Category: समाचार

  • विवाह अगाडि १२ पास गर्नेलाई २० हजार नगद

    विवाह अगाडि १२ पास गर्नेलाई २० हजार नगद

    मकवानपुर- मकवानपुरको कैलाश गाउँपालिकाले बाल विवाह रोक्नका लागि विवाह अगाडि १२ पास गरेको छात्रालाई रु २० हजार नगद हस्तान्तरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गर्दै चेली प्रोत्साहन कार्यक्रमअन्तर्गत छ जना चेलीलाई सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पालिकाको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रमअन्तर्गत प्रोत्साहन र सम्मान गरेको बताए ।

    उनका अनुसार कैलाश-६ की सङ्गीता ढुङ्गाना, प्रतिभा अर्याल र लक्ष्मी श्रेष्ठ, कैलाश-१० की सरुया प्रजा र उर्मिला थिङ, त्यसैगरी कैलाश-२ की लक्ष्मी मुक्तानलाई नगदसहित सम्मान गरिएको छ । गाउँपालिका अध्यक्ष मुक्तानले विवाहअघि कम्तीमा पनि १० जोड २ पास गर्नुपर्छ र २० वर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्रोत्साहन कार्यक्रम राखिएको बताए । देशभरका स्थानीय तहमध्ये पृथक कार्यक्रमको सुरुआत गरेको उनको भनाइ छ । अध्यक्ष मुक्तानले भने, “गाउँघरमा छोरीलाई बालविवाह गर्ने, पढाइबाट वञ्चित गर्ने चलन अझै रहेको र यस्ता कार्यक्रमले सकारात्मक सन्देश जाने कुरामा विश्वास लिएका छौँ ।”

    सम्मानित छात्रा सरुया प्रजाले गाउँपालिकाले चेली प्रोत्साहन कार्यक्रममार्फत सम्मान गरेकोमा आफूलाई उत्साह मिलेको र सामाजिक समस्याको रूपमा रहेको बालविवाह, विद्यालय नजानेजस्ता समस्या समाधानमा लाग्न ऊर्जा मिलेको बताए । कैलाश-६ की सङ्गीता ढुङ्गानाले प्राप्त रकमले आगामी शिक्षाका लागि सहयोग पुग्ने कारण खुसी व्यक्त गरे । यस्ता कार्यक्रमले पढ्न मद्दत मिल्नुका साथै विवाह गर्नुभन्दा शिक्षा लिनु ठीक हुनेजस्तो लाग्ने गरेको उनको भनाइ छ ।

  • मुग्लिन-मलेखु सडकखण्ड निर्माण तथा विकास कार्य सुरूवात

    मुग्लिन-मलेखु सडकखण्ड निर्माण तथा विकास कार्य सुरूवात

    भरतपुर । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरू भएको छ । नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन-मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो । ३९ किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआईसीजी जेभीले सडक विस्तार र स्तरोन्नति गर्न थालेको आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले बताए । पहिलो चरणमा पाँच किलोमिटरमा काम भइरहेको छ । चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ । सडक विस्तार र स्तरोन्नतिपछि न्यूनतम ९ मिटर कालोपत्र हुनेछ ।

    बजार क्षेत्रमा भने ४ देखि ६ लेनको सडक निर्माण हुने कार्कीले जानकारी दिए । बजार क्षेत्रमा फुटपाथ, डिभाइडर र बत्तीको पोलसमेत निर्माण गरिनेछ । यो खण्डमा पुल निर्माणका लागि सोही कम्पनीसँग सम्झौता भएको छ । काम पनि सँगै सुरु भइसकेको छ । मलेखुसम्म ६ पुल निर्माण हुनेछन् । गोमती, चरौदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बन्नेछन् । खटौटीमा पुल निर्माण अघि बढेको छ । यो खण्डमा १० ठाउँमा आकाशे पुल निर्माण गरिनेछन् । मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, माझीमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिनमा आकाशे पुल निर्माण गरिने छन् ।

