Author: achyutbc@gmail.com

  • साथि मरेपछि प्रहरीलाई झुक्याएकाहरु पक्राउ

    दुलेगौँडा । तनहुँ प्रहरीले गत आईतबार म्याग्दे गाउँपालिका ६ अकलामा एक युवा घाँस काट्न रुखमा चढेका बेला करेन्ट लागेर मृत्यु भएको सुचना सवै सञ्चारमाध्यम र पत्रकारलाई पठाएको थियो । प्रहरीले पठाएको सुचना अनुसार जिल्लाभरका सञ्चार माध्यमले समाचार प्रकाशन गरेपनि यथार्थ कुरा भने बुधबार मात्र बाहिरीएको छ । उक्त घटनाका विषयमा प्रहरी सहित जिल्लाका पत्रकारहरु समेत झुक्किएको पाइएको छ । प्रहरीले घटना संकास्पद रहेको भन्दै अनुसन्धान गरेपछि मृत्यु भएका युवाको घाँस काट्ने क्रममा नभई अवैध रुपमा खोलामा माछा मार्ने क्रममा ज्यान गएको खुलेको हो ।

    स्थानीयको गलत जानकारी दिएकै कारण प्रहरी झुक्किएको र सोही अनुसारको विवरण बनाई सुचना प्रशारण भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी मोहनबहादुर खाँडले जानकारी दिए । ‘स्थानीयलाई विस्वास गरेर सोही अनुसार टिपोट भयो तर घटना अनुसन्धान गर्दै जादाँ बल्ल थाहा भयो ।’ खाँडले भने, ‘हामीले पुन सच्याएर घटनाको जानकारी पठएका छौँ ।’

    उक्त घटनामा संलग्न रहेका अन्य युवाहरु अहिले प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरिक्षक समेत रहेका खाँडले बताए । म्याग्दे गाउँपालिका ६ अकला स्थित म्याग्दे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा सोही स्थानका २१ बर्षीय विमल थापाको मृत्यु भएको थियो । घटनालाई लुकाउन विषयन्तर गरि रुखमा घाँस काट्ने क्रममा करेन्ट लागेर थापाको मृत्यु भएको बताइएको थियो ।

    अनुसन्धानबाट माछा मार्न गएका म्याग्दे ६ का प्रेम कुमार र सन्तोष थापा तथा शुक्लागण्डकी ५ घर भई पसले बस्ने शुसन रानाले घटनाको वास्तविकता लुकाई गल्ति ढाकछोप गर्न प्रयास गरेको पाइएको थियो । प्रहरीलाई उनीलाई पक्राउ गरि ज्यान सम्वन्धि कसुरमा मुद्धा चलाई थप अनुसन्धान गरिरहेको छ ।

  • बाटोमा हिंडिरहेकी महिलाको सुनको सिक्री लुटपाट गर्ने पक्राउ

    बाटोमा हिंडिरहेकी महिलाको सुनको सिक्री लुटपाट गर्ने पक्राउ

    काठमाडौं। सुनको सिक्री लुटपाट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका -१ देबिटार बस्ने ३० वर्षीय पोण्डे भन्ने विष्णु तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले मंगलबार काठमाडौं महानगरपालिका -३२ पेप्सीकोलास्थित गेटवे मन्टेस्वरी स्कुल अगाडि बाटोमा पैदल हिँड्दै गरेकी एक महिलाले घाँटीमा लगाएको ४ तोलाको सुनको सिक्री लुटपाट गरी भागेका थिए।

    मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनलाई काठमाडौं गोकणेश्वर नगरपालिका-५ जोरपाटीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बानेश्वर काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।

  • दरै समुदाएको आगो पुज्ने विशेष प्रचलन

    दरै समुदाएको आगो पुज्ने विशेष प्रचलन

    तनहुँ- ठूलो जमघटका साथ आगोको पूजा गरिन्छ भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ, तर तनहुँका दरै समुदायमा भने आगोको पूजा गर्ने अचम्मको संस्कृति कायम छ । व्यास नगरपालिका-५ चिन्तुटारका दरै समुदायले मङ्गलबार २२ गाउँका दरै समुदायलाई भेला गरेर आगोको धुमधाम पूजा गरेका छन् । “आगोको पूजा कसरी गरिन्छ भन्ने देखाउन पनि हामीले बृहत् भेला गरेका हौँ”, व्यास-५ चिन्तुटारका दरै अगुवा ६२ वर्षीय मीनबहादुरले भन्नुभयो, “यसरी भेला गरी पूजा गरेपछि भावी पुस्ताले पनि जातीय संस्कृति बुझ्छन् भन्ने हाम्रो सोचाइ हो ।”

