Category: समाचार

  • लक्ष्मी बैंक र सनराइज बैंक मर्जर हुँदै

    लक्ष्मी बैंक र सनराइज बैंक मर्जर हुँदै

    काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ ।सोमबार लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकको तर्फबाट सञ्चालक इ. बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
    ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ अनुपाल १ को स्वाप रेसियोमा मर्ज हुने जनाइएको छ । भने, मर्जरपछि संस्थाको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड हुने र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह मर्जरपछि पनि बैंकको प्रमुख कार्यकारी अधिकृत रहने समेत जनाइएको छ ।
    त्यसैगरी गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ । भने सम्झौतापत्र दुवै बैंकको साधारण सभामा पारित गरेपछि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृति प्राप्त गरेपछि दुवै बैंकले एकीकृत कारोबार सुरु गर्नेछन् ।

  • बजेट अभावमा पूरा हुन सकेन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र

    बजेट अभावमा पूरा हुन सकेन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र

    चितवन। चितवन उद्योग सङ्घले निर्माण गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बजेट अभावका कारण पूरा हुनसकेको छैन । विसं २०७३ असार ३१ गते जग्गा भाडामा लिई निर्माण सुरु गरिएको सो प्रदर्शनी केन्द्र बजेट अभावका कारण अहिलेसम्म पूरा हुन नसकेको हो । उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार दुई बिघा सात कठ्ठा क्षेत्रफलमा निर्माण गर्न लागिएको प्रदर्शनीस्थलमा अहिलेसम्म रु २७ करोड ७७ लाख ९१ हजार आठ सय ३९ खर्च भइसकेको छ । स्थल निर्माणका लागि रु ३७ करोड खर्च हुने अनुमान गरिएको उनले जानकारी दिए । उनले भने, “स्थल निर्माणका लागि हामीले विभिन्न मन्त्रालयमा ताकेता गरेको भए पनि बजेट नपाउँदा निर्माणको काम सम्पन्न हुनसकेको छैन ।”
    सङ्घीय सरकारको रु १५ करोड, चितवन उद्योग सङ्घका सदस्यहरूको रु छ करोड ३२ लाख ८८ हजार नौ सय ९२, नेपाल उद्योग परिसङ्घको रु तीन करोड र जिल्ला समन्वय समितिको रु एक लाख ९७ हजार तीन सय ४५ बजेटमा भवन निर्माण गरिएको हो । प्रदर्शनीस्थल निर्माणका लागि आवश्यक बजेट अपुग भएपछि पदाधिकारीहरूले व्यक्तिगत जवानी बसेर बैंकबाट ऋण निकालेर काम अघि बढाएका थिए । विगत एक वर्षअघि माछापुच्छ्रे बैंकबाट रु तीन करोड ऋण लिएर निर्माणको काम गरिएको उनले बताए । उनले भने “प्रदर्शनका लागि सङ्घका पदाधिकारी मिलेर व्यक्तिगत जिम्मेवारीमा ऋण लिएर काम गर्‍यौँ । तर अझै पूरा हुन सकेन ।”
    अहिले भौतिक संरचना तयार भए पनि आन्तरिक काम हुन नसकेको उनले जानकारी दिए । उनका अनुसार भित्री सजावट, अग्निनियन्त्रक उपकरण, बगैँचा, सचिवालय निर्माण, चमेनागृह निर्माणलगायतका काम अझै बाँकी रहेका छन् । अहिले पनि निर्माणका क्रममा रु ४३ लाखभन्दा बढी निर्माण व्यवसायीलाई ऋण तिर्न बाँकी रहेको उनले बताए । उनान्तीस वर्षलाई सरकारबाटै वार्षिक रु सात लाख भाडा तिर्ने गरी सङ्घले जग्गा लिएको हो । निर्माणकै चरणमा रहेको यस प्रदर्शनीस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय गरी १५ प्रदर्शनी भइसकेका छन् ।

