Category: समाज

  • कसरी गर्ने एन्जाइटी नियन्त्रण ? यस्ता छन् ८ उपाय

    कसरी गर्ने एन्जाइटी नियन्त्रण ? यस्ता छन् ८ उपाय

    हरेक व्यक्तिमा कुनै न कुनै तनाव त भइरहन्छ । तर तनाव लामो समयसम्म रहन्छ र दैनिकीमा नै असर गरिरहेको हुन्छ भने एन्जाइटीसमेत गराउन सक्छ । एन्जाइटी हुँदा व्यक्तिमा अनायास भय पैदा हुनु, मुटुको धड्कन बढ्नु, पसिना आउनु, हातखुट्टा काम्नु, छटपटी हुनु, टाउको दुख्नु, ग्यास्ट्रिक हुनु, आत्मविश्वास हराउनु र कमजोर अनुभव हुनुजस्ता लक्षण देखिन्छ । यसले बिस्तारै अन्य रोगतर्फ धकेल्न सक्छ । त्यसैले यसलाई बढ्न नदिन तनावको व्यवस्थापन जरुरी हुन्छ ।

    १. आफूलाई समय दिने

    सबैभन्दा पहिला आफ्नो हेरचाहमा ध्यान दिनु जरुरी छ । आफूलाई खुसी बनाउनतर्फ लाग्नुपर्छ । अनेक कुराले मनमस्तिष्कमा उथलपुथल गराइरहेका हुन्छन् । यसबाट हुने असर कम गर्न आफ्नो लागि समय निकाल्न आवश्यक छ । त्यसैले घुमफिर गर्ने योजना बनाउने, नयाँ-नयाँ कुरामा चासो राख्ने, जसले दिमागलाई तनावतर्फ केन्द्रित हुन कम अग्रसर गर्छ । हरेक दिन कम्तिमा एक सकारात्मक गतिविधिमा ध्यान दिनु तनाव र एन्जाइटीबाट निकाल्न वा कम गर्न महत्वपूणर् भूमिका खेल्छ ।
    २. ध्यान, योगलाई समय दिने

    नियमित ध्यानले एन्जाइटी भएका मानिसहरूलाई मद्दत गर्न सक्छ । सेरोटोनिनजस्ता न्य’रोट्रान्समिटरहरूबाट ध्यान प्रभावित हुन्छ, किनभने मस्तिष्कको भाग ध्यानसँग सम्बन्धित छ। त्यसैले ध्यान तथा योगलाई दैनिक रुपमा दाँत माझ्नु वा मुख धुनुजस्तै तालिकामा समावेश गर्न सकिन्छ । यो तनाव व्यवस्थापनका लागि अत्यन्त उपयोगी छ । तर त्यसको लागि कसरी सास लिने ? कस्तो ध्यान गर्ने भन्ने विषयमा सही विधि योग प्रशिक्षकबाट सिक्न सकिन्छ ।
    ३. पानी पर्याप्त पिउने

    शरीरले राम्रोसँग काम गर्न पर्याप्त मात्रामा पानी चाहिन्छ । दिनको समयमा जहाँ जाँदा वा बस्दासँगै बोतल राख्ने गर्नुपर्छ । बोतल अगाडि भएपछि तिर्खा नलागे पनि पानी खाइरहन मन लाग्छ। पर्याप्त पानी पिउने बानी बसाल्न फोनमा ‘रिमाइन्डर’ पनि इन्स्टल गरेर सेट गर्न सकिन्छ ।
    ४. क्याफिन सेवन सीमित गर्न प्रयास गर्ने

    क्याफिनले थोरै मात्रामा ऊर्जा र सतर्कतामा सकारात्मक प्रभाव पार्छ । तर अधिक मात्रामा सेवन गर्दा चिन्ता निम्त्याउन सक्छ । फलस्वरूप चिडचिडापन, टाउको दुख्ने र निद्रामा समस्या निम्त्याउन सक्छ। तसर्थ आफ्नो दैनिक दिनचर्याबाट क्याफिन हटाएर तनावलाई नियन्त्रण गर्न सहयोग पुग्छ ।
    ५. पर्याप्त निन्द्रा

