Category: समाचार

  • हिमाल जोगाउन नसके पर्यटन क्षेत्र संकटमा पर्ने चिन्ता

    पोखरा । वसन्त ऋतुको यो याममा सगरमाथा आरोहण गर्नेको लर्को छ । हिमाल भनेकै सर्वोच्च शिखर सगरमाथा भन्ने बुझाइ संसारकै मनस्थितिमा छ र आरोहण पारखीको रोजाइमा पनि सगरमाथा नै पर्छ । आरोहणको गर्विलो इतिहास बोकेर अन्नपूर्ण प्रथम हिमाल भने ७३ वर्षदेखि ठिंग उभिएको छ । सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण प्रथम आरोहण गरेर विश्व किर्तिमानी कायम गरेका थिए । उनको साथमा थिए, लुई लिचेनेल ।

    जबकि त्यसको ३ वर्षपछि मात्रै सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरो चुमेका थिए ।नेपालमा हिमाल आरोहणको ७३ वर्ष पुगेको छ । हर्जोगले अन्नपूर्णमा पाइला टेकेकै दिनलाई पछिल्ला वर्षहरुमा अन्नपूर्ण दिवसका रुपमा मनाइँदै आएको छ । यही अवसरमा अन्तराष्ट्रिय पर्वतीय संग्रहालय पोखराले गरेको कार्यक्रममा आरोही मौरिसलाई सम्झिँदै अन्नपूर्णको चिन्ता गरिएको छ ।

    जलावायु परिवर्तनको मारमा यतिबेला सबैभन्दा हिमाल परेको चिन्ता सरोकारवाला गर्छन् । चाँदी झंै टलक्क टल्कने हिमालका चुचुरामा सिजनमै पर्याप्त हिउँ नपर्दा कालापत्थरमा परिणत भइरहेका छन् । फोहोरको डुंगुर हिमालको चचुरोसम्म पुग्दैछ । कार्यक्रममा सहभागीले हिमाल जोगाउन नसके पर्यटन क्षेत्र संकटमा फस्नेमा एकमत राखे । पर्यटन व्यवसायी लक्की कार्कीले अन्नपूर्ण हिमाल गण्डकी प्रदेशको समृृद्धिको कोशेढुंगा भएको बताइन् । पछिल्लो समय हिमाल जोगाउन चुनौती सिर्जना भएको सुनाइन् ।

    जलवायु परिवर्तनको असर हिमालमा पर्दा पर्यटन व्यवसाय धरासायी बन्ने निश्चित रहेको उनको भनाइ छ । ‘मे कै महिनामा पनि हिजोआज झन्डै ३४ डिग्री तापक्रम भइसकेको छ । जुन, जुलाइ अगस्ट त जानु नै छ’, उनले भनिन्, ‘यसरी जलवायु परिवर्तन हुँदाखेरि हाम्रो हिमालहरु पग्लेर आउने, ब्लास्ट हुने हुँदा विनाश धेरै हुन्छ । हाम्रो व्यवसाय नै धरापमा पर्छ ।’

    नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले जलवायु परिवर्तन हिमाल कालापत्थरमा बन्नेमा सहमत छन् । कसरी असर कम सकिन्छ विषयमा गम्भिर बन्नुपर्नेमा उनको जोड छ । उनले भने, ‘हिजोका दिनमा हिमाल चढेमात्रै पुग्थ्यो । अहिले आरोहणसँगै हिमालमा फोहोर कसरी व्यवस्थापन गर्ने, आधार शिविर कसरी बचाउने र जलवायु परिवर्तन कसरी कम गर्ने भन्ने विषय पनि सँगसँगै आउँछ ।’ हिमाल जोगाउन व्यक्ति व्यक्तिले भुमिका खेल्नुुपर्ने उनको तर्क छ ।