    प्रत्येक वर्ष वैशाख पूणर्िमापछि पर्ने गङ्गा दशहराको दिन दरै समुदायले विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेको व्यास-५ चिन्तुटारका दरै पुजारी ६८ वर्षीय पदमबहादुरले जानकारी दिए ।उनका अनुसार यस दिन गिदरी प्रजातिको काठलाई मन्थन गरी आगो सल्काएर त्यो आगोलाई अक्षता, फूलपातीले पूजा गर्ने र दरै समुदायका सबैले आगोलाई घरमा लैजाने प्रचलन रहेको छ । आगो पूजा गरेपछि प्रसादको रुपमाचामलको पिठोबाट बनाइएको विशेष परिकार ‘डेगुवा’ खाने र नाचगान गरी मनोरञ्जन गर्ने चलन छ ।

    “पूजा गरिएको आगोलाई जाँड र डेगुवा चढाउनै पर्ने मान्यता छ”, पुजारी दरैले भन्नुभयो, “आगोको विधिपूर्वक पूजा नगरे घरमा चट्याङ र आगलागी हुन्छ भन्ने किंवदन्ती छ ।” आगोको पूजा गरी घरमा लैजाने चलन देख्दा अचम्म लागेको चिन्तुटार घर भई हाल व्यास-१ दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्नातक अध्ययनरत २३ वर्षीया सुनिता दरैले बताइन् । यसअघि आगोको बृहत् पूजा गरिएको जानकारी नपाएको उनले बताए ।

    “यसरी बृहत् भेला गरेर आगोको पूजा गरेको यसअघि थाहा पाएको थिइनँ”, सुनिताले भनिन् , “यसरी पूजा गर्दा हाम्रो संस्कृति पनि रोचक रहेछ भन्ने अनुभव भएको छ ।” निम्तो पाएपछि छ-सात जना भएर आफूहरू आगोको पूजा गर्न आएको व्यास-१० अत्रौली दरै समाजका अध्यक्ष हिराबहादुर दरैले बताए । यस्तो कार्यक्रमले आफूहरूलाई संस्कृति संरक्षण गर्नेबारे सचेत बनाउने उनको भनाइ थियो ।

    आगोको पूजा सम्पन्न गर्न आफूहरूले तनहुँको शेरा, दुम्सी, साँगे, पतेनी, बैरेनी, फराकचौर, सिमलटार, निर्वु, सिसाघाट, अत्रौली, साँखर, भादगाउँलगायत २२ स्थानका दरै समुदायलाई निम्तो दिएको दरै समाज सुधार समितिका अध्यक्ष शर्मिला दरैले बताइन् ।

    “युवा पुस्ताले संस्कृति बिर्सिंदै गएकाले पनि यसपटक सबै दरै बस्तीलाई निम्ता गरेका हौँ”, समिति अध्यक्ष दरैले भने, “यस्तो पूजाले संस्कृतिलाई संरक्षण गर्न सहयोग पुर्‍याउने ठानेका छौँ ।” आगोको पूजा कार्यक्रममा व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, दरै सुधार समाज तनहुँका अध्यक्ष ठाकुर दरैलगायतका सहभागी हुँदा संस्कृति संरक्षणमा टेवा पुगेको आफूले ठानेको अध्यक्ष दरैको भनाइ छ ।

    आगोको पूजा गरेपछि प्रसाद ग्रहण गर्दै नगर उपप्रमुख दरैले आगोको विधिवत् पूजा गर्ने दरै प्रकृतिप्रेमी रहेको तथ्य प्रमाणित भएको बताए । “नदीखोलाको किनारामा माछा मारेर जीविका चलाउँदै आएका दरैहरूको संस्कृति संरक्षण गर्न आवश्यक छ”, उपप्रमुख दरैले भनेे, “त्यसको लागि व्यास नगरपालिकाको कार्यालयबाट आवश्यक सहयोग गर्न प्रतिबद्ध छु ।”

