Category: समाचार

  • तातोपानी नाकामा व्यवसायीका दुःख, दुर्घटनाको जोखिम मोलेरै सामान ढुवानी

    तातोपानी नाकामा व्यवसायीका दुःख, दुर्घटनाको जोखिम मोलेरै सामान ढुवानी

    काठमाडौँ । नेपाल र चीनबीचको व्यापारिक नाका तातोपानी सञ्चालनमा आए पनि सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढाएको छ । लामो समयदेखि बन्द रहेको तातोपानी नाका वैशाख अन्तिमबाट दुवैतर्फ सञ्चालनमा आएको हो । तर नेपालतर्फको बाह्रबिसेदेखि नाकासम्मकै सडकको अवस्था दयनीय हुँदा दुर्घटनाको जोखिमका कारण नेपाली व्यवसायीहरुले आवश्यक सामग्री ओसारपसार गर्न सकेका छैनन् । पछिल्लो समय सडकको दुरावस्थाका कारण तातोपानी नाकाबाट व्यवसायीहरूले सामान आयात गर्नै छोडेका छन् । सडक राम्रो नहुँदा र तातोपानी नाकाबाट सामान नेपाल भित्र्याउँदा धेरै समय लाग्ने गरेकाले व्यवसायीहरुले अर्को नाकाबाट सामान आयात गर्नुपरेको गुनासो गरे । सडकको स्तरोन्नति र विस्तार हुन नसक्दा व्यवसायीहरुले वर्षेनी सास्ती भोग्नुपरेको छ ।

    तातोपानी क्षेत्र भौगोलिक रुपमा पनि विपद्को उच्च जोखिममा रहेकाले वर्षायाम शुरु भएसँगै सडकमार्गमा थप जोखिमको डर छ । नेपाल—चीन जोड्ने नेपालको प्रमुख व्यापारिक तातोपानी नाका भए पनि सडक मार्गको समस्याले यो सधैँ ग्रसित छ । चीनसँगको व्यापारिक नाका तातोपानी जोड्ने मुख्य सडक बाढी, सुक्खा पहिरो लगायतका समस्याका कारण सधैँ भासिने गरेको छ । व्यवसायीहरुले सरकारले तातोपानी जोड्ने सडक मर्मतका लागि आवश्यक चासो नदिएको गुनासो गरेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानी नाकासम्मको सडक मार्ग सरकारले दीर्घकालिन मर्मत गर्न नसक्दा सधैँ जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता छ । दुई पहाडबीचबाट बग्ने भोटेकोसी नदीको किनार भएकाले पनि तातोपानी नाका जोड्ने सडकमा जोखिम बढी हुने गर्छ । व्यापारिक नाका भएकाले सामान बोकेर ठूला कन्टेनर सहज रुपमा गुड्नसक्ने अवस्था नहुँदा सडक दुर्घटनाको ठूलो जोखिम रहेको छ । तर पनि अहिलेसम्म सरकारले उक्त सडकको स्तरोन्नति गरी दीर्घकालिन समस्या समाधानको उपाय खोज्न सकेको छैन ।

    चीनबाट तातोपानी नाका हुँदै सामान आयात गर्ने व्यवासायीहरु नाकाको मुख्य सडक मर्मत नहुँदा समान ढुवानी गर्न समेत समस्या भएको गुनासो गर्छन् । व्यवसायी दामोदर सत्यालले ४० फिटको कन्टेनर सामान बोकेर काठमाडौंसम्म ल्याउनको लागि सडक जिणर् भएकाले असहज भइरहेको बताए । उनले सडक पूर्वाधार मजबुत भए मात्रै नाका सञ्चालनमा सहज हुने बताए । सडक जिणर् भएकै कारण चीनबाट आयात गरिएको सामानको मूल्य काठमाडौं पुर्‍याउँदा बढ्ने गरेको पनि उनले बताए । अर्का व्यवसायी विजय शेर्पाले बाह्रबिसेदेखि तातोपानी नाकासम्म २४ किलोमिटर सडक जोखिमपूणर् रहेको बताए । उनले सामान बोक्ने ठूला कन्टेनर सडकमा गुड्न लागेकाले समस्या भइरहेको बताए । स्थानीय पालिका र व्यवसायीहरुले सरोकारवाला निकायहरुलाई सडक मार्ग स्तरोन्नतिका लागि पहल गर्नुपर्ने उनको आग्रह छ ।