    आयोजनाको यो खण्ड चार अर्ब ८० करोडको लागतमा विस्तार र स्तरोन्नति गर्न लागिएको हो । केही ठाउँमा रुख काट्न बाँकी छ । यो खण्डमा करिब तीन सय ५० रुख काटिने छन् । संघीय राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग भएका कारण पनि यसलाई निर्धारित समयमै सम्पन्न गर्नका लागि आयोजनाले तीव्र गतिमा काम अघि कर्मचारी बताउँछन् । विश्व बैंकको आर्थिक सहयोगमा यो राजमार्ग विस्तारको काम थालिएको हो । यसका लागि सरकार र विश्व बैंकबीच सन् २०२० मा सम्झौता भएको थियो । नागढुङ्गा-नौबिसे खण्ड र नौबिसे-मलेखु खण्डमा पनि सडक विस्तारको काम भइरहेको छ ।

  • गर्मीका कारण कलैया उपमहानगरपालिकाको विद्यालयहरू ७ दिन बन्द

    गर्मीका कारण कलैया उपमहानगरपालिकाको विद्यालयहरू ७ दिन बन्द

    बारा । अत्यधिक गर्मीका कारण विद्यार्थीहरूमा समस्या देखिन थालेपछि कलैया उपमहानगरपालिकाले पालिकाभित्रका विद्यालयहरूमा ७ दिन बिदा दिने निणर्य गरेको छ । कलैया उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख प्रल्हाद बणर्वालले एक विज्ञप्ति जारी गर्नुहुँदै गर्मीका कारण पठनपाठनमा समस्या सृजना हुनुको साथ साथै खास गरि बालबालिकाहरूलाई गर्मीका कारण स्वास्थ्यमा समस्या देखिन थालेपछि सहजताका लागि बिदा घोषणा गरिएको जनाए ।

    निजी तथा सरकारी विद्यालयहरूमा विद्यार्थी अत्यधिक गर्मीको कारण विद्यार्थीहरूको चाप पनि घटेका हुँदा बिदा दिनुपरेको उनले बताए । तराई मधेसको जिल्लाहरूमा ४० डिग्रीभन्दा बढी तापक्रम बढेको हुँदा विद्यार्थीहरूलाई विद्यालयबाट घर जान र घरबाट विद्यालय जान पनि समस्या सृजना भएको र कतिपय विद्यार्थीहरू गर्मीका कारण कक्षा कोठामा बेहोस समेत हुन थालेपछि बिदा स्वीकृत गरिएको शिक्षा शाखा प्रमुख बणर्वालले बताए ।

  • एक युवकको चक्कु प्रहारबाट २ जनाको मृत्यु

    एक युवकको चक्कु प्रहारबाट २ जनाको मृत्यु

    १८ जेठ, बुटवल । कपिलवस्तुमा एक युवकको चक्कु प्रहारबाट दुई जनाको मृत्यु भएको छ । रुपन्देहीको कञ्चन गाउँपालिका-२ का २२ बर्षका मोहन थारुको चक्कु प्रहारबाट कपिलवस्तुको बाणगंगा नगरपालिका-६ मटेरियाकी २२ वर्षकी अञ्जनी थारु र उनका काका ७० वर्षका बमबहादुर थारुको मृत्यु भएको हो । प्रहरीका अनुसार बिहीबार बिहान सवा नौ बजेतिर अञ्जनीको घरमा पुगेका मोहनले अञ्जनीमाथि चक्कु प्रहार गरेका थिए । रोक्न पुगेका अञ्जनीका काकालाई समेत मोहनले चक्कु प्रहार गरेका थिए ।

    चक्कु प्रहारपछि गम्भीर घाइते बमबहादुरको कपिलवस्तुकै स्थानीय स्वास्थ्य संस्थामा र अञ्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन बस्नेतले बताए । प्रहरीले मोहनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । मोहन र अञ्जनीबीच विगतमा प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

  • समुद्रमा यत्रतत्र छरिएर रहेको छ सुन ! किन निकालिंदैन आखिर डुबेको सुन ?

    समुद्रमा यत्रतत्र छरिएर रहेको छ सुन ! किन निकालिंदैन आखिर डुबेको सुन ?