  • पाल्पामा चैतेधान खेती गर्न छाड्दै किसान

    पाल्पामा चैतेधान खेती गर्न छाड्दै किसान

    रामपुर (पाल्पा) । चैतेधान खेतीले हरियाली हुने अधिकांश खेत अहिले मकैले भरिन थालेका छन् । राम्रै धान फल्ने खेत भए पनि बाउबाजेको पालादेखि लगाउँदै आएको चैतेधान अहिले भने पाल्पाका किसानले क्रमिकरूपमा लगाउन छाड्दै गएका छन् । गाउँमा बसेर खेती गर्ने जनशक्ति नहुनु, वर्षेधान लगाउने र चैतेधान स्याहार्ने समय एकैपटक पर्ने, खानामा त्यति स्वाद नहुने, कतिपय ठाउँमा सिँचाइको समस्यालगायतका विभिन्न कारणले खेती कम गरिन थालेको पाइएको छ । वर्षमा २५-३० मुरी चैतेधान स्याहार्दै आए पनि १० वर्षयता लगाउन छाडेको रामपुर नगरपालिका-२ सिम्ले बस्ने सीता जिसी बताउछीन् । चैतेधानलाई भन्दा वर्षे धानलाई महत्व दिँदा हिजोआज धान लगाउने जग्गामा मकैखेती गरिँदै आएको उनको भनाइ छ ।
    खेती गर्न झन्झट, स्याहार्ने बेला वर्षेधान लगाउने चटारो हुने भएकाले किसानले यसको खेती कम गर्दै गएका हुन् । वर्षेधानले मात्र खान नपुग्ने हँुदा अनिकाल छोप्नका लागि दुःखसुखले अहिलेसम्म चैतेधानलाई निरन्तरता दिँदै आएको बताउछन् , रामपुर-४ स्थित तल्लो वडमान कृषक समूहका सदस्य राधा पोखरेल उनी भन्छिन् , “खस्रो, दरो चामल हुने भएकाले खादा त्यति स्वाद मीठो हुँदैन, खेती झन्झट, स्याहार्ने बेला पानी पर्ने समस्याले भोको नरहनका लागि केहीले मात्र चैतेधान लगाउने गरिएको छ, वर्षेधानले खान पुग्नेले अहिले लगाउन छाड्दै गएका छन् ।”
    रामपुर-४ स्थित तल्लो वडमान क्षेत्रमा करिब तीन सय पाँच रोपनी जग्गामध्ये करिब दुई सय रोपनी क्षेत्रफलमा चैतेधान खेती गरिएको वडमान कृषक समूहका अध्यक्ष ओमबहादुर रानाले बताए । “सिँचाइ सुविधा भएपछि धानखेतीलाई निरन्तरता दिइरहेको छ, पहिला तल्लो वडमान क्षेत्रका सबै खेत धानले भरिन्थे भने अहिले खेती गर्ने झन्झटका कारण केही जग्गामा मकैखेती लगाउन थालिएको छ”, उनले भने ।
    “पछिल्लो समय गाउँमा बसेर काम गर्ने जनशक्ति नै छैन, युवा जनशक्ति विदेश पलायनका कारण खेती नै गर्न छाडिएको छ”, उनले भने “ज्ञान केन्द्रले चैतेधानको प्रवर्द्धनका लागि सिँचाइका कार्यक्रम ल्याएको छ, सिँचाइका कार्यक्रम चलेका स्थानमा खेती गरेको पाइएको छ, अन्यत्र धेरै ठाउँमा मकैबाली लगाउन थालिएको छ ।” पाल्पा जिल्लामा करिब सात सय पाँच हेक्टर क्षेत्रफलमा चैतेधान लगाइन्छ । ज्ञान केन्द्रले परम्परागत कृषि प्रणालीलाई परिवर्तन गरी पकेट क्षेत्रमा नवीनतम् प्रविधि तथा यन्त्रहरूको उपयोगबाट खेती लगाउने तथा धान काट्ने आधुनिक औजार सहयोग गरेको छ । यो धान चिउराका लागि अति नै राम्रो मानिन्छ ।
    जिल्लाका माडी, अर्गेली, कचल, पूर्वखोला, हुँगी, ढुङ्गानाबेँसीलगायतका फाँट चैतेधानले हराभरा हुने फाँट हुन् । अहिले यहाँका अधिकांश फाँटमा फाट्टफुट्ट मात्र धानखेती हुने गरेको छ । सिँचाइ सुविधा पुगेर पनि कतिपय ठाउँमा खेती लगाउन छाडिएको छ भने केही ठाउँमा अझै पनि आकाशे पानीकै भरमा चैतेधान लगाउनुपर्ने समस्याले धान लगाउन छाडेर मकैखेती गरेको पाइएको छ । प्रमुख खाद्यान्न बाली धानमा आत्मनिर्भर बनाउन चैते धानलाई पनि प्रवर्द्धन गर्न सकेमा आयातित खाद्यान्नलाई केही हदसम्म भए पनि रोक्न सकिने छ ।