    पर्वतीय पर्यटनलाई सरकारले नचिनेको शेर्पाको गुनासो गरे । ‘यदि सरकारले चिनेको खण्डमा हामी कसैसँग पनि भर पर्न पदैैन । हाम्रो प्रतिस्पर्धी पनि नभएको । हामीले गर्न सक्ने, हाम्रो पहिचान बन्ने र नेपालीलाई नै चिनाउन सक्ने पेशाको रुपमा स्थापित गर्न सक्छौं’, उनले सुनाए । पर्वतीय पर्यटनका क्षेत्रमा ४ पुस्ताको योगदान रहेकै कारण अहिलेको स्थितीमा आएको बताए ।

    अन्नपूर्ण आरोहणले गण्डकीको पर्यटनलाई विश्वमाझ चिनाएको तर प्राथमिकतामा नपरेकोमा गुनासो छ । पर्वतीय पर्यटनको विकास नभए समग्र पर्यटन क्षेत्र पछाडि पर्ने पर्यटनकर्मीले बताए । नेपाल पर्वतारोहण संघ गण्डकीका अध्यक्ष शेषकान्त शर्माले अन्नपूर्ण गण्डकी प्रदेशको सम्बृद्धिको आधार बन्नुपर्ने बताए । ‘जे जति पर्यटक भित्रिएका छन् अन्नपूर्ण आरोहणका कारण हो नै’, उनले भने, ‘सँगै पर्वतारोहण भएको खुम्बु क्षेत्र अगाडि बढ्यो । तर, अन्नपूर्ण बढ्न सकेन । कहीं न कहीं अन्नपूर्ण क्षेत्रलाई जनजीविकासँग जोड्न सकेनौं कि ? फेदमा बस्ने मानिसहरुलाई आयआर्जनसँग जोड्न सकेनौं कि ?’

    अन्नपूर्ण जेठो हिमाल भएपनि किलर माउन्टेनको परिचय बनाएकै कारण आरोही कम भएको उनको अनुमान छ । नेपाल पर्वतारोहण संघको तथ्याङक् अनुसार विश्वको १० औं सर्वोच्च शिखर अन्नपूर्णमा सन् २०२१ सम्म ३०९ आरोहीले आरोहण गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले गण्डकी प्रदेशको समृद्धिको आधार हिमश्रृंखला भएको बताए । ‘हामीसँग धेरै चुुचुराहरु छन् । ति चुचुरालाई संरक्षण गरेर बढीभन्दा बढी प्रबद्र्धन गरेर पर्यटक भित्र्याउन सकिन्छ’, उनले भने ।

    पोखरा पर्वतीय संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानले अन्नपूर्ण आरोहणकै कारण पोखरा र हिमाल आसपासको पर्यटन प्रबद्र्धन भएको बताइन् । पोखरा महानगरपालिका–१७ की वडाध्यक्ष राधिका शाही योगीले पर्यटनलाई आयआर्जनसँग जोड्नुपर्ने बताइन् । पोखराको पर्यटन हिमालमा निर्भर रहेकाले हिमाल बचाउन महानगर चिन्तित रहेको उनको भनाइ छ ।

    हिमाल जोगाउन र प्रवद्र्धनमा भूमिका खेल्ने गण्डकी प्रदेशकि सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशील सिम्खडाको प्रतिबद्धता छ । अन्नपूर्ण हिमाल गण्डकीको कला, संस्कृति र पर्यटन जोडिएको बताइन् । ‘अन्नपूर्ण हाम्रो गौरव हो, सम्पत्ति हो । यसलाई अझै प्रवद्र्धन गर्न अब सरकारले के गर्ने भन्ने विषयमा गण्डकी प्रदेश सरकारको चासो रहन्छ’, उनले भनिन् ।

    सन् २०२१ अप्रिलमा ६ जना नेपाली महिला आरोहीले अन्नपूर्ण हिमाल आरोहण गर्दै नयाँ किर्तिमानी बनाएका थिए । २०७८ बैशाखमा गोरखाकी पूर्णिमा श्रेष्ठले पनि अन्नपूर्ण चढिन् । गएको बैशाख २ गते कतारी राजकुमारी शेखा अस्मा अलथानीले अन्नपूर्ण प्रथमको आरोहण गरेकी थिइन् ।
    सन् १९७८ मा १ अमेरिकी र १ चेकोस्लोभाकियाकी महिलाले अन्नपूर्णको सफल आरोहण गरेका थिए । देवी र जेठो हिमालको उपमा पाएको अन्नपूर्ण प्रथमको चुचुरोमा पाइला राख्न लालयित आरोही वर्षेनी बढ्दैछन् । तर, राज्यले पनि यो हिमालको महत्वलाई विश्व बजारमा पु¥याउन सकिरहेको छैन ।

