Author: achyutbc@gmail.com

  • लगातारको हावाहुरीका कारण निरास छन् महोत्तरीका किसान

    लगातारको हावाहुरीका कारण निरास छन् महोत्तरीका किसान

    महोत्तरी- लगातारको हावाहुरीले महोत्तरीका फलफूल र तरकारी किसान निरास भएका छन्। जेठ लागीकन प्रत्येक २/३ दिनको फरकमा चलेको हावाहुरीले बग्रेल्ती आँपका दाना झार्नसँगै लहरे तरकारीका बेला (लहरा) हुत्याएर चुँडाएपछि उत्पादन हात नलाग्ने भएपछि किसान निरास भएका हुन्। पछिल्लो पटक शुक्रबार गएरातिको हावाहुरीले बग्रेल्ती आँप झारेका छन्। यस्तै फर्सी, लौका, घिरौंला, झिगिँनी, काँक्रा र चिचिन्डासहितका तरकारी बालीका बेला (लहरा) हुत्याउँदै चुँडाएर नोक्सान गरेपछि किसानको पिरोलो बढेको हो।

    ‘हेर्नोस् न, जेठ लागीकन दिनहुँजसो हावाहुरीले झारेका आँप टिप्दै दिन जान्छ, मुखमै आएको बाली सखाप भएको छ,’ आज सखारै बग्रेल्ती झरेका आँप टिप्दै भंगाहा-४ रामनगरका ६० वर्षीय किसान शुभलाल ठाकुरले भने, ‘जेठ मध्यतिर यत्रो हाहाहुरी त्यति भोगिएको थिएन, खै के हुन लागेको हो!’ अब १५/१६ दिन दुःख काट्दा एउटा बाली हात लाग्छ भन्ने आस पनि मरेको ठाकुर बताउँछन्। तराईमा चाँडै पाक्ने जातको बम्बै आँप जेठ अन्तिममा तयार हुन्छ। तर २ साताअघिको हावाहुरीले आँप झारेपछि दुःख लागेको ठाकुरको भनाइ छ।

    महोत्तरीमा जेठमा प्रत्येक २/३ दिनमा हावाहुरी चल्दै आएको छ। बिहीबार साँझ र शुक्रबार रातिको हावाहुरीले झारेका आँप किसान कौडीका दाममा बेच्दैछन्। हुरीले झारेर फुटाएको आँप त मिल्काउनुबाहेक कुनै विकल्प नभएको ठाकुरकै छिमेकी किसान जब्बार शेष बताउँछन्। विगतमा चैत/वैशाख हावाहुरीको समय हुने र जेठ लागेपछि त्यति नलाग्ने भोग्दै आएका किसानलाई यसपाली जेठमा लगातार चलेको हावाहुरीले अत्याएको छ। ‘जेठको २ साता नबित्दै ५/६ पटक हावाहुरीले हामीलाई चिल्लीबिल्ली बनाएको छ,’ बर्दिबास-९ पशुपतिनगर टोकीटोलका किसान रामचन्द्र थापामगरले भने, ‘आँप झरे, तरकारीका लहरा चुँडिएर लत्रिएका छन्, भर्खर घोगा लाग्दै गरेका मकैका बोट लडाएर सोतर बनाएको छ।’ प्रकृति अनुकूल नहुँदा विपद् खेप्नुपरेको थापाको भनाइ छ।

    हावाहुरीसँगै मेघगर्जन सुनिए पनि पानी भने त्यति नपरेको किसान बताउँछन्। ‘हावाहुरीपछि पानी त परेको छ, तर धानको ब्याड राख्नेगरी माटो गालेर परेको छैन,’ गौशाला-१० लक्ष्मीनियाँका किसान महेश्वर महतो भन्छन्। जिल्लाको उत्तरी क्षेत्रका बर्दिबास, गौशाला र भंगाहा नगरपालिका फलफूल र तरकारी उत्पादनका पकेटक्षेत्र मानिन्छन्। उत्तरीक्षेत्रका बर्दिबासका खयरमारा, टुटेश्वर, ढुंग्रे, चेरु, माइस्थान, सोनापेटी, भब्सी, पाटु, विजलपुरा र पशुपतिनगर सहितका बस्तीको त मुख्यबाली नै फलफूल (बगैंचा) खेती हो। बगैंचा खेतीमा पनि मुख्य आँप रहँदै आएको छ।