    त्यस्तै, तातोपानी सडकका कन्टेनर चालक पेम्बाछिरिङ तामाङले तातोपानी सडकमा ढुवानीको कन्टेनर चलाउन असहज रहेको बताए । उनले सडक सानो र साँघुरो भएकाले दुई तर्फबाट कन्टेनर आउँदा साइट दिने ठाउँ समेत नहुने अवस्था रहेको बताए ।तातोपानी नाका पूणर्रुपमा सञ्चालनमा आउँदा सडकमा सवारी साधनको चाप बढ्ने तर सडकको अवस्था नसुधारिने भएर समस्या बढेको हो । कोदारी लोकमार्गको विभिन्न खण्डमा वर्षा याममा बाढी र भेलले सडक वर्षैपिच्छे क्षतिग्रस्त हुने गरेको छ । तातोपानी नाका जोड्ने बाह्रबिसेदेखि नाकासम्मको सडकखण्ड व्यवस्थित बनाउन सरकारले दीर्घकालीन योजना बनाई सडकको समस्या समाधान गर्न आवश्यक देखिन्छ ।

  • अव्यवस्थित बसोबासको समस्या हल नहुँदा सम्पन्न भएन वागमती करिडोर

    अव्यवस्थित बसोबासको समस्या हल नहुँदा सम्पन्न भएन वागमती करिडोर

    काठमाडौं।निर्माण सुरु भएको साढे दुई दशक बित्दासमेत अव्यवस्थित बसोबासका कारण वाग्मती करिडोरको निर्माण सकिएको छैन । सहरको मध्यभागमा समस्या नभएका ठाउँमा ट्र्याक खोलिइसकिएको भए पनि तिलगङ्गा, थापाथली, बल्खुलगायतका क्षेत्रमा अव्यवस्थित बस्तीले गर्दा ट्र्याक खुल्न बाँकी रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी कमल अर्यालले बताए । बानेश्वर क्याम्पस क्षेत्रमा एकातिर मात्रै खुलेको छ भने अर्कातर्फ खुल्न सकेको छैन । तिलगङ्गाबाट अगाडि देब्रे सडक मात्रै खुलेको छ । उनले भने, “तीनकुने पुलबाट दायाँतर्फ सिनामङ्गल पुल नजिकै दुई किमी सडक खुल्न सकेको छैन ।”

    अव्यवस्थित बसोबासीका विषयमा राष्ट्रिय मुद्दा बनेको र यसको समाधान भएपछि मात्रै ती स्थानमा सडक निर्माण गर्न सकिने उनले बताए । तिलगङ्गादेखि सिनामङ्गलसम्म पाँच-छ सय र थापाथलीमा दुई सय ४३ घरधुरीको बसोबास करिडोर सडक निर्माण गर्ने स्थानमा रहेको छ । राष्ट्रिय भूमि आयोगले पहिले त्यस समस्याको समाधान गरेपछि मात्रै करिडोर निर्माण अघि बढ्नसक्ने सूचना अधिकारी अर्यालले बताए । आयोग र सम्बन्धित स्थानीय तहको भूमिका बढी रहेको उनको भनाई छ । उनले भने, “वास्तविक सुकुम्बासी को हुन् को होइनन् भन्ने भएपछि थप काम गर्न सकिनेछ ।”