     

  • विभेद उन्मूलनका लागि रक्तदान गरिने

    विभेद उन्मूलनका लागि रक्तदान गरिने

    दुलेगौँडा । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा आईतबार तनहुँ शुक्लागण्डकी नगरपालिकामा बृहत रक्तदान कार्यक्रम हुने भएको छ ।

    ‘हाम्रो दलित समाज’ शुक्लागण्डकी नगरपालिकाको आयोजनामा विद्यमान रक्तअभावलाई पूर्ति गर्नुका साथै समाजमा हुने विभेदलाई अन्त्य गर्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको समाजका संयोजक भरत लामगादेले जानकारी दिए । कार्यक्रम मार्फत समाजका सवै वर्ग र समुदायको एकतालाई मजबुत बनाउन प्रयास गरिने लामगातेले बताए । विहान ७ बजेदेखि बन्केवा चोकमा आयोजना हुने कार्यक्रममा सहभाति हुनुका साथै रक्तदान गर्न समेत उनले अपिल गरेका छन् ।

    नेपाल रेडक्रस सोसाईटी कास्की र रक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोगमा हुने कार्यक्रम मार्फत एक सय पिन्ट बढी रगत संकलन गर्ने लक्ष्य समाजले लिएको छ । पृथक कार्यक्रमहरु मार्फत समाजमा देखिने कुरितीहरुलाई हटाउन सवैको पहल हुनुपर्ने भन्दै कार्यक्रमले सकरात्मक सन्देश दिनेमा विस्वस्त रहेको कार्यक्रम संयोजक प्रकाश विकले बताए ।

    जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सरकारले विभिन्न सचेतना मुलक कार्यक्रम गर्नुका साथै दलित समुदायले ¥याली र जुलुस लगायतका कार्यक्रम गरेपनि प्रभावकारिता नभएकाले रक्तदान कार्यक्रम आयोजना गरेको समाजले जनाएको छ ।

  • भक्तपुरमा गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु

    भक्तपुरमा गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु

    २० जेठ, भक्तपुर । गुडिरहेको गाडीबाट खसेर आज भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका-१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा.२१च. ५३०१ नंको गाडीमा सवार एक महिलाको खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

    करिब ४३ वर्षीया मृतक महिलाको पहिचान हुन नसकेको र पहिचानको प्रयास भइरहेको उनले बताए । गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाद्वारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    गाडी चालक काभ्रे भुम्लु गाउँपालिका-३ घर भई हाल ललितपुर इमाडोल बस्ने ३० वर्षीय सूर्यबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक सूर्यबहादुरलाई प्रहरी वृत्त जगातीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक केसीले बताए ।

  • गुल्मीमा गाँजा र मर्चा नष्ट

    गुल्मीमा गाँजा र मर्चा नष्ट

    २० जेठ, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले जिल्लाका विभिन्न स्थानबाट मर्चा र गाँजा बरामद गरी नष्ट गरेको छ ।

    प्रहरीले मुसिकोट नगरपालिका-५ इन्ऽेगौडा बजारस्थित सडक छेउमा बेवारिसे ६ वटा प्लाष्टिकको बोरामा १०३ के.जी. घरेलु जाँड बनाउन प्रयोग हुने वस्तु (मर्चा) फेला पोरेको थियो ।

    त्यस्तै रेसुङ्गा नगरपालिका-४ स्थित रैदीबाट बरामद गरिएको ४ के.जी.७८२ ग्राम गाँजा फेला पारेको थियो । उक्त मर्चा र गाँजालाई कार्यायल परिसरमा सरोकारवाला व्यक्तिहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक -एसपी) नवीन किशोर प्रधानले बताए ।