    निद्रामा समस्या चिन्ताको एक सामान्य लक्षण हो । वास्तवमा एन्जाइटी र तनावबाट गुज्रिरहेका व्यक्तिलाई सुत्न सामान्य व्यक्तिलाई भन्दा बढी समस्या हुन सक्छ । यदि सुत्न समस्या भइरहेको छ भने क्याफिन, अल्कोहल र निकोटिनबाट बच्न मद्दत गर्न सक्छ । यसको लागि राम्रो विकल्प भनेको सुत्ने समय तालिका बनाउनु हो । आठ घण्टा समय निद्राको लागि छुट्याउनुपर्छ । सुत्ने समयभन्दा एक घण्टाअघि सामाजिक सञ्जाल, समाचार बुलेटिन र स्क्रिनबाट टाढा रहनुपर्छ ।
    ६. आफ्नो शरीरको मांसपेशीमा ध्यान दिने

    मानसिक तनाव हुने बित्तिकै त्यसको प्रभाव शरीरमा पर्छ । तनाव हुँदा ध्यान दियो भने काँध, घाँटी, ढाडको मांशपेसी कसिलो भएको महसुस गर्न सक्नुहुन्छ । जतिसक्दो चाँडो मांसपेशीलाई आराम दिन सकेमा मस्तिष्कले सबै कुरा ठीक भएको सिग्नल पाउँछ । जसले तनावलाई कम गर्छ । यदि कुनै मांसपेशीलाई आराम गराउन सक्नहुन्न भने कमसेकम त्यसलाई तन्काउने व्यायाम गर्नु प्रभावकारी हुन सक्छ ।
    ७. अनुहारमा ध्यान दिने

    तनावमा रहने व्यक्तिको मुख कसिलोजस्तो हुन्छ । एन्जाइटीले अनुहारलाई नै फ्रिज गराउन सक्छ । त्यसकारण आफ्नो अनुहारको हाउभाउलाई बेलाबखतमा याद गरिरहनुपर्छ ।
    ८. चिकित्सकसँग परामर्श

    यदि तनाव व्यवस्थापनका अनेकौं प्रयासले पनि कुनै परिवर्तन आएको छैन जस्तो लागिरहेको छ भने पक्कै पनि मनोचिकित्सकसँग परामर्श लिन सकिन्छ ।
    (मनोचिकित्सक डा. कार्की पाटन अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

  • हरेक मान्छेभित्र एउटा ‘सुन्दर मान्छे’

    हरेक मान्छेभित्र एउटा ‘सुन्दर मान्छे’

    एउटा ढुंगालाई हेर्नुहोस् । तपाईंको आँखाले त्यसलाई फगत ढुंगा देख्छ । तर, एक कालिगढले त्यो ढुंगामा सुन्दर आकृति देख्छ । हुनपनि हरेक ढुंगामा सुन्दर आकृति हुन्छ ।  कालिगढले छिनो र हतौडाले जब उक्त ढुंगाको अनावश्यक भागहरु टुक्र्याउँदै हटाउँछन्, तब सुन्दर आकृति बाँकी रहन्छ ।

    ठिक यसैगरी एउटा खुला क्यानभासमा चित्ताकर्षक चित्र हुन्छ । कुनैपनि चित्रकारले नै खुला क्यानभासमा चित्र देख्न सक्छन् । जब उनले कुची र रंगहरुले क्यानभासमा पोत्न थाल्छन्, तब त्यहाँ आकर्षक चित्र तयार हुन्छ ।

    उखेलेर मिल्काइएको रुखको जीर्ण जरामा एउटा शिल्पकारले अद्भूत सौन्दर्य देख्छ । उनले त्यसमा रहेका अनावश्यक गाँठो र भागलाई ताछेर लोभलाग्दो हस्तकला तयार गर्छन् ।

    सृष्टिका सबै सुन्दर

    प्रकृतिका हरेक कुरा आफैमा सुन्दर छन् । आफैमा रहरलाग्दा छन् । तर, हामी त्यसलाई कुरुप, जीर्ण, फिका देखिरहेका हुन्छौ । यो ति बस्तुको दोष होइन, हाम्रो दृष्टिदोष हो । हाम्रो हेराई र बुझाईको दोष हो । यस्तो दोष हामीमा हुन्छ, जसले गर्दा अरु मान्छे हामीलाई गुणी, सुन्दर नलाग्न सक्छ ।

    एउटा पत्थर फगत पत्थर रहेनछ । त्यसका अनावश्यक भागहरुलाई हटाउने हो भने त्यसमा सुन्दर आकृति रहेछ । ठिक यसैगरी तपाईं आफ्नो सामुन्नेको मान्छेलाई हेर्नुहोस् । उनको कमी, कमजोरी, बाध्यता आदिलाई तपाईं हटाइदिनुहोस् । उनीसँगको रिस, राग, इष्र्या, दम्भ पनि हटाइदिनुहोस् । यी सबै हटाइसकेपछि ति व्यक्ति तपाईंलाई सुन्दर लाग्नेछ । मित्रवत लाग्नेछ । प्रेमिल लाग्नेछ ।