    तीनकुनेबाट बुद्धनगर हुँदै थापाथलीसम्मका खण्डमा सडक बनिसकेको छ । शङ्खमूलमा च्यासल मैदानबाट मनोहरातर्फबाट आउँदाका खण्डमा ट्र्याक खुल्न बाँकी रहेको अर्यालले बताए । शङ्खपार्क क्षेत्रमा काठमाडौँतर्फ ट्र्याक खुलेको छ भने ललितपुरतर्फ खुलेको छैन । शङ्खमूलबाट ललितपुरतर्फ निरन्तर जाँदा चक्रपथ बल्खु हुँदै सुन्दरीघाटसम्म सडक पुग्छ । सुन्दरीघाटबाट पनि अस्थायी बाटो चोभारको मोर्डन इन्डियन स्कुलको अगाडिसम्म पुगेको उहाँले जानकारी दिए । उनले भने “थापाथलीमा अस्थायी बसोबासीको घर धेरै हुँदा समाधान नहुँदासम्म गर्न सकिँदैन ।”

    विष्णुमती दोभानबाट अघि बढ्दा फलफूल बजारतिर अघि ट्र्याक खुलेको र अबका दिनमा त्यसलाई स्तरोन्नति गरिने समितिको योजना छ । समितिको कार्यक्षेत्र बागद्वारबाट कटुवाल दहसम्म ४४ किमी हो । सुरु र अन्तिम खण्डमा निर्माण हुन बाँकी छ भने बीचका खण्डमा पनि समस्या नभएका खण्डमा मात्रै निर्माणको काम भएको छ ।

    करिडोर निर्माणको काम अव्यवस्थित बस्ती भएको ठाउँमा नै बढी बाँकी रहेको समितिले जनाएको छ । अरु कतिपय ठाउँमा अरु संरचनाका कारण पनि करिडोर निर्माण अघि बढ्न नसकेको पाइएको छ । कतै विद्यालय, क्याम्पस र वृद्धाश्रमलगायतका संरचना रहेकाले निर्माण हुन नसकेको उनले बताए । उनले भने “अहिले त्यो सारेर काम अघि बढिरहेको छ ।”
    काठमाडौँका मुख्य सडकमा रहेको सवारी चाप कम गर्नेसँगै बाग्मती र त्यसको सहायक नदीको संरक्षण गर्ने उद्देश्यले सडक निर्माण र नदी संरक्षणको काम सुरु गरिएको थियो । समिति एक्लैले नसक्ने हुँदा अहिले आएका समस्या समाधानमा सरोकार राख्ने सबै निकाय मिलेर गर्नुपर्ने सूचना अधिकारी अर्यालले बताए ।

  • मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ ।

    मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ ।

    मेक्सिकोको तेहुआकान शहरमा ६९ वर्षीय मार्को ओरेलियो रामिरेजको मङ्गलबार आफ्नो घरबाट निस्कँदै गर्दा हत्या भएको हो । उनले लामो समय विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए । अभियोजकको कार्यालयले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ । रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) को मेक्सिकन शाखाले सरकारी कर्मचारीको रूपमा काम गर्ने रामिरेजले संदिग्ध अपराधीहरूलाई पक्राउ गर्न योगदान पुर्‍याएको बताए ।

    गैरसरकारी सञ्चार अधिकार समूहले ‘हत्या नगरपालिका अधिकारीको रूपमा उनको कामसँग सम्बन्धित थियो वा उनको पत्रकारिताको अभ्याससँग सम्बन्धित थियो छानबीन गर्न’ उभियुक्तलाई कानुनी कारबाहीको दायरामा तत्काल ल्याउन आग्रह गरेको छ ।

  • बारपाक-लाप्राक सडकखण्डको काम समयमै नसकिँदा स्थानीयलाई सास्ती

    बारपाक-लाप्राक सडकखण्डको काम समयमै नसकिँदा स्थानीयलाई सास्ती

    गोरखा- ठेक्का लागेको बारपाक-लाप्राक सडकखण्डको काम समयमै नसकिँदा स्थानीयले सास्ती व्यहोर्न बाध्य छन् । बारपाकदेखि गुप्सीपाखास्थित लाप्राक नयाँ बस्तीसम्मको १३.१४ किलोमिटर सडक स्तरोन्नतिका लागि २०७७ जेठ ९ मा ठेक्का लागेको थियो । गत जेठ २२ भित्र निर्माण सक्ने गरी ठेक्का लागेको सडकको हालसम्म ४८ प्रतिशत भौतिक र ४२ प्रतिशत वित्तीय प्रगति छ । समयमै ठेकेदारले काम सम्पन्न नगरेपछि आगामी जेठसम्म म्याद थप भएको छ । ठेक्का लागेको सडकमा स्तरोन्नतिले गति नलिएपछि वडा कार्यालय र स्थानीयले पटकपटक सरोकारवाला निकायलाई खबरदारी गरेका छन् ।