    पृथ्वीका समुद्रहरुको गहिराइमा केवल रहस्यमयी जीवजन्तु वा मुगा मात्रै छैनन्,त्यहाँ सुन पनि डुबेको छ । अमेरिकी सरकारी विभाग राष्ट्रिय सामुद्रिक सेवाका अनुसार समुद्रको पिँधमा थोरै होइन २ करोडभन्दा पनि बढी सुन त्यत्तिकै बसिरहेको छ । यसको मूल्य ८ सय ट्रिलियन डलरभन्दा धेरै पर्दछ । समुद्रमा रहेको सुन यतिधेरै छ कि यसबाट विश्वमा अमेरिका जस्ता कैयन् शक्तिशाली देश बनाउन सकिन्छ । वास्तवमा समुद्रको पानीमा करोडौं टन सुन र अन्य बहुमूल्य धातुहरू डुबेको अवस्थामा छ । त्यसका अलावा दुर्घटनाग्रस्त जहाजदेखि मानिसहरुले आस्थाका कारण फ्याँकेका सिक्का लगायतका वस्तुहरु समुद्रको पिँधमा जम्मा भैरहेका छन् ।

    कुन जहाजमा कति सुन थियो ?
    सन् १६४१ मा बेलायतको रोयल मर्चेन्ट नामक पानीजहाज खराब मौसमका कारण कर्नवाल नजिकैको समुद्रमा डुब्यो । सन् २०१९ मा सो जहाजको माथिल्लो हिस्सा त भेटियो तर सो जहाजको पिँधको हिस्सा कहिल्यै पनि फेला परेन । डुब्ने बेलामा उक्त जहाजमा एक लाख पाउण्ड सुन भएको बताइन्छ । त्यस्तै पोर्चुगलको कार्गो जहाज दी ला मेरले झण्डै एक दशकसम्म उपनिवेशका मुलुकहरुबाट सुन तथा अन्य बहुमूल्य वस्तुहरु बटुलेर पोर्चुगल पुर्‍याउने काम गरेको थियो । १६औं शताब्दीको सुरुवातमा प्रशान्त महासागरमा एक दुर्घटनाको सिकार हुँदै यो जहाज समुद्रको गहिराइमा विलिन भयो । एक अनुमान अनुसार सो पानी जहाजमा त्यसबेला कार्गोको रुपमा २ अर्ब डलर मूल्यको सुन राखिएको थियो ।

    डुबेको सुनको मूल्य कति ?
    अमेरिकाको नेशनल ओसनिक एण्ड एटमसफेरिक एडमिनिस्ट्रेसनका अनुसार समुद्रमा कति परिमाणमा सुन वा अन्य बहुमुल्य सामान खसेको छ भनेर यकिन भन्न गाह्रो छ । तथापि समुद्रमा डुबेका ठूला जहाजहरुको आधारमा यसको गणना गर्ने गरिन्छ । के भन्ने गरिन्छ भने समुद्रमा आजसम्म डुबेको सबै सुनलाई निकालेर यदि बेच्ने हो भने अमेरिकाको जत्रो अर्थतन्त्र भएका कैयन् देश खडा गर्न सकिन्छ । तर अनौठो कुरा त के भने समुद्रमा डुबेको सुन तथा अन्य बहुमूल्य वस्तुहरुमध्ये अधिकांश चाहिँ तत्कालीन शक्तिशाली मुलुकहरुले आफ्नो उपनिवेशमा रहेका मुलुकबाट लुटेका हुन् ।

    आखिर किन निकाल्दिैन समुद्रमा डुबेको सुन ?
    यहाँनेर प्रश्न उठ्नु स्वभाविकै हो कि, जब यतिधेरै सुन समुद्रको पिँधमा यत्रतत्र पोखिएको छ र त्यो कुरा दुनियाँलाई थाहा पनि छ भने त्यसलाई किन निकालिंदैन त ? वास्तवमा समुद्रको पिँधबाट सुन निकाल्नुका विभिन्न व्यवहारिक कठिनाइहरु छन् । पहिलो कुरा त समुद्रको कुन भागमा कति सुन जम्मा भएको छ भन्ने यकिन रुपमा कसैलाई थाहा छैन । यदि त्यसरी सुन भएको ठाउँ पत्ता लागिहाल्यो भने पनि समुद्रको त्यतिधेरै गहिराइमा पुग्न सजिलो छैन ।अनि पुगिहालियो भने पनि एउटा ठूलो जटिलता अगाडि आउनेछ ।
    सुन समुद्रको पिँधमा बाहिरै छ भन्ने पनि हुँदैन, ठूलो चट्टानले थिचिएको अवस्थामा पनि हुनसक्छ । साथै सयौं वर्षदेखि रहेको सो सुनमा मुगा पनि बनिसकेको हुनसक्छ । यस्तोमा त्यो सुनलाई निकाल्नका लागि उत्खनन् गर्नुपर्ने हुन्छ । यी सबै प्रक्रियाका लागि कति समय लाग्दछ, त्यो थाहा छैन । त्यतिधेरै समयसम्म समुद्रमा हजारौं मिटरमुनि बस्न सम्भव हुँदैन । यदि मेसिनलाई उक्त काम सुम्पिने हो भने पनि अचानक आउने तूफान वा माछाले त्यसलाई बिगार्नेछन् ।

