Category: समाचार

  • भिरबाट लडेर मृत्यु

    भिरबाट लडेर मृत्यु

    २३ जेठ, सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका-१ मा भिरबाट लडेर २४ वर्षीय गौरीलाल दानीको मृत्यु भएको छ । आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर अदानचुली-१ कल्खे गाउँका दानीको मृत्युु भएको श्रीनगर प्रहरीचौकीका सहायक प्रहरी निरीक्षक कृष्णबहादुर बुढाले बताए ।

    कल्खेबाट फर्केको व्यक्ति राति अबेरसम्म दोमुखको होटलमा नपुुगेपछि परिवारका अन्य सदस्यले दानीको सोधखोज गरेका थिए । सोमबार बिहानै खोजीमा जाने क्रममा दानी मृतावस्थामा दोमुख नजिक भेटिएको स्थानीय परबहादुर थापाले बताए । दानीले दोमुखमा होटल सञ्चालन गर्दै आएका थिए । दसरा पूणर्िमाको दिन कल्खे गाउँमा देउडा गीत प्रतियोगिता आयोजना गरिएको थियो ।

  • अनलाइनको माध्यमबाट यौन दुव्र्यवहार गरेको आरोपमा १ जना पक्राउ

    अनलाइनको माध्यमबाट यौन दुव्र्यवहार गरेको आरोपमा १ जना पक्राउ

    २२ जेठ, काठमाडौं । अनलाइन माध्यमबाट यौन दुव्र्यवहार गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको तिला गाउँपालिका ९ रासा घर भइ भक्तपुरको दुवाकोटमोडमा बस्ने २३ वर्षका दिनेशकुमार राउत रहेका प्रहरीले जनाएको छ ।

    राउतले टिकटकमार्फत साथी बनेर एक जना युवतीसँग फेसबुक म्यासेञ्जर, ह्वाट्स एप तथा इमोमा पनि साथी बनेको र अनलाइनबाट यौनदुव्र्यवहार गरेर त्यसको भिडियो रेकर्डसमेत गरेर ब्ल्याक मेलिङ गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो ।

    त्यै उजुरीको आधारमा गरिएको प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गरी थप अनुसन्धानका लागि राउतलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए । पक्राउ परेका राउतलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा छानबिन गर्न जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरिएको पनि उनले बताए ।

  • उदयपुरका १३ वर्षीय बालक ३ दिनदेखि बेपत्ता

    उदयपुरका १३ वर्षीय बालक ३ दिनदेखि बेपत्ता

    २२ जेठ, काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका-१३ का १३ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन्। बेपत्ता हुनेमा वडा नम्बर १३ लक्ष्मीपुरका रोहित कटुवालका १३ वर्षीय छोरा रविन कटुवाल रहेका छन्।

    बेपत्ता बालकका दिदी उर्मिला कटुवाल (खड्का)का अनुसार स्थानीय लक्ष्मीपुर माविमा कक्षा ८ मा अध्ययनरत रविन स्कुलबाट घर फर्कंनासाथ स्कुलकै पोशाकमा आफ्ना अरु कपडा बोकेर घरबाट निस्किएका थिए। उनले जिल्ला प्रहरी कार्यालय उदयपुरमा भाई बेपत्ता भएको जाहेरी दिएको बताए।

    स्थानीयको सहयोगमा रविनको खोजी भइरहेको भए पनि हालसम्म फेला पार्न नसकिएको बालकका बुवा रोहितले जानकारी दिए। बेपत्ता बालकको खोजीकार्य तीव्ररुपमा गरिरहेको जनाउँदै हालसम्म फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

  • एक जना वृद्धको गोली हानी हत्या

    एक जना वृद्धको गोली हानी हत्या

    ११ जेठ, रौतहट। रौतहटमा एक ७० वर्षीय वृद्धको गोली हानी हत्या भएको छ। देवाही गोनाही नगरपालिका १ करुनियाका ७० वर्षीय शेख तैयबको गोली हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो । बुधबार राति १२ बजे सम्म घरमै रहेका तैयबको शव आज बिहान घरभन्दा १ किलोमिटर टाढा भेटिएको थियो।

    टाउकोमा गोली लागेर ढलेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। तैयबलाइ घरबाट लग्ने र गोली प्रहार गर्नेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रौतहटमा पछिल्लो समयमा हत्याको शृंखला बढेको छ । केही दिन अघि मात्रै गौर ७ का एक व्यक्तिको छुरा प्रहार गरी हत्या भएको थियो ।

  • अनलाइनबाट ठगी गरेको आरोपमा सप्तरीका एक युवक पक्राउ

    अनलाइनबाट ठगी गरेको आरोपमा सप्तरीका एक युवक पक्राउ

    १८ जेठ, काठमाडौं। अनलाइनमार्फत रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका-१४ घर भई हाल काठमाडौंको सुन्धारामा बस्ने २३ वर्षीय युवक धर्मेन्द्र कुमार साह रहेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सुन्धाराबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक मिनल केसीले बताए । उनले सामाजिक सञ्जाल फेसबुकमार्पत केटी साथी बनाई साथीको अनुमती नलिइकनै मोबाइल बैंकिङबाट ईसेवा तथा खल्तीमा रकम ट्रान्सफर गरेको प्रहरीको आरोप छ ।

  • कालिकोटमा शिकारीले हानेको गोली लागेर एक किशोरीको मृत्यु

    कालिकोटमा शिकारीले हानेको गोली लागेर एक किशोरीको मृत्यु

    कालिकोट- कालीकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका-५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो । जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक शिकारीको गोली लागेर सहकारी घाइते भएकी थिइन् । घाइते सहकारीको प्राथमिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि कणर्ाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो र उपचारकै क्रममा २१ गते सुर्खेतमा मृत्यु भएको स्थानीय नेत्रराज बोगटीले बताए ।