    नदीमा माछा मारेर जीविका चलाउँदै आएका दरैको तनहुँ, गोरखा, चितवन, धादिङ र नवलपरासीमा बाहुल्य छ । विसं २०६८ अनुसार मुलुकमा दरैको जनसङ्ख्या १७ हजार आठ सय ७९ छ ।

  • कालोपत्र गरेर चिटिक्क परेको बलेवा विमानस्थलः तर जहाज चढ्न पाइने टुङ्गो छैन

    कालोपत्र गरेर चिटिक्क परेको बलेवा विमानस्थलः तर जहाज चढ्न पाइने टुङ्गो छैन

    बलेवा- बागलुङ बलेवा विमानस्थल कालोपत्र गरेर रङरोगनले चिटिक्क परेको एक वर्ष बढी भयो। धावनमार्ग कच्ची हुँदा निरन्तर सञ्चालन हुन नसकेको यो विमानस्थल कालेपत्र गरिसक्दा पनि विमान कहिले सञ्चालन हुन्छ भन्ने अत्तोपत्तो छैन। विसं २०२२ मा स्थानीयले श्रमदान गरी तयार गरेको विमानस्थल २०४८ सालसम्म सञ्चालनमा थियो। विसं २०४८ मा बागलुङ-पोखरा-राजमार्ग निर्माण भएर गाडी चल्न थालेपछि विमानस्थल बन्द भयो।

    २६ वर्षदेखि बन्द भएको विमानस्थल बागलुङ नगरपालिकाले २०७४ चैत ९ गतेदेखि पुनः सञ्चालनमा ल्यायो। त्यसबेला नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना नियमित उडान भरे। धावनमार्ग कच्ची हुँदा विमान उडाउन समस्या आएपछि उडान रोकिएको थियो। लामो समयदेखि बन्द रहेको बलेवा विमानस्थल सञ्चालनका लागि धावनमार्ग कालोपत्र गरेपछि स्थानीयमा नियमित विमान सञ्चालन हुने आश पलाएको थियो। तर अहिलेसम्म सञ्चालनका लागि कुनै पहल नहुँदा उनीहरु निराश छन्।

    विसं २०७८ चैतमा विमानस्थलको ७०० मिटर लम्बाइ र ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरिएको थियो। धावनमार्ग कालोपत्रसँगै पेन्टिङ र छेउछाउ तारबारसमेत गरिएको छ। धावनमार्ग नागरिक उड्डयन प्राधिकरणको ७ करोड लागतमा काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी बल्खुले कालोपत्र गरेको थियो। लामो समयसम्म पनि विमानस्थलमा जहाज नआउँदा प्रयोग नभइ जीणर् बन्ने जोखिम छ। राज्यले चासो नदिँदा करोडौँ रुपैयाँका पूर्वाधार प्रयोगविहीन बनेका स्थानीय कुमार पौडेलले बताए।

    पछिल्लो समय बलेवा क्षेत्रबाट बसाइँसराइ तीव्ररूपमा भइरहेकाले विमानस्थल सञ्चालनमा आए त्यो क्रम रोकिने पौडेलको भनाइ छ। उनी भन्छन्, ‘विमानस्थल सञ्चालन गर्नकै लागि राज्यले यति ठूलो रकम खर्चेको छ, तर जहाड उडानको कुनै टुङ्गो छैन।’ बलेवा बजारका रूपमा विकास भएको छ। पर्यटकीय हिसाबले उत्तिकै फड्को मार्दैछ, तर जहाज नचल्दा यहाँका स्रोतसाधान गुमानाम छन्, यस क्षेत्रका स्रोत र साधानको प्रयोग गरी आर्थिक उपार्जन, पर्यटन विकास र अन्य सुविधाका लागि विमानस्थल सञ्चालन गर्न जरुरी छ।

    बागलुङ नगरपालिका-१४ का अध्यक्ष चक्रबहादुर खत्रीले धवनमार्ग बनेको यतिका समयसम्म विमान सञ्चालन नहुनु दुःखद् भएको बताए। विमानस्थल सञ्चालनका लागि मन्त्री, सांसदहरूसँग पटक-पटक माग गरे पनि सुनुवाइ नभएको गुनासो गरे। यहाँदखि नियमित विमान सञ्चालनमा आए बलेवावासीको जीवनस्तर उकास्न महत्वपूणर् भूमिका बन्दै रोजगारका अवसर सिर्जना हुने र धार्मिक पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ।