    सुन पत्ता लगाउने उपकरण
    समुद्रमा कुनकुन ठाउँमा सुन छ भन्ने कुरा पत्ता लगाउने कोसिस धेरैपटक भयो । समुद्रमा काम गर्ने विभिन्न संस्थाहरुले लगातार यस क्षेत्रमा काम गरिरहेका छन् । सबैभन्दा पहिले १९औं शताब्दीमा ब्रिटिस चर्चका पादरी तथा गणितिज्ञ फोर्ड जर्नेगनले एउटा उपकरण बनाए । गोल्ड एक्युमुलेटर नामको उक्त टूलका बारेमा उनको दाबी थियो कि पारो तथा बिजुलीको सहयोगमा हामीले समुद्रमा लुकेको सुन खोज्न र बाहिर निकाल्न समेत सक्दछौं । जर्गेननले एक कम्पनी पनि स्थापना गरे, जसको नाम थियो इलेक्ट्रोलाइड मरिन साल्ट्स । कम्पनीले जोडतोडसँग आफ्नो विज्ञापन पनि गर्‍यो । सो कम्पनीमा धेरै लगानीकर्ताहरुले पैसा खन्याए पनि । समुद्रमा सुनको कथित खोज तथा उत्खनन पनि चल्यो । तर लगानीकर्ताहरुको लगानी बालुवामा पानी भयो । समुद्रको पिंधमा सुन फेला पार्न सकिएन ।

    पेटेन्ट समेत भैसकेको छ
    सन् १९०० मा लण्डनस्थित एकजना लगानीकर्ता हेनरी क्ले ले समुद्रको पिँधबाट सुनको उत्खनन सम्बन्धमा प्रतिलिपि अधिकार दर्ता गरे । उक्त पेटेन्टको नाम मेथड अफ एक्स्ट्रेक्टिंग गोल्ड फ्रम सी वाटर राखिएको थियो । तर त्यो पेटेन्ट पनि बेकार सावित भयो । समुद्रको गहिराईमा जाने कोसिस त निरन्तर भैरहेकै छ तर सुन फेला पार्नमा भने ठूलो सफलता मिल्न सकेको छैन । विज्ञहरुका अनुसार समुद्रको पिँधबाट सुन निकाल्न जतिधेरै खर्च हुन्छ त्यो पैसाभन्दा कम मूल्यमान त बजारमै सुन किन्न सकिन्छ ।

    समुद्रको पिँधबाट सुन निकाल्न सजिलो नहुनुको अर्को कारण पनि छ । पृथ्वीमा महासागर तथा समुद्रमा रहेको पानीको परिमाणको तुलनामा सुनको परिमाण नगन्य जस्तै हो । अर्थात् समुद्रको १० करोड टन पानीमा केवल १ ग्राममात्रै सुन छ । अर्थ एण्ड प्लानेटरी साइन्स लेटर्स नामक जर्नलमा यस्तो दाबी गरिएको हो । त्यसैले शक्तिशाली मुलुकहरुको प्रयासका बाबजुत पनि समुद्रबाट सुन निकाल्न सकिएको छैन । तथापि सुन खोज्ने कामचाहिं चलिनै रहेको छ ।

  • बाटोमा हिंडिरहेकी महिलाको सुनको सिक्री लुटपाट गर्ने पक्राउ

    बाटोमा हिंडिरहेकी महिलाको सुनको सिक्री लुटपाट गर्ने पक्राउ

    काठमाडौं। सुनको सिक्री लुटपाट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका -१ देबिटार बस्ने ३० वर्षीय पोण्डे भन्ने विष्णु तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले मंगलबार काठमाडौं महानगरपालिका -३२ पेप्सीकोलास्थित गेटवे मन्टेस्वरी स्कुल अगाडि बाटोमा पैदल हिँड्दै गरेकी एक महिलाले घाँटीमा लगाएको ४ तोलाको सुनको सिक्री लुटपाट गरी भागेका थिए।

    मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनलाई काठमाडौं गोकणेश्वर नगरपालिका-५ जोरपाटीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बानेश्वर काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।

  • कालोपत्र गरेर चिटिक्क परेको बलेवा विमानस्थलः तर जहाज चढ्न पाइने टुङ्गो छैन

    कालोपत्र गरेर चिटिक्क परेको बलेवा विमानस्थलः तर जहाज चढ्न पाइने टुङ्गो छैन

    बलेवा- बागलुङ बलेवा विमानस्थल कालोपत्र गरेर रङरोगनले चिटिक्क परेको एक वर्ष बढी भयो। धावनमार्ग कच्ची हुँदा निरन्तर सञ्चालन हुन नसकेको यो विमानस्थल कालेपत्र गरिसक्दा पनि विमान कहिले सञ्चालन हुन्छ भन्ने अत्तोपत्तो छैन। विसं २०२२ मा स्थानीयले श्रमदान गरी तयार गरेको विमानस्थल २०४८ सालसम्म सञ्चालनमा थियो। विसं २०४८ मा बागलुङ-पोखरा-राजमार्ग निर्माण भएर गाडी चल्न थालेपछि विमानस्थल बन्द भयो।

    २६ वर्षदेखि बन्द भएको विमानस्थल बागलुङ नगरपालिकाले २०७४ चैत ९ गतेदेखि पुनः सञ्चालनमा ल्यायो। त्यसबेला नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना नियमित उडान भरे। धावनमार्ग कच्ची हुँदा विमान उडाउन समस्या आएपछि उडान रोकिएको थियो। लामो समयदेखि बन्द रहेको बलेवा विमानस्थल सञ्चालनका लागि धावनमार्ग कालोपत्र गरेपछि स्थानीयमा नियमित विमान सञ्चालन हुने आश पलाएको थियो। तर अहिलेसम्म सञ्चालनका लागि कुनै पहल नहुँदा उनीहरु निराश छन्।

    विसं २०७८ चैतमा विमानस्थलको ७०० मिटर लम्बाइ र ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरिएको थियो। धावनमार्ग कालोपत्रसँगै पेन्टिङ र छेउछाउ तारबारसमेत गरिएको छ। धावनमार्ग नागरिक उड्डयन प्राधिकरणको ७ करोड लागतमा काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी बल्खुले कालोपत्र गरेको थियो। लामो समयसम्म पनि विमानस्थलमा जहाज नआउँदा प्रयोग नभइ जीणर् बन्ने जोखिम छ। राज्यले चासो नदिँदा करोडौँ रुपैयाँका पूर्वाधार प्रयोगविहीन बनेका स्थानीय कुमार पौडेलले बताए।

    पछिल्लो समय बलेवा क्षेत्रबाट बसाइँसराइ तीव्ररूपमा भइरहेकाले विमानस्थल सञ्चालनमा आए त्यो क्रम रोकिने पौडेलको भनाइ छ। उनी भन्छन्, ‘विमानस्थल सञ्चालन गर्नकै लागि राज्यले यति ठूलो रकम खर्चेको छ, तर जहाड उडानको कुनै टुङ्गो छैन।’ बलेवा बजारका रूपमा विकास भएको छ। पर्यटकीय हिसाबले उत्तिकै फड्को मार्दैछ, तर जहाज नचल्दा यहाँका स्रोतसाधान गुमानाम छन्, यस क्षेत्रका स्रोत र साधानको प्रयोग गरी आर्थिक उपार्जन, पर्यटन विकास र अन्य सुविधाका लागि विमानस्थल सञ्चालन गर्न जरुरी छ।

    बागलुङ नगरपालिका-१४ का अध्यक्ष चक्रबहादुर खत्रीले धवनमार्ग बनेको यतिका समयसम्म विमान सञ्चालन नहुनु दुःखद् भएको बताए। विमानस्थल सञ्चालनका लागि मन्त्री, सांसदहरूसँग पटक-पटक माग गरे पनि सुनुवाइ नभएको गुनासो गरे। यहाँदखि नियमित विमान सञ्चालनमा आए बलेवावासीको जीवनस्तर उकास्न महत्वपूणर् भूमिका बन्दै रोजगारका अवसर सिर्जना हुने र धार्मिक पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ।