    जिल्लाका मध्य र दक्षिणवर्ती क्षेत्रका पिपरा, मटिहानी, जलेश्वर, रामगोपालपुर र मनराशिशवाको स्थानीय तहको बस्तीमा पनि बगैंचा खेती बाक्लै छ। जेठ अन्तिमदेखि लगालग एकपछि अर्को जातका आँप पाक्नेक्रम सुरु हुन्छ। यसरी मुखमै आएको बाली हावाहुरीले सखाप पारेपछि अब वर्षभरिको गुजारा केले चलाउने भन्दै किसान टोलाएका छन्। ‘सबै सुखका साथी रहेछन्,’ दुःखका बेला साथ पाइने आसले आफैंले चुनेका प्रतिनिधिले फर्केर नहेरेपछि चित्त कुड्याउँदै भंगाहा-४ का किसान चन्देश्वर राय दनुवारले भने। पुराना तरकारी उत्पादक किसान दनुवारले हावाहुरीले लहरे तरकारी नोक्सान पारेपछि अब के गर्ने भन्ने नै रनभुल्लमा परेको बताए।

    चैत/वैशाख हावाहुरीको समय भन्ने बुझ्दै आएका किसान जेठ लागेपछि फलफूल र तरकारी अब चैं हात लाग्ने विश्वासमा थिए। तर पुरानो ऋतु रीतिथिति फेरिएर जेठमा हावाहुरी चल्न थालेपछि किसानमा निरासा बढेको हो। यसपाली जेठ लागीकन सयौं बिघाको फलफूल र तरकारी बाली हावाहुरीले नोक्सान गरेको छ। अहिले जेठमा निरन्तर केही दिनको फरकमा चल्दै (बहदै) आएको हावाहुरी यहीँ मात्र नभई विश्वव्यापी जलवायु परिवर्तनको प्रभावले भएको विज्ञको मत छ। मानवको घच्चपच्चले प्रकृतिका पुराना रीति फेरिँदा कुसमयको हावाहुरी, बर्खा, गर्मी, शीतलहरजस्ता प्रकोप झेल्नुपरेको रूपान्तरण सामाजिक संस्थाका जलवायुविज्ञ विराट पन्त बताउँछन्। ‘यो प्रभाव न्यूनीकरण गर्न प्राकृतिक स्वरूपको रक्षा र प्रभाव अनूकूल आनीबानी र खेतीपाती गरिन पर्छ,’ पन्त भन्छन्। राज्यका सबै अंगले यो अनुकूलन विधि अँगाल्न आमजनतालाई अभिप्रेरित गर्नुपर्ने पन्तको सुझाव छ।

  • इलिप्सको होस्टेलमा मृत भेटिए विद्यार्थी

    इलिप्सको होस्टेलमा मृत भेटिए विद्यार्थी

    काठमाडौँ- काठमाडौँ नयाँबजारस्थित एक विद्यालयको होस्टेलमा विद्यार्थी मृत फेला परेका छन्। इटरनल लाइट पब्लिक स्कुल (इलिप्स)मा कक्षा ५ मा अध्ययनरत १४ वर्षीय ती विद्यार्थी आफू बस्ने कोठाभित्रै मृत फेला परेका हुन्।

    काठमाडौँ प्रहरी परिसरका सूचना अधिकारी एसपी सीताराम रिजालका अनुसार झुण्डिएको अवस्थामा विद्यार्थीको शव फेला परेको हो। थप अनुसन्धान जारी रहेको उनले बताए।

  • सिन्धुलीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु

    सिन्धुलीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु

    सिन्धुली- सिन्धुलीको घ्याङलेख गाउँपालिका-१, अमलेमा आज (बुधबार) ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ। बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज १ त ९९४१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार कमलामाई नगरपालिका-२ का १४ वर्षीय लक्ष्मण विकको दुर्घटनामा मृत्यु भएको हो। उनी ट्रयाक्टरका सहचालक थिए।