  • सगरमाथा आरोही शेर्पालाई आइएफआरसीका महासचिव चपागाईँद्वारा बधाई

    सगरमाथा आरोही शेर्पालाई आइएफआरसीका महासचिव चपागाईँद्वारा बधाई

    काठमाडौँ । सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका-१ टैकुब निवासी मिङमार शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । यही जेठ २ गते उनले सगरमाथाको आरोहण गरेका नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । आरोही शेर्पाले आरोहणका क्रममा सगरमाथाको चुचुरोमा रेडक्रसको झण्डा फहराएका थिए । सगरमाथा आरोहण गर्न जाने क्रममा शेर्पालाई नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु शाखाले रेडक्रसको झण्डा हस्तारण गरेको थियो । सोहीअनुरुप उनले आरोहणपश्चात् रेडक्रसको झण्डा फहराएका जनाइएको छ ।
    यसैबीच रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईँले सगरमाथा आरोही मिङमार शेर्पालाई विशेष बधाई एवं धन्यवाद दिएका छन् । गत वैशाख २८ गते दोस्रो कार्यकालमा लागि चयन ुभएका महासचिव चापागाईँले सामाजिक सञ्जालमा भनेका छन् , “म अरोही शेर्पाले सगरमाथा चुम्न गरेको अथक प्रयास, मेहनत र उच्च साहसको ह्ृदयदेखि नै सरहना गर्दछु । यसक्रममा आरोही शेर्पाले रेडक्रसको झण्डा सगरमाथामा फहराएकामा विशेष बधाई एवं धन्यवाद दिन चाहन्छु । यसले मानवीय सेवामा अहोरात्र तल्लीन रेडक्रसका स्वयंसेवकलाई अझ ऊर्जा, उत्प्रेरण र आत्मविश्वास बढ्ने छ ।” मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र विश्वव्यापकताजस्ता रेडक्रसका आधारभूत सिद्धान्तलाई थप बलियो बनाउने उनले प्रतिबद्धतासमेत जनाएका छन् ।
    आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डलका प्रमुख अजमत उल्लालले सगरमाथा आरोही शेर्पालाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन् , “रेडक्रसकर्मी स्वयंसेवकले प्रदर्शन गर्ने सेवारुपी भावना, समर्पण, दया, सहयोग र समुदायप्रतिको उत्तरदायित्वलाई अझ सुदृढ बनाउनुपर्छ ।”

  • शुक्लागण्डकी : शिक्षक सरुवाको मुद्दा उच्च अदालतमा

    शुक्लागण्डकी : शिक्षक सरुवाको मुद्दा उच्च अदालतमा

    दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाको कार्यपालिकाले शिक्षक सरुवा गर्ने निर्णय गरेपछि सरुवा हुन नचाहेका शिक्षकहरुले उच्च अदालत पोखरामा बदरको माग सहित दायर मुद्दाको मंगलबार सुनुवाई हुने भएको छ । नगपालिकाले शैक्षिक गुणस्तरलाई थप प्रभावकारी बनाउन र सेवा क्षेत्र अपायक पर्ने शिक्षकहरुको माग अनुसार गत बैशाख १५ गते ५० शिक्षकको सरुवा गर्ने निर्णय गरेको थियो ।