    ‘पहिले यहाँका स्थानीयले खनेरै यति ठूलो विमानस्थल बनाए, उतिबेला अहिलेको जस्तो मेसिन आएका थिएनन्, तर पनि विमान चलेको थियो, अहिले मेसिन आए काम पनि भयो तर विमान आएन,’ अध्यक्ष खत्रीले भने। विमानस्थलबाट २०४८ सालसम्म काठमाडौं, पोखरा, भैरहवा र जोमसोमका लागि जहाजले उडान भर्ने गरेको थियो। बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का सातामा एकपटक भए पनि उडानको योजना रहेको बताउँछन्।

    कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारबाट १२ किलोमिटर सडक कच्ची छ। कालीगण्डकी करिडोर कालोपत्र हुन सकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने उनको भनाइ छ। विमानस्थल सञ्चालनमा आए बागलुङ, पर्वत र म्याग्दीका नागरिकलाई यातायातमा सहज पहुँच हुनुका साथै यहाँको पर्यटन र आर्थिक विकासमा महत्वपूणर् टेवा पुग्ने अपेक्षा गरिएको छ।

  • विश्व दूध दिवस मनाइँदै

    विश्व दूध दिवस मनाइँदै

    काठमाडौं- आज (बिहीबार) २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपंक्षी मत्स्य सहकारी संघलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा बिहीबार विभिन्न कार्यक्रम गर्दैछन्।

    विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले सन् २००१ जुन १ देखि विश्व दूध दिवस मनाउन थालिएको हो। आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ देखि विश्व दूध दिवस मनाउन थालेको हो।

    दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार-प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

  • मेलम्चीको पानी काठमाडौँ पठाइयो

    मेलम्चीको पानी काठमाडौँ पठाइयो

    सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो ।

    हेलम्बु गाउँपालिका-१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्‍याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौँ पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।

  • लगातारको हावाहुरीका कारण निरास छन् महोत्तरीका किसान

    लगातारको हावाहुरीका कारण निरास छन् महोत्तरीका किसान

    महोत्तरी- लगातारको हावाहुरीले महोत्तरीका फलफूल र तरकारी किसान निरास भएका छन्। जेठ लागीकन प्रत्येक २/३ दिनको फरकमा चलेको हावाहुरीले बग्रेल्ती आँपका दाना झार्नसँगै लहरे तरकारीका बेला (लहरा) हुत्याएर चुँडाएपछि उत्पादन हात नलाग्ने भएपछि किसान निरास भएका हुन्। पछिल्लो पटक शुक्रबार गएरातिको हावाहुरीले बग्रेल्ती आँप झारेका छन्। यस्तै फर्सी, लौका, घिरौंला, झिगिँनी, काँक्रा र चिचिन्डासहितका तरकारी बालीका बेला (लहरा) हुत्याउँदै चुँडाएर नोक्सान गरेपछि किसानको पिरोलो बढेको हो।

    ‘हेर्नोस् न, जेठ लागीकन दिनहुँजसो हावाहुरीले झारेका आँप टिप्दै दिन जान्छ, मुखमै आएको बाली सखाप भएको छ,’ आज सखारै बग्रेल्ती झरेका आँप टिप्दै भंगाहा-४ रामनगरका ६० वर्षीय किसान शुभलाल ठाकुरले भने, ‘जेठ मध्यतिर यत्रो हाहाहुरी त्यति भोगिएको थिएन, खै के हुन लागेको हो!’ अब १५/१६ दिन दुःख काट्दा एउटा बाली हात लाग्छ भन्ने आस पनि मरेको ठाकुर बताउँछन्। तराईमा चाँडै पाक्ने जातको बम्बै आँप जेठ अन्तिममा तयार हुन्छ। तर २ साताअघिको हावाहुरीले आँप झारेपछि दुःख लागेको ठाकुरको भनाइ छ।