    मान्छेलाई ढाकछोप गर्ने विकार

    हरेक मान्छे आफैमा खराब र कुरुप हुँदैनन् । सबै मान्छेभित्र गुण हुन्छ, क्षमता हुन्छ, कौशल हुन्छ, स्नेह हुन्छ, मर्यादा हुन्छ, मैत्रिय भाव हुन्छ । तर, ति कुरालाई उनको खराब तत्वहरुले ढाकछोप गरेको हुन्छ । उनको रिस, दम्भ, लोभ जस्ता तत्वले ढाकछोप गरेको हुन्छ । कालिगढले छिनो र मार्तोल लिएर जसरी पत्थरका अनावश्यक भागहरु टुक्रयाउँदै जान्छ, त्यसैगरी हामीले ति व्यक्तिको खराब कुराहरु हटाउँदै जान्छौ, तब उनीभित्र एउटा सुन्दर मानव फेला पर्नेछ ।

    हामी किन अरुलाई खराब देख्छौ ? किन अरुलाई होच्याएर हामी खुसी हुन्छौ ? किन अरु कमजोर भएको हामीलाई रुचीकर लाग्छ ?

    किनभने हामीलाई पनि त्यस्तै कुरुप दोषहरुले ढाकछोप गरेको छ । त्यसैले आफु वरीपरी बाँचिरहेका कतिपय मान्छे हामीलाई वाहियत लाग्छ । खराब लाग्छ । बेकारको लाग्छ ।

    जबकी हरेक मान्छे आफैमा एक संभावना हो । हरेकसँग केही खुबी, गुण हुन्छ । मान्छेभित्र के छ ? उनको सौन्दर्य के हो ? हामीले बुझ्नुपर्छ ।

    हामी प्राय मान्छेको अवगुण खोतल्ने गर्छौ । मान्छेको कुरुप पाटो हेर्ने गर्छौ । मान्छेको कमी-कमजोरी औल्याउने गर्छौ । त्यही कारण हामी आफु अनुकुलका मान्छे अत्यान्तै थोरै मात्र फेला पारिरहेका हुन्छौ । आफुले खोजेजस्तो मान्छे भेटिरहेका हुँदैनौ । यसो हुनुमा हामीभित्रकै विकार, दोष बढी जिम्मेवार छ ।

    हामी कसैको सकारात्मक पाटो, खुवी, गुण आदिबारे त्यती रुची राख्दैनौ । उनीभित्र के कस्ता गुण, सीप, क्षमता छ भनेर हेर्दैनौं । यसको अर्थ हामीमा दृष्टिदोष छ । हाम्रो आँखामा समस्या छ । हाम्रो हेराईमा समस्या छ ।

    जब हामी आफै कमजोर ठाउँमा उभिन्छौं, तब अरुको शक्ति, क्षमता बुझ्न सक्दैनौ । तपाईं दुर्गन्धित हावामा बसिरहनुभएको छ भने तपाईंले देख्ने सबैतिर त्यस्तै दुर्गन्ध होला भन्ने अनुमान गर्नुहुन्छ । अर्थात हामी आफै गलत छौ, हामी आफै खराब छौ भने अरुलाई हामीले स्पष्ट, तटस्थ देख्न सक्दैनौ ।

    त्यसैले अरुलाई खराब भनेर औल्याउनुअघि हामी कहाँ उभिएका छौ ? भनेर एकपटक आफैलाई नियाल्नुपर्छ ।

    दोष होइन गुण हेरौं

    सबै मान्छे सग्लो, सफा, गुणै गुणले भरिपूर्ण हुन्छ भन्ने होइन । मान्छेमा अवगुण हुन्छ । मान्छेमा कमी कमजोरी हुन्छ । त्यसो भन्दैमा उनीहरु सम्पूर्ण रुपले खराब हुन् भन्न त्यती न्यायसंगत हुँदैन ।

