलले बताए । समितिको निर्वाचनको लागी कार्यालय खोलिएपनि अन्य थप प्रगति हुन सकेको छैन । नयाँ समिति नबन्दा काम चलाऊ अवस्थामा रहेको पुरानै समितिभित्र रहेका पदाधिकारीबिच चरम विवाद छ । समितिमा बसेर तलब भत्ता पाउने नभएपनि समिति छाड्न नमान्ने पुराना पदाधिकारीहरूको रवैया रहेको उपभोक्ताको गुनासो छ । विवादित समितिका कारण तानसेनको खानेपानी समस्या समाधान हुन सकेको छैन । कालीगण्डकीको पानी तानसेनमा वितरण गर्ने भनेको दुई वर्ष बितिसकेको छ तर अहिले पनि उक्त योजना सफल हुन सकेको छैन ।

    लामो समयसम्म नयाँ समिति बन्न नसक्दा खानेपानीको काम लथालिङ्ग बनेको तानसेनका उपभोक्ताको भनाई छ । खानेपानी उपभोक्ता समिति चयनका लागि पटक-पटक साधारणसभा तथा भेलाको मिति तय भएपनि हुन सकेको छैन । उपभोक्ता समिति गठन गर्ने भनेको चार वर्ष बित्यो तर अहिलेसम्म पुरानै समिति छ । उपभोक्ता समिति बन्न नसक्दा काम चलाऊ समितिले खानेपानी व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको तानसेनका उपभोक्ताको भनाई छ ।

    समितिभित्रका पदाधिकारी तथा सदस्यका बीचमा विवाद चुलिएपछि समस्या भएको स्वयम् पदाधिकारीहरू बताउँछन् । तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष चकोरमान शाक्यको तीन वर्षअघि नै निधन भएपछि नयाँ समिति बन्न सकेको छैन । समिति बनाउन तानसेन नगरपालिकाले गरेको प्रयास समेत असफल भएको छ ।

  • धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या

    धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या

    नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-८ मजुवा मा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । ५० वर्षका तिलकराज भेडियार र उनको श्रीमती निर्मला भेडियार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए ।

    पशुपालन गर्दै आएका दम्पती को शव धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अवस्थामा गाउँ नजिकै फेला परेको हो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको छ । जिल्लामा यो हप्तामा मात्र ३ जनाको हत्या भएको प्रहरीले जनाएको छ।

  • घाँस काट्ने क्रममा बाढीले बगाएर एकको मृत्यु, एकजना घाइते

    घाँस काट्ने क्रममा बाढीले बगाएर एकको मृत्यु, एकजना घाइते

    म्याग्दीको रघुगंगा गाउँपालिका-६, पाखापानीस्थित नाङ्गे जङ्गलको खोल्सामा बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएकी छन् । नाङ्गे जङ्गलको खोल्सामा घाँस काट्ने क्रममा सोमबार दिउँसो अचानक बाढी आउँदा रघुगंगा-६, कालाबाङकी २४ वर्षीया हरिमाया शेरपुन्जालाई बाढीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

    हरिमायासँगै घाँस काट्न गएकी कालाबाङकी अर्की ३० वर्षीया दानदेवी पाईजा भने घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी कुमार गुरुङले जानकारी दिए । उनका अनुसार बाढीले बगाएर घाइते भएकी पाईजालाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी बेनी अस्पताल म्याग्दीमा उपचारका लागि पठाइएको छ ।

    घटनाको अनुसन्धान र अवस्थाको पहिचान गर्न प्रहरी निरीक्षक कुमार गुरुङको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । म्याग्दी जिल्लाको उत्तरी क्षेत्रअन्तर्गत पर्ने रघुगंगाको पाखापानी क्षेत्रमा आज दिउँसो भारी वर्षा भएको थियो ।

  • भिरबाट लडेर मृत्यु

    भिरबाट लडेर मृत्यु

    २३ जेठ, सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका-१ मा भिरबाट लडेर २४ वर्षीय गौरीलाल दानीको मृत्यु भएको छ । आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर अदानचुली-१ कल्खे गाउँका दानीको मृत्युु भएको श्रीनगर प्रहरीचौकीका सहायक प्रहरी निरीक्षक कृष्णबहादुर बुढाले बताए ।

    कल्खेबाट फर्केको व्यक्ति राति अबेरसम्म दोमुखको होटलमा नपुुगेपछि परिवारका अन्य सदस्यले दानीको सोधखोज गरेका थिए । सोमबार बिहानै खोजीमा जाने क्रममा दानी मृतावस्थामा दोमुख नजिक भेटिएको स्थानीय परबहादुर थापाले बताए । दानीले दोमुखमा होटल सञ्चालन गर्दै आएका थिए । दसरा पूणर्िमाको दिन कल्खे गाउँमा देउडा गीत प्रतियोगिता आयोजना गरिएको थियो ।

  • अनलाइनको माध्यमबाट यौन दुव्र्यवहार गरेको आरोपमा १ जना पक्राउ

    अनलाइनको माध्यमबाट यौन दुव्र्यवहार गरेको आरोपमा १ जना पक्राउ

    २२ जेठ, काठमाडौं । अनलाइन माध्यमबाट यौन दुव्र्यवहार गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको तिला गाउँपालिका ९ रासा घर भइ भक्तपुरको दुवाकोटमोडमा बस्ने २३ वर्षका दिनेशकुमार राउत रहेका प्रहरीले जनाएको छ ।

    राउतले टिकटकमार्फत साथी बनेर एक जना युवतीसँग फेसबुक म्यासेञ्जर, ह्वाट्स एप तथा इमोमा पनि साथी बनेको र अनलाइनबाट यौनदुव्र्यवहार गरेर त्यसको भिडियो रेकर्डसमेत गरेर ब्ल्याक मेलिङ गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो ।

    त्यै उजुरीको आधारमा गरिएको प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गरी थप अनुसन्धानका लागि राउतलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए । पक्राउ परेका राउतलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा छानबिन गर्न जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरिएको पनि उनले बताए ।