    सडक स्तरोन्नति नहुँदा आगामी बर्खाको बेला पनि आउजाउमा सकस थपिने धार्चे गाउँपालिका-४ का अध्यक्ष किसान गुरुङ बताउछन् । ठेकेदार कम्पनीलाई कामदार थप गरी निर्माणलाई गति दिन आग्रह गरिएको उनले बताए । सडक नबन्दा यात्रुवाहक बससमेत सञ्चालन हुन नसकेको उनको भनाइ छ । अहिले बारपाकबाट लाप्राकसम्म जिप, ट्र्याक्टर र ट्रक भने आउजाउ गरिरहेका छन् । सडककै कारण बर्खामा कुनै पनि सवारी सञ्चालन हुन नसक्दा स्थानीयले बर्सेनि सास्ती भोग्नुपरेको छ ।३४ करोड १५ लाखको लागतमा ग्राभेलसहितका सडक निर्माण गर्ने गरी शर्मा-विकाई जेभीले जिम्मा पाएको छ । हालसम्म चार किमि नाला, आठ हजार पाँच सय घनमिटर ग्याबिन भर्ने काम सम्पन्न भएको छ । सात सय मिटर ढलानको काम पनि सम्पन्न भएको छ ।

    सम्झौताको सुरुको चरणमा सडक निर्माणले गति लिएपनि पछिल्लो समय ठेकेदार कम्पनीको ढिलासुस्तीले कामले गति नलिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर दीपक बस्नेतको भनाइ छ । बारपाक-लाप्राक-गुम्दा हुँदै धार्चे गाउँपालिकाको केन्द्र माछाखोलासम्म सडकको ट्र्याक खुले पनि स्तरोन्नति नहुँदा स्थानीयले बर्सेनि सास्ती भोग्दै आएका छन् । बारपाकबाट माछाखोलासम्मको सडक बने स्थानीयलाई आउजाउसँगै दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज बन्नेछ ।

  • वनभोज खान गएका दुई युवतीको डुबेर मृत्यु

    वनभोज खान गएका दुई युवतीको डुबेर मृत्यु

    बाँके । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका-४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मङ्गलबार साँझ डुबेर मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका-२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका-१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो ।

    उनीहरु छ जनाको समूहमा वनभोज खान गएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

  • बालबच्चालाई किन धेरै रिस उठ्छ ?

    बालबच्चालाई किन धेरै रिस उठ्छ ?

    काठमाडौं । स-साना कुरामा बच्चाहरु रिसाइरहेको हामी देख्छौं । आफूले भनेको सानो कुरा पाएनन् भने पनि उनीहरु रिसाइहाल्छन् । बच्चाहरु सानो कुरामा रिसाउने मात्रै नभई सानै कुरामा खुसी पनि भइहाल्छन् । बालबच्चामा वयस्कको तुलनामा संवेग पनि सजिलै देखिन्छ । बच्चालाई आफ्नो भावना कसरी अभिव्यक्त गर्ने भनेर थाहा हुँदैन, जसकारण उनीहरुले आफ्नो कुरा राम्रोसँग बुझाउन सक्दैनन् । त्यसैले उनीहरु कि रिसाउँछन्, कि त रुन थाल्छन् ।