  • रुखबाट खसेर एकको मृत्यु

    रुखबाट खसेर एकको मृत्यु

    शनिबार, जेठ २०, २०८० १२ः५१
    काठमाडौं- रुखबाट खसेर बाजुरामा शनिबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका-९ ढम्कनेका ४२ वर्षीय देवबहादुर धामी रहेका छन्।

    रुखको स्याउला काट्ने क्रममा धामी रुखबाट खसेका थिए। उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    धामी गाउँ नजिकै कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका थिए।

  • काठमाण्डौमा पाकेटमारी गरी भाग्दै गरेको अवस्थामा तनहुँका एकसहित दुई जना पक्राउ

    काठमाण्डौमा पाकेटमारी गरी भाग्दै गरेको अवस्थामा तनहुँका एकसहित दुई जना पक्राउ

    काठमाडौं। पाकेटमारी भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाण्डौ जिल्ला -२६ गोगंबुस्थित सार्वजनिक यातायातबाट पाकेटमारी भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका -५ घर भइ हाल काठमाण्डौ टोखा -८ बानियाँटार बस्दै गरेका ३० वर्षीय मणिराज गुरुङ र सिन्धुपाल्चोक बलिफी गाउँपालिका -५ घर भइ हाल काठमाण्डौ -२६ बस्ने २९ वर्षीय आशिष ठकुरी रहेका छन्।

    प्रहरीका अनुसार उनीहरुले बिहिबार साँझ गोगंबुस्थित सार्वजनिक यातायातमा सवार एक व्यक्तिको साथबाट ३४ हजार रुपैयाँ पाकेटमार गरी भाग्ने क्रममा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

  • भारतको ओडिशामा रेल दुर्घटना २८० को मृत्यु , ९०० बढी घाइते

    भारतको ओडिशामा रेल दुर्घटना २८० को मृत्यु , ९०० बढी घाइते

    भारतको ओडिशाको बालासोरमा तीनवटा रेल एकआपसमा ठोक्किएपछि भयानक दुर्घटना भएको छ । जसमा अहिलेसम्म २८० जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी घाइते भएको बताइएको छ । शुक्रबार साँझ ७ बजे चेन्नईबाट हाउडा गइरहेको शालीमार चेन्नई कोरोमन्डल एक्सप्रेस बहानगानजिक मालगाडीसँग ठोक्किएको बीबीसीले उल्लेख गरेको छ। मालगाडीसँग ठोक्किएपछि उक्त रेलको अगाडिका डिब्बा पटरीबाट खसेको थियो। विपरित दिशाबाट आइरहेको यसवन्तपुर- हाउडा सुपरफास्ट एक्सप्रेस रेल पटरीबाट खसेको रेलको डिब्बासँग ठोक्किएको थियो।

    मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । दुर्घटनापछि उद्धार र राहत कार्य जारी छ । ओडिशाको बालासोरमा भएको रेल दुर्घटनापछि रेल मन्त्री अश्विनी वैष्णव घटनास्थल पुगेर जानकारी लिएका थिए । उनले दुर्घटनामा मृत्यु भएका व्यक्तीका परिवारलाई दस-दस लाग रूपैयाँ दिने घोषणा गरेका छन्। त्यस्तै गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रूपैयाँ उपचारखर्च दिने घोषणा गरेका छन्। मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। दुर्घटनाका कारण आज धेरै रेलहरू रद्द गरिएका छन् । भारतको दर्दनाक रेल दुर्घटनाप्रति देश-विदेशका प्रमुखहरूले शोक प्रकट गरिरहेका छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबाट आफू अत्यन्त दुःखी भएको बताएका छन्। उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, “दुर्घटना स्थलमा उद्धारकार्य जारी छ र प्रभावितहरूलाई सम्भव भएसम्म सहयोग गरिँदै छ।” गृहमन्त्री अमित शाहले घटना “अत्यन्त पीडादायी” भनेका छन्। घटनाको अनुसन्धान गर्न एक समिति गठन गरिएको छ । समितिले काम सुरु गरिसकेको केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णव जानकारी दिएका छन् ।