    मृतकको शव परीक्षणका लागि सिन्धुली अस्पताल लगिएको छ। दुर्घटनाको कारण भने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ।

  • धादिङमा भिरबाट लडेर आमा-छोराको मृत्यु, शनिबारदेखि बेपत्ता युवकको शव त्रिशूलीमा भेटियो

    धादिङमा भिरबाट लडेर आमा-छोराको मृत्यु, शनिबारदेखि बेपत्ता युवकको शव त्रिशूलीमा भेटियो

    १६ जेठ, धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर-२ मा भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ । भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो ।

    सोमबार अपराह्न घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि उनलाई उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । अप्सरा ८ महिने गर्भवती थिइन् ।

    यसैबीच गत शनिबार त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका भक्तपुरका २४ वर्षीय रोमी शाह ठकुरीको शव पनि आज गजुरी गाउँपालिकास्थित चालिसे नजिकै फेला परेको छ ।

  • अत्यावश्यक ठाउँमा पुल नबन्दा बर्खामा सास्ती खेप्दैछन् बागलुङबासी

    अत्यावश्यक ठाउँमा पुल नबन्दा बर्खामा सास्ती खेप्दैछन् बागलुङबासी

    बागलुङ- बागलुङका अधिकांश गाउँ मोटरबाटोले जोडिएका छन्। हिउँदमा ती बाटोमा गाडी गुड्ने गरे पनि बर्खामा सुनसान हुन्छन्। खोलानालाले घेरिएका गाउँमा सडक पुगेपछि स्थानीयको जनजीवनमा परिवर्तन आए पनि नदीमा पुल नबन्दा बर्खाको करिब ४ महिना सास्ती हुने गरेको छ । बर्खामा सडक अवरुद्ध हुने हुँदा यात्रा कष्टकर हुने गरेको जनगुनासो छ। जिल्लाका मुख्य व्यापारिक केन्द्रदेखि गाउँ पुग्न दर्जन बढी खोला पार गर्नुपर्ने हुन्छ। केही ठाउँमा पुल बने पनि अझै धेरै खोलामा निर्माण गर्न बाँकी छ। बागलुङको ढोरपाटन नगरपालिका-६ का अधिकांश गाउँबाट बर्खामा सिधा यातायात सञ्चालन हुन सक्दैन ।

    सिधा यातायात नहुँदा यस ठाउँका नागरिकले गाडी परिवर्तन गरी गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ। ओखरेनी, गाडीखोला, कुदुम, चामीद्वार, छालहाल्न, खानीलगायतका ठाउँका नागरिकलाई सहजताका लागि वडा ६ को दोगाडीस्थित भूजीखोलामा ३ वर्षअगाडि मोटरेबल पुल निर्माण गर्न थालिए पनि अहिलेसम्म सम्पन्न हुनसकेको छैन । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रकमबाट निर्माण भइरहेको पुलले ग्रामीण जनजीवनमा परिर्वतन ल्याउने अपेक्षा गरिएको छ। पुल निर्माणका लागि ०७७ असार १६ गते महादेव/खिम्ती/क्याराभान जेभीले निर्माण जिम्मा लिएको थियो।

    २ वर्षमा सक्ने गरी सम्झौता भएको पुलको पहिलोपटक ०७९ असार १० गते म्याद सकिएको थियो। समयमै काम नसकेपछि म्याद थप भएको छ। निर्माण कम्पनीले ०८० असार १० गतेसम्म सक्ने गरी म्याद थप गरेको हो। पूर्वाधार विकास कार्‍यालय बागलुङमार्फत सम्झौता भएको पुल निर्माणकार्य अहिले धमाधम भइरहेको इञ्जीनियर प्रकाश श्रीसले जानकारी दिए। पुल निर्माण अहिलेसम्म ६० प्रतिशतमात्रै सम्पन्न भएको उनको भनाइ छ। पुल ४ करोड ८२ लाखमा बन्न थालेको हो। अहिले काम धमाधम भइरहे पनि म्याद सकिने बेलासम्म निर्माण सम्पन्न हुने सम्भावना निकै कम रहेको इञ्जीनियर श्रीसले बताए।