    खासमा भन्ने हो भने हाम्रो हेराई नै खराब छ । हामी कसैलाई हेर्दा आफ्नो धारणा अनुसार हेर्ने गर्छौ । यस्तो धारणा हाम्रो वर्ग, जात, सम्प्रादय, भूगोल, धर्म, पार्टीबाट पनि निर्माण हुन्छ । मैले पार्टीको चस्मा लगाएर कुनै व्यक्तिलाई हेर्छु । धर्मको चस्मा लगाएर हेर्छु । जातिको चस्मा लगाएर हेर्छु । वर्गको चस्मा लगाएर हेर्छु । त्यही चस्माले हामीलाई झुटो देखाइदिन्छ । त्यही झुटलाई पत्याएर हामी आफु चाहि पक्षपाती जीवन विताउँछौ ।

    कुनैपनि मान्छे कस्तो छ भन्ने कुरा तपाईंले उनलाई कसरी, कहाँबाट हेर्नुभएको छ भन्ने कुराले पनि निर्धारण गर्छ । तपाईंले बर्गको आँखाले हेर्नुभयो कि, जातिको आँखाले हेर्नुभयो ? धर्मको आँखाले हेर्नुभयो कि क्षेत्रको आँखाले ?

    तपाईंले भ्रमको पर्दा हटाउनुहोस् । कुनैपनि मान्छेलाई चिन्न र हेर्नअघि दृष्टिदोष पखाल्नुहोस् । स्पष्ट हुनुहोस् । मान्छेका खराब कुराहरुलाई होइन, राम्रो पाटोलाई नियाल्नुहोस् । हरेक मान्छेभित्र एउटा सुन्दर मान्छे छन् ।

  • बसाइँसराइले रित्तिदै गाउँघरः झाडी भए आङ्गन र पिँढी

    बसाइँसराइले रित्तिदै गाउँघरः झाडी भए आङ्गन र पिँढी

    म्याग्दी । ढुङ्गाले छाएका घर । सल्लाका काठले बारेर चिटिक्कै पारिएका बार्दली ९कौसी० । फराकिला आङ्गन र कठवार लगाइएका पिँढी । घर नजिकै पानीको धारा, वरिपरी खेतबारी । उत्तरतर्फ आँखा लगाउँदा आखैँमा ठोक्किन आउँछन् की जस्ता देखिने हिमशृङ्खला ।

    चारैतिर हरियाली । अजिङ्गरको भीर छिचोलेर गाउँमै पुगेको सडक र आवतजावत गरिरहने मोटरगाडी । यो शब्दचित्र म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मिजा गाउँको हो । आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको मगरजातीको बाहुल्यता रहेको यो गाउँ पछिल्लो समय बसाइँसराइका कारण उजाडिँदै जान थालेको छ ।

    गुजुम्म परेको बस्तीमा रहेका एकसय बढी घरमध्ये दर्जन बढी घरका ढोकामा ताल्चा मारिएको छ । घरको धुरी भत्किएका छन् । आङ्गन र पिँढीमा झाडी मौलाएको छ । खेतबारीमा वनमारा फस्टाएको छ । दर्मिजा मात्रै होइन, म्याग्दीका अधिकांश ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधाका लागि ठूला सहर र जिल्ला बाहिर बसाइँसराइ गर्नेको सङ्ख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका छन् ।

    सङ्घीयताको मर्मअनुसार विकेन्द्रिकरणको नीति गाउँमा पुगेको छ । विकासका कारण विकट गाउँ सुगम बनेका छन् । पहरा फोरेर बनाइएका सडकहुँदै गाउँमा गाडी गुडेका छन् । सहरबजारका भन्दा पूर्वाधार सम्पन्न विद्यालय गाउँमा ठडिएका छन् । स्वास्थ्यचौकी गाउँमै छ । सञ्चारको सुविधा पुगेको छ । तर पनि गाउँमा बस्ने मानिस घट्दै गएका छन् ।

    विकास थपिँदै गए पनि शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको सङ्ख्या नरोकिएसँगै ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीर्ण भएका छन् भने जनसङ्ख्या वृद्धिदर ऋणात्मक हुने अवस्थामा पुगेको रघुगङ्गा गाउँपालिका–४ का वडासदस्यसमेत रहनुभएका दर्मिजाका अगुवा धनबहादुर गर्बुजाले बताउनुभयो ।

    विसं २०६८ मा एक घर परिवारभित्र ४।०९ जना रहेकोमा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना– २०७८ को प्रारम्भिक नतिजामा ३।६७ जना मात्र बस्ने गरेको देखिन्छ । ग्रामीण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको सङ्ख्या उकालो लागेको जनगणना कार्यालय म्याग्दीका पूर्वकार्यालय प्रमुख घनश्याम सापकोटाले जानकारी दिनुभयो । “बसाइँसराइको अवस्था चिन्ताजनक छ, गाउँका घर खाली भएको अवस्थामा सहरबजारबाटै विवरण सङ्कलन धेरै भएको छ”, उहाँले भन्नुभयो । उहाँले खाली भएका घरपरिवार वैदेशिक रोजगारी र सहरबजारमा धेरै रहेको बताउनुभयो ।