    ‘पहिले यहाँका स्थानीयले खनेरै यति ठूलो विमानस्थल बनाए, उतिबेला अहिलेको जस्तो मेसिन आएका थिएनन्, तर पनि विमान चलेको थियो, अहिले मेसिन आए काम पनि भयो तर विमान आएन,’ अध्यक्ष खत्रीले भने। विमानस्थलबाट २०४८ सालसम्म काठमाडौं, पोखरा, भैरहवा र जोमसोमका लागि जहाजले उडान भर्ने गरेको थियो। बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का सातामा एकपटक भए पनि उडानको योजना रहेको बताउँछन्।

    कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारबाट १२ किलोमिटर सडक कच्ची छ। कालीगण्डकी करिडोर कालोपत्र हुन सकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने उनको भनाइ छ। विमानस्थल सञ्चालनमा आए बागलुङ, पर्वत र म्याग्दीका नागरिकलाई यातायातमा सहज पहुँच हुनुका साथै यहाँको पर्यटन र आर्थिक विकासमा महत्वपूणर् टेवा पुग्ने अपेक्षा गरिएको छ।

  • विश्व दूध दिवस मनाइँदै

    विश्व दूध दिवस मनाइँदै

    काठमाडौं- आज (बिहीबार) २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपंक्षी मत्स्य सहकारी संघलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा बिहीबार विभिन्न कार्यक्रम गर्दैछन्।

    विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले सन् २००१ जुन १ देखि विश्व दूध दिवस मनाउन थालिएको हो। आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ देखि विश्व दूध दिवस मनाउन थालेको हो।

    दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार-प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

  • प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आज भेटवार्ता हुँदै

    प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आज भेटवार्ता हुँदै

    काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच आज भेटघाट हुँदैछ । बिहान ११ः०५ बजेदेखि हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता तय भएको छ । त्यसअघि साढे १० बजे महात्मा गान्धीको समाधिस्थल राजघाट जाने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेलगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता हुनेछ ।

    त्यसक्रममा सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजनासमेत गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले आजै ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखड र ४ः३५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । साँझ सवा ६ बजे होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्नेछन् ।

  • दक्षिण अफ्रिकामा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने

    दक्षिण अफ्रिकामा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने

    काठमाडौं । विश्वकप छनोटको तयारिका लागि दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टीमले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने भएको छ । जिल्ला अदालतको सुनुवाइ निरन्तर सर्दै गएपछि सन्दीप लामिछानेलाई भने ‘लिगल टीम’ ले नपठाउने निणर्य गरेको छ । दक्षिण अफ्रिका भ्रमणबाट छुटेका लामिछानेले नेपाली राष्ट्रिय टीमलाई दुई दिनअघि शुभकामना दिँदै शुभयात्रा लेखेका थिए । उनले सामाजिक सञ्जालमार्फत आफू यो भ्रमणमा समावेश नभएको जनाउ दिएका थिए ।

    बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजानिक गरेको खेल तालिकाअनुसार नेपालले जुन ८ मा स्कटल्यान्ड र जुन १० मा नेदरल्यान्डसँग दोस्रो अभ्यास खेल खेल्नेछ । त्यसअघि, बुधबार दक्षिण अफ्रिका पुगेको नेपाली टीमले जुन १ देखि ७ सम्म त्यही अभ्यास गर्नेछ । दक्षिण अफ्रिकाको भ्रमण सकेर नेपालले जुन १८ देखि ९ जुलाईसम्म जिम्बाबेमा हुने विश्वकप छनोट खेल्न जानेछ । नेपालले विश्वकप छनोटअघि जिम्बावेमै दुई वार्म अप म्याच पनि खेल्नेछ ।

    पहिलो वार्म अप युनाइटेड अरब इमिरेट्स (यूएई) सँग जुन १३ मा र दोस्रो जुन १५ मा ओमानविरुद्ध खेल्नेछ । विश्वकप छनोटअघि नेपालले मात्रै टेस्ट राष्ट्रसँग वामअर्प म्याच खेल्न पाएन । आईसीसीले सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’ मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बावेविरुद्ध खेल्दै प्रतियोगिताको सुरूआत गर्नेछ । यस्तै, जुन २० मा नेपालले अमेरिका, जुन २२ मा वेस्ट इन्डिज र जुन २४ मा नेदरल्यान्ड्ससंग समूह चरणको अन्तिम खेल खेल्नेछ ।