    ‘कामदार पनि धेरै छन्, काम पनि तीव्रगतिमै भएको छ, तर अब म्याद सकिन धेरै समय छैन काम अलि बढी नै छ, सरसर काम भयो भने अझै छ महिना लाग्ने देखिन्छ, धेरै काम भए पनि मुख्य काम हुन बाँकी हुँदा समय धेरै लाग्छ, पहिला काम निरन्तर नहुँदा समस्या भएको हो, पहिलोपटकको म्याद सकिएपछि दोस्रो म्याद थपका लागि निवेदन दिने तयारी गरेको देखिन्छ,’ उनले भने। ओखरेनी, गाडीखोला, कुदुम, चामीद्वारलगायतका गाउँको मुख्य बजार बुर्तिबाङ हो। बुर्तिबाङ बजारबाट यी गाउँमा पुग्न २ वर्षअगाडिसम्म २वटा पुल तर्नुपथ्र्‍यो। बुर्तिबाङको लक्ष्मीकुण्ड घाटमा पुल बनेपछि अहिले दोगाडीसम्म समस्या छैन।

    दोगाडीसम्म गाडीमा पुगेपछि अर्को परिवर्तन गर्नुपर्ने समस्या अहिलेको बर्खामा पनि यथावतै रहने भएको छ। बर्खा सुरु हुन थालेको तर पुलको काम सकिने छाँटकाँट नदेखिएको भन्दै यसपालिको बर्खामा पनि आफूहरूले गाडीमा सिधा यात्रा गर्न नपाउने स्थानीय दल बुढामगरले गुनासो पोखे। सडक खुलेको वर्षौं बितिसक्दा पनि स्थानीयले सहज रूपमा यात्रा गर्न नपाएको बुढामगरले बताए। सडक पनि कच्ची हुँदा बर्खाको चार महिना जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। बर्खाको समय गाउँमा कोही बिरामी परे अस्पताल पुर्‍याउन निकै समस्या भइरहेको स्थानीय बुढामगरले बताए। सरोकारवाला निकायको मौनताले अहिलेसम्म पुल निर्माण हुन नसकेको उनको भनाइ छ।

    ‘यो पल बन्यो भने एउटा ठूलो भेगका हजारौं मान्छे लाभान्वित हुनेछन्, पुलका कारण विकास निर्माणमा पनि समस्या भइरहेको छ, गाउँमा सडक पुगे पनि कयौं वर्ष बर्खाको समय हिँडेर बजार पुग्नुपर्‍यो, नुनतेल, चामल पनि घोडा खच्चडमा ढुवानी गर्नुपर्‍यो,’ बुढामगरले भने, ‘सबैभन्दा बढी समस्या त बिरामीलाई अस्पताल पुर्‍याउँदा हुँदोरहेछ, गाउँबाट पुल बन्न लागेको ठाउँसम्म गाडी आए पनि खोलापारि घण्टौंसम्म गाडी कुर्नुपर्ने बाध्यता छ, सहरबजारमा जस्तो गाडी चली राख्दैनन्, पुल बनेको हुन्थ्यो भने सिधैं गाउँबाट अस्पताल पुग्न सकिने थियो।’

    ढोरपाटन -६ का वडाध्यक्ष उमेश बुढामगरले अहिलेसम्म पुल नबन्दा यस क्षेत्रका दर्जनौं गाउँका हजारौं स्थानीय मारमा परेको बताए। पुलका कारण गाउँमा उत्पादन भएको वस्तुलाई बजारसम्म पुर्‍याउन र सामान आयात गर्न ठूलो समस्या भएको उनको भनाइ छ। पुल समयमै सम्पन्न गर्नका लागि सरोकारवाला निकायलाई आग्रह गरिरहेको उनले बताए।