    पूर्वप्रमुख सापकोटाले भनेजस्तै जिल्लाका ६ वटै स्थानीय तहमा समेत विसं २०७८ को जनगणना अनुसार जनसङ्ख्या कमी रहेको देखिन्छ । जनगणना कार्यालय म्याग्दीले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार भारतसहित तेस्रो मुलुकमा म्याग्दीबाट कूल विदेशिनेको सङ्ख्या १० हजार ७१३ रहेको छ ।

    तीमध्ये ८ हजार ८४३ पुरुष र एक हजार ८७० महिला रहेको छ । ९५।८७ लैङ्गिक अनुपात, औसत परिवारको आकार ३।६७ र जनघनत्व ४७ रहेको छ । जिल्लाको कु्ल जनसङ्ख्याको घरपरिवारमा अनुपस्थित अर्थात विदेशमा अक्सर बसोबास गर्ने ०।४९ प्रतिशत रहेको छ ।

    वैदेशिक रोजगारीमा महिलाको तुलनामा पुरुषको सङ्ख्या अत्यधिक छ । पछिल्ला वर्षमा महिलासमेत तेस्रो राष्ट्रमा रोजगारीका लागि जाने प्रतिस्पर्धा भएकाले महिला र पुरुषको जनसङ्ख्याको अन्तर घट्दो रहेको छ ।

    श्रीमान् वैदेशिक रोजगारीमा गएपछि श्रीमती छोराछोरीलाई लिएर बजार झर्ने गरेकाले ग्रामीण बस्तीमा जनसङ्ख्या पातलिँदै गएको म्याग्दी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख कृष्णबहादुर थापाले बताउनुभयो । “पहिले धेरै चलहपहल हुने गाउँ अहिले सुनसान बन्दै गएका छन्, खेतीयोग्य जमिन बाँझो भएका छन् ।

    प्रत्येक घरमा कम्तीमा ६÷७ जना परिवारका सदस्य हुने घरमा अहिले पूरा खाली खाली देखिन्छन् भने कतै वृद्धबुबा–आमा मात्र भेटिन्छन्”, उहाँले भन्नुभयो, “घर संरक्षणको अभावमा खाली हुँदा खेतबारी बाँझोमा परिणत भएका छन् ।”

    सङ्घीय व्यवस्था लागू भएपछि गाउँघरमै सरकारी सुविधासहित शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताले ग्रामीण बसाइँमा आर्कषित गर्ने नसकेको अवस्थामा नयाँ जनसङ्ख्याको अवस्थालाई डेमोग्राफिक विश्लेषणको आवश्यकता देखिएको पूर्वक्याम्पस प्रमुख थापाको भनाइ छ ।

    बसाइँसराइको कारण ग्रामीण क्षेत्रका विद्यालयमासमेत विद्यार्थीको सङ्ख्या कम छ । गाउँमा उत्पादन भएका वस्तु सहरमा बिक्री हुने गरेको खाद्यान्न र कृषिजन्य वस्तुसमेत बजारबाट आयात गर्नुपर्ने अवस्था छ । “यूवा विदेशमा छन, अशक्त वृद्धवृद्धाको सेवा गर्नेकोसमेत कमी छ”, बेनी नगरपालिका–२ ज्यामरुककोटका वडाअध्यक्ष हीराबहादुर थापाले भन्नुभयो ।

    उहाँले गाउँमै रोजगारीका लागि स्थानीय तहबाट विभिन्न योजना सञ्चालन गरेपनि आम्दानीको हिसाबले सन्तुष्ट हुने अवस्था नभएकाले सहर बजार र विदेश जाने गरेको बताउनुभयो । बसाइँसराइका कारण गाउँबस्ती पातलिँदै जान थालेपछि विरानो बन्दै गएकोसमेत जनप्रतिनिधिको भनाइ छ ।

    विसं २०६८ को जनगणना अनुसार एक लाख १३ हजार ६४१ जना जनसङ्ख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतिजा अनुसार एक लाख सात हजार ३७२ जना रहेको छ ।