    महोत्तरीमा जेठमा प्रत्येक २/३ दिनमा हावाहुरी चल्दै आएको छ। बिहीबार साँझ र शुक्रबार रातिको हावाहुरीले झारेका आँप किसान कौडीका दाममा बेच्दैछन्। हुरीले झारेर फुटाएको आँप त मिल्काउनुबाहेक कुनै विकल्प नभएको ठाकुरकै छिमेकी किसान जब्बार शेष बताउँछन्। विगतमा चैत/वैशाख हावाहुरीको समय हुने र जेठ लागेपछि त्यति नलाग्ने भोग्दै आएका किसानलाई यसपाली जेठमा लगातार चलेको हावाहुरीले अत्याएको छ। ‘जेठको २ साता नबित्दै ५/६ पटक हावाहुरीले हामीलाई चिल्लीबिल्ली बनाएको छ,’ बर्दिबास-९ पशुपतिनगर टोकीटोलका किसान रामचन्द्र थापामगरले भने, ‘आँप झरे, तरकारीका लहरा चुँडिएर लत्रिएका छन्, भर्खर घोगा लाग्दै गरेका मकैका बोट लडाएर सोतर बनाएको छ।’ प्रकृति अनुकूल नहुँदा विपद् खेप्नुपरेको थापाको भनाइ छ।

    हावाहुरीसँगै मेघगर्जन सुनिए पनि पानी भने त्यति नपरेको किसान बताउँछन्। ‘हावाहुरीपछि पानी त परेको छ, तर धानको ब्याड राख्नेगरी माटो गालेर परेको छैन,’ गौशाला-१० लक्ष्मीनियाँका किसान महेश्वर महतो भन्छन्। जिल्लाको उत्तरी क्षेत्रका बर्दिबास, गौशाला र भंगाहा नगरपालिका फलफूल र तरकारी उत्पादनका पकेटक्षेत्र मानिन्छन्। उत्तरीक्षेत्रका बर्दिबासका खयरमारा, टुटेश्वर, ढुंग्रे, चेरु, माइस्थान, सोनापेटी, भब्सी, पाटु, विजलपुरा र पशुपतिनगर सहितका बस्तीको त मुख्यबाली नै फलफूल (बगैंचा) खेती हो। बगैंचा खेतीमा पनि मुख्य आँप रहँदै आएको छ।

    जिल्लाका मध्य र दक्षिणवर्ती क्षेत्रका पिपरा, मटिहानी, जलेश्वर, रामगोपालपुर र मनराशिशवाको स्थानीय तहको बस्तीमा पनि बगैंचा खेती बाक्लै छ। जेठ अन्तिमदेखि लगालग एकपछि अर्को जातका आँप पाक्नेक्रम सुरु हुन्छ। यसरी मुखमै आएको बाली हावाहुरीले सखाप पारेपछि अब वर्षभरिको गुजारा केले चलाउने भन्दै किसान टोलाएका छन्। ‘सबै सुखका साथी रहेछन्,’ दुःखका बेला साथ पाइने आसले आफैंले चुनेका प्रतिनिधिले फर्केर नहेरेपछि चित्त कुड्याउँदै भंगाहा-४ का किसान चन्देश्वर राय दनुवारले भने। पुराना तरकारी उत्पादक किसान दनुवारले हावाहुरीले लहरे तरकारी नोक्सान पारेपछि अब के गर्ने भन्ने नै रनभुल्लमा परेको बताए।

    चैत/वैशाख हावाहुरीको समय भन्ने बुझ्दै आएका किसान जेठ लागेपछि फलफूल र तरकारी अब चैं हात लाग्ने विश्वासमा थिए। तर पुरानो ऋतु रीतिथिति फेरिएर जेठमा हावाहुरी चल्न थालेपछि किसानमा निरासा बढेको हो। यसपाली जेठ लागीकन सयौं बिघाको फलफूल र तरकारी बाली हावाहुरीले नोक्सान गरेको छ। अहिले जेठमा निरन्तर केही दिनको फरकमा चल्दै (बहदै) आएको हावाहुरी यहीँ मात्र नभई विश्वव्यापी जलवायु परिवर्तनको प्रभावले भएको विज्ञको मत छ। मानवको घच्चपच्चले प्रकृतिका पुराना रीति फेरिँदा कुसमयको हावाहुरी, बर्खा, गर्मी, शीतलहरजस्ता प्रकोप झेल्नुपरेको रूपान्तरण सामाजिक संस्थाका जलवायुविज्ञ विराट पन्त बताउँछन्। ‘यो प्रभाव न्यूनीकरण गर्न प्राकृतिक स्वरूपको रक्षा र प्रभाव अनूकूल आनीबानी र खेतीपाती गरिन पर्छ,’ पन्त भन्छन्। राज्यका सबै अंगले यो अनुकूलन विधि अँगाल्न आमजनतालाई अभिप्रेरित गर्नुपर्ने पन्तको सुझाव छ।