  • दमौली अस्पतालमा मिर्गौला डायलायसिस सेवा पुनः सुरु

    दमौली अस्पतालमा मिर्गौला डायलायसिस सेवा पुनः सुरु

    तनहुँ- तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलायसिस सेवा पुनः सञ्चालन गरिएको छ । उपकरण बिग्रिएपछि यहाँ बिगत डेढ महिनादेखि सो सेवा ठप्प थियो। यसअघि डायलायसिस उपकरण बिग्रिंदा मिर्गौलापीडितलाई उपचारका लागि समस्या भएको थियो। गत वैशाखदेखि बिग्रिएका ७ मध्ये ५ उपकरण मंगलबार मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए। उपचार केन्द्रमा कुल ११ उपकरण रहेकामा ७ वटा बिग्रिएका थिए।

    राष्ट्रिय मिर्गौला उपचार केन्द्रको प्राविधिक टोलीले बिग्रिएको उपकरण मर्मत गरी पुनः सञ्चालनमा ल्याएको हो। उनले भने, ‘अब ९ वटा उपकरणबाट सेवा दिन सकिने भएको छ।’ ४ वटा मात्रै उपकरण सञ्चालनमा हुँदा मिर्गौलापीडितलाई समस्या हुँदै आएको थियो। ४ वटा उपकरण सञ्चालनमा हुँदा दैनिक १६ जनाले मात्रै सेवा पाउने गरेका थिए। एघारवटै उपकरण सञ्चालन भए दैनिक २७ बिरामीले सेवा पाउन सक्छन्। केन्द्रले दैनिक बिहान ७ देखि राति ११ बजेसम्म डायलायसिस सेवा सञ्चालन गर्दैआएको छ।

    दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा. ऋषि काफ्लेसँगको समन्वयमा उपकरण पुनः सञ्चालनमा ल्याइएको बताए। केन्द्रमा हाल डायलायसिस सेवा लिने बिरामीको संख्या ५० रहेको छ। अझै ३० मिर्गौलापीडित डायलायसिसका लागि पालो पर्खंदै छन्। उनीहरू मिर्गौला उपचार केन्द्रमा डायलायसिसका लागि नाम टिपाएर पालो पर्खिरहेका छन्।

    नियमितरूपमा गराउनुपर्ने उनीहरूले हाल पोखरामा डायलायसिस गरिरहेका छन्। उपचार केन्द्रमा डायलायसिस गराइरहेका मिर्गौलापीडितले मिर्गौला प्रत्यारोपण वा अन्यत्रै स्थानान्तरण भएर गएमात्रै नयाँले मौका पाउने अवस्था रहेको पण्डितले बताए। ‘ठाउँ खाली भएमात्रै नयाँलाई मौका दिने हो, कि उनहरूले मिर्गौला प्रत्यारोपण गर्नुपर्‍यो कि अन्यत्रै जिल्लामा स्थानान्तरण भएर जानुपर्‍यो,’ उनले भने, ‘ठाउँ खाली भएपछि नाम दर्ता गरेकालाई यहाँ डायलायसिसको व्यवस्था मिलाउँछौं।’ ०७२ साल मंसिर ३ गते अस्पतालमा डायलायसिस युनिट सञ्चालनमा आएको थियो।

    उक्त युनिट गत कात्तिक २४ गते दमौली अस्पताललाई हस्तान्तरण गरिएको छ।  युनिटमा हालसम्म २ सय २८ जनाले डायलायसिस सेवा लिएका छन्। केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौलापीडितले पनि डायलायसिस सेवा लिइरहेका छन्। हेल्थ केयर फाउन्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलायसिस केन्द्र स्थापना गरेको थियो। केन्द्रका लागि मन्जु उपाध्यायले आफ्ना स्वर्गीय पति शत्रुधन उपाध्यायको स्मृतिमा १ करोड रुपैयाँ सहयोग गरेकी थिइन् भने पछि उपकरण थप गर्नका लागि २५ लाख रुपैयाँ सहयोग गरेकी थिइन्।

  • राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

    राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

    १७ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

    निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो ।

  • कति समयको फरकमा खाना खानु राम्रो ?

    कति समयको फरकमा खाना खानु राम्रो ?