    हराउँदै गयो गाउँलेपन

    एक दशक अघिसम्म म्याग्दीका गाउँघरमा वरपर, तल–माथि बस्ती बाक्लो थियो । सबै घर–घरमा मानिस टन्न हुन्थे, निकै रमाइलो थियो । चाडपर्वमा छुट्टै रौनक र उल्लासमय वातावरण हुने गर्दथ्यो । साथीभाइको ठूलो जमघट हुने गथ्र्यो ।

    दसैँको सराय नाच हेर्न होस् वा तीजको मेला हेर्न, तिहारमा देउसी भइली खेल्न वा भजनकीर्तन कुनै पनि मेला महोत्सवमा धेरै मानिसको उपस्थिति हुने गर्दथ्यो । कुनै पनि चाडपर्व आउँदा भने मनमा छुट्टै किसिमको आनन्दको अनुभूति हुन्थ्यो ।

    कुनै यस्तो चाडपर्व थिएन, जहाँ हर्ष उमङ्ग नहोस् । गाउँमा मेलापात गर्दा होस् या गाईबाख्रा चराउन वन जङ्गलमा जाँदा तिजु, काफल टिपेर खाँदाका पल कति रमाइला थिए । वर्षायाममा होस् या हिउँदमा जुनसुकै समयमा पनि गाउँघरमा छुट्टै उल्लास हुने गर्दथ्यो । तर,आजभोलि ती सबै कुरा इतिहास बनेका छन् ।–रासस

  • विश्वकर्मा समाज शुक्लागण्डकी गठन हुने

    विश्वकर्मा समाज शुक्लागण्डकी गठन हुने

    दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकामा रहेका विश्वकर्मा समुदाय संगठित हुने भएका छन् । नगर क्षेत्र भित्र रहेका यो समुदाय आफुहरुको आर्थिक, सामाजिक, राजनितीक लगायतका क्षेत्रमा पहुँच स्थापना गर्न संगठित हुन लागेका हुन् ।

    नगर क्षेत्र भित्र रहेको विश्वकर्माहरुको प्रारम्भिक भेलाले भरत लामगातेको नेतृत्वमा १३ सदस्यीय तदर्थ समिती गठन गरेको छ भने निवर्तमान उपमेयर सविता सराईलीको नेतृत्वमा पाँच सदस्य विधान तथा मस्यौदा लेखन समित गठन गरिएको छ । समितीको सदस्यहरुमा दुर्गा बराईली, पोषबहादुर विश्वकर्मा, मिनबहादुर सुनार, ज्योति वि .क, मिनबहादुर सुर्वाणकार, खिम बहादुर बि.क, गणेश लामगादे, डिलबहादुर रामदाम, नरबहादुर बि.क, रविलाल विश्वकर्मा, मनोज सुनार र पुर्णबहादुर सुनार रहेका छन् ।

    यस्तै विधान तथा मस्यौदा लेखन समितिको सदस्यमा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर बि.क(राजु), प्रकाश बि.क, पहल सिंह बि.क र पत्रकार अशोक विश्वकर्मा रहेका छन् । तदर्थ समितिका संयोजक लामगादेले नगर स्तरीय कार्यक्रम, छलफल र निर्णय गर्न सहज हुने तथा सामुदायिक एकता भए मात्र विभिन्न कारण हेपिननपर्ने हुदाँ संगठन निर्माण गर्न लागेको जानकारी दिए । उक्त कार्यक्रममा पुर्व उपप्रमुख रसाईलीले सामुहिक आवाज बुलन्द पार्नु आजका आवश्यकता रहेकोमा जोड दिईन् ।

  • गौ संरक्षणका लागि घाँस रोपिने

    गौ संरक्षणका लागि घाँस रोपिने

    दुलेगौँडा । राष्ट्रिय जनावर गाईको संरक्षण गर्न ‘सुशासन र समृद्ध शुक्लागण्डकीका लागि युवा अभियान’ समुहले घाँस रोप्ने भएको छ ।

    शुक्लागण्डकी नगरपालिकास्थित घारी मरेतारामा रहेको गौ संरक्षण केन्द्रमा रहेका सयौँ गाईले घाँस खान नपाएको समस्यालाई निराकरण गर्न समुहले घाँस लगाउने भएको हो । शनिबार उक्त बृहत वृक्षरोपण कार्यक्रममा घाँसका विरुवा र आवश्यक औजार सहित उपस्थित हुन आग्रह गरिएको सदस्य विवेक वाग्लेले जानकारी दिए ।