    ओडिसाका मुख्यमन्त्री नवीन पटनायकले रेल दुर्घटनापछि राज्य दिवस मनाउने कार्यक्रम रद्द गर्दै एक दिने राजकीय शोकको घोषणा गरेका छन्। रेल दुर्घटनाको विषयमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जी आज ओडिशाको भ्रमण गर्न लागेकी छन् । रेलवेको खड़गपुर डिभिजनका डीआरएमका अनुसार रेल दुर्घटनापछि कम्तीमा १३ वटा ट्रेन या त डाइभर्ट गरिएको छ । यो घटना भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको एक भएको समाचारमा जनाइएको छ । यसअघि भारतको सबैभन्दा खराब रेल दुर्घटना सन् १९८१ मा भएको थियो। त्यस बेला बिहार राज्यमा एउटा चक्रवातको समयमा यात्रुहरूको भिड भएको रेल ट्र्याकबाट नदीमा खसेको थियो। त्यस बेला कम्तीमा ८०० जनाको ज्यान गएको थियो।

  • गुल्मीमा स्थानीय जातको धानबाली संरक्षण गर्न बिउ वितरण

    गुल्मीमा स्थानीय जातको धानबाली संरक्षण गर्न बिउ वितरण

    १९ जेठ, गुल्मी । गुल्मीका किसानलाई अनुदानमा स्थानीय जातको धानको बिउ वितरण गरिएको छ । स्थानीय जातको धान बाली संरक्षण गर्ने उद्देश्यले कृषि ज्ञानकेन्द्रले किसानलाई ९० प्रतिशत अनुदानमा हंसराज जातको धानको बिउ वितरण गरेको छ । स्थानीय जातका विभिन्न बलीहरु मासेर उन्नत हाइब्रिड जातका बालीतर्फ किसानहरू आकर्षित भइरहेको समयमा ज्ञानकेन्द्रले किसानलाई स्थानीय जातको धानको बिउ वितरण गरेको हो । यो जातको बिउबाट धान कम उत्पादन हुने भएपनि खाना मिठो हुने कृषि ज्ञानकेन्द्र गुल्मी प्रमुख नवराज भण्डारीले जानकारी दिए ।

    बिउ वितरणसँगै धानबालीमा लाग्न सक्ने रोग/किरा नियन्त्रण गर्न विषादी पनि वितरण गरिएको ज्ञानकेन्द्रले जनाएको छ । धानको ब्याड राख्ने समयदेखि नै यसको उपचार गरेर रोग लाग्न नदिने भण्डारीले बताए । उन्नत जातको बिउले गर्दा स्थानीय जातको बिउ हराउँदै जान थालेपछि यसको संरक्षण गर्नुपर्छ भनेर लागि परेको भण्डारीले बताए । अहिले २ सय जना कृषकले स्थानीय हंसराज जातको धानको बिउ लागेका छन् ।

    यी किसनहरुले अनुदान मार्फत लगेको धानको बिउ जति लग्यो त्यतिनै अर्को साल उत्पादन गरेर फिर्ता गर्नुपर्ने नियम रहेको छ । यो धानबालीलाई संरक्षण र नेपाल सरकारबाट सूचीकृत गर्न जिल्लाको इस्मा गाउँपालिका वडानम्बर ६ मा रहेको घिम्रिे कृषि तथा पशुपन्छीफर्मले अगुवाई गरेको छ । अहिले स्थानीय जातको धानबालीलाई उत्पादन गरेर बिउ कोरुपमा वितरण गर्ने कार्य गरिरहेको सञ्चालक तथा कृषक कृष्ण घिमिरेले बताए । उनले अब यसको सबै अवस्था रहित नेपाल सरकारबाट सूचीकृत गरेर राष्ट्रिय स्तरमै बिउलाई प्रयोगको रुपमा अगाडि बढाउने सोच रहेको बताए ।