    बालबालिकामा संवेगहरूको विकास दुईदेखि ६ वर्षको उमेरमा हुन्छ । तर जसरी वयस्कहरूमा संवेगलाई नियन्त्रण गर्ने क्षमता हुन्छ, त्यो बच्चामा हुँदैन । त्यसैले बच्चाहरू छिटो रिसाउने झर्किने गर्छन् । साथै बच्चामा संवेगको समय पनि छिटो छिटो परिवर्तन हुने मनोविद् डा. नरेन्द्रसिंह ठगुन्ना बताउँछन् । किन धेरै रिसाउँछन् बच्चा ?बच्चाहरूमा केही प्रमुख संवेगहरूको विकास त झन् गर्भावस्थामा र जन्मिनासाथ हुने ठगुन्ना बताउँछन् । ‘दुईदेखि ६ वर्षको उमेरमा भने बालबालिकामा प्रायः सबै प्रकारका संवेगको विकास हुन्छ, त्यसैले त्यो उमेरमा बच्चाहरू बढी रिसाउने र बढी झर्किने गर्छन्,’ ठगुन्ना भन्छन् ।

    उनी अगाडि भन्छन्, ‘बच्चा गर्भावस्थामा हुँदा आमाबुबाको सम्बन्ध कस्तो छ, आमाको मनोदशा कस्तो छ र बच्चा गर्भमा हुँदा आमाले धुम्रपान, मद्यपानलगायत नशाजन्य वस्तुको प्रयोग गरेको छ कि छैन ? त्यही अनुसार बच्चाको विकास हुन्छ । बच्चाको व्यक्तित्व कस्तो हुने भन्ने कुरा त्यसले पनि निर्धारण गर्छ ।’ बच्चाहरू अभिभावकसँग कति नजिक छन् भन्ने कुराले पनि उनीहरूको संवेग कम वा बढी हुन्छ । यदि बच्चा अभिभावकसँग धेरै नजिक छैन भने आफ्नो कुरा खुलेर अभिभावकलाई भन्न सक्दैन भने बच्चाहरू सानो सानो कुरामा रिसाउने झर्किने गर्ने ठगुन्ना बताउँछन् ।

    ‘परिवारमा बच्चाको हुर्काइ कस्तो छ ? परिवारको वातावरण कस्तो छ, त्यसले पनि बच्चाको संवेगहरू परिवर्तन हुन्छन् । यदि परिवारका ठूला व्यक्ति बच्चाको अगाडि झर्किन्छन्, रिसाउँछन् भने बच्चाले पनि त्यो सिक्ने भए,’ उनी भन्छन् । बच्चाको भावनालाई अभिभावकले कति महत्व दिएका छन् भन्ने कुराले पनि फरक पार्छ । ठगुन्ना भन्छन्, ‘यदि बच्चा कुनै कुरामा रिसाएको छ भने अभिभावकले त्यो कुरामा झन् जिस्कायो वा उसलाई रिसाउनुको कारण के हो भनेर सोधिएन भने बच्चा झन् धेरै रिसाउने हुन्छ ।’ यदि घरमा दुई तिन जना बच्चाहरू छन् । अभिभावकले एउटा बच्चालाई अलि बढी महत्त्व दियो र अर्कोलाई कम महत्त्व दियो भने पनि बच्चाहरू धेरै रिसाउने ठगुन्ना बताउँछन् । ‘अभिभावकले मलाई महत्त्व दिएका छैनन् मैले रिस देखाए भने मलाई महत्त्व दिन्छन् भन्ने हुन्छ ।’

    बच्चाको रिसलाई कसरी नियन्त्रण गर्ने ?
    दुईदेखि ६ वर्षका बालबालिका अन्य उमेर समूहका बालबालिका भन्दा बढी रिसाउँछन् भने त्यो त सामान्य हो । ‘तर जेनेटिक र बायोलोजिकल कारणले बच्चाहरू बढी रिसाउँछन् भने त्यसलाई परिवर्तन गर्न उनीहरूको व्यवहारलाई परिमार्जन गर्नुपर्छ । तिमीले गलत व्यवहार गर्‍यौ भने तिमीले एक हप्ता खेल्न जान पाउँदैन भनियो भने उनीहरू खेल्नको लागि कम रिसाउने गर्छन्,’ ठगुन्ना भन्छन् । बच्चालाई सामाजिक संवेगात्मक सिकाइहरू सिकाउने, सामाजिक कार्यमा सहभागी गराउने, माया दिने, सकारात्मक कुरा सिकाउने र सकारात्मक कुरा गर्न लगाउने, नकारात्मक व्यवहारको प्रभाव कस्तो हुन्छ भन्ने कुरा पनि सिकाउनुपर्ने ठगुन्ना सुझाउँछन् ।