    समुहले राष्ट्रिय जनावर गाईको उचित संरक्षण हुन नसकेको समेत निष्कर्ष निकालेको छ । नगरको सुशासन कायम गर्न यो समुहले सामाजिक सञ्जाल मार्फत नै जनदवाव सिर्जना गराउने कार्यको सुरुवात गर्दै आएको छ । यो समुहले नगरपालिकामा हुने बेतिथीलाई बाहिर ल्याउन सहयोग गरेको छ । समुहको संयोजकमा गाछेपानीका शंकर पन्त रहेका छन् ।

    May be an image of text

  • अधिकार माग्न गाउँपालिकाको दैलोमा अपाङ्ग व्यक्तिको धर्ना

    अधिकार माग्न गाउँपालिकाको दैलोमा अपाङ्ग व्यक्तिको धर्ना

    अशोक विश्वकर्मा/म्याग्दे । अपाङ्गता भएकाहरुको पक्षमा कार्यविधी बनाउन गरेको सहमति गाउँपालिकाले तोडेको भन्दै तनहुँको म्याग्दे गाउँपालिकाको दैलोमा स्थानीय दिपक भण्डारीले धर्ना सुरु गरेका छन् । पूर्णरुपमा अपाङ्गता भएका भण्डारीले कार्यविधी बनाउन आनाकानी गरि आफुहरु जस्ता व्यक्तिको अधिकार हनन गरेको भन्दै दोस्रो पटक धर्ना सुरु गरेका हुन् । यस अघिसमेत आफुहरुको माग सम्वोधन नगरेको भन्दै गत भदौ ८ गते उनी गाउँपालिकामा धर्ना बसेका थिए । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले कार्यविधी निर्माण गरि अपाङ्गता भएकाहरुको अधिकार स्थापित गर्ने सहमति गरेका थिए ।

    सवारी दुर्घटनामा परि १३ बर्षअिघि पूर्णरुपमा असक्त रहेका भण्डारीले राज्यले निर्माण गरेको नियमावलीको कार्यन्वयनको माग सहित अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धी ऐन २०७४ अनुसार निर्माण भएको अपाङ्गता भएको व्यक्तिको अधिकार सम्वन्धि नियमावली २०७७ अनुसार सेवा सुविधा र अवसर माग गरेका छन् । पूर्ण असक्त भएका कारण हेरचाह गर्ने व्यक्तिको माग गरेका उनले उक्त सुविधा राज्यले दिनुपर्ने नियमावलीमा उल्लेख भएको जानकारी दिए । राज्यको सुविधा दिन समेत स्थानीय सरकारले पहल नगरेको भन्दै उनी असन्तुष्ट छन् । आम्दानीको स्रोत समेत नभएपछि जीवन रक्षाका लागि सरकारको सहायता खोजेको उनी बताउँछन् । ‘यस्तो अवस्थामा सरकार अभिभावक बन्नुपर्ने हो ।’

    गाँपालिकाका सुचना अधिकार विष्णुप्रसाद खनालले भण्डारीको माग प्रति आफुहरु सकरात्मक रहेको बताए । अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत विदामा रहेकाले तत्काल निर्णय गर्ने अवस्था नभएको जानकारी दिदै कार्यविधि निर्माणमा गाउँपालिका तयार रहेको बताए । ‘सरकारले निर्माण गरेको निमावलीमा यस्ता ब्यक्तिहरुको अधिकार स्थापनाका लागि स्पष्ट उल्लेख नगरेकाले अलमल भएको छ ।’ उनले भने ‘उहाँको अनिश्चितकालिन धर्नालाई सम्बोधन गर्ने तयारी छ तर निर्णय भईसकेको छैन ।’

     