    नगरपालिकाको निर्णय नमान्ने भन्दै सरुवा भएका मध्येका २० शिक्षकले मुद्दा दायर गरेपछि अदालतले कारण देखाउ आदेश दिएको छ । भोली मंगलबार नगरपालिकाका तर्फबाट सरुवा गर्नुको कारण देखाई अन्तरिम आदेश प्राप्त भए नगरपालिकाको निर्णय कार्यन्वयन हुन्छ भने अन्तरिम आदेश प्राप्त नभए मुद्दाको अन्तिम फैसला नआउदाँसम्म शिक्षक सरुवाको निर्णय यथावत रहन सक्ने नगरपालिकाले जनाएको छ ।
    सरुवा प्रक्रियामा असन्तुष्टी जनाउदै रिट दर्ता गराएका छब्दी माध्यमिक विद्यालयका प्रध्यानाध्यापक यज्ञराज सिग्देलले अदालतले निर्णयले शिक्षकहरुलाई न्याय दिने विश्वास ब्यक्त गरे । भोली हुने निर्णयपछि सरुवा पश्चात अलमलमा परेको शिक्षकहरुले न्याय पाउने छन् ।

    नगरको निर्णय पश्चात सरुवा भएको स्थानमा गई पठन पाठन गराएको शिक्षकहरु भने यस अघिका सरुवा प्रक्रिया नगरको शिक्षा नियमावली नै भएकाले स्वीकार गरिएको बताएका छन् । शिक्षकहरुको राय सल्लाह सहित निर्माण भएको नियमावली ६ बर्षसम्म मान्य रहेपनि अहिले केही शिक्षकहरुले विवादित बनाएको नगर शिक्षा शाखा प्रमुख नवराज चापागाईले बताए । ‘जीवनकाल भरि एउटै विद्यालयमा बस्न खोज्नेहरुले विवाद सिर्जना गरेका छन्’ उनले भने, ‘अर्काे विद्यालयमा गएर अध्यापन गराउदाँ कुनै फरक पर्दैन, सवैलाई पायक समेत पारिएको छ ।’

  • शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

    शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गरिने बताएका छन् । उनले जग्गाको सट्टामा जग्गा नै उपलब्ध गराउने र क्षतिपूर्ति दिलाउने आरक्ष पीडितलाई विश्वास समेत दिलाए ।
    प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्लाफाँटा आरक्षपीडितका समस्या, पुनः स्थापना र व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराउन पुगेको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले यस विषयमा सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिएका छन् ।
    प्रधानमन्त्री दाहालले चासोपूर्वक समस्या समाधानका लागि पहल गर्ने विश्वास दिलाएको भेटमा सहभागी सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र) का नेता ओमविक्रम भाटले जानकारी दिए । सो अवसरमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदलगायत कञ्चनपुरका विभिन्न पार्टी सम्बद्ध नेता तथा कार्यकर्ता र आरक्षपीडितको सहभागिता थियो । “प्रधानमन्त्रीले समस्या समाधानका लागि चासो लिनुएका छन् । आरक्ष प्रभावितको माग सम्बोधन हुने आशा छ”, प्रदेशसभा सदस्य भाटले भने ।

  • सुख्खा पहिरो झरेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

    सुख्खा पहिरो झरेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

    चितवन । नारायणगढ मुग्लिन सडक खण्डमा सुख्खा पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध बनेको छ । ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित तीन नम्बर पुलको माथिबाट सुख्खा पहिरो झर्दा बाटो अवरुद्ध भएको हो ।
    जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख राजकुमार तामाङ्गले सुख्खा पहिरोसँगै ठूलो ढुङ्गा खस्न लागेकोले बाटो दुईतर्फी नै बन्द गरिएको जानकारी दिनुभयो । “सुख्खा पहिरो पनि खसेको छ, माथि ठूलो ढुङ्गा अड्केकोले ढुङ्गा खसेपछि बाटो खुल्छ ।”, उहाँले भन्नुभयो ।
    हाल प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली खटी गई सडक विभागसँग समन्वय गरेर लोडरले पहिरो पन्छाउने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