    बच्चाको सहयोगी बन्ने, उसलाई के कुरामा धेरै रिस उठ्छ किन उठ्छ भनेर सोध्ने र उनीहरूको कुरा सुनिदिने गरियो भने पनि बच्चाको रिस बिस्तारै कम हुँदै जान्छ । ठगुन्ना भन्छन्, ‘रिसाएको बेला उसलाई बोलायो चलायो भने अझै रिसाउन सक्छ । त्यसैले बच्चा अस्वाभिवक रूपमा धेरै रिसाउँछन् भने उनीहरू रिसाएको बेला उनीहरूलाई एक्लै छोड्दिने गर्दा आफैं शान्त हुन्छन् ।’

  • रुकुम पश्चिममा जिप दुर्घटना, ५ जनाको अवस्था चिन्ताजनक

    रुकुम पश्चिममा जिप दुर्घटना, ५ जनाको अवस्था चिन्ताजनक

    ११ जेठ, रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ८ दुलीमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । उनीहरूमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्सपेक्टर विष्णु श्रेष्ठले जानकारी दिए ।

    सानीभेरी गाउँपालिका-३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान करिब साढे आठ बजेतिर दुर्घटना भएको थियो । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । जिपमा १५ जना सवार थिए ।

    घाइतेहरुलाई उद्धारको काम जारी छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार गम्भीर घाइते भएकाहरुलाई हेलिकोप्टरबाट बाँकेको कोहलपुर लैजाने तयारी छ । ‘घाइतेहरुको उद्धारका लागि सुर्खेतबाट रुकुम पश्चिमका लागि हेलिकोप्टर उडिसकेको छ,’ प्रजिअ पन्तले भने । सामान्य घाइतेहरुलाई भने जिल्ला अस्पताल सल्लेमा लैजाने काम जारी छ । ‘घाइतेहरुको उद्धारका लागि सुर्खेतबाट रुकुम पश्चिमका लागि हेलिकोप्टर उडिसकेको छ,’ प्रजिअ पन्तले भने । सामान्य घाइतेहरुलाई भने जिल्ला अस्पताल सल्लेमा लैजाने काम जारी छ ।

  • नेपाल दुःखी देशहरुको सूचीमा ६३ औं स्थानमा

    नेपाल दुःखी देशहरुको सूचीमा ६३ औं स्थानमा

    काठमाडौं । नेपाल दुःखी देशहरूको सूचीमा ६३ औं स्थानमा परेको छ । सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणले यस्तो देखाएको हो । नेपाल ३७. १८ अंक पाएर दुःखी देशहरुको ६३ औं सूचीमा परेको छ ।

    सर्वेक्षणले दुःखको प्रमुख कारण बेरोजगारी देखाएको छ । यस्तै २०२२ मा शीर्ष १ ‘सबैभन्दा खुसी’ देशहरू स्विट्जरल्याण्ड, कुवेत, आयरल्याण्ड, जापान, मलेसिया, ताइवान, नाइजर, थाइल्याण्ड, टोगो र माल्टा परेको छ ।

    यसैगरी सबैभन्दा दुःखी देशमा जिम्वाम्वे ४१४.७ अंक पाएर पहिलो नम्बरमा रहेको छ । दुःखी देशमा पर्नुको कारण मुद्रास्फिति रहेको छ । उक्त सूचकांकमा १५७ वटा देशहरु समावेश गरिएको थियो । दुःख सूचकाङ्कको इन्डेक्स वर्षको अन्त्यको बेरोजगारीको योगफल, मुद्रास्फीति, र बैंक-ऋण दरहरू, प्रति व्यक्ति वास्तविक जीडीपीमा वार्षिक प्रतिशत हेरिएको थियो ।