  • शुक्लागण्डकीमा गुरुङ्ग र मगर समुदायको एकता

    शुक्लागण्डकीमा गुरुङ्ग र मगर समुदायको एकता

    दुलेगौडा । शुक्लागण्डकी नगरपालिका गुरुङ र मगर समुदाय एक भएका छन् । बुधबार युवा नेता समेत रहेको मनराज गुरुङ्गको अध्यक्षतामा गुरुङ्ग मगर सांस्कृतिक एकता समाजको पुनर्गठन गरिएको हो । तीन दशक अघि स्थापना गरिएको यो सस्था केही समय निस्क्रिय रहेको थियो ।
    दुलेगौडामा सम्पन्न एकता समाजको छैठौ अधिवेशनबाट गुरुङको अध्यक्षतामा कार्यसमिति गठन गरिएको हो । उपाध्यक्षमा चन्द्र थापा मगर, सचिवमा अमर राज थापा, सहसचिवमा डिल बहादुर गुरुङ, कोषाध्यक्षमा रुपा गुरुङ र सदस्यहरुमा यामबहादुर आले, पदमबहादुर आले, भेषबहादुर गुरुङ, नारायण गुरुङ, यामबहादुर आले, कृष्णकुमारी थापा, गोमाया थापा, मेखबहादुर गुरुङ, टुकबहादुर गुरुङ र पूर्णबहादुर आले चयन भएका छन् ।
    समाजले दुबै समुदायलाई एकताबद्ध बनाउदै आर्थिक, सामाजिक र राजनैतिक रुपान्तरणमा सहजीकरण गर्ने उद्धेश्य लिएको नवनिर्वाचित अध्यक्ष गुरुङ्गले जानकारी दिए ।

  • भालुको आक्रमणबाट तनहुँमा एक जना घाइते

    भालुको आक्रमणबाट तनहुँमा एक जना घाइते

    तनहुँको व्यास नगरपालिकाका भालुको आक्रमणबाट एकजना घाइते भएका छन्। घाइते हुनेमा व्यास–८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन्।

    आज बिहान पाँच बजे घर नजिकैको मकै बारीमा मकै खान आएको भालु धपाउन जाँदा भालुले विकमाथि आक्रमण गरेको हो। आक्रमण लगत्तै भालु भागेको थियो । घाइते विकको स्थानीयवासीले तत्काल उद्धार गरी रिस्तीस्थित स्वास्थ्य चौकी लगिएको थियो।

    विकलाई थप उपचारका लागि दमौली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भालुले चिथोर्दा उनको दाहिने आँखाको माथिल्लो भागमा घाउ भएको छ।

  • लागुपदार्थ कारोबार गर्ने तीन जना पक्राउ

    लागुपदार्थ कारोबार गर्ने तीन जना पक्राउ

    दुलेगौंडा । पृथ्वीराज मार्ग हुदै लागुपदार्थ ओसार पसार गर्ने कारोबारीहरु तनहुँ प्रहरीको निशानामा पर्ने गरेका छन् । देशका विभिन्न स्थानबाट यो मार्ग हुदै लागुपदार्थ भित्र्याउने गिरोहलाई जिल्ला प्रवेशद्दार आँबुखैरेनीमा धमाधम पक्राउ गर्ने गरिएको छ ।
    सोमबार विहान अस्थायी प्रहरी पोष्टमा खएिका प्रहरीले २४ किलो अवैध गाँजा सहित दुई महिला र ५९८ एम्पुल लागुपदार्थ सहित एक पुरुषलाई पक्राउ गरेको छ ।
    रौतहटका २० बर्षीय अरुण पटेलले लुकाई छिपाई ल्याउदै गरेको १९८ एम्पुल डाईजेपाम, १९८ एम्पुल फेनारागम र १९८ एम्पुल नोरफिन तथा चितवन ईच्छामनकामना ५ की ५० बर्षीय पुनम गुरुङ र आँबुखैरेनी ४ आमबेसी डाडाँकी ४२ बर्षीय माया गुरुङको लगेज ब्याग र जेव्रा झोलाबाट गाँजा बरामद भएको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

  • वृद्धको सम्पती लुट्ने दुई युवा पक्राउ

    वृद्धको सम्पती लुट्ने दुई युवा पक्राउ

    दुलेगौँडा । बसोबास नभएको बन्द घरको ताला फोडेर तामा र चरेसका भाडा वर्तन चोर्ने तथा बृद्धलाई धम्काएर नगद लुटपाट गर्ने दुई युवालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।

    तनहुँको म्याग्दे गाउँपालिका २ रुमादीका ७५ बर्षीय शिवकुमार श्रेष्ठको घरको ताला फोडेर भाँडा चार्ने ब्यास ५ का समिर थापा र म्याग्दे १ का दुर्गाबहादुर विकले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    उनीहरुले म्याग्दे १ का ६९ बर्षीय बृद्धलाई समेत कुटपिट गरेर नगद ४६ हजार ६० रुपैया लुटेका थिए । चोर युवाहरुको कुटपिटमा समेत परेका वृद्ध लक्ष्मण तामाङलाई उनीहले धारिलो हतियार देखाएर मार्ने धम्की दिएका थिए । प्रहरी निरिक्षक राजकुमार विकका अनुसार चोर दुर्गाबहादुरको साथबाट लुटिएको भाडा वर्तन समेत बरामद गरिएको छ ।