  • मुगुको खाद्य डिपोमा चामल अभाव

    मुगुको खाद्य डिपोमा चामल अभाव

    खाद्य डिपोमा चामल अभाव मुगु । जिल्लास्थित सोरु गाउँपालिकाको सोरुकोट खाद्य डिपोमा चामल अभाव भएपछि उपभोक्ता मर्कामा परेका छन् । वार्षिक खाद्यान्न कोटा एक हजार पाँच सय मात्र भएकाले स्थानीयले अनुदानको चामल पाउन सकेका छैनन् । ‘गमगढीस्थित खाद्यव्यवस्था तथा व्यापार लिमिडेटबाट एक ट्र्याक्टर चामल सोरुकोट डिपोमा पुग्नेबित्तिकै स्थानीयले चामल लैजान्छन् । गोदाममा चामल जगेडा रहँदैन, गमगढीबाट आउनेबित्तिकै बिक्री भइहाल्छ’, डिपोका कार्यालय सहायक सिंह रोकायाले भने ।
    दिनमा ५० देखि एक सय क्विन्टल बिक्री हुँदा गमगढीबाट ढुवानी भएको चामल उपभोक्तालाई पुर्‍याउँनै धौधौ हुने गरेको उनको भनाइ छ । ‘डिपोमा दुई बोरा चामल लिन आएका स्थानीयले एक बोरासमेत नपाउने अवस्था छ’, रोकायाले भने । आर्थिक अवस्था कमजोर भएका परिवारका घरमा कार्तिके अन्नबाली चैत, वैशाखमा नै सकिने र गहुँ, जौलगायत बाली नपाक्दासम्म खाने अन्न नभएपछि खाद्यमा चामल किन्न धाउने गरेको उनले बताए ।
    सोरुकोट खाद्य डिपोमा वार्षिक कोटा नै कम भएको खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिडेटका प्रमुख पुष्कर भामले बताए । आउँदो आर्थिक वर्षदेखि कोटा वृद्धिको माग गरेको उनको भनाइ थियो । ‘अन्न अभावका कारण भिई, नार्थपु, जिमा, सिप, फोतु, नेरलगायत बस्तीका स्थानीय हिजोआज चामल लिन सोरुकोट डिपो पुग्छन्’ भामले भने । उनका अनुसार सोरुका केही बस्तीमा गत असोज १९ देखि २३ मा आएको बाढीपहिरोले अन्नबाली नष्ट गरेको थियो ।

  • पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु

    पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु

    पश्चिम मेदिनीपुर । पश्चिम बङ्गालको पश्चिम मेदिनीपुर जिल्लास्थित एउटा पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् । हालसम्म नौ जनाको शव भेटिएको तथा गम्भीर घाइते भएका दुई जनालाई कोलाकाता अस्ताल पठाइएको पूर्वी मेदिनीपुर प्रहरी कार्यालयका प्रमुख अमरान केले बताएका छन् ।
    पश्चिम बङ्गाल सरकारको निर्देशनमा अपराध अनुसन्धान विभागले घटनाबारे अनुसन्धान थालेको छ । राजधानी कोलकाताबाट अनुसन्धान टोली घटनास्थल पुगेको छ । सरकारी नीति- नियम विपरीत कारखाना सञ्चालन गरेको अभियोगमा कारखानाका मालिकलाई पक्राउ गर्ने प्रयास भइरहेको छ । यसअघि पनि निजविरुद्ध केही मुद्दा परेका थिए ।
    घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री ममता बनर्जीले मृतकका परिवारलाई जनही रु दुई लाख ५० हजार र घाइतेलाई रु एक लाख क्षतिपूर्तिस्वरुप प्रदान गरिने घोषणा गरेका छन् ।

  • सप्तरीमा युवकको बीभत्स हत्या

    सप्तरीमा युवकको बीभत्स हत्या

    जनकपुरधाम । सप्तरीमा एक युवकको बीभत्स हत्या गरिएको अवस्थामा शव खेतमा भेटिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुरस्थित खेतमा सोमबार बिहान युवकको शव भेटिएको हो । धारिलो हतियार प्रहार गरी अन्दाजी २५ वर्षीय युवकको हत्या गरेको स्थानीयले बताएका छन् ।
    मृतक युवक अर्धनग्न अवस्थामा छन् । उनको खुट्टामा डोरी बाँधेर घिसारेको देखिएको छ । स्थानीयले घटनाबारे जानकारी गराएपछि नेपाल प्रहरीको टोली पुगेर शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल राजविराज लगिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले हत्या भएका युवकको पहिचान खुल्न नसकेको जानकारी दिए । उनले घटना विषयमा थप अनुसन्धान गरिरहेको बताए ।