  • आदिकवि व्यवस्थापन विद्यार्थी सर्कलको अध्यक्षमा निशा

    आदिकवि व्यवस्थापन विद्यार्थी सर्कलको अध्यक्षमा निशा

    दमौली  । तनहुँको व्यास नगरपालिका (१ स्थित विज्ञानचौर रहेका आदिकवि भानुभक्त क्याम्पसको व्यवस्थापन विद्यार्थी सर्कलको अध्यक्षमा निशा भण्डारी सर्वसम्मतरुपमा चयन भएकी छन् ।

    सर्कलको तेस्रो अधिवेशन तथा साधारण सभाबाट भण्डारीलाई अध्यक्षमा चयन गरिएको हो । भण्डारी यसअघिको समितिमा द्धितिय उपाध्यक्ष रहेकी थिइन् । संस्थाको प्रथम उपाध्यक्षमा अभिषेक चापागाई , द्धितिय उपाध्यक्षमा रोजिना श्रेष्ठ, सचिवमा प्रविन आले, कोषाध्यक्षमा कविना गैहे, सहसचिवमा पुजन दुलाल चयन भएका छन् ।

    बोर्ड सदस्यहरुमा नम्रता थपलिया, विकाश पुरी, सुस्मिता गिरी,सविना अधिकारी, सुस्मिता थापा, दुर्गा सुनार चयन भएका छन्।
    त्यस्तैगरि ११र१२ उपसमिति संयोजकमा चन्दन परियार चयन भएको छ। तीन जना वोर्ड सदस्य र उपसमिति सदस्यहरु भने आगामी बैठकले मनोनित गर्ने निर्वाचित अध्यक्ष भण्डारीले जानकारी दिइन् ।

    सर्कलका अध्यक्ष दिनेश विकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम स्वागत मन्तव्य प्रथम उपाध्यक्षमा मिलन तामाङले गरेका थिए । कार्यक्रम सञ्चालन र आयव्यय विवरण सर्कलका सचिव सुमन खड्काले प्रस्तुत गरेका थिए ।

  • सुईखेतमा डुवान रोक्ने प्रयास

    सुईखेतमा डुवान रोक्ने प्रयास

    कास्की- पर्यटकीय नगरी पोखराको सुईखेतमा वर्षर्नी हुँदै आएको डुवान रोक्ने उद्देश्यका साथ यस वर्ष कार्य अगाडि बढाइएको छ । जस अन्तर्गत गण्डकी प्रदेश सरकारको सहयोगमा सुईखेत खोला नियन्त्रणका लागि तट्बन्धन निर्माण गरिएको छ भने सिँचाइ डिभिजन कार्यालय कास्की तथा पोखरा महानगरपालिकाले स्थानीय चौरासी नहरको क्षतिग्रस्थ स्थानलाई पक्की बनाउने काम गरिरहेका छन् ।

    त्यस्तै सुईखेतको बीच भागबाट गएको ६ लिनको मध्यपहाडी लोकमार्गका विभिन्न स्थानबाट ढल तथा पानी निकासको काम समेत अन्तिम चरणमा पुगेको पोखरा २५ का जनप्रतिनिधी कृष्णबहादुर कुँवरले जानकारी दिए । डुवान न्यूनीकरणको प्रयास हुन थालेसँगै स्थानीयहरुमा केही खुशीको भाव समेत संचार हुन थालेको पाइन्छ ।त्यस क्षेत्रमा गत असार १० गते भएको डुवानका कारण केही पशुवस्तु मर्नुका साथै सयौं घरमा क्षतिसमेत पुगेको थियो ।

    विगतको तुलनामा यस वर्ष कम्तीमा ५० प्रतिशत डुवान कम गर्ने उद्देश्यका साथ त्यहाँ कार्य अगाडि बढाइएको हो । खेतीयोग्य मानिएकोे सुईखेत क्षेत्रमा पछिल्ला वर्षहरुमा बसाईसराई तथा शहरीकरणका कारण तीब्र गतिमा पक्की घरहरु निर्माण भएपनि त्यहाँ वर्षायामको पानीको उचित निकास भने हुन सकिरहेको छैन ॥