    व्यस्त जीवनशैली र खानपानमा उचित ध्यान पुर्‍याउन नसक्दा हिजोआज मानिसको प्रतिरक्षा प्रणाली कमजोर बन्दै गइरहेको छ । बिहान उठ्नेदेखि राति सुत्ने समय निश्चित छैन । खानाको हकमा पनि त्यस्तै नै छ । बिहान खानुपर्ने खाना दिउँसो र बेलुका खानुपर्ने खानेकुरा राति खाँदा स्वास्थ्यमा विभिन्न खालका समस्या आइरहेका छन् ।

    सामान्यतया हाम्रो आमाशयको आकार दुईवटा मुठ्ठी बराबरको हुन्छ । तर त्यो आमाशय पाँच गुनासम्म तन्किन सक्छ । जसले हामीले शरीरलाई आवश्यकभन्दा बढी खाना खायौं र समयमा खाएनौं भने पनि अट्छ तर पच्न भने धेरै समय लाग्छ ।

    हामी प्रायः भोक नलागे पनि खाना खाइरहेका हुन्छौं । बिहान अफिस जान हतार हुन्छ । ९ बजे हतारहतार गरेर खाना खायो । दिउँसो १ देखि २ बजेसम्म अफिसमा खाजा खाने समय हुन्छ, भोक नलागे पनि खाइदिन्छौं । तर खानाको साथै खाना खाने समयको ख्याल राखे पाचन प्रक्रियासम्बन्धी समस्याबाट बच्न सकिन्छ ।

    कुन समयमा खाने ?
    खाना खाने सबैभन्दा उचित समय भनेको भोक लागेपछि हो । किनकि भोक लागेको बेला खाना पचाउने पाचन रसहरू उत्पादन हुन्छन् । जसले खानालाई राम्ररी पचाउन मद्दत गर्छ । हामीले खाएको खाना पच्न चारदेखि ६ घण्टा लाग्ने भएकाले त्यही समयको अन्तरालमा खाना खानु उचित हुन्छ । यदि बिहान ५ बजे उठियो भने उठेर फ्रेस भएको ४५ मिनेटभित्र बिहानको खाजा खानु राम्रो हुन्छ ।

    बिहानको खाजा कस्तो खाएको हो त्यही अनुसार समय अन्तरालमा खाना खानु उचित हुन्छ । यदि कार्बोहाइड्रेटवाला खाजा खाइएको हो भने चार घण्टापछि १० बजेपछि खाना खानु राम्रो हुन्छ । तर यदि बिहानको खाजा प्रोटिनवाला खाएको छ भने ६ घण्टापछि अर्थात् मध्यान्ह १२ बजेपछि खाना खानु राम्रो हुन्छ ।

    १० बजेपछि बिहानको खाना खाएको छ भने २ बजेपछि खाजा खानुपर्छ । खाजा कस्तो खाएको छ त्यही अनुसार चारदेखि ६ घण्टाको अन्तरालमा बेलुकाको खाना खानु उपयुक्त हुन्छ । यसरी हामीले दिनभरिमा खाने चार पटकको खानालाई उचित समयमा खायौं भने हाम्रो तौल पनि नियन्त्रणमा रहन्छ ।

  • प्रधानमन्त्री प्रचण्डले आजदेखि भारतको औपचारिक भ्रमण गर्दैः उर्जा र व्यापार विषेश प्राथमिकतामा

    प्रधानमन्त्री प्रचण्डले आजदेखि भारतको औपचारिक भ्रमण गर्दैः उर्जा र व्यापार विषेश प्राथमिकतामा

    काठमाडौं- चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्दै छन् । गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन, समृद्धि र संविधानको कार्यान्वयनलाई विशेष प्राथकितामा राखेको सन्दर्भमा प्रधानमन्त्री दाहालको यो पहिलो औपचारिक भारत भ्रमण हो । भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

    प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरकारी प्रतिनिधिमण्डल भारत जाने कार्यक्रम तय भएको छ । परराष्ट्रमन्त्री साउदका अनुसार प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल हुनेछ । मन्त्री साउदले भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँचचौकीको उद्घाटनलगायत कार्यसूची तय भएको र थप विषयमा छलफल जारी रहेको जानकारी दिएका छन् ।