    गाउँकै एक स्थानीयले भरुवा बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गर्नुभएकी सहकारीको टाउकोमा गोली लागेको थियो । सहकारीको सोमबारै पोष्टमार्टम गरी अन्त्येष्टि सुर्खेतको गिरीघाटमा गरिएको छ । मृतक सहकारी कक्षा-१० मा पढ्दै थिइन् । घटना के ? कसरी ? घटेको हो भन्ने बारेमा बुझ्न प्रहरी त्यसतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । गोली लागेको भन्ने खबर आएको र आफूहरू त्यसतर्फ जाँदै गरेको कालिकोट जिल्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी शुभराज बमले जानकारी दिए । घटनाका विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

  • सिरहामा पेस्तोल र गोलीसहीत पक्राउ

    सिरहामा पेस्तोल र गोलीसहीत पक्राउ

    २२ जेठ, सिरहा। प्रहरीले पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखिपुर नगरपालिका-६ रंगीपुर बस्ने १८ वर्षीय किशोर रहेका छन् । उनलाई सिरहाको औरही गाउँपालिका-१ गंगान पुलबाट आइतबार साँझ प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरी उनको साथबाट पेस्तोल १ थान, सोको म्यागजिन १ थान र पेस्तोलको गोली ६ राउण्ड बरामद गरेको छ । पक्राउ परेका उनमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

  • विश्व वातावरण दिवस मनाउँदै

    विश्व वातावरण दिवस मनाउँदै

    काठमाडौं- संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ ।

    संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ ।

    वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम गर्दै आ-आफ्नो स्थानबाट यस दिवस भव्य र सभ्यरुपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आमसर्वसाधारणमा अनुरोध गरेको छ ।

  • पाल्पामा जिप दुर्घटना हुदा २ वर्षीय बालकसहित ५ जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुदा २ वर्षीय बालकसहित ५ जनाको मृत्यु

    २२ जेठ, बुटवल । पाल्पाको रैनादेवी छहरा-८, सत्यवतीस्थित केवरेडाँडामा आइतबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा एक दुई वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो । अर्घाखाँचीको पाणिनी गाउँपालिका-२, का २ वर्षीय बालक संयोग गौतम र पाणिनी-१ का ४४ वर्षीय विजय पोखरेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । संयोगको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र विजयको बुटवलको चौराह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । विजय पोखरेल सोही वडाका वडासदस्य हुन् । आइतबार घटनास्थलमा तीन जनाको मृत्यु भएको थियो ।

    घटनास्थलमा मृत्यु हुनेहरुमा अर्घाखाँचीको पाणिनी-१, की ५५ वर्षीया श्यामकला परियार, सोही स्थानका २६ वर्षीय चालक रमेश विक, पाणिनी-२ पोखराथोककी २५ वर्षीया सीता गौतम छन् । उपचारका क्रममा मृत्यु भएका २ वर्षीय संयोग मृतक सीताका छोरा हुन् । रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीतर्फ गइरहेको लु१च ९०२४ नम्बरको जिप आइतबार साँझ साढे ५ बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा १० जना घाइते छन् । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका-४ धरमपानी बस्ने ७ वर्षीय समीर पाण्डेय, सोही स्थानका १० वर्षीय अनुप सोमरे, पाल्पाको तिनाउ गाउँपालिका-३, दोभान बस्ने ५ वर्षीया आर्या भण्डारी र सोही स्थानकी ३४ वर्षीया लक्ष्मी पोखरेलको अवस्था गम्भीर छ ।

    उनीहरुको उपचार भैरहवा मेडिकल कलेज रुपन्देहीमा भइरहेको छ । यस्तै अर्घाखाँचीको पाणिनी-१, का ६६ वर्षीय रामबहादुर विक, सोही स्थानका ६ वर्षीय संयोग गौतम, सोही स्थानकी ५ वर्षीया पर्विष्टी पोखरेल, सोही स्थानका १० वर्षीय सोलिन परियार र गुल्मीको रुरु गाउँपालिका बलेटक्सारका ९ वर्षीय सार्थक ज्ञवाली पनि घाइते छन् । उनीहरुको उपचार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भइरहेको छ । यस्तै पाणिनी-१, अर्घाखाँचीका ४० वर्षीय हरि गौतम बुटवल चौराहा अस्पतालमा उपचाररत छन् ।

  • भिमाद–डेडगाउँसम्म सुरुङमार्गको अध्ययन गरिने

    भिमाद–डेडगाउँसम्म सुरुङमार्गको अध्ययन गरिने

    दुलेगौंडा । गण्डकी प्रदेश सरकारले तनहुँको भिमाददेखि नवलपुर जिल्लाको डेडगाउँसम्म सहज सडक यात्रा गर्न सुरुङ मार्ग बनाउन पहल थाल्ने जनाएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्दै सुरुङ मार्ग निर्माण गर्न सम्भाब्यता अध्ययन गरिने बताए ।

    आईतबार प्रस्तुत गरिएको निती तथा कार्यक्रममा भिमाद देखि नवरपुर जिल्लाको डेडगाउसम्म र डेडगाउँदेखि झ्यालबाससम्म तथा बाग्लुङको काठेखोलादेखि गलकोट नरेठाँटीसम्म, म्याग्दी जिल्लाको दानादेखि मुस्ताङको घाँसासम्म पनि सुरुङमार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन गरिने बताइएको छ । यस्तै उनले लमजुङको शिलतापाटीदेखि नाल्फाफेदीसम्मको सुरुङ मार्गका लागि अध्ययन गर्ने बताएका छन् ।