    यसको रोग किरा लाग्ने, अग्लो भएर ढल्ने जस्ता नकरात्मक कार्यहरुलाई विज्ञहरुको अनुसन्धान मार्फत हटाएर सूचीकृतको प्रक्रिया अगाडि बढने भण्डारीले बताए । तर, त्यसका लागि केही वर्ष लाग्नेछ । जिल्लामा हाल ८ हजार रोपनी क्षेत्रफलमा हंसराज धान हुने गरेको छ । यो धान जिल्ला भर हुने गरेता पनि छल्दी फाटमा धेरैले रोप्ने गरेका छन् । उत्पादित धान भात खाँदा, रोटी पकाउदा बास्नादार रहेको कृषकहरुको भनाइ छ । बजारमा यसको माग पनि धेरै नै रहेको कृषक ।

    हाल यसको चामल ७ सय रुपैयाको एक पाथी बिक्री हुने गरेको कृषक कृष्णबहादुर थापाले बताए । धान उत्पादन गर्न कृषि ज्ञान केन्द्रले उन्नत बिउ, मूल बिउ कृषकलाई बितरण गर्ने गरेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख भण्डारीले बताए । जिल्लामा धान रोप्न योग्य १० हजार हेक्टर क्षेत्रफल जमिन मध्ये ९ हजार क्षेत्रफलमा बर्खे धान उत्पादन हुने गर्दछ । एक हजार हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन हुने गर्दछ ।

    हाल जिल्लाभर रामधान, खुमल चार, खुमल छ, खुमल दश, हँसराज, मकवानपुर १, खुमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामे जात लगायतका धान यहाँका कृषकहरुले लगाउने गरेको पाइएको छ । जिल्लामा हाल ३ हजार ६ सय २६ क्षेत्रफमा वर्षभरि नै सिंचाइको व्यवस्था रहेको छ । ६ हजार ६ सय ९० क्षेत्रफल खेतमा आंशिक सिंचाइको व्यवस्था रहेको छ । जस मध्ये ९ हजार ८ सय ७ क्षेत्रफलमा वर्खे धानि वालि रोपिदै आएको छ ।

    कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार ४ सय ४५ क्षेत्रफलमा चैते धान रोपिंदै आएको छ । जिल्लामा सबैजसो ठाउमा सिचाईको प्रयाप्त व्यावस्था नहुँदा किसानहरु आकाशे पानीमा भरपर्नु पर्ने बाध्यता छ ।

  • सुनकोशी नदीमा गाडी खस्दा, सीटीईभीटीका २ निर्देशकसहित ३ जना बेपत्ता

    सुनकोशी नदीमा गाडी खस्दा, सीटीईभीटीका २ निर्देशकसहित ३ जना बेपत्ता

    काठमाडौं- मध्यपहाडी लोकमार्गमा पर्ने सुनकोशी नदीमा गाडी खसेको छ। गाडीमा सवार ३ जना बेपत्ता भएका छन्। घुर्मी-खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ लौकुनबाट गाडी नदिमा खसेको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए।

    गाडीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का २ निर्देशकसहित ३ जना तथा गाडी चालक समेत गरी ४ जना सवार थिए। उनीहरुमध्ये गाडी चालक भने पौडिएर बाहिर निस्केको र निर्देशकसहित ३ जना बेपत्ता भएको एसपी सिलवालले जानकारी दिए। उनीहरु सरकारी गाडीमा खोटाङ जान हिँडेका बताइएको छ। अहिले उनीहरुको खोजी भइरहेको छ।

  • मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक ओझेलमा

    मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक ओझेलमा

    म्याग्दी। पूर्व-पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी-दरवाङ-मुना-जलजला-ढोरपाटन सडक ओझेलमा परेको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडकको थप १९ किलोमिटर मार्ग खोलेपछि ढोरपाटनसँग जोडिनेछ । तर पछिल्लो दुई वर्षयता बजेट विनियोजन नहुँदा सडक निर्माण रोकिएको छ ।