    यस्तै नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रवद्र्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाईमार्गका बारेमा भ्रमणका क्रममा छलफल हुनेछ । नेपालले भ्रमणका क्रममा दीर्घकालीनरूपमा बिजुली व्यापारको विषयलाई प्राथमिकताका साथ अगाडि सारेको छ । हरेक वर्ष नवीकरण गर्नुपर्ने र सुरुदेखि नै प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले त्यसमा प्रक्रियागत झन्झट रहँदै आएको छ । यसैगरी नेपालले बङ्गलादेशमा बिजुली व्यापारका लागि मार्ग प्रशस्त गर्नसमेत भारतलाई आग्रह गरिँदै आएको छ । बङ्गलादेशले तत्काल ५० मेगावाट बिजुली लैजाने सहमति गरिसकेको छ । भ्रमणका क्रममा हवाईमार्गको सुनिश्चितता विषयमा दुई देशका सरकार प्रमुखले छलफल गरेर निष्कर्षमा पुर्‍याउने तयारी गरिएको छ ।

    प्रधानमन्त्री दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्याह्न १ः२५ बजे प्रस्थान गर्ने छन् । प्रधानमन्त्री नेतृत्वको सरकारी प्रतिनिधिमण्डलका अलावा उद्योगी व्यवसायी र सञ्चारकर्मी पनि भ्रमण दलमा सहभागी छन् । आज साँझ केही महहत्वपूणर् भेटवार्ताको कार्यक्रम तय भएको बताइएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार जेठ १८ गते प्रधानमन्त्री दाहाल र उहाँका भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा उच्चस्तरीय भेटवार्ता हुनेछ । दुई देशका प्रधानमन्त्रीको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका तय भएको छ ।

    हैदरावाद हाउसमा नै केही सहमतिपत्र र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने छन् ।उनले नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले संयुक्तरूपमा आयोजना गर्ने एक अन्तक्र्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्ने र व्यवसायीसँग अन्तक्र्रिया गर्ने कार्यक्रमसमेत तय भएको छ । प्रधानमन्त्री दाहालले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रमम छ । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतको मध्यप्रदेशस्थित उज्जैन र इन्दोरको समेत भ्रमण गर्ने कार्यसूची छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल यही जेठ २० गते साँझ स्वदेश फर्कने कार्यसूची छ ।

    प्रधानमन्त्रीका रूपमा दाहालको यो चौथो भारत भ्रमण हो । यसअघि विसं २०६५ मा पहिलोपटक र दोस्रोपटक २०७३ सालमा प्रधानमन्त्री भएपछि उनले भारतको भ्रमण गरेका थिए । त्यस्तै ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीका रूपमा दाहालले भारतको भ्रमण गरेका थिए । प्रधानमन्त्रीले भ्रमणको तयारीका क्रममा पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री, कूटनीतिक तथा सरोकारवालासँग छलफल गरेर राष्ट्रिय सहमति बनाउने प्रयास गरेका छन् । प्रतिनिधिसभामा समेत भ्रमणका बारेमा जानकारी गराएका छन् । रासससँगको कुराकानीमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले भ्रमणका क्रममा पारवहन सन्धि नवीकरण र दुई देशबीच थप पेट्रोलियम पाइप लाइन विस्तारका विषयमा सहमति हुने जानकारी दिए ।

  • काठमाडौंका ६८ अस्पताल प्रशासन बन्द गराउने मेयर साहको चेतावनी, मन्त्रालयलाई ७ दिनको अल्टिमेटम

    काठमाडौंका ६८ अस्पताल प्रशासन बन्द गराउने मेयर साहको चेतावनी, मन्त्रालयलाई ७ दिनको अल्टिमेटम

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले विपन्न एवं लक्षित वर्गहरूलाईदिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्टाई निःशुल्क उपचार उपलब्ध गराउने सम्बन्धमा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

    मङ्गलवार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई भेटेर मेयर शाहले सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरू उपलब्ध गराउन ध्यानाकर्षण गराएका हुन् ।

    छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न मन्त्री बस्नेतलाई अनुरोध गरिएको उनले बताए । मन्त्रालयले ती स्वास्थ्य संस्थाहरूलाई ७ दिनभित्र कानूनी दायरामा नल्याए अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने चेतावनी पनि उनले दिएका छन् ।