    छनोटमा १० राष्ट्रले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् । छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाब्वे छन् । समूह ‘बी’मा आयरल्यान्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र यूएई छन् ।प्रत्येक समूहबाट शीर्ष तीन टीमले सुपर सिक्सम स्थान बनाउनेछ्न् र दुई टीमले विश्वकपमा स्थान बनाउनेछन् ।

  • प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

    प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

    १७ जेठ, काठमाडौं। चार दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली पुगेका छन्। उनलाई भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छिन् ।

    प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न विदेशराज्यमन्त्री लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरु र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका थिए ।

    प्रधानमन्त्री प्रचण्डको स्वागतमा विमानस्थल बाहिर सांस्कृतिक तथा झाँकी प्रदर्शन गरिएको राजदूत शंकर शर्माले ट्वीटरबाट औपचारिक रुपमा जानकारी दिएका छन् ।

  • अब वालिङमै शल्यक्रिया सेवा

    अब वालिङमै शल्यक्रिया सेवा

    स्याङ्जाको स्मार्ट सिटी वालिङमा शल्यक्रिया सेवा सुरू भएको छ। वालिङ नगरपालिकाको गह्रौ प्राथमिक अस्पताल वालिङमा मंगलबार देखि अत्यावश्यक प्रसुती शल्यक्रिया शुरु भएको हो। अस्पतालमा शल्यक्रिया मार्फत पहिलो पटक ३२ वर्षिय महिलाले दिनको ३ बजे स्वस्थ बच्चालाई जन्म दिएको अस्पतालले जनाएको छ । विशेषज्ञ चिकित्सक डा. नारायण बहादुर गोदार र डा. सुरज ढकालको संयुक्त टीमले वालिङ नगरपालिका वडा नं ६ निवासी एक गर्भवती महिलालाई आकस्मिक शल्यक्रिया सेवा प्रदान गरेको गह्रौ प्राथमिक अस्पतालका प्रमुख डाक्टर सुरज ढकालले जानकारी दिए।

    उनले अस्पतालमा प्रसुती सेवा सञ्चालनमा आएसँगै धेरै महिलालाइ सहज हुने र प्रसुतीको लागि पाल्पा पोखराका अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य भएको बताए। यो सेवालाइ अझ सुविधायुक्त बनाउँदै लाने योजना रहेको उनको भनाई छ।

    वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले पदभार ग्रहण गर्दाकै दिन वालिङ नगरपालिकामा महिलाहरुलाई परेको समस्या सामाधान गर्न गह्रौ प्राथमिक अस्पतालमा शल्यक्रिया सेवा सुरू गर्ने निणर्य गरेका थिए। शल्यक्रियाको लागि पनि पाल्पा र पोखरा धाउनुपर्ने बाध्यता रहेको कुरालाई मध्येनजर गर्दै गह्रौ प्राथमिक अस्पतालबाट सेवा दिने उद्घोष गरेका थिए। नगरप्रमुख कृष्ण खाँणले सेवा सञ्चालनमा आएपछि आफुले सुरुमा गरेको प्रतिबद्धता, योजना र आफ्नो एउटा सपना पुरा भएकोमा खुसी व्यक्त गरे। सबैको साथ, सहयोगले सेवा सुरू गर्न सम्भव भएको बताउँदै मेयर खाँणले सेवालाई थप प्रभावकारी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरे। जनताले अनुभुती गर्ने गरी पालिकाले काम गरिरहेको खाँणले बताए।

    गह्रौ प्राथमिक अस्पतालका प्रमुख डा. सुरज ढकालले मंगलबारदेखि प्रसुती शल्यक्रिया सँगै हाइड्रोसिल, हर्निया र एपेन्डिक्सको शल्यक्रिया सेवा पनि प्रवाह भएको जानकारी दिए।

  • मेलम्चीको पानी काठमाडौँ पठाइयो

    मेलम्चीको पानी काठमाडौँ पठाइयो

    सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो ।

    हेलम्बु गाउँपालिका-१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्‍याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौँ पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।