    भौगोलिकरूपमा म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दा लाभान्वित हुने र दीर्घकालीनरूपमा राष्ट्रिय महत्व राख्ने भए पनि आवश्यक बजेट र पहुँचको अभावमा यो सडक ओझेलमा परिरहेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । उनका अनुसार काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वीरुकुम जोड्ने यो छोटो दूरीको सडक हो । बेनीबाट मुना हँुदै खोरियासम्म ५० किलोमिटर सडकको मार्ग खुलिसकेको र ढोरपाटनबाट जलजलासम्म पनि १० किलोमिटर कच्ची सडक बनेको अध्यक्ष पुनले बताए ।

    “बेनीबाट दरवाङ-मुना-जलजला-ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडकको मार्ग खोल्ने काम सकिए मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिन्छ”, उनले भने, “पूर्वीरुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ ।” म्याग्दीको धवलागिरि गाउँपालिका-२ खोरियामा तीन वर्षअघि पुगेको सडक निर्माणको काम पछिल्लो दुई वर्षयता बजेट विनियोजन नहुँदा रोकिएको छ । १९ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन बनाएर प्रदेश र सङ्घीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरिएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए ।

    म्याग्दीका सरोकारवालाले खोरिया पुगेको सडकलाई ढोरपाटन हुँदै पूर्वीरुकुम जोडेर मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रूपमा यो सडकलाई प्रयोगमा ल्याउन लुम्बिनी प्रदेश र पूर्वीरुकुमका जनप्रतिनिधिसँग छलफल र पहल थालेका छन् । “भू-बनोटको सहजता र दूरीको हिसाबले पनि मध्यमहाडी लोकमार्ग म्याग्दीबाटै विस्तार हुनुपर्ने हो”, उपाध्यक्ष पुनले भने , “तत्कालीन समयमा केन्द्रीय पहुँच नपुगेकै कारण लोकमार्गबाट म्याग्दीलाई हटाउँदा सिङ्गो जिल्लालाई नै अन्याय भएको छ ।”

    बेनी-दरबाङ-धारापानी-ताकम-मुनासम्मको सडक कालोपत्र गर्ने र मुनाबाट जलजला हुँदै ढोरपाटनलाई सडकले जोड्ने योजनालाई प्राथमिकता दिइने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताए । सडक यातायातसँगै पर्यटन विकासका हिसाबले पनि यो मार्गको आवश्यकता देखिएको उनको भनाइ छ । “म्याग्दी हुँदै ढोरपाटन पुगेर बुर्तिवाङ हुँदै लुम्बिनी र पोखरा पुग्ने पर्यटनमार्ग पनि बन्ने भएकाले यो सडकलाई प्रदेशको महत्वपूणर् योजनामा समेट्छौँ”, उनले भने “बेनीबाट दरवाङ हुँदै धवलागिरि गाउँपालिकाको केन्द्र मुनासम्मको सडक कालोपत्र गर्ने र ढोरपाटनलाई सडकले जोड्ने योजनालाई प्राथमिकता दिन्छौँ ।”

    प्रदेश सरकारमार्फत बेनीबाट मङ्गला गाउँपालिका-२ सिमसम्म १२ किलोमिटर पाँच सय मिटर सडक कालोपत्र भइसकेको छ । सिमबाट लाम्पाटा चार किलोमिटर र लाम्पाटा-दरवाङको आठ किलोमिटर सडक कालोपत्र गर्न सञ्चालित योजना निर्माणले तीव्रता पाएको छ । दरवाङबाट धारापानीसम्म सात किलोमिटर सडक ग्राभेल गर्ने योजनाको काम जारी छ । दरवाङ-मुना जोड्ने १८ किलोमिटर सडक कालोपत्र गर्न रु एक करोड ६६ लाख लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन तयार भएको धवलागिरि गाउँपालिकाले जनाएको छ । विसं २०६४ मा मार्ग खुलेको २४ किलोमिटर दूरीको बेनी-दरवाङ सडक २०७४ सालदेखि स्तरोन्नतिको काम थालिएको थियो ।

    पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको यो सडकखण्डलाई अहिले निकै चासोका साथ हेरिएको छ । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको बाँकी मार्ग खोल्ने, विस्तारसँगै मर्